नेपाली साहित्यको सम्पूर्ण पत्रिका

एन्टोन चेखभको चर्चित कथा पहिलो पटक नेपालीमाः भान्का

भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने कामको अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु बाहिर नजाउञ्जेल ऊ पर्खिरह्यो । उनीहरु गइसकेपछि उसले मालिकको दराजबाट एक बोतल मसी, खिया लागिसकेको नीब भएको कलम र कच्याककुचुक भएर खुजमुजिएको कागज भुइँमा आफू सामुन्ने फिँजाएर लेख्न सुरु गर्‍यो । पहिलो अक्षरको श्रीगणेश गर्नुपूर्व कैंयन पटक त्रसित भएर झ्याल र ढोकातर्फ हठात् नजर दौडायो । कुनै आकृतिले पो उसलाई कतैबाट लुकेर हेरेको छ कि भन्ने कुरामा बडो डर मानिरहेको थियो अनि डरले गर्दा ऊ लामो श्वास फेरिरहेको थियो । कागज बेन्चमा राखेर ऊ घुँडा दोबारेर चिठी लेख्दै थियो ।

“प्यारो हजुरबुबा, कन्स्टान्टिन मकारिच”, उसले लेख्यो ।

“म तपाईंलाई यो चिठी लेखिरहेको छु । तपाईंलाई रमाइलो क्रिसमसको शुभकामना र ईश्वरले तपाईंलाई सदा आशीर्वाद दिऊन् । न मेरी आमा छन् न त बाबा नै, तपाईं मात्रै त बाँकी हुनुहुन्छ मेरो आफन्त भन्नु नै !”

भान्काले आफ्नो शीर उठाएर भित्तोको कालो आकृतितर्फ हेर्‍यो, जुन मैनबत्तीको धूमिल प्रकाशले बनाएको आकृति थियो । हठात् उसले फेरि आफ्नो वृद्ध हजुरबुबालाई सम्झन पुग्यो । उसका हजुरबुबा कन्स्टान्टिन मकारिच एक घरमा रात्रिकालीन पहरेदार (पाले) थिए । उनी पैँसठ्ठी वर्षका वृद्ध थिए तर उनमा सदाबहार हाँसो भने गज्जब देखिन्थ्यो । अनि उनका आँखा भने जँड्याहाका आँखाझैँ लाल थिए । उनी दिउँसो भने नोकरहरुका भान्सामा सुत्दथे अथवा भान्सेहरुसँग हँसीमजाक गर्दथे । राति भने उनी भेँडाको रौँले बनेको कम्बलमा लपेटिएर यताउति गर्दै अनि भुँइमा घँगरुको लौरो बजार्दै चौकीदारी गर्थे ।

बुढी कास्तान्का र ईल नामका दुई कुकुरहरु उनलाई रातभर पछ्याइरहन्थे । ईल अलिक नम्र र भलाद्मी खालको कुकुर थियो । ऊ आफ्ना मालिक र घरमा आएका नयाँ मानिसहरुलाई प्रेमपूर्वक हेर्थ्यो तर पनि उसलाई खासै भाउ दिँदैनथे । उसले देखाउने नम्रताभित्र धुर्त्याइँ लुकेको थियो ।

मान्छेको हूलमा घुस्न, तिनको खुट्टामै लुटपुटिएर निदाउन, भण्डार कोठामा लुसुक्क छिर्न अनि किसानका कुखुराहरु चोर्न ईलभन्दा बढी अरु कुनै कुकुर जान्दैनथे । यस्ता हर्कतका कारणले नै उसका पछिल्तिरका खुट्टाले नराम्ररी सजाय पाइसकेका थिए अनि दुई पटक त उसलाई मार्न भनी झुण्ड्याइसकिएको थियो । हप्तैपिछे उसलाई पिटेर अर्धमृत पारेर मिल्काइन्थ्यो तर भाग्यले साथ दिएर हो या नियतिले ऊ हरेक पटक बौरिन्थ्यो ।

दुई पटक त उसलाई मार्न भनी झुण्ड्याइसकिएको थियो । हप्तैपिछे उसलाई पिटेर अर्धमृत पारेर मिल्काइन्थ्यो तर भाग्यले साथ दिएर हो या नियतिले ऊ हरेक पटक बौरिन्थ्यो ।

यतिबेला हजुरबुबा निःसंन्देह गेटमा उभिरहेका थिए, आँखाहरु तन्काई–तन्काई चर्चका राता झ्यालहरुतिर हेर्दै थिए । बेलाबेलामा आफ्ना अग्ला जुत्ता भुइँमा बजार्थे र नोकरहरुसँग ठट्टा गर्थे । उनको सानो लठ्ठी पेटीमा झुण्डिरहेको हुन्थ्यो । उनी आफ्ना हातहरु जाडो भगाउन मोल्दै गरेका हुन्थे, उनी लगलग कामिरहेका थिए अनि जिस्कँदै पहिले उनले घरेलु कामदार केटीलाई चिमोटे र त्यसपछि भान्सेलाई ।

“एक चिम्टी नश सुँघे कसो होला ?” उनले महिलालाई अनुरोध गर्दै नश–बाकस दिए ।

महिलाले नश–बाकसबाट नश लिइन् र जोडले हाच्छिउँ गरिन् । हजुरबुबा एकदम खुसी हुँदै चिच्याउन थाले– “ल सब रुघा खत्तम गर । रोग त भित्रभित्रै जमिसकेछ ।”

त्यसपछि उनीहरुले कुकुरहरुलाई पनि नश सुँघाए । कास्तान्काले हाछिउँ गरेर टाउको चारैतिर घुमाई र रिसाउँदै दगुरी । ईलले हाछिउँ गरेन तर विनम्रतापूर्वक पुच्छर हल्लायो । मौसम एकदम मनमोहक थियो । हावा एकदम शान्त, स्वच्छ र पारदर्शीझैँ भान हुन्थ्यो । रात निष्पट अँध्यारो थियो तर पनि गाउँका हरेक घरका सेता छाना अनि चिम्नीबाट निस्किएका धुँवा भने प्रष्टै देख्न सकिन्थ्यो । आकाशमा चम्किला तारा र नक्षत्रहरुले जाज्वल्य सिर्जना गरेका थिए ।

भान्काले खुइय्य सास फेर्‍यो, कलम मसीमा चोब्यो अनि लेख्न थाल्यो:

“र, हिजो मैले कटू वचन अनि तीतो गाली खाएँ । मेरा मालिकले मलाई कपालमा समात्दै आँगनमा पुर्‍याए र जुत्ता तन्काउने फलामले जोडसित हिर्काए किनभने म दुर्भाग्यवश उनको बच्चालाई कोक्रामा हल्लाउँदा हल्लाउँदै निदाएछु । अनि एक हप्ता पहिले मलाई मालिक्नीले माछा पखाल्न अह्राइन्, मैले माछा पुच्छरदेखि पखाल्न सुरु गरेँ र त्यसपछि उनले मलाई त्यही माछो समाती मेरा मुखमा जोडले हिर्काइन् । कामदारहरु मलाईं हेरेर हाँसे र भोड्का (रक्सी) किन्न भट्टीमा पठाए अनि तिनका लागि चाहिने सितनका लागि काँक्रा चोर्न मालिककोमा पठाए । मालिकले पनि मलाई जेले भेट्थे त्यसैले जोडजोडले हिर्काए । यहाँ मलाई राम्ररी खान पनि दिँदैनन् । बिहान मलाई एउटा रोटी मात्र दिन्छन्, दिउँसो उसिनेको फापरको रोटी अनि रातमा फेरि रोटी नै दिन्छन् । मलाई यस्तो चिसोमा तातो चिया, सुप अनि अरु केही झोलिलो कुरा खान पनि दिँदैनन् । सबै तिनै निठुरी मालिक र मालिक्नीले नै बुत्याउँछन् । मलाई जहिल्यै घरको गल्लीमा सुत्नु भन्छन् । म कठ्याङ्ग्रिएर रातभरि निदाउन पाउँदिनँ । फेरि रातभरि तिनीहरुको दुष्ट बच्चा रुन्छ अनि मैले त्यसको कोक्रो हल्लाइदिनुपर्छ ।

प्यारा हजुरबा, अब तपाईंको महान् दया ममाथि देखाउनुहोस् । यहाँबाट मलाई हाम्रो गाउँको घरमा लैजानुहोस् । यसभन्दा बढी त अब म पनि सहन सक्दिनँ । बरु म तपाईंको पाउमा झुक्छु अनि ईश्वरसँग सधैँ तपाईंका निम्ति प्रार्थना गरिदिनेछु । बिन्ती छ, मलाई यहाँबाट लैजानुहोस् नत्र म यहीँ मर्नेछु ।”

प्यारा हजुरबा, अब तपाईंको महान् दया ममाथि देखाउनुहोस् । यहाँबाट मलाई हाम्रो गाउँको घरमा लैजानुहोस् । यसभन्दा बढी त अब म पनि सहन सक्दिनँ । बरु म तपाईंको पाउमा झुक्छु अनि ईश्वरसँग सधैँ तपाईंका निम्ति प्रार्थना गरिदिनेछु । बिन्ती छ, मलाई यहाँबाट लैजानुहोस् नत्र म यहीँ मर्नेछु ।

भान्काको मुख चलायमान भयो, उसले आफ्ना काला भैसकेका मुठ्ठीले आँखा मिच्यो र क्वाँक्वाँ रुन थाल्यो ।

“म तपाईंले सुँघ्ने नशका निम्ति सुर्तीको धुलो बनाइदिनेछु,” ऊ फेरि लेख्न थाल्यो– “म तपाईंका निम्ति प्रार्थना गर्नेछु र यदि मैले केही नराम्रो काम र गल्ती गरे भने मलाई बाख्राको पाठा मिल्काएझैँ मिल्काइदिनुहोला । तपाईंले मेरो केही जागिर नै छैन भन्ने सोच्नु भएमा म जहाजको कर्मचारीलाई बिन्ती गरेर ईश्वरका निम्ति भए पनि उसको फोहोर जुत्ता सफा गर्ने काम देऊ भन्नेछु अथवा फेड्का भन्ने गोठालोको सट्टा मैँ आफू गोठालो बन्नेछु ।

प्यारो हजुरबुबा, यो त मैले सहनसक्ने भन्दा बढी नै हो । यहाँ त मसँग जिउनलाई साधारण जीवन पनि छैन । म यहाँबाट गाउँतिर भाग्ने विचारमा छु तर मसँग भाग्नका लागि एकजोर जुत्ता पनि छैन । मलाई हिउँ र तुषारोदेखि साह्रै डर पनि लाग्छ । जब म ठूलो हुनेछु, तपार्इंले मलाई लगाएको गुन एकएक गरी चुकाउनेछु । तपाईंको देखभाल र स्याहार मैँ गर्नेछु । जब तपाईं मर्नु हुनेछ, तपाईंको आत्माको चीरशान्तिका लागि म बेजोड प्रार्थना गर्नेछु, जसरी म मेरी स्वर्गवासी आमाका निम्ति प्रार्थना गर्दथेँ ।”

“मस्को विशाल सहर हो । यहाँ सबै भद्रभलाद्मीका घरहरु छन् र यहाँ धेरै घोडाहरु पनि छन् तर यहाँ गाउँका जस्ता भेडाहरु छैनन् अनि कुकुरहरु पनि त्यति छुच्चा हुँदैनन् । यहाँका केटाहरु कोही पनि राति बाहिर निँस्कदैनन् । उनीहरु ईश्वरका भजन पनि गाउँदैनन् । एकपटक मैले बल्छी बेच्ने पसलमा चालीस पाउण्डसम्म तौल भएको माछा पक्डने बल्छी देखेको थिएँ । मैले यहाँ धेरै प्रकारका बन्दुकहरु पाइने पसल पनि देखेँ । मेरा मालिकसँग पनि घटीमा एक सय रुबल पर्ने बन्दुक छ । यहाँ कसाहीका पसलमा विभिन्न जनावरका मासुहरु बेच्छन् तर तिनले ती जनावरहरु कहाँ लगेर मारिदिन्छन्, कहिल्यै पनि भन्दैनन् ।”

“प्यारा हजुरबुबा, जब तिनीहरु आफ्ना विशाल घरमा क्रिसमसको रुख सजाउँछन्, मलाई पनि सुनौलो ओखर दिन्छन् जुन मैले हरियो सन्दुकमा सम्हाली राखेको छु । नपत्याए ती महिला ओल्गा इग्नातेभ्नालाई सोध्नुहोस्, उनले यो ओखर भान्काको लागि हो भन्छिन् ।”

“प्यारा हजुरबुबा, आउनुहोस्,” भान्का लेख्न थाल्यो । ईश्वरका निम्ति म तपाईंसँग भीख माग्छु, मलाई यहाँबाट लैजानुहोस् । यहाँ सबैले मलाई निर्मम तरिकाले भर्कुछन् र म डरलाग्दो गरी भोकले ग्रस्त छु ।”

भान्काले डराउँदै लामो सास फेर्‍यो अनि फेरि झ्यालतिर ट्वाल्ल परेर हेर्न थाल्यो । उसले सम्झन थाल्यो, कसरी उसको हजुरबुवा जङ्गलमा आफ्ना मालिकका निम्ति क्रिसमस रुख लिन भान्कालाई लिईओरी जाने गर्दथे । त्यो क्षण उसका लागि बेहद हर्षको क्षण हुन्थ्यो । हजुरबुवाले घाँटी खसखस गर्दै जङ्गल नै थर्कमान हुने गरी कराउँथे । क्रिसमसको रुख ढाल्नुअघि उनी तमाखु लिन्थे, नश सुँघ्थे र जाडोले कठ्याङग्रिएको भान्कालाई हेर्दै मुसुक्क हाँस्थे । हजुरबुबा अन्त्यमा त्यो रुख ढालेर आफ्नै सुरमा चिच्याउन थाल्थे ।

जब रुख ढालिन्थ्यो, त्यो रुख घरतर्फ घिसारेर लगिन्थ्यो अनि क्रिसमसका लागि सजाइन्थ्यो । ती जवान महिला ओल्गा इग्नातेभ्ना भान्काकै परमप्रिय थिइन् । जो हरदम घरायसी काममा हरदम व्यस्त हुन्थिन् । जब भान्काकी आमा पेलाजिया जीवित नै थिइन्, उनी त्यस घरमा काम गर्थिन् । ओल्गा भान्कालाई धेरै खेलौनाहरु दिन्थिन् । पढ्न, लेख्न अनि सयसम्मका अङ्कहरु गन्ती गर्न सिकाउँथिन् त कहिलेकाहीँ नाच्न पनि सिकाउँथिन् । जब पेलाजिया मरिन्, भान्कालाई नोकरका कोठातर्फ सारियो जहाँ उसका हजुरबुबा पनि बस्दथे । त्यसपछि भान्कालाई मस्कोको मोचीकहाँ काम गर्न पठाइयो, जहाँ अहिले ऊ आफ्ना दुःखका दिनगन्ती गरिरहेको थियो ।

“प्यारा हजुरबुबा, आउनुहोस्,” भान्का लेख्न थाल्यो ।

“ईश्वरका निम्ति म तपाईंसँग भीख माग्छु, मलाई यहाँबाट लैजानुहोस् । यहाँ सबैले मलाई निर्मम तरिकाले भर्कुछन् र म डरलाग्दो गरी भोकले ग्रस्त छु । यो कस्तो दुर्दशा हो तपाईंलाई म भन्न सक्दिनँ । म त सधैँ रोइरहेको छु । र, अर्को दिन मलाई मेरा मालिकले म अन्तिम अवस्थामा पुग्ने गरी टाउकोमा जोडले हिर्काए, म नराम्ररी भुँइमा बजारिएँ । मेरो जीवन गल्लीको कुकुरको भन्दा पनि गएगुज्रेको हुन पुगेको छ….। म यहाँ जिउँदै नरकमा बाँचिरहेको छु । मेरो शुभकामना ती एल्योना, येर्गोका र घोडसवारी चालकलाई सुनाइदिनु होला । मैले बजाउने गरेको मेरो प्यारो बाजा कसैलाई नदिनू है ! म सदैव तपाईंकै नाति इभान जुकोब नै भइरहूँ । प्यारा हजुरबुबा, मलाई लिन छिट्टै आउनुहोस् है !”

त्यसपछि भान्काले पत्रलाई दुईपटक मोड्यो र हिजो एक कोपेक तिरेर ल्याएको खामभित्र हाल्यो । एकछिन केहीबेर सोचेर उसले पुनः कलम मसीमा चोबल्यो अनि ठेगाना यसरी लेख्यो:

गाउँमा रहने हजुरबुबालाई ।

त्यसपछि उसले टाउको मजाले कन्यायो, एकछिन सोच्यो र फेरि थप्यो: कन्स्टान्टिन मकारिच । कसैले पनि उसले चिठी लेख्दै गरेको नदेखेको भन्ने थाहा पाएपछि गर्वले प्रफुल्लित भयो । उसले आफ्नो बिर्खे टोपी पहिरियो अनि कोटसमेत नलगाई गल्लीतिर खुर्र दर्गुर्‍यो । हिजोमात्र उसले मासुपसलेसँग चिठीहरु हुलाकको पत्रमञ्जूषामा खसालिने र संसारभरिका मानिसकहाँ पुर्‍याइने कुरा थाहा पाएको थियो, त्यसैले त ऊ नजिकैको पत्रमञ्जूषा भएतिर गयो र उसको बहुमूल्य पत्र बाकसमा खसाल्यो…।

एकघण्टापछि ऊ मीठा आशाहरुमा झुल्दै निदाइरहेको थियो । सपनामा उसले चुल्हो देख्यो । चुल्हो नजिकै उसका हजुरबुबा बसिरहेका थिए अनि आफ्ना नाङ्गा खुट्टाहरु हल्लाइरहेका थिए र भान्सेहरुलाई नातिले पठाएको चिठी पढेर सुनाइरहेका थिए । चुल्हो सँगसँगै ईल पनि पुच्छर हल्लाएर बसिरहेको थियो ।

(२०६७ सालमा त्रिवि अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरबाट अङ्ग्रेजी साहित्यमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका अनुवादक अनिल पोखरेल सरकारी सेवाको नायब सुब्बा पदमा कार्यरत छन् । अनुवाद साहित्यमा विशेष रुचि राख्ने उनले तत्कालीन रुसी समाजमा व्याप्त जारशाहीको क्रूर शासन र त्यसले निम्त्याएको घृणित व्यवहार र क्रियाकलापले गरीब र मजदूर वर्गमाथि पारेको थिचोमिचो र असरको दुर्दान्त तस्वीर भान्का नामक सानो पात्रमार्फत मार्मिक ढङ्गले प्रस्तुत गरिएको हुनाले एन्तन चेखभको यो कालजयी कथा अनुवाद गरेको बताए ।)

प्रतिक्रिया
Loading...