नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेपाली साहित्यमा कुनै गति नै छैन

इतिहासले वास्तवमा जसले केही गर्या छैन, पुस्तक मात्रै छपाएको छ, तिनीहरुलाई बढारिदिन्छ ।

(नेपाली साहित्य जगतमा मोहनराज शर्मा शैली वैज्ञानिक समालोचना भित्र्याउने समर्थ विद्वान समालोचक थिए । उनको सिर्जनात्मक पक्ष पनि बुलन्द थियो । हास्य व्यङ्ग्य निबन्ध, कथा, उपन्यास, नाटक आदि विधामा उनी व्याप्त थिए । उनले कथा साहित्यमा योगदानका लागि ‘मैनाली कथा पुरस्कार’ तथा ‘वैकुण्ठ एक्सप्रेस’ नाटकका लागि मदन पुरस्कार पाएका थिए । उनका नाटकहरु ‘जेमन्त’ र ‘यमा’ले नाट्य जगतमा तहल्का नै मच्चाएका थिए र सफल मञ्चन पनि भएका थिए, प्रयोगात्मक हुँदाहुँदै । उनीसँग वि. सं. २०७५ भदौ २ गते शनिबार उनकै निवास कीर्तिपुरमा लिइएको अन्तरवार्ता प्रस्तुत छ । सम्भवतः यो उनको जीवनकालकै अन्तिम अन्तरवार्ता हो । यो अन्तरवार्ताले नयाँ पुराना सबै लेखकलाई आफ्नो लेखनबारे एकपटक सोच्न बाध्य बनाउन सक्छ ।)

अनि सरले पछिल्लो समय के लेख्नु भो ?

सबभन्दा पछिल्लो प्रकाशन ‘पल्ली’ उपन्यास हो ।

त्यो भन्दा अघिल्लो ?

समालोचना । उपन्यास चैँ ‘सलिजो’ हो ।

अनि नेपाली साहित्यको संक्षिप्त इतिहास अपडेट भएर आउँदैन ?

अब अपडेट हुँदैन । त्यो अपडेट किन हुँदैन भने पहिला पो यसो घुमिन्थ्यो चारैतिर, नामहरु नोट गरिन्थ्यो, हैन ? नयाँहरुको के निस्क्यो कसो भयो, विभिन्न कार्यक्रममा गइन्थ्यो, नोट गरिन्थ्यो र आफू अपडेट भइराखेपछि नयाँ संस्करणमा हाल्न सजिलो थियो । यता त अब दस वर्षदेखि हालेको छैन । यो दस वर्षको बीचमा कति उपन्यास, कति कथा संग्रहहरु, कति कविता संग्रहहरु कति नाटक निस्के, त्यस्को राम्रो जानकारी छैन । त्यसो हुनाले अब रिभाइज गर्न गाह्रो छ । यही विषयमा दयारामजीसँग कुरा गर्दाखेरी एक जनालाई लेखकमा समावेश गरेर उसलाई जहाँदेखि यसमा छैन, त्यहाँदेखिको लगत खोजेर लेऊ भनेर उसले ल्याएपछि त्यहीअनुसार लेखेर समावेश गर्ने र लेखकमा उसलाई पनि इन्क्लुड गर्ने भन्ने सोचाई चाहिँ भाको हो, अब त्यो पनि खोइ अब उहाँ पनि कताकता, म पनि कताकता । त्यल्ले गर्दाखेरि त्यो जहाँ थियो, त्यहीँ छ ।

गोविन्द गिरी प्रेरणा

जेमन्त नाटक त पुनः प्रकाशन भएन होइन ?

भएन । त्यो एकेडेमीको प्रकाशन हो । एकेडेमीले रिप्रिन्ट गरेन । एकेडेमीले शैली विज्ञान भन्ने चाहिँ रिप्रिन्ट गर्यो ।

कोर्रा पछि अरु कथा सङ्ग्रहहरू कुन कुन निस्के ?

निस्के नि ! महाशून्य निस्क्यो । बैखरी निस्क्यो । अनि त्यसपछि भर्खर भन्ने निस्क्यो ।

यो ‘भर्खर’ भन्ने कसले निकालेको ?

डिकुरा प्रकाशनले ।

पैसा दियो ?

दियो । खोई दोस्रो एडिसन निकाल्दैछु भन्थ्यो, अब यहाँ प्रकाशकहरुको हालत बिग्रँदै गयो । प्रकाशकहरुको खै के के भयो भयो ।
फेरि प्रकाशकहरु लेखकलाई सकेसम्म दिन नपरोस्, अझ सकिन्छ भने लेखकसँगै लिन पाइयोस् भन्ने खालका पनि छन् नि होइन ?
त्यसैले पनि बिग्रेको हो क्या ! त्यसमा खासगरी एउटा मात्रै किताब लेख्ने, पहिलो किताब लेख्ने, त्यस्ताहरुले पैसा दिने क्या !

अब उनीहरुको त्यस्तो चाहिँ पेशा भयो हैन ?

त्यसो भएपछि अब त्यो जेन्युएन लेखक हामी जस्तोलाई गाह्रो भयो ।

त्यही त, तिनीहरुसँग इजी मनी पाइयो ! राम्रो लेखकको त बेचेर मिहिनेत गरेर मात्र पाइने भयो हैन र ? उनीहरुलाई रिस्क भएन । छपाईको पैसा, कागजको पैसा दिएपछि त केही रिस्क भएन । त्यो भएर लेखन पनि बिग्रियो । नेपाली साहित्यको लेखन किन बिग्रियो भने त्यहाँ विषयगत विविधता त आयो, पहिला नलेखिएका अनेकअनेक विषयहरुमा लेखिए । त्यो विविधता चाहिँ एकदमै आयो । नारीका पनि अनेक समस्या जुन पहिला हेरिएकै थिएन, ती भने हेरिए । तीबाटै अनेक पक्ष आए, सीमान्तकृतबारे आए, अरुअरुबारे आए । अब यो जनयुध्द त्यसले दिएको त्रासदि, यी कुराहरु पनि कथामा, उपन्यासमा , खण्डकाव्य, महाकाव्य सबैमा आयो । यसरी विविधता आयो तर के भो भन्दाखेरि गहिराई आएन ।

माथिमाथि फिँजियो, माथिमाथि बग्यो । अहिले पनि नेपाली साहित्यमा गहिराई छैन बिल्कुलै, यो के भन्दाखेरि अखबारी साहित्यजस्तै गहिराई नभएको भयो तर विषयगत विविधताचाहिँ अत्यधिक बढ्यो । त अब यो गहिराई पनि आउँछ कुनै दिन, त्यो गहिराई आएको दिन बल्ल अहिले जुन स्टिलटमेन्ट छ, साहित्यमा गत्यावरोध हुन जान्छ, तर अहिले नेपाली साहित्यमा कुनै गति नै छैन । यसमा कुनै नयाँपनै छैन । यो स्थितिबाट विषयगत नवीनताले मात्र नवीन हुँदैन । विषयगत नवीनता त जहाँ पनि हुन्छ, अर्थशास्त्र, भूगोल, साहित्यमा मात्रै विषय हुने हैन नि ! तर साहित्यलाई अघि बढाउने त्यसको एक्सप्रेसन पनि त छ, सँगसँगै जोडिएको, त्यहाँ पनि त नयाँ-नयाँ कुरा आउनु पर्यो नि ! गहिरो रुपले अनुभूत गरिएको जीवन, त्यो यथार्थ होस् या काल्पनिक होस्, काल्पनिक भएर पनि केही छैन तर गहिरो अनुभूति त हुनुपर्यो नि ! यो त्यही हो अहिले साहित्यका हरेक विधामा गहिराई छैन, अखबारी भयो । चालु विषय । यसले गर्दाखेरि अब सर्फेसियल, सतही विकास भयो ।

यो गहिराई कहिलेसम्म कायम थियो ? विजय मल्लहरुको पालासम्म कि हाम्रो पालोसम्म पनि अलिअलि थियो ?

गहिराई अन्त्य भएको धेरै भएको छैन । एक प्रकारले जब अखबार खासगरी कान्तिपुर, नागरिक आए, यी अखबारमा छापिने साहित्यकार, साहित्यले जब प्रश्रय र महत्त्व पाउन थाले, लगभग त्यही समयदेखि यता ५,७, ८ वर्षदेखि गहिराईको कमी हुँदै गएको देखियो । यौटा के भन्देखि अखबारको आवश्यकताअनुसार लिमिट ठाउँमा लेखिदिने, सबैले बुझ्ने सामान्य किसिमले लेखिदिने, यो जुन चलन आयो नि बिस्तारै, हो यो चलनले गर्दाखेरि गहनता हरायो । अब हुँदाहुँदा मेरो पनि अस्ति यौटा कथा छापियो कान्तिपुरमा अब त्यहाँ पनि कतिपय सम्झौता मैले पनि गरेँ । नत्र छाप्दैन । अब धेरै प्रयोगवादी भयो भने छाप्दैन । जहाँ उसको बिक्री हुँदैन भने किन छाप्छ उसले ? ऊ पनि यौटा व्यवसाय गर्न बस्या हो । उसले पनि आफ्नो व्यवसाय चलाएर साहित्यलाई प्रवर्धन गर्ने हो । साहित्य प्रवर्धन गर्न मात्र कान्तिपुर नागरिक खोलेको हैन । त्यसो हुनाले यसो अलिकति सिनेम्याटिक वर्गका कथा आउन थाले।

प्रतीकात्मक बिम्बात्मक कथा घट्यो हैन र ?

त्यही हो अब । यस्ता गहनता दिने खालका त हराउँदै गए ।

अब यसले के होला त भविष्य ?

फ्यूचर त साइकल झैँ घुमेर आउँछ नि ! अहिले माथिमाथि तैरिने जुन स्थिति छ नि, अब यसमा बदलाव त आउँछ पक्कै पनि !

अनि पौराणिक कथालाई आधार बनाएर लेख्ने जुन आको छ नि, एउटा प्रवृत्ति, त्यसले के दिन्छ होला ?

पौराणिक आधारमा लेख्नु पनि ठीकै हो । के भन्देखि त्यसलाई पनि अहिलेको यथार्थसँग जोड्न सकिन्छ । अहिलेको यथार्थसँग जोडेर लेख्न सक्यो भने त्यो एउटा सबल कथानक भएर जान्छ । तर अहिलेको यथार्थसँग जोडिएन भने त उहिलेको पुराण भनेको पुरानो कथा मात्रै हुन्छ । हैन ? तब अहिलेसम्म माधवी माधवी भन्छन्, किन भन्छन् भने त्यसलाई वर्तमान स्त्री समस्यासँग जोडेको छ नि त ! स्त्री यौटा वस्तुका रुपमा घोडाका लागि योसँग पनि बेचिन्छे, त्योसँग पनि बेचिन्छे । हैन ? यो स्त्री बेचिने स्थिति अहिले पनि छ नि त ! वर्तमान समस्यासँग यदि पौराणिकता जोडिन्छ भने त्यो पौराणिकताले अहिलेको समस्यालाई झन् ठूलो अर्थवत्ता दिन्छ, यसलाई झन् राम्ररी हाइलाइट गरिदिन्छ । धर्मकर्म रिचुअल यताउता यही मात्र देखाउन अथवा देवता या शक्ति मात्र देखाउनलाई मरेकोलाई जीवित गरिदिए, नहिँड्नेलाई हिँडाइदिए भने यस्तो मात्रै आउँछ भने त अब त्यसको खासै महत्त्व हुँदैन । त्यसो हुनाले अब त्यो रिराइट गर्नु पर्यो वर्तमान सन्दर्भमा ।

अनि यो पछिल्लो चरणमा के भा देखिया छ भन्दा जीवन जगतका वास्तविक पात्रहरु, रियल मान्छेको ठ्याक्कै त्यही नाउँ, त्यही ठाउँलाई पनि लेखेर उपन्यास भनेर छापिने क्रम शुरु भएको छ, जस्तो अब म बिना सूचना कीर्तिपुर पुगेँ र मोहनराज शर्माको ढोका ढक्ढकाएँ भन्दा यो आख्यान हुन्छ त ?

यो पक्कै हुन्छ किनभने आख्यान हुनलाई त केही घटनाहरु चाहिए र त्यो घटना घटाउने मान्छे पात्र भए त्यो रियल पनि हुन सक्छ काल्पनिक पनि…

रियल नामहरु नै प्रयोग गर्नु कति उपयुक्त हो ?

होइन, त्यो अनुकृत होइन तर त्यो प्रयोग गरेर आख्यानमा यौटा जुन घटनाको स्वाद दिने पनि जुन छ, त्यो त्यहाँ हुनुपर्यो । यौटा आख्यानात्मक ढंगमा यौटा कथानककै ढंगमा, घटनाकै ढंगमा, यौटा कार्यको ढँगमा आएको छ भने चाहिँ हुन्छ तर त्यसका आफ्नै जोखिमहरु हुन्छन् । किनभने रियल नाम आउने बित्तिकै त्यो कुनै एउटा पक्षले कतै कतै आफूलाई होच्याएको, नचाहिने कुरा देखाएकोे चरित्रहत्या गरेको पनि हुनसक्छ । हैन ? यी सब कुराले गर्दाखेरि व्यक्तिको अति प्रशंसा हुने अति निन्दा हुन त्यो एउटा डर त्यहाँ छ । र त्यो ऐक्स, वाइ, जेड नाम राख्ताखेरि त्यो जे भए पनि मतलब हुँदैन ।

तर पश्चिमतिर यौटा के देखिन्छ भने नि सर, यो आख्यानका पुस्तकमा सबै काल्पनिक हुन्, पात्रहरुको कसैसँग मेल खायो भने संयोग हो, सत्य होइन भनेर लेख्ने गरिन्छ । एकातिर रियल नाम राख्ने, अर्को तिर यस्तो डिस्क्लेमर अमिल्दो हुन्न र ? हुन त हामीकहाँ सबै आख्यानमा त्यो राख्ने चलन त छैन !

अँ, त्यो अब यौटा स्टाइलको रुपमा मात्रै आयो । अब जसले जे सुकै भने पनि यो यथार्थ भने पनि त्यसमा कल्पना भैहाल्छ । र, यो काल्पनिक भन्यो भने पनि यो यत्तिकै कल्पना हुँदैन । केही न केही त्यसको यथार्थ आधार हुन्छ । त्यसै हुनाले यो वास्तवमा त्यो डिस्क्लेमर नै फेक हो क्या !

त्यो यौटा स्टाइलको रुपमा शुरुशुरुमा केहीमा राखे हैन, अनि त्यो पढ्दाखेरि मान्छेलाई केही प्रभाव पनि भयो त्यसको । त्यो हो, तर त्यो भने पनि नभने पनि अब साहित्य भनेको यथार्थ र कल्पनाको सम्मिश्रण नै हो ।

जहिले पनि यथार्थलाई कल्पनाको माध्यमले पुनः सिर्जित गर्ने हो । रिप्रोड्युस गर्ने हो त्यो त ! ओरिजनल्ली प्रोड्युस त आउँदै आउँदैन नि ! त्यल्लाई लिपिबद्ध गर्दागर्दै, तत्काल हेर्दाहेर्दै लिपिबद्ध गर्दागर्दै पनि चेञ्ज भैसक्या हुन्छ । त्यसो हुनाले यो यथार्थ त्यो लेखकले पुनः सिर्जित गरेको यथार्थ हो । काल्पनिक यथार्थ हो । यी यसैमा यथार्थै होला पनि लिभिङ टुगेदर । कोही त्यसरी बसेकै नै छन् तर त्यसरी बसे पनि जुन स्थिति यहाँ छ, त्यही स्थिति त्यहाँ छैन नि ! यहाँ त कति सन्दर्भ मिलाउन, ग्याप मिलाउन हैन पाठकीय दृष्टिकोणलाई तान्न, आफ्नो कुरा भन्न कति कुरा झिक्या छ, कति कुरा हाल्या छ । त्यल्ले गर्दाखेरि केही मिक्सिङ त भैहाल्यो नि यहाँ । त्यो पनि यथार्थ नै भनिन्छ किनभन्दा यो यथार्थमा आधारित कल्पना हो । मूलरुपमा यथार्थमा आधारित कल्पना नै हो तर कल्पना पनि बिना यथार्थको चाहिँ हुनुहुँदैन ।

सरले हास्यव्ङ्ग्य लेख्नु भो, निबन्ध लेख्नु भो, समालोचना, उपन्यास लेख्नु भो, कथाहरु पनि छ । कुन चाहिँ विधा बलियो जस्तो लाग्छ, आफूले लेखेकोमध्ये ?

मलाई लाग्या कथा हो । मदन पुरस्कार नाटकमा पाइयो तर पनि अब धेरै जसोले समालोचक भन्छन् । उपन्यास त धेरै पछि लेखेको । थोरै छ । दुइटा मात्रै छ । तेस्रो अहिले अधूरै छ ।

ए, तेस्रो लेख्दै हुनुहुन्छ ?

त्यो अधूरै छ । त्यो एक च्याप्टरजति लेखेँ भने त्यो पूरा हुन्छ, एक दुई चोटी ल्यापटपबाटै उड्यो । त्यल्ले गर्दा खेरि अलि हतोत्साहित भएर बस्या छु । यी सब भए पनि कथा नै किन लाग्छ भने, कथामा मैले शुरुदेखि नै हरेक कथामा प्रयोग गरेँ, अत्यधिक प्रयोग गरेँ, र प्रयोग चाहिँ अब विषयगत मात्रै होइन, शैलीय प्रयोग पनि गरेँ र मलाई के लाग्छ भने कथामा केही नवीनता मैले दिएको छु । तिनको रिभ्यू र मूल्याङ्कन भने भएको छैन ।

तपाईं आफैं समालोचक भएको भएर त्यसको रिभ्यू र मूल्याङ्कन नभएको हो कि ?

यौटा कारण त्यो किन हुन सक्छ भने केही मान्छेहरुलाई सोध्दाखेरि तिनीहरुले यही कुरा भने तपाईं आफैं समालोचक, हामीले गल्ती सल्ती यताउति लेखिदियौं भने समाउनुहुन्छ, पक्रिनु हुन्छ, हाम्रो त्रुटि देखाइदिनुहुन्छ, त्यसैले नगरेको भनेर पनि भनेका छन् । र, जे होस् कथाको क्षेत्रमा योगदान छ भन्ने लाग्छ तर त्यो  स्वीकृत छैन भन्ने पनि देखिराखेकोछु ।

अनि यो बहुविधामा लेख्ने विषयमा के लाग्छ सरलाई ? लेखकले के एउटै विधामा मात्र केन्द्रित हुन जरुरी छ ?

त्यो जरुरी त छैन तर एउटै विधामा भयो भने त्यो केन्द्रीकृत हुन्छ । छरिन पाउँदैन । त्यहाँ अलिकति त्यो विधाका गहिराईहरुमा गएर, त्यसका अभावहरुलाई बुझेर कृति रचनाहरु गर्न सक्छ । अब धेरै विधामा म फिंजिएको असन्तोष हो, असन्तोष यो लेख्दा राम्रो हुन्छ कि त्यो लेख्ता राम्रो हुन्छ कि भनेर हाे । कुनै लेखनमा पनि सन्तोष नभएर त्यो असन्तोषका कारण म छरिएको हुँ र अब कुनै खास प्रतिभा भएर म त्यसरी छरिएको होइन ।

यो पछिल्लो चरणमा यो उत्तरआधुनिकतालाई लेफ्ट विङका मान्छेहरुले विशेषगरी तीव्र विरोध गरेको देखिन्छ । बुझेर विरोध गरेका हुन् कि नबुझेर ?

अब त्यो बुझेरै गरेको होला किनभने उत्तर आधुनिकता भनेको अलिकति पूँजीपतिहरुको पक्षधर हो । अनि अब यो प्रगतिशील विरुद्धको कुरा भएको हुनाले राजनैतिक स्तरमा हैन, केही सैद्धान्तिक मतभेद यसले ल्याएको हुनाले एक र अर्को प्रगतिवाद र एकलवादी हो र यो उत्तरआधुनिकवादी चाहिँ बहुलबादी हो । यो कुरा पनि पोलिटिकल्ली नमिलेको हुनाले यसलाई भित्र राखेर गरिएका विरोधहरु जति हुन्, पोलिटिकल हुन् । वास्तवमा साहित्यिक रुपमा त विरोध नगरे पनि हुने हो । किनभने साहित्यद्वारा के राजनीति गर्नु छ र ! आखिर प्रगतिशीलहरुले लेखेका जति पनि साहित्य छन्, त्यसबाट कति कम्युनिस्ट बनेका छन् र ? या ती इतर जुन छन्, तिनले लेखेका जुन साहित्यकार छन्, त्यसको प्रभावबाट कति प्रगतिवादी विरोधी भएका छन् र ? यो साहित्यभित्र कसैलाई समर्थक र कसैलाई विरोधी बताएको छैन । त्यसो हुनाले साहित्यमा यो दृष्टिकोण ठीक होइन तर त्यही पनि उतापट्टि जुन त्यो पोलिटिकल विरोध छ, त्यो पोलिटिकल विरोधका आधारमा यहाँ अहिले सङ्घर्ष हुन्छ । यी आधुनिकतावादी हुन्, उत्तरआधुनिकतावादी हुन्, आखिर त्यो प्रगतिवाद त मनोविज्ञानको पनि विरोधी हो नि ! त्यो मनोविज्ञान भनेको त हरेक मान्छेको मनमा छ नि ! त्यसको विरोध पनि पोलिटिकल्ली भाको हो । किनभने अब त्यो मनको यथार्थ वर्गसँग जोडिदैन । वर्गसँग जोडिएन भनेर पो त्यो विरोध भाको हो । त त्यसो हुनाले जति पनि यिनीहरुसँग मतभेदहरु छन् ती पोलिटिकल नै छन् । अब यो दुई धारहरु हुन्, अहिले ।

अनि पुरानो पुस्ताको एकदमै तपाईंले नबिर्सिने स्रष्टाहरु कसलाई मान्नुहुन्छ ? नेपाली लेखकहरु, नेपालभित्र नेपालबाहिर !

अब यो सम्पूर्ण नेपाली साहित्यलाई हेर्दाखेरी साहित्यको न्युक्लियस मैले यौटा देखेको छु । त्यो हो भानुभक्त आचार्यको रामायण र त्यसैबाट नेपाली साहित्य आजसम्म प्रभावित छ । र, बीचमा अरु उप न्युक्लियर लक्ष्मीप्रसाद देवकोटाबाट बनेको हो । यी दुइटा हुन् । र, यी बाहेक व्यापक रुपमा प्रभावित गर्न सक्ने अरु केन्द्र त मैले देखेको छैन ।

कुनै समयमा गुरु प्रसाद मैनालीलाई ठूलो कथाकार भन्थे । गुरुप्रसाद मैनालीलाई आज पनि सम्झन्छन् । किन सम्झन्छन् भने नेपालीमा आदर्शोनमुख कथा शुरु गर्यो भनेर तर कथाकारको आधारमा हेर्ने हो भन्देखि इतिहासले उनलाई बढारिसक्यो । यदि कथाकारका रुपमा हेर्नुहुन्छ भन्देखि बालकृष्ण समलाई बढारिसक्यो नेपाली साहित्यले । कथाका सन्दर्भमा अब उनको नाम नलिंदा पनि हुन्छ । पुष्कर शम्शेरको नाम नलिंदा पनि हुन्छ । त्यसैगरी नेपाली साहित्यको इतिहास हेर्दाखेरी उहिले हामी पोषण पाण्डे भन्थ्यौँ । कथाकार यी जम्मै बढारिए, एउटा बाँकी को छन् भन्दाखेरि रमेश विकल बाँकी देखिन्छन् । इतिहासले त्यसलाई मात्र राख्छ, जल्ले कुनै अविष्मरणीय पात्र दिएको छ । अविष्मरणीय घटना दिएको छ । अलिकति कथा दिएको छ । त्यो दृष्टिबाट २।४ वटा कथामा अहिले विश्वेश्वर कोइराला बाँचेका छन् । गोविन्द बहादुर मल्ललाई सिनित्त गरिसक्यो । इतिहासले बढारिसक्यो । कतै नाम देखिँदैन । हैन, यत्रा विधि किताब दिएँ, मलाई बढारिसक्या छ । त इतिहासले वास्तवमा जसले केही गर्या छैन, पुस्तक मात्रै छपाएको छ, तिनीहरुलाई बढारिदिन्छ ।

अविस्मरणीय छैन भन्देखि अब त्यो सीता जस्तो, राम जस्तो, रावण जस्तो पात्र मान्छेले बिर्सेर पनि बिर्सदैँन । वार एण्ड पिसको नताशा भो । अन्ना केरेनिना भो । मुनामदन भयो । यी त जम्मै अविष्मरणीय छन् । त यी यस्ता अविष्मरणीय प्लट, क्यारेक्टर, जल्ले दिन सक्यो ऊ रहन्छ इतिहासमा, अरु त जम्मै बढारिन्छन्, रहँदैनन् इतिहासमा । मदन रेग्मी कत्रो कवि मानिन्थ्यो, कहाँ छ अहिले ? केही मूल्य मान्यता केही छैन । इतिहास भनेको मत गणना हैन नि, सेन्सस हैन नि इतिहास भनेको । त्यहाँ त छानिएको अत्यन्त महत्त्वपूर्ण न रहन्छ ! हो त्यो इतिहासले बिस्तारै बढारेर लैजान्छ । हेर्नुस् न सिद्धिचरणकै महत्त्व कम भएको छ । रिमालको अलिअलि दिन छ । त्यसो हुनाले मेरो विचारमा त अहिलेसम्म त्यही रामायणको केन्द्रबाट नेपाली साहित्य धेरै पर जान सक्या छैन । किनभने अहिलेसम्म पनि रामायणका हरेक एडिसनलाई च्यातचुत पारेर जलाएर फाल्दिएपछि पनि मान्छेले कण्ठै पारेर त्यल्लाई पुनर्जिवीत गर्न सक्छ । त्यस्तो ग्रन्थ छ त कुनै त्यसपछि ? केही मात्रामा मुनामदन छ कि ? हो त्यस्तो क्लासिकल मतलब हरेक क्लासले भन्न सक्ने ग्रन्थ दिने केन्द्र बहुत कम हुन्छन् ।

अब त्यो भानुभक्तभन्दा अघि पनि देखिएन, पछि ऊभन्दा सानो रुपमा देवकोटा देखिए । त्यसपछि यता कवितामा त अलि व्यङ्ग्यात्मक भूपिको आएको थियो । मोहन कोइराला बाँचुन्जेका ठूला कवि थिए । अहिले त कवि हुन् भन्ने पनि मान्छेहरुलाई थाहा हुँदै हुँदैन । त्यसो हुनाले मलाई यिनै दुई अविष्मरणीय लाग्छन् । तपाईंको के विचार छ ?

हाहाहा…….सर अब आगामी दिनमा केही लेख्ने प्लानमा हुनुहुन्छ ?

अघि नै भनें, त्यो एउटा उपन्यास त्यसको चार वटा च्याप्टर लेखिसक्या छु । र, यौटा च्याप्टर विभिन्न किसिमले दुई तीनचोटी लस भैसक्यो ।

यौटा च्याप्टर मात्र लस भाको ?

अँ । अरु चैं प्रिन्ट गरेको हुनाले बच्यो । अनि अब त्यो त्यसमा जोडिने पुरानो कुरा एकदम सूक्ष्म रुपमा छ, अब त्यो पूरै नयाँ किसिमले लेख्नुपर्छ । नयाँ लेखेको कुरा अलि पहिलाकाले चार च्याप्टरसँग तालमेल खानुपर्यो । भाषामा, अभिव्यक्तिमा । हरेक कुरामा । अब मेरो त त्यतिबेलादेखि अहिले कि पतन भा छ कि त उन्नति भा छ । त्यो भन्दा खस्केकै होला अहिले । त्यस हुनाले त्यो त्यस धरातलमा पुगेर कम्प्लिट गर्न पनि गाह्रो गाह्रो लागिराछ । नयाँ छैन, उही पुरानो ।

झापा, बनारस, काठमाडौं तीनवटा केन्द्र हो तपाईंको जीवनकालको । पछाडि फर्केर हेर्दा कस्तो लाग्छ, ठूलो परिवर्तन आयो नि यो काल खण्डमा होइन ?

बनारस मुख्यतः अध्ययन काल हो मेरो । मैले क्लास एक देखि एमएसम्म त्यहीँ अध्ययन गरेँ । एक प्रकारले साहित्य लेख्न पनि त्यहीँ शुरु गरेँ । पहिला हिन्दी लेख्न शुरु गरेँ । हिन्दीमा कविताबाट शुरु गरेको हुँ । नेपालीमा कविता लेखिनँ । हिन्दीमा खास गरी कविता कथा र समालोचना लेखेँ, प्रकाशित पनि भएका छन् । त्यो ऐउटा फेज थियो, अब त्यल्लाई अध्ययनकै काल भन्छु र अब साहित्य प्रवेशको प्रारम्भिक काल यद्यपि त्यहीं पढ्दा पढ्दै एउटा कथा संग्रह च्याँखे धर्ना भन्ने छापिएको हो । त्यहीँ हुँदाहुँदै अब त्यो समालोचनाको पुस्तक नेपालीका केही आधुनिक साहित्यकार भन्ने पनि प्रकाशित भएको हो । देवकोटासम्बन्धी लामो लामो भूमिका र उनका केही अप्रकाशित पुस्तकहरुको सम्पादन गरेर प्रकाशन गर्न दिएको हो । यति काम त्यहीँ गरेको हुनाले यौटा राम्रै साहित्यिक शुभारम्भ त्यहाँ भएको हो । त्यो यौटा उठानको चरणमा हो । दोश्रो चरण झापा आएपछि हो । झापामा खास गरेर प्राध्यापन पनि शुरु गरेँ मेची महाविद्यालयमा । करिब नौ वर्षसम्म त्यहाँ अध्यापन गरेँ र त्यो अवधिमा खास गरेर युगज्ञानका लागि पुछारको पातो भन्ने स्तम्भ लेखन गरेँ ।

त्यो पछि किताब पनि छापियो नि !

पछि त्यो स्तम्भमा छापिएका ३५ ओटा लेखको सँगालो छापियो , यद्यपि त्यसमा त ३।४ सय छापिएका हुन् । ३५ ओटाको सँगालो हो र त्यहाँबाट नै व्यंग्य लेखन अलि बढी त्यो स्तम्भबाट त्यसरी सुरु भो र अर्को शुरुवात व्याकरण लेखन भयो । व्याकरण लेखनको पनि शुरुवात भयो र त्यहीं छँदाखेरि र वनारस हुँदाखेरिका कथाहरुका सँगालो ‘कोर्रा’ भन्ने हो ।

कोर्रामा कतिपय कथाहरु झापामा लेखिएका हुन् । कतिपय वनारसमा पनि लेखिएको हो । तिनैको सङ्कलन त्यसमा भएको छ । र, यसरी त्यहाँ खास गरेर प्राध्यापन, व्याकरण लेखन, हास्यव्यंग्य लेखन र कथा लेखन कहीँ पनि छुटेन । शुरुदेखि अत्यन्त प्रयोगधर्मी र मेरो दृष्टिले सार्थक, अरुको दृष्टिले नहुन सक्छ, त्यस्तो प्रयास मेरो गरेको हुँ । त्यसपछि तेस्रो स्थान काठमाडौं भयो । २०३२ सालमा अब रिडरमा बढुवा भएपछि यहाँ कीर्तिपुर क्याम्पसमा केन्द्रीय नेपाली विभाग भन्ने थियो, यहाँ आएँ । अनि यहाँकै गतिविधिमा सामेल हुँदै र के भन्देखि सबैभन्दा उर्वरकाल यसैलाई भन्नु पर्यो । यहाँ आएपछि नै ‘जेमन्त,’ ‘यमा’ जस्ता नाटक प्रदर्शित भएर तिनले पनि अलिकति ख्याति नै दिलाए । नाटकको क्षेत्रमा, समालोचनाको क्षेत्रमा वस्तुवादी समालोचना, अब्जेक्टिभ क्रिटिसिजम नेपालीमा थिएन, त यहाँ शैली विज्ञान शुरु गरेर त्यो मैले शुरु गरें । त्यही अब्जेक्टिभ समालोचना भित्रै पसेर यो उत्तरआधुनिकता, नेपालको उत्तरआधुनिकता देखिएको हो, समालोचनाका क्षेत्रमा । अब कथामा पनि ३।४ वटा सङ्ग्रहका कथाहरु त यहीँ लेखेको हुँ र एक प्रकारले वास्तवमा एक दुईवटा सङ्ग्रहहरु त देखिइसकेका थिए कथाहरुको, च्याँखे धर्ना, कोर्रा, तर त्यही पनि अब त्यतिखेर मलाई जल्ले पनि समालोचक भन्थ्यो, कथाकार भन्दैनथ्यो । पत्रिकालाई पनि कथा दियो छाप्नका निमित्त, होइन होइन समालोचना दिनुस् भनेर सोझै रिजेक्ट गर्थे के ! त्यस्तो बेलामा मैनाली कथा पुरस्कार प्राप्त गरेपछि अनि बल्ल मान्छेहरुले कथाकारका रुपमा अलि अलि स्वीकृत गर्न थाले । त्यो अवस्था त्यसपछि देखा पर्यो । एक प्रकारले त्यो दसमुख सिरिजका जुन कथाहरु हुन्, ती पर्याप्त नवीन खालका हुन् भन्ने मलाई लाग्छ । मलाई लागेर के भो ? अब हुन त यतै हालसालै पनि पछि एउटा एकेडेमीले त्यो वाचन गराएको थियो, वाचन पनि गरेको थिएँ कथान्तै कथान्त भन्ने कथा । त्यो कथा १५।२० चोटी सकिन्छ । त्यो वास्तवमा सिद्धान्तलाई नै चुनौती हो कि कथाहरु जोडेर उपन्यास हुँदैन, कथाहरु जोडेर उपन्यास हुन्छ भन्ने उदाहरण हो ।

कुन कथा हो त्यो ?

कथान्तै कथान्त । त्यसमा हिरो हिरोइन १५/२० चोटी मर्छन् ।

तर फेरि शुरु हुन्छ । ‘भर्खर’ भन्ने कथा सङ्ग्रहमा ?

अँ, त्यो मसँग छैन, भए दिने थिएँ । त्यही डिकुरा भन्ने, अचेल त्यसको टुङ्गो कहाँ छ थाहा छैन । …हो, यहाँ आएपछि विविध पक्षमा एकप्रकारले झन्झन् प्रोग्रेसै भाको छ । कथाहरुको एउटा सङ्ग्रह छापिएका आधा नछापिएका आधा । अहिले लामा लामा कथा छापिन गाह्रो छ । पहिला त बलमिच्याईंले गर्दाखेरि दशमुख र ऊ भन्ने गरिमामा दुई अङ्कमा पनि छाप्यो । एउटै कथा । अब त कतै सम्पर्कै पनि छैन, केही पनि छैन… एउटा तयार गरेको छु संग्रह । …एकदिन मणि शर्मासँग भेट भएको थियो । आउँछु त भनेको छ । त्यो एउटा कथा सङ्ग्रह निस्कन्छ होला अब । अनि दशैंतिर एउटा समालोचनाको किताब समालोचनाको नयाँ कोण भनेर । त्यो छ । अनि कम्प्लिट गरेर दिने । उपन्यास हो अनि, निबन्धहरु थुप्रै छन् । त्यो अन्नपूर्ण पोष्टमा पनि धारावाहिक छापिएका । राजधानीमा पनि छापिएका । त्यो सब खोज्न लगाइरेछु । पाइएछ भने दुइटा तीन वटा संग्रह हुन्छन् निबन्धका । खोई निबन्ध सङ्ग्रह छाप्ने अहिले प्रकाशक हुन्छ कि हुँदैन ! अलिअलि साझाले पनि छाप्न थालेको छ ।

प्रतिक्रिया
Loading...