नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लेखक बन्नुअघि पुस्तक निस्कनु पर्छ तर पुस्तक निकाल्ने कसरी ?

पुस्तक कसरी निकाल्ने ? यस्ता छन् बुद्धिसागरका दश सुझाव

धेरै मित्रहरू पुस्तक प्रकाशनका बारे कौतुहल राख्नुहुन्छ । र, प्रायः पहिलोपल्ट पुस्तक प्रकाशन गर्ने सोचमा रहेकाहरू हुनुहुन्छ । प्रायःको कौतुहल आख्यानका विषयमा छ । मेरा सुझाव यस्ता छन् !

१. किताब छाप्न कति पैसा लाग्छ ?

त्यो त पुस्तकको पृष्ठ हेरेर थाहा हुन्छ । कस्तो कागज, कस्तो गाता र कस्तो प्रेसमा छाप्नुहुन्छ, त्यसले मूल्य फरक परिरहन्छ । तर, अहिले नेपालमा धेरै नै प्रकाशन गृह छन् । त्यसैले कुनै पनि प्रकाशन गृहसँग सम्पर्क गर्नुभयो र तपाईंको सृजना प्रकाशन संस्थालाई चित्त बुझ्यो भने पैसा लाग्दैन । झन्, पुस्तक बिक्रीमार्फत् तपाईंले रोयल्टी पाउनु हुन्छ ।

२. रोयल्टी कति आउँछ?

रोयल्टी, प्रकाशक र लेखकबीच गोप्य सम्झौता हुने कुरा हो, त्यसैले यति उति त भन्न सकिँदैन, तर नेपालमा हरेक पुस्तकबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म दिने चलन छ । सुरुवातमा थोरै रोयल्टी पाए पनि तपाईंको कृतिको माग भयो र बजारमा प्रभाव जमायो भने रोयल्टी बढ्दै पनि जान सक्छ ।

बुद्धिसागर

३. प्रकाशकसित कसरी सम्पर्क गर्ने ?

तपाईंकै र्याकहरूमा थरी-थरी प्रकाशन संस्थाले प्रकाशन गरेका पुस्तकहरू होलान् । त्यसैमा सम्पर्क ठेगाना हुन्छ । तपाईं त्यहाँबाट सम्पर्क गर्न सक्नुहुन्छ । र, प्रायः प्रकाशन संस्थाका व्यक्तिहरू फेसबुकमा पनि हुनुहुन्छ, म्यासेजबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

४. प्रकाशकसित कसरी कुरा गर्ने?

अनेक भाषा घुमाएर कुरा गर्न थाल्नु भयो भने प्रकाशकहरूलाई दिक्क लाग्न सक्छ । त्यसैले आफ्नो पुस्तकको कथासार बनाउनूस् । हजार शब्द जतिको । अनि, आफूलाई सबैभन्दा राम्रो लागेको एक अध्याय, दुईदेखि तीन हजार शब्दसम्मको, पनि नथ्थी गर्नूस् । र, प्रकाशकन संस्थाको इमेलमा पठाइदिनुस् । तर, तारान्तार सम्पर्क गरेर झिँजो नलगाइदिनूस् । यदि प्रकाशकलाई तपाईं पुस्तक मन पर्यो भने आफैं सम्पर्क गर्छन् ।

५. पहिलो पुस्तक हो र म खासै चर्चित पनि छैन । के छाप्लान् ?

राम्रो पुस्तकको कमी सधैँ हुन्छ । त्यसैले छाप्छन् तर आफैंले विमोचनको मितिसम्म सोचेर सम्पर्क नगर्नूस् । पाइपलाइनमा धेरै पुस्तक हुन्छन् । समयको मार्जिन अलि धेरै नै राख्नूस् । यदि तपाईंको पुस्तक गज्जबै लाग्यो भने झन् समय लगाउन सक्छन् । किन भने, पुस्तकको प्रमोसनलाई उनीहरूले धेरै आइडिया सोच्नु पर्ने हुन्छ ।

६. मेरो पहिलो पुस्तक हो, पाठकले सजिलै पढ्लान् ?

यदि तपाईंका रचना फुटकर रूपमा पनि प्रकाशित भएका छैनन् भने पुस्तक पाठकहरूबीच फैलिन अलिकति लामो समय लाग्छ । त्यसैले फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा पठाउन सक्नुहुन्छ । सोझै पुस्तकतिर लाग्नुभन्दा पनि पहिला केही रचना फुटकर रूपमा प्रकाशन गर्नु लाभदायक हुन्छ । जसले तपाईंको पाठकहरू निर्माण गर्न सक्छन् । र, तपाईंको पुस्तक प्रकाशन भएपछि, पढिदिने पनि उनै हुन्छन् ।

७. फेसबुकमा मेरा रचना चर्चित हुन्छन् !

फेसबुकलाई धेरै विश्वास नगर्नूस् । एक त फेसबुकमा साथीहरू धेरै हुन्छन् । तपाईंलाई खुशी बनाउन पनि वाह वाह गरिदिन सक्छन् । र, प्रायः साथीहरूलाई तपाईं मन पर्नुहुन्छ, त्यसैले रचना पनि मन पर्न सक्छ । तर, पुस्तक त साथीहरूले मात्र पढिदिएर हुँदैन । पत्रपत्रिका अथवा अनलाइनहरूमा रचना प्रकाशन गर्नुभयो भने तपाईंलाई चिन्दै नचिन्नेले पनि पढ्छन् । र, उनीहरूलाई राम्रो र नराम्रो भन्न गाह्रो पनि हुँदैन । केही समय फुटकर रचना प्रकाशित गर्ने । आएका सुझावहरूलाई मनन गरेर लेखन सुधार्ने हो भने तपाईंको रचनामा पनि शान पनि लाग्नेछ, पाठक पनि पाउनुहुनेछ ।

८. पत्रपत्रिकाले छापिदिएनन् भने के गर्ने ?

राम्रो छ भने कुनै पनि भनसुन गर्नु पर्दैन। सजिलै छापिन्छ । र, छापिएको रचनाको राम्रै पारिश्रमिक पनि पाउनुहुन्छ । दुई तीन हजार शब्दको रचनाको सामान्यता दुई तीन हजार सजिलै पाउनुहुन्छ ।

तर, रचना पठाइसकेपछि धेरै गनगन गर्नू र कहिले छापिन्छ भनेर सोधिरहनू पनि हुँदैन । त्यसको सट्टा रचना अस्वीकृत भए, किन भयो भनेर सोध्न सक्नुहुन्छ । जसले तपाईंलाई सुधार गर्न सहयोग पुग्नेछ । एउटाले अस्वीकृत गरेको रचना अर्को अर्कोतिर दगुराउनु भन्दा नयाँ रचना पठाइदिनु वेश हुन्छ ।

९. म हातले लेख्छु, के पुस्तक टाइप नै गरेको हुनुपर्छ ?

पर्दैन । नेपालका केही चिर्चित लेखक हातले नै लेख्छन् । तर, पनि आफूले लेखेको कुरा अरूमार्फत् टाइप गराएर तयार गर्नुभयो भने सहज हुन्छ । अझ प्रिती फन्टमा गर्नुभयो भने झन् राम्रो । किन भने यो फन्ट अरू धेरै फन्टमा परिवर्तन गर्दा शब्दहरू बिग्रने समस्या हुँदैन ।

१०. पुस्तक त तयार छ । तर, डर लागिरहेको छ भयो कि भएन भनेर मैले पढेका अरु पुस्तकजस्तो त छैन ।

अरूका पुस्तकजस्तो नहुनु नै तपाईंको आफ्नो शैली हुनु हो । तपाईंले पठाएको पुस्तक अक्षरसः त्यही छापिन्छ भन्ने पनि हुँदैन । सम्पादन पनि हुन्छ । पुस्तक सम्पादन हुनु भनेको तपाईंले लेखेभन्दा बेग्लै हुनु होइन । तपाईंले थाहा नपाएका, तपाईंले गर्न सक्ने धेरै कुरा सुझावको रूपमा पाउनुहुन्छ । सुधार्ने आफैंले हो, चित्त बुझेका कुरामा । सम्पादकका सुझाव चित्त बुझेनन् भने तपाईं परिवर्तन नगर्न पनि सक्नुहुन्छ ।

समान्यता सम्पादकले तपाईंलाई परिवर्तन गर्न विश्वस्त पार्छन् । विश्वस्त हुनु भएन भने तपाईंले सम्पादकलाई विश्वस्त पार्नुपर्ने हुन्छ, किन परिवर्तन नगर्ने भनेर । हेर्दा अप्ठ्यारो देखिए पनि सम्पादनको यात्रा रोचक हुन्छ ।

यति भएपछि, तपाईंको पुस्तक तयार हुन्छ ।

प्रतिक्रिया
Loading...