नेपाली साहित्यको सम्पूर्ण पत्रिका

चिट्ठी-प्रिय मन परेको मान्छे

अचेल मलाई मेरो मन तिमीलाई पठाउन मन छ । प्रेम संसारको सबैभन्दा मधुरतम भाव हो । जसरी जीवनका लागि श्वास, त्यसरी नै मुटुको लागि प्रेम । तिमी नहुनुको अर्थ भनेको सधैँ शिशिर, सधैँ पतझड, सधैँ हिमलहर, सधैँ ओसिलो हृदय हुनु हो । जीवनको अनेक रंगहरुसँग खेल्दाखेल्दै कति रंगहरु गाढा भए ,कहिल्यै नमेटिने गरी ,त कति रंगहरु छिनभरमै मेटिएर गए । हरेक यामसँगै पातहरु नि परिवर्तित भए ।

अनि सोच्छु ,कतै तिमी पनि त्यहि रंगहरुजस्तै फरक पो भयो कि या त अर्कै रंगहरुमा बिलिन हुन पुग्यो ?यी हरेक पातहरुमा तिम्रै नाम लेखिसकेँ, तिमीलाई नै गर्ने अजर–अमर माया कोरिसकेँ । हरेक चिसो हावाको झोकामा तिमीलाई नै मिठो संदेश गुञ्जाइसकेँ । लाग्छ, अब तिमी बिनाको संसार कल्पना मै छैन । हो, यहि रंगीन पातहरुसँगै तिम्रा रंगहरु पनि नियाल्छु, अनि त्यहाँ बस तिमीलाई नै देख्छु, तिम्रा निर्मल भावनाहरु देख्छु । जसरी नीलो सागरमा सेता हिमालाहरु देखेजस्तै तिम्रै छायाँ देख्छु ।

रस्मिला कवाङ ‘रश्मि’

तिमीप्रति अथाह माया अनि आसक्ति हुनुमा कुनै कारण थिएन । तिमीबाट प्राप्तिको कुनै स्वार्थ थिएन । त्यहाँ त बस् तिमीप्रति अपार प्रेम थियो, आफूलाई नै रित्याई सम्पूर्ण तिमीलाई नै समर्पित गरुझैँ । यति नै काफी छ तिम्रो मीठो सम्झनाको स्पर्श गर्न।

हरेक झरीसँगै तिम्रो मिठो याद आउने गर्छ । चिसो बताससँगै तिम्रो त्यो सुन्दर अनुहार, तिम्रा ती आत्मीय भाव म यही महसुस गर्छु । सायद, शिशिर यामको पतझडसँगै आशाहरु पलाउन थालेका छन् । बादलको छाती चिरेर जब झरी पर्छ, मलाई तिमीजस्तै लाग्छ । त्यो शितल शान्त झरी, जुन एकनासले झर्दैछ निरन्तर । मात्र मेरो लागि जसरी तिमी छाएका छौ मेरो मन मस्तिस्कमा । एउटा नयाँ किरण बनेर अघि बढ्नेहरुको लागि के यही माया अजम्बरी होइन र? यो चिसो सिरेटो, अनि धुम्म परेको पर्यावरण लाग्छ, कता कता नमिठो अनुभव । जताततै हुस्सु र कुहिरो, भानुको कतै रश्मि छैन। न त न्यानोपनको आभास । अनि त लाग्छ जिन्दगी नै कठ्याङ्ग्रिने हिउँजस्तै । हो, त्यतिबेला मनमा तिम्रो एक सम्झनाले कति पारिलो बनाइदिन्छ, यो चिसो सिरेटो पनि ।

म कफीको देशमा बसेर पनि कफी नपिउने मान्छे ! अझ त कफीको बासना नै मन नपर्ने तर तिमी त कफी सारै मन पराउने मान्छे । तापनि चिनी अलि बेसी राखेर पिउँला भनेर सोच्दै थिएँ, तिमीसँग भेट हुँदा । तिमीलाई के थाहा, म कफी होइन दुधचिया पिउँछु ! कुराकानी गर्दागर्दै पनि तिमीले केही हरफहरु लेखिहाल्यो । कति छिटो लेख्न सक्ने रहेछ बाई ! तिमीले भनेका थियौ नि, ‘यो सब कफीप्रेमको कमाल हो !’ सोचेँ, ‘एउटा कफीप्रेमले तिमीले यति राम्रो लेखाई कोर्न सक्छौ भने अरु प्रेमले तिमीलाई के गर्दो होला !’ जब तिमीले मलाई प्रेम गरेको अनुभूति भयो तब मलाई ‘आफू व्यर्थै जन्मिएको होइन रहेछु’ भन्ने आभास भयो । नीलो आकाशमुनि एउटा नीलो सागर, अनि नीलगिरिमाथि चम्कने एउटा नीलो चाँद । अनि, त्यही चाँदनी सुन्दर छ । साँच्चै तिमीजस्तै सुन्दर ।

सुन न, तिमीलाई एउटा कुरा सोध्न मन छ । के अर्को मान्छे देख्दा तिमीमा पनि त्यस्तै प्रेमको सुन्दर भावना पलाएको थियो जुन मलाई भेट्दा पलाएको थियो ? तिमीलाई देख्दा मात्र यस्तो लाग्छ कि मलाई, संसारको सबै खुसी मैले नै पाए । तिमीलाई सम्झिँदा मात्र यस्तो लाग्छ मन आनन्द अनि हर्षित ।

सायद तिमीसँगको भेट अविस्मरणीय हुनुपर्छ । लाग्छ, तिमी नै मेरो जीवनको ऊर्जा हो, साहस हो प्रगति पथमा लम्किनलाई आत्मविश्वास हो । खुसी भएर जिउनलाई तिमी आँखासामू हुनु र नहुनुमा केही फरक छैन किनभने तिमी त हरेक स्मृतिमा बसेका छौ। मानसपटलमा यसरी समाहित छौ कि लाग्छ, अब तिमीले नै शासन गरी आफ्नो प्रभाव जमाइरहेका छौ । कसैको सम्झना मात्र गर्दा पनि यति खुसी हुनु, सायद तिमी असाधारण हुनुपर्छ । तिमीप्रति यति झुकाव छ । के यो माया हो? होइन, यो माया हुनै सक्दैन, किनभने माया त स्वार्थी हुन्छ तर तिमीप्रति मेरो कुनै स्वार्थ छैन । छ त मात्र, तिमीप्रति अपार श्रद्धा र सद्भाव। किन हो खोइ ! मलाई त प्राप्ति मात्रै प्रेम होइन, त्याग पनि स्वीकार्न सक्नुपर्छ भन्ने लाग्छ ।

तर यो स्वार्थी समाजमा हाम्रो प्रेमलाई कहाँ ठाउँ छ र? भोलिको उज्यालोमा एकाबिहानै काग, गिद्ध र सर्प, बिरालो र ब्वाँसो उठ्ने छन् जुरुक्कै र फेरि लुछ्ने छन्, फेरि घिसार्ने छन्, हाम्रो प्रेमको टुसालाई । अनि, म कसरी भनूँ, हाम्रो प्रेम यो समाजमा सुरक्षित छ भनेर? म बसेको ठाउँतिर खुब चिसो बतास चल्छ । सायद तिमीकहाँ पनि पुग्दो हो । यो हुरीसँगै उडेर तिमीकहाँ पुग्न मन छ । सारा मनका कुरा सुनाउन मन छ । तर यो हुरी मलाई छोएर उड्छ, मलाई लिएर उड्दैन। कुरै नगरूँला, कसैलाई नभनूँला, तर हाम्रो प्रेम त कुँदिएका छन्,रहिरहन्छन् रहिरहून् पनि किनभने कुँदिएको मेट्न त अर्को खत सहनुपर्छ ।

तिमीलाई थाहा छ? जब तिमीले मुसुमुसु हाँसी दिएका थियौ, पहिलो भेटको मुस्कान अझै अमर छ । धेरै वर्षसम्म पनि तिमी नआउँदा, कतै फर्की आउँछौ कि भन्ने आशमा मिरमिरेदेखि झपक्क साँझसम्म तिमी हिँड्ने बाटोहरुमा ओहोरदोहोर गरिरहन्छु । तिमी गएपछि बनेको यस युगको सबैभन्दा निरङ्कुश प्रेमिका म, अँध्यारो कोठाभित्र झ्यालको प्वालबाट छिरेको किरणले एउटा उज्यालो रेखा बनाउँछु । जुन रेखामा अलौकिक खुड्किला बनाएर म अक्षरमा ज्वारभाटा देख्छु ।

अँध्यारोमै अँध्यारोले अँध्यारो आकृति बनाउँछ तर म देख्न सक्छु तिमीलाई त्यहाँ पनि । टेबलमाथि छरपस्ट किताबहरु छन्, किताबबाट उडिरहन्छन् अक्षरका झिल्काहरु, यी अक्षरहरुको परितप्तता सङ्ग्रह गरेर म तिमीलाई लेख्न रुचाउँछु । सम्बन्धहरु टुक्रा–टुक्रा भएर फुटून् । अप्ठेरा शृंखलाहरु चाङ बन्दै जाऊन् । गोमनसाँप, चील र गिद्ध बनेर दिमाग लुछून्, र जिन्दगीको सङ्घर्षमा एउटा पहाडजस्तै बनेर उठून् । तैपनि मनहरु हिम्मत हार्दैनन् तिनै बाटोहरु हिँड्न किनभने मभित्र उदाउँदो सूर्य, हाँसिरहेका हिमशृंखलाहरु, स्वच्छ हावा, हरियाली वातावरण, कलकल बगिरहेको पानी, चिरबिर चराहरुको आवाज र म ब्युँझिदा न्यानो घामजस्तै पोखिने तिम्रो ‘मुस्कान’ ममाथि छ अनि तिम्रो प्रेम छ ।

अस्ति मात्र पनि नेपाल छोड्नुअघि मैले एयरपोर्टभित्र एउटा कफी सपबाट दुधकफी लिएँ । त्यो दुधकफीको स्वाद धेरै फरक लाग्यो । धेरै थोकको स्वाद, खुशी, पीडा, बिछोड, सम्झना । सोचेँ, एउटा कफीको पनि यति धेरै स्वादहरु थिए मेरा लागि, तिमी त प्रायः कफी पिउने मान्छे । के तिमीले पनि हरेक कफीसँग विभिन्न स्वादहरु पाउँछौ या त मात्र एउटा स्वाद ? म एकछिन सोचिरहेँ, तिम्रो कफीप्रेमको बारेमा ।

त्यतिबेला हिमालजस्तै खुलेर अनि सगरजस्तै उर्लेर, घामजस्तै फिँजेर, हावाजस्तै बगेर, तिम्रो त्यो डिम्पल पर्ने गालाभरिको मुस्कान पनि सम्झेँ । शिशिर यामको पतझड अनि चिसो यामको मौसममा । लाग्छ, यी धर्तीभरि झरेका पहेँला पातहरु मात्र मौसमी परिवर्तनको संवाहक मात्र होइनन् । हरेक पात एउटा नयाँ आशा अनि उमङ्ग लिएर आएको छ। माया सद्भाव अनि प्रगतिपथमा लाग्ने एउटा नयाँ उजेली आएको छ । एउटा नया रश्मि आएको छ ।

म भित्रको यो अद्भूत खुशी, अदम्य साहस अनि जीवन्तताको आभाष। संसारकै अमूल्य अनुभूति यति स्निग्ध यति निश्चल भाव खोई कुन हृदयबाट पलाउँछ होला ? सायद तिमीलाई भेटेपछि यस्तो अनुभूति भयो। यति मिठो यति न्यानो सायद पहिले नै आत्माले स्पर्श पाएको भए ! जीवन स्वर्ग हुन्थ्यो सुन्दरता आँखाभरि, आशा मनभरि अनि जीवन सफलीभूत हुने थियो। समयको पंख चढेर जीवनको हरेक पल स्वर्णिम अभिरूप बन्ने थियो । साँच्चै, तिमीसँगै अनि तिमीजस्तै ! तिमी नआउँदा अनि तिम्रो उपस्थितिबिना यो बिरानो शहर रंगीन भएर पनि कति फिक्का थियो। अनि तिमी एकदिन त पक्कै आउँछौ भन्ने आशामा जीवनका दीपहरु बाल्दै थिएँ।

हरेक सिन्दूरी साँझ, सिमसिम पानी, उजेलीको इन्द्रेणी, चिसो पवनको झोँका, ताल नदीको हरेक बुँदमा झंकार। माथि हरियो डाँडामा जलिरहेको रक्तिम दरबार, सबै कति नराम्रा थिए तिमीबिना। यो पल, यो मौसम, त्यो साथ, कल्पन्थेँ म । साँची, कति सुन्दर कति रंगीन हुन्थ्यो होला हाम्रो समय। तातो कफी–चियासँगै जमेको न्यानो अनुभूति। पानीका हरेक थोपामा टल्केका हरेक बिम्ब हरेक छायाँ त्यसैमा समाहित छन् । अनि मेरा हजारौँ सपनाहरु, रहरका लहरहरु सुदूरकी सुन्दरीझैँ किनाराबाट टोलाएर हेर्छन्। गहिरिएर हेर्छु म जीवनको जीवन्तता। त्यही रङमा मुस्कुराएका ती मनहरु । शब्दका गुच्छाहरू उडेका थिए। स्वतन्त्र भएका शब्दभित्रका वाक्यहरू त्यही चिसाम्य साँझमा, निसङ्कोच निर्विघ्न भए। हो, त्यतिबेलै लागेको हो म जीवन बाँचिरहेछु शब्दहरूको देशमा, जहाँ छैनन् केही अहंकार, विरक्तका अध्यायहरू। छन् त केवल नयाँ उजेली जहाँबाट सुरुवात हुन्छ एउटा सुन्दर जीवनचित्र । साँची ! धेरै सुन्दर तिमीजस्तै ! तिमीलाई सम्झिँदा मात्र तिमीसँग बिताएका ती हरेक पल नियालेर हेर्दा यस्तो लाग्छ कि उदाउने सूर्यको कोमल प्रकाश हो अथवा मध्य सूर्यको राप हो, शितल जूनको छायाँ हो या बिउँझिएरै देखिने मीठो स्वप्न हो? प्रिय मन परेको मान्छे, जब म शिशिरमा झरी देख्छु नि, त्यो पानीको हर बूँदमा तिम्रो मुस्कान देख्छु । त्यही बूँदको निश्छलता जस्तै तिम्रो मन नि त्यस्तै र त निलो पानी र तिमी उस्तै लाग्छ । जति छचल्कियो उति राम्रो । जति हेर्यो उति सुन्दर । बरु आऊ तिमी पनि यो पानी बनेर बग्दै बग्दै मिठो धून बनेर । त्यो महाद्वीपबाट सुदूर अनि म एकएक बुँद मनको बलेसीमा समालेर राख्छु यो उराठ गृष्म याममा हुन्न र?

लालीले ओठ सजाएर जब म गलल हाँस्ने गर्छु तब सोध्थ्यौ नि तिमीले किन हाँसेकी नक्कली भनेर ? साँच्चै नै फूलजस्तै सुन्दर देखिन्छ जसमा सजीवता हुन्छ । तर त्यसभित्रको कथा त नभनिकन के थाहा हुन्थ्यो र ! अनेकअनेक वहानामा तिमी सोध्छौ नि मौरीले खिल गाड्यो भने फूललाई दुख्दैन भनेर ? म भन्थेँ, अनि बरु तिमि त्यही मौरीलाई नै सोध न ल किनकी मान्छे त कुरा लुकाउन अनि पर्दा हाल्न सिपालु छ । रस लिन होस् या दिन फूलले कहाँ जानेको हुन्छ र ? त्यो त खोसेर लिने गरिन्छ । खोसेको कुरा कसलाई पो मन हुन्छ र ? अनि तिमी सोध्छौ की एकपटक बसेको फूलमा फेरि मौरी बस्छ कि बस्दैन होला? हो आजकल मलाई मौरी देख्यो की कति प्रश्न सोध्न मन लाग्छ। पत्झरमा के तिमीले कहिले कोपिला फक्रेको देखेका छौ ? फूलको रस अनि मायामा कति धेरै फरक हुन्छ। के तिमीले सुन्दर गुलाब नटिपी बसेका छौ ? कहीँबाट यस्तै यस्तै कुराको याद आउछ अनि मलाई। माया त सधैं शान्त र एकतमासले चल्ने बतासजस्तै पो हुनपर्छ जस्तो लाग्ने । स्पर्श गरिरहने अनि सधैँ साथ रहेको आभास गराइरहने !

धेरै समय सम्म नि कुरा नहुँदा भन्ने गथ्र्याै नि तिमीले बरू देख्नसके एकपटक फुटेकोओठ भए नि देख्नपाउँ । फुटेको होस या त उछ्रेको होस ओठ, के पो फरक पर्ला र भनेर ! तिमीलाई अन्तिमपटक देखेको त सात समुद्रपारी उड्न लाग्दा हो क्यारे। सायद त्यतिबेला गुलाबी लाली नभैकन , अलिकति मुस्कान, अलिकति पिडा थियो। आजकल त कहिले सुख, त कहिले फुटेको। आफैलाई नढाटीकन भन्नु पर्दा ओठको रसिलोपन, त्यो नरमपन कता हरायौ आजकल खोइ ?अलिकति त त्यतै कतै बिर्सिएँ कि! केहि त जिन्दगीको यात्रा अनि रहरबीच गुम्सियो होला। हल्का मरुन लालीले बनाउने त्यो छुचीपन अनि त्यो कलेटीओठ आजकल त्यति देखिन्न। यो चिसो मौसममा फुटेकै सहि बरु ओठ तर कलिला रहर चाहिं फुटाकी छैन। किनकी त्यो ओठमा तिम्रो अलिकति हाँसो मिसिएको छ । तिमीले भनेका थियौ नि , लेख्दै जाऊ तिमी अझै । सायद तिमीलाई मैले लेखेको पढ्ने रहर थियो, तर मेरा विचार त्यही कलमको मसीजस्तै जमेको छन् । हो, त्यही बेला जम्नु र पग्लनु शास्वत हैन, मान्छेकै नियन्त्रणको विषय हो । तिमीमा जम्ने रहर छ कि पग्लने ? भन्दै वैज्ञानिक शास्त्रार्थ गर्न आइपुगेका थियौ तिमी । हुन त हाम्रो भेट चौवाटोमा भएको हो ।

मान्छे दोवाटोलाई क्षणिक मिलन वा विछोडको विन्दु मान्छन् भने म हाम्रो भेट भएको विन्दुलाई चौबाटो भन्न रुचाउँछु । दोबाटोमा छुट्टिएकाले त कम्तिमा चाल पाउँछन्, त्यसपछि को कता गयो । चौबाटोका यात्रीलाई त को कुन दिशामा गयो भन्ने पनि थाहा हुँदेन । कताबाट आएको थियो भन्ने पनि हेक्का हुँदैन । गन्तव्यलाई हरेक पाइलाको योगफल सम्झने तिमी चौबाटोको मिलनमा पनि अथाह सम्भावना देख्छौ। ‘एक सेकेन्ड चम्किने विजुलीको अर्थ छ । घाम, पानी र प्रकाशको दुर्लभ संयोग ईन्द्रधनुष बन्छ । त्यहि अल्पायु ईन्द्रधनुषले मान्छेलाई कालजयी कवि बनाउने सामथ्र्य राख्छ भने यो समयले किन हामीलाई केही नदेला र ? मुख्य कुरा उपयोग गर्नेको हातमा छ’, तिम्रा तर्कशील कुराले मेरो वैचारिक शक्ति बौरिन थालेको थियो । तिम्रा यस्ता महाबाणीले त हो नि म मा यत्रो साहस आएको।

तिमीलाई याद छ ? कुनै बेला हामी कस्ता थियौँ । त्यो बेला भर्खर वसन्त ऋतु आएको थियो जब हामी हाइकिङ्ग गएका थियौँ । आजैको दिन थियो क्यार े। मौसम राम्रै थियो बिहानसम्म । हामी पुरै पहाड छाडेर सुनसान जंगलमा पुग्यौँ तब फुरुरु हिउँ पर्न थालेको थियो । माथी धेरै उचाईमा पुग्दा कति रमाइलो भएको थियो । त्यसपछि हामी लगातार तीन घण्टा हिउँपानीमा रुझेर तल झरेका थियौँ । अनि बीच बाटोमा बाटो पनि बिराएका थियौं । तेतीबेलासम्म त पुरै पहाड नै सेतामे भैसकेको थियो । धन्न ! हामी समयमै तल झर्यौँ । सायद नझरेको भए, हाम्रो अन्तिम ट्रेन पनि छुटी सक्थ्यो । अनि हामी त्यतै अलपत्र पथ्र्यौँ होला।

चिसो यति थियो कि लुगलुग कामेको हातले तातोतितो कफी पनि एक घुट्कोमा पिएका थियौँ । हामीले त्यति बेलाको त्यो कफीको स्वाद नै थाहा पाएनौँ । मात्र त्यतिबेलाको त्यो मुटु काप्ने चिसोको याद छ, अनि त्यो सिरेटोको अनुभव छ । मलाई अझै पनि याद छ ती सबै कुरा। तिमीले त बिर्सिसक्यौ होला है। तिमी त अब अन्नपुर्ण हिमाल अनि माछापुच्छे्र हिमालसँगै रमाउन थालिसक्यौ होला। अस्ति म नेपाल आउँदा हामी फेरी हिमाल जान सक्थ्यौँ तर पुरै शहर लकडाऊनमा पर्यो र हामीले त्यो मौका गुमायौँ । अहिले फेरी नि दशैँको माहोल छ क्यारे त्यतातिर। यता पनि शिशिरको चिसो बढेको छ। पातहरु झर्न थालेको छ। कहिलेकाहीँ साँझमा हिड्दा , तिनै पातहरु बटुल्दै हिड्छु । अनि तिमीले भनेका कुरा नि याद आउँछ । तिमीले सोधेका थियौ, ‘तिमीले पातलाई छुँदा पातले केही भनेन, रश्मि?’ भनेर। अनि मैले भनेकी थिएँ तिमीलाई, ‘तिमीले छोइरह्यौ भने त म पनि ओइलाउँदिन होला’ भन्यो पातले भनेर । तिमीले नि भनेका थियौ सुन्दर हातले छोएको चिज मनमा गएर रोपिन्छ रे अनि मनमा रोपिएको चिज कहिल्यै ओइलाउँदैन रे। त्यही भएर आजकल मलाई नि तिम्रो सम्झनाहरु छोईरहन मन लाग्छ ।

मन कति चञ्चल छ । राम्रो देख्यो, मन परिहाल्ने अनि मिले आफ्नो बनाउन पनि खोजीहाल्ने । हामी बिच शब्दका भेटहरु, मनका विश्वासहरु, गीतबिनाको मिठो संगीतजस्तो भएर जीवनका तितामिठा मुस्कानहरु साटिए । अलिकति तिम्रो, अलिकति मेरो । किन यति मिठा हुन्छन् साईनो बिनाका सम्बन्धहरु? तिमीसँगका उधारा सपनाहरु आशालाग्दा भए पनि तिनले पीडा दिएनन् भने भेटीनु नभेटीनु के भो र ? बस यति चाही पक्कै थाह छ कि, म तिमीलाई प्रेम गर्छु र गरिरहने छु ।
उही तिमीलाई माया गर्ने
छुच्ची ।

जर्मनी

प्रतिक्रिया
Loading...