नेपाली साहित्यको सम्पूर्ण पत्रिका

तपाईं डिभी परेर कि… ?

फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । कसको रहेछ भनेर यसो हेरेको भर्जिनियाबाट आएको रहेछ । म्युचुअल फ्रेन्डहरु धेरै भएकाले एक्सेप्ट गरेको तुरुन्तै म्यासेन्जरमा नमस्ते भनेर म्यासेज पनि आयो । नमस्ते आदान—प्रदान हुनासाथ उसले काम कता गर्नुहुन्छ भनेर सोध्यो । मैले कुरा मोड्न खोजेको फेरि सोध्यो, कता काम गर्नुहुन्छ ? ग्यास स्टेसन (नेपालमा पेट्रोल पम्प) मा वा रेस्टुरेन्टमा? प्रायः अपरिचित धेरैले मलाई सोध्ने प्रश्न हो र यस्तै प्रश्नहरु अरुले पनि झेलेका छन् होला । तर यो सत्य हो कि प्रायः नेपालीहरुलाई काम गर्ने दुइटै मात्र ठाउँ छ जस्तो लाग्छ, ग्यास स्टेसन र रेस्टुरेन्ट, त्यसभन्दा बाहेक काम गर्ने ठाउँ नै छैन जस्तो ।

पहिलो भेटमै मान्छेहरुले बेसरोकारको प्रश्न सोध्ने भएको कारण मलाई प्रायः हतपत नयाँ मान्छेसँग खुल्न मन लाग्दैन । यो स्वभावको कारण धेरैले मलाई घमण्डी र ठूलो भएको भन्छन् तर म आफूलाई घमण्डी र ठूलो भएको छु जस्तो लाग्दैन, किनभने मसँग घमण्ड गर्न सक्ने कुनै कोण नै छैन । यस्ता बेमतलबको प्रश्नलाई प्राय छल्न खोजिन्छ र त्यसैले घमण्डीको ट्याग लाग्छ ।

नवीन रायमाझी
सान्दर्भिक पोस्ट

एउटा नेपालीले अर्को नेपालीलाई सबैभन्दा धेरै सोधिने प्रश्नमा तपाईं डि. भी. परेर आएको र कागज (चलनचल्तीको भाषामा कानुनी रुपमा बस्ने आधार) छ भन्ने हो । पंक्तिकार डि. भी.को कारण यता आएको नभएको कारण यदि डि भी होइन भन्यो भने फेरि अर्को प्रश्न तेर्सिन्छ । त्यसो भए कसरी आएको भनेर । उसलाई पूरा रामायण र महाभारत सुनाउनुभन्दा अचेल मैले पनि म डि. भी. परेर आएको हो भन्ने गरेको छु । त्यस्तै अर्को प्रश्नमा काठमाडौँमा घर बनाउनु भयो वा घडेरी किन्नु भयो भन्ने हो । पंक्तिकारको आम्दानी यता खर्च गरेर फेरि काठमाडौँमा घर वा घडेरी किन्न सक्ने परिणाममा नभएको वा अमेरिकी सरकारको दृष्टिमा ‘लो इनकम’ भएको कारण कसैले नेपालमा घर वा जग्गा किन्यो भन्ने सुन्यो भने अच्चम लाग्छ, सायद आफूले गर्न नसकेर होला ।

त्यस्तै कुनै रसिक मान्छे भेटियो भने उसले यताको महिला (चलनचल्तीको भाषामा खैरेनी) हरुसँग गरेको काल्पनिक रोमान्सको कथा भन्न थाल्छ । पंक्तिकारको विचारमा यता कुनै गतिलो महिला हामीहरुजस्तो सँग आकर्षित हुन्छन् जस्तो लाग्दैन । केही अपवादलाई छोडेर । उनीहरुको अगाडि हामी चाउरे र रोगीजस्ता देखिन्छौँ । उमेर ढल्केका, अस्वभाविक बढी तौल भएका, कुरुप, घरबारबिहीन (होमलेस) र लागु पदार्थको लतको कारण परिवारसँग छुटेकाहरुले आफ्नो शारीरिक र भौतिक स्वार्थको लागि जे जस्तो भए पनि स्वीकार गर्ने अर्कै कुरा हो । प्रायः जोसमा होस् नगर्ने बढी बाठाहरु यस्ता महिलाहरुसँग फँस्ने र भालुको कम्पट हुने अर्थात् न बस्न सकिने न छाड्न सकिने भएर जिन्दगी नै बर्बाद भएको पनि देखिएको छ । महिलाहरुलाई अपेक्षाकृत बढी अधिकार भएका कारण हतपत छोडेर जान सकिँदैन । पहिले केही नसोच्ने र कानुनी आधार नभएकाहरुले आफ्नो आधार बनाउन विवाह गरेर पछि छोड्न नसक्दा निल्नु न ओकल्नु भएका उदाहरण पनि धेरै छन् ।

चिठ्ठा किनेर छिटै धनी हुने आशामा भएको कमाई गुमाएर टाट पल्टेका, नयाँ लुगा किनेर लगाउने तर त्यसको लेबल सुरक्षित साथ राखेर केही दिनपछि साइज मिलेन वा रङ मन परेन भनेर फर्काउनेहरु पनि छन् । अमेरिकी कानुनअनुसार कुनै सामान किनेको ९० दिनभित्र ग्राहकले फर्काउन चाह्यो भने फर्काउन सक्छ । त्यस्तै काम गरेको ठाउँमा म म्यानेजर हुँ भन्ने पनि धेरै छन् । त्यो व्यक्ति अमेरिकी विश्वविद्यालयमा पढेको होइन र म म्यानेजर हुँ भन्छ भने त्यसको हैसियत ‘हेड पिउन’ हो । साथै नेपालीकै व्यापारमा काम गर्छ र आफूलाई म म्यानेजर भन्छ भने उसको काम अरु कर्मचारीको कुरा मालिकहरुलाई लगाउने हो अर्थात् मालिकको टट्टु हो । पंक्तिकारले पनि मासाचुसेटको लरेन्स भन्ने ठाउँमा त्यस्तै नेपालीको पसलमा दुई महिना काम गरेको थियो । अमेरिकी सरकारकोअनुसार अमेरिका भरिकै सबैभन्दा बढी अपराध हुने टप टेन शहर मध्ये छ नम्बरमा पर्ने लरेन्स जस्तो शहरमा खोलेको किराना पसलमा काम गर्ने भनेको दुःख परेका र कतै सहयोग नपाएका मान्छे हुन् । अब भन्नुस्, त्यस्ता दुःख पाएका आफ्नै दाजुभाइको कुरा लगाएर के कस्तो तक्मा पाइन्छ होला, यो सबै नियतको कुरा हो ।

यस्तै झिनामसिना कुराहरुमा अल्झेर समय गुमाउने हुँदा नेपाली समुदायले अरु समुदायको तुलनामा खासै प्रगति गर्न सकेको छैन, अपवादलाई छोडेर । नेपालमा भए नभएको कुरा गरेर फूर्ति लगाउने र यहाँ म नेपालमा भएको भए यस्तो र उस्तो हुन्थेँ भनेर गफ लगाउनेहरुको जमात पनि बाक्लै छ, जुन गफको कुनै खास औचित्य छैन । एउटै किसिमको हुर्काइ र बढाइ भएको कारणले पंक्तिकारको पनि यस्तै प्रकृति वा स्वभाव हुन सक्छ तर मैले सकेसम्म आफूलाई सुधार गर्ने प्रयास गरेको छु र कसैले सकारात्मक आलोचना गरे भने त्यसलाई आत्मसात गर्छु तर यसको मतलब सबैको पाँडे गाली सुनेर बस्नु पर्छ भन्ने होइन ।

प्रतिक्रिया
Loading...