नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सम्झनामा मेरो बालापन

भनिन्छ, जीवन भनेकै अनुभवहरुको सँगालो हो । जीवनका विभिन्न चरणमा प्रवेश गर्दै बटुलेका मिठा नमिठा अनुभवहरुको सम्झनाका तरेलीले नै जीवनलाई रंगीन बनाउँछ । विश्व कोरोना महामारीले आक्रान्त बनेको यस विषम परिस्थितिमा लाखौँ संक्रमित बनेकामध्ये म पनि एक बन्न पुगेँ । उपचारको कठिन मोड पार गर्दै आज आफ्नो सक्रिय जीवनलाई सहज बनाउने कोसिस गर्दैछु । यस मानेमा मैले आफूलाई धन्य र भाग्यमानी सम्झेको छु ।

तर आजको समय र परिस्थितिमा आफूलाई सहज र सरल बनाउँदै लाने प्रयासमा मैले आफ्नो विगतलाई अत्यधिक रुपमा सम्झन पुग्दैछु । आफ्नो बाल्यावस्था, किशोरवय र आजको प्रौढ अवस्थाका अनगिन्ती यादहरु अटेसमटेस बनेर उर्लिरहेछन् ।

आफ्नो बालापन मन नपर्ने को होला र ! तर मलाई थाहा छ, प्रायः सबै जसोलाई आफ्नो हाँसीखुशीको रमाइलो बालापन मनपर्छ । आज म उत्तरार्धको जीवन जिइरहेको समयमा किन किन मलाई आफ्नो बालापनको याद ताजा भएर आइरहेछ । मैले खेलेका ती आँगन, साथै खेलेका दौँतरी अनि धुले भुइँमा कखरा पढेको कसरी बिर्सन सकिन्छ ? समय नै त्यस्तो- भोक न भकारी, शोक न सुर्ताको बेला ! मन परेको चिज चाहियो बा-आमासँग रोइदिए भैहाल्यो । भोकलाग्यो, आमा । चोट लाग्यो, आमा । कसैसँग झगडा भो, आमा । केही चाहियो, आमा । नयाँ कुरा किन्न पर्यो या केही ठूलै कुरा चाहियो, बुबालाई भनसुन गर्न पनि आमा ! भनौँ, बालापनमा सबै कुराको दबाई नै आमा हुन् । कोही कसैको कुरा भन्न चाहिएमा बुबासँग भन्न डर हुन्थ्यो तर आमा सुन्नु हुन्थ्यो । सकभर हल गर्नु हुन्थ्यो या त बुबालाई भन्छु भन्नु हुन्थ्यो ।

वसन्त श्रेष्ठ

कोरोना सङ्क्रमित बनेर अस्पतालमा रहँदा धेरै पटक एउटा सपना नै बारम्बार दोहोरिइरह्यो । समुद्री जहाजको यात्रामा मेरो अघिल्तिर एउटा सानो बालकले क्षितिजतिर एकनासले हेरिरहेको । म उसलाई भेट्न खोज्छु, पाइला चल्दैन । बोलाउँछु, सुन्दैन । न ऊ फर्केर हेर्छ, न म नै भेट्न सक्छु । धेरै पटक दोहोरिएको यस सपनाले मलाई फेरि एकपटक मेरो बालापन सम्झाइदियो ।

तेह्रथुम जिल्लाको म्याङलुङ बजारमा मेरो जन्म भयो । हजुरबुबा लोकमान श्रेष्ठ र हजुरआमा अक्षयकुमारी श्रेष्ठले धेरै कठिन र दुःख गरेर सिर्जना गरेको व्यापार व्यवसाय र मान प्रतिष्ठाको छत्रछायाँमा हामी हुर्केका कारणले त्यति असजिलोपन बेहोर्न परेन । बुबा शिक्षक हुनु भएको र व्यापारी खलक भएका कारणले हाम्रो शिक्षा, दीक्षा र अभावको त्यति अनुभव गर्न परेन । त्यसका लागि म मेरो परिवारप्रति धेरै अनुग्रहित छु । हाम्रो हजुरबुबा हजुरआमाको सात छोरा र एक छोरी । हाम्रो एक्ली फुपू घिऊकुमारीको बिराटनगरमा विवाह भएको र ठूलोबुबा सात सालपछि धरानमा गएर बसोबास गर्नु भएको बाहेक सबै म्याङ्ग्लुङ बजारको तल्लो टोलमा नै बसोबास रह्यो । बजारमा तल्लो टोल, माथिल्लो टोल र पुतली बजार मात्र प्रचलित थियो त्यसबेला । हाम्रो घर तल्लो टोलको बीचमा थियो । माइला बुबा र साइँला बुबा, जुन मूलघर पनि हो, को बीचमा थियो हाम्रो घर । सबै घर जोडिएको थियो । हाम्रो घरको दाहिनेपट्टि अलिक पर थियो, काइँला बुबाको घर । अनि हाम्रो घरको देब्रेपट्टि कान्छा बुबाको र अलिक पर ठाइँला बुबाको घर थियो । भनौँ, हाम्रो ठूलो अक्षलोक परिवारको सबैजसो परिवारको घर एउटै टोलमा थियो ।

आँगन हाम्रो टुँडिखेलजस्तै थियो । बल खेल्ने, एक खुट्टे खेल्ने, कक फाइट खेल्ने, रेखा कोरेर सानो-सानो कोठा पारेर खेल्ने खेल हामी खेल्ने गर्थ्यौँ । मान्छे आवतजावत गर्नेहरु घरका पेटीपेटीमा हिँड्थे । सलाईको बट्टामा धागो राखेर फोन बनाउँथ्यौँ । पर सुरेशको घर, विश्वको घर, सिद्धिदाइको घर अनि प्रद्युम्नको घरदेखि मेरो घरको बार्दलीसम्म धागोको फोनको तार टाँगिन्थे । फोन गरेर ठूलै उपलब्धि हासिल गरेझैं फुरुङ्ग पर्थ्यौँ । घरको बार्दलीमा उभिएर घण्टौँ कुरा हुन्थ्यो । हाम्रो बाजे लोकमानले धर्म कमाउने नाममा “कृष्णजी पाटी” बनाएका थिए । हाम्रो घरकै दुई घर पर्तिर एउटै लाइनमा कृष्णजीको मूर्ति स्थापना गरेका थिए । बटुवा, जोगी, भिखारी बास बस्ने गर्दथे । लाखे जात्राको बेला कृष्ण जयन्तीको दिन लाखे जात्राको बिसर्जन यहीँ गरिन्थ्यो । कृष्णले राक्षसलाई वध गरेर राक्षसको टाउको कृष्णको मूर्तिमा चढाउने परम्परा थियो । करिब महिना दिन चल्ने लाखे जात्रामा चन्दा उठाएर फुटबल, ब्याडमिन्टन खरिद र वनभोजको आयोजना गरिन्थ्यो । त्यस जात्राको बेला मारुनी नाच, रोपाईं नाच र धान नाच विशेष हुन्थे ।

गाउँगाउँबाट रातभर बजारमा रमाइलो गर्नेको भीड हुन्थ्यो । मारुनीमा मलाई दिदीहरुले केटीको भेषमा सजाएर तयार पार्थे । सबैले भन्थे, म केटीको भेषमा राम्रो देखिन्थें रे ! म मख्ख पर्थें । फुर्किएर जान्थेँ र जानेको सकेको नाच नाचेर आउँथे । लाखे भएर नाचेको मलाई खुब याद छ । त्यस बेला कृष्णमान दाइ हार्मोनियममा, शिव नारायण दाइ झ्यालीमा, दुर्गा दाइ लाखे बनेर र जगन्नाथ दाइ भोलाखे बनेको लाखे नाच खुब लोकप्रिय थियो । लाखे नाचको लागि चमर घरैपिच्छे माग्न गइन्थ्यो ।

फागू पूर्णिमाको बेला रङ छ्याप्ने बाँसको पिचकारी बनाइन्थ्यो । परपरसम्म जाने पिच्कारीमा रङ भरेर घरभित्र लुकेर बाटोमा हिँड्नेलाई रङ छ्यापिन्थ्यो । कोहीकोही त रिसाउँथे र झगडा नै गर्न आउँथे । तर हामी भागेर लुकेर बच्ने गर्थ्यौँ । अलि माथि डाँडामा गएर चङ्गा उडाइन्थ्यो । कसको पर जान्छ, कसले अर्कोलाई चेट गर्यो, त्यसमा रमाइलो मानिन्थ्यो र त्यसले माने राख्दथ्यो । गाईजात्रा पर्वको बेला हास्यव्यंग्य कार्यक्रम गरिन्थ्यो । जाने-नजानेको लेखेर सुनाएको सम्झन्छु । त्यसमा हाम्रो टोली नेता थिए सिद्धिश्वर श्रेष्ठ दाइ । उनले त्यतिबेला लेखेर सुनाएको “कुकुर सम्मेलन” खै कसले पो बिर्सेको होला र ? त्यति रमाइलो र मनोरञ्जनात्मक कार्यक्रम गरेर नाच गान पनि गर्ने गर्दथ्यौँ । तल्लो टोलमा नै कृष्णजी पाटीदेखि अलिक पर “श्रीकृष्ण पुस्तकालय” खोलिएको थियो ।

तत्कालीन स्थानीय मन्त्री शम्सेरबहादुर तुम्बाहाम्फेले उद्घाटन गरेको, बुबा नारायणमान श्रेष्ठ, जगदीशकुमार श्रेष्ठ र सिंह बाहिनी हाइस्कुलका स्टाफ मिलेर हस्तलिखित पत्रिका निकालेका थिए, “मगज” । डा. रामेश्वर श्रेष्ठ, विश्वेश्वर श्रेष्ठ, ओमभक्त श्रेष्ठ र ओमलाल श्रेष्ठहरु मिलेर दोस्रो हस्तलिखित पत्रिका निकाले, “बिरुवा” । त्यसपछि विश्वविमोहन र मैले मिलेर “तीनजुरे” हस्तलिखित पत्रिका निकाल्यौँ । निकै राम्रो अक्षर पारेर, कथा-कविता समावेश गरिकन धेरै मिहिनेतका साथ निकालेको “तीनजुरे” पत्रिका सबैले मन पराएका थिए । अग्रजहरुको स्याबासीले हाम्रो छाति चौडा भएको थियो र नाक फुलेको थियो ।

ती सबै नै सोही पुस्तकालयमै थिए तर पुस्तकालय बन्द भएपछि ती सब कहाँ गए, कसैलाई थाहा छैन । दशैँको बेला अर्को रौनक हुन्थ्यो, हाम्रो ठूलो अक्षलोक परिवारको । स्टुडेन्ट सप भएको घर हाम्रो मूल घर थियो । दशैँमा त्यही मूल घरमा जमरा राखिन्थ्यो । नवरात्रि शुरु भएपछि बुबाले बिहान चार बजे नै उठाउनु हुन्थ्यो । मइन्टोल बालेर पन्ध्र मिनट हिँडेर चार कुवामा नुहाउन गइन्थ्यो । त्यसपछि सिंहबाहिनी मन्दिर गएर दुर्गा कवच पाठ गरिन्थ्यो । नवमीको दिन मार हानिन्थ्यो “कुभिन्डो”को । ठूलो बुबादेखि काका बुबा र दाजुभाइ सबै जन्ममिति अनुसारको रोलकलमा लाइन लागेर हामी आफ्नो पालो पर्खने गर्थ्यौँ । सबैभन्दा ठूलो नाति जयश्वर दाइले नाम बोलाएपछि हातमा खुँडा बोकेर पूजाकोठाभित्र मार हान्नु पर्दथ्यो । ठूलो बुबा धरान बसोबास गर्नु भएको र माइला बुबाको देहावसान भइसकेको कारणले साँहिला बुबा तुलसीमान श्रेष्ठ नै हाम्रो परिवारको हर्ताकर्ता हुनुहुन्थ्यो । मेरो अघि नै बुबाहरु र दाइहरु गरी थुप्रै जनाको मार परिसकेको कुभिन्डोमा मेरो पालामा कुन चैं ठूलो कुभिन्डो छ भनेर खोजी गर्नु पर्थ्यो । मेरो पछिका भाइहरुको हालत त उनीहरु नै जानून् । टीकाको दिन मूल घरमा पहिला टीका थाप्ने चलन भएर सबै परिवार टीका थाप्न लाइनमा बस्दाको मज्जा नै अर्को हुन्थ्यो । टीका लाइसकेपछि फोटोग्राफर हाम्रो कान्छा बुबाको सामु फोटो खिच्न फेरि लाइन बसिन्थ्यो । खुब रमाइलो हुन्थ्यो ।

वि.स. २०२० सालमा हाम्रो परिवार टुँडिखेल मुन्तिरको नयाँ घरमा सर्यो । सिंह बाहिनी हाइस्कुलमा अध्यापन गरिरहेका पिस कोर्प स्वयम् सेवकहरु बसिरहेका सो घर त्यसबेला अलिक पर बजारको पुच्छर एकान्तजस्तो ठाउँमा थियो । घर अगाडिको ठूलो आँगन भएका कारणले हरेक दशैँको बेला बुबाले घरको दायाँपट्टि लिङ्गेपिङ बनाइदिनु हुन्थ्यो । एक महिनाअघिदेखि नै बुबाले त्यो पिङको लागि बैनाबट्टा गरेर बाबियोको डोरी बाट्ने काम गराउनु हुन्थ्यो । दशैँको दिन टीका लाइसकेपछि भुइँमा खुट्टा छोड्नुपर्छ भन्ने परम्पराअनुसार दशैंदेखि तिहारसम्म नै हाम्रो घरअगाडि भीड नै हुने गर्दथ्यो । बुबा हाइस्कुलमै पढाउनुहुन्थ्यो, त्यस कारणले हामीलाई शिक्षा लिन कतै धाउनु पर्दैन थियो । बुबाको रेखदेखले म पढाइमा अब्बल नै थिएँ । प्राइमरी स्कुलमा तीन कक्षाबाट डबल प्रोमोसन भएर एकैचोटी पाँच कक्षामा र फेरि छ कक्षा नपढी सात कक्षा पढेको थिएँ । माथिल्लो टोलको बीच भागमा अवस्थित सरस्वती प्राथमिक विद्यालयमा कक्षा छ सम्म र सात देखि सिंहबाहिनी हाइस्कुलमा दससम्म पढेको थिएँ ! शुक्रबारको दिन हाट लाग्ने दिन भएको कारणले स्कुल बिहान दस बजेसम्म मात्र लाग्दथ्यो । बिहानको अतिरिक्त क्रियाकलाप कक्षा ऋतुवर्ण सरले चलाउँथे । त्यस कक्षामा अरुले गीत, नाच देखाए पनि मैले कविता सुनाउने गर्दथेँ ! फुटबल, भलिबल र ब्याडमिन्टन मेरो प्रिय खेल थियो तर पछिल्लो चरणमा ब्याडमिन्टन मात्रै खेल्थेँ । म्याङ्ग्लुङ बजारको एक मात्र खेल मैदान टुँडिखेल हाम्रै घरको सामुन्ने भएको कारणले कुनै पनि खेलमा म सहभागी भएकै हुन्थेँ । छुट्टीको दिनमा साथीभाइसँग आले टार, छकली टार वा पानीटंकीतिर पिकनिक जाने र रमाइलो गर्नुको मज्जा नै बेग्लै हुन्थ्यो ।

एकदिन हामी सुरेश, हरिमान, हेमन्त, सूर्य र म स्कुल छोडेर दिलकुमारसँग जंगल जाने सल्लाह भो । जंगलमा ऐंसेलु र काफल टिप्न जाने भनेर गइयो । दिलकुमारले उसको गाईवस्तु पनि चराउन लगेको थियो । जंगलमा पुगेपछि दिलकुमारले उसको गाईवस्तुलाई हेरविचार गर्न हामीलाई भागबन्डा लगायो । मेरो भागमा एउटा कैली गाई परेको अझ याद छ । हामी खेल्नमा मस्त हुन्थ्यौँ । यदि आफ्नो भागमा परेको गाईले कसैको बाली खान गएमा या कतै गएमा कसको भागमा परेको हो, उसैले धपाएर ल्याउनु पर्दथ्यो । दिनभर त रमाइलो गरियो तर बुबा शिक्षक भएको कारणले हाम्रो कर्तुत थाहा पाइहाल्नु भएछ । घर पुग्दा बुबा त रिसले आगो हुनु भएको । हामीलाई बाहिर गल्लीमा लगेर सजायस्वरूप ठिंङ्ग्याउनु भो । हेमन्त त चलाख थियो, बुबाको टाङमुनिबाट भागिहाल्यो । तर म चैं घोसे मुन्टो लाएर सजायको प्रतीक्षामा ठिङ्ग उभिइरहेको थिएँ । त्यति नै बेला आमा आउनु भएर मलाई छुटाउनु भएको म अहिले पनि सम्झिरहन्छु । हेमन्तको चलाखी सम्झेर आमा दिदीहरु पछिसम्म पनि हाँसो गर्नुहुन्थ्यो । स्कुलबाट भागेर बरालिन गएकोमा बुबा औधि रिसाउनु भएको थियो । वास्तवमा त्यस्तो स्थिति फेरि कहिले पनि सिर्जना हुन पाएन । सजाय पाएको अवस्था मेरो जीवनभरमा त्यही एकदिन मात्रै रह्यो ।

वि.स. २०२६ सालमा चौध वर्षकै उमेरमा एसएलसी पास गरेर उच्च अध्ययनका लागि काठमाडौँ लागेँ ।

भर्जिनिया, अमेरिका

प्रतिक्रिया
Loading...