नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘नोबेल पुरस्कार पाउने कल्पनै थिएन’

लुइस ग्लिक

लुइस ग्लिकले गएको बिहीबार नोबेल साहित्य पुरस्कार पाएको खबर बाहिरिएसँगै पत्रकारहरू उनको घर अगाडि पंक्तिबद्ध भई बसे । म्यासाचुसेट्स, क्याम्ब्रिजस्थित उनको घरमा बिहान ७ बजे नै जुन लामो लाइन थियो, पहिले त उनका लागि आतंकित बनाउने थियो, पछि पछि उनी बानी परिन् ।

यतिबेला भने उनलाई यो खुसी अँगालोभरिको ओखाइपोखाइको भएको छ । पाँच दशकयता उनले कविताबाहेक केही जानिनन्, त्यही लेखिरहिन् र निरन्तर लेखिरहेकी छन् । लेख्नुको फाइदा पनि उनले कम पाइनन् । नेसनल बुक अवार्ड, पुलित्जर पुरस्कार, नेसनल बुक क्रिटिक सर्कल अवार्डदेखि राष्ट्रपति बाराक ओबामाबाट नेसनल ह्युमानिटिज् मेडलसम्म पाएकी छन् । यसबाहेक पनि उनले पाएका पुरस्कारको सूची हेर्दा थकान दिलाउने नै किसिमको छ ।

उनका कविताका समीक्षकले पनि उनलाई रूचाएका छन् । लामो समयदेखि उनका कविता सम्पादन गरेका तथा फेरार, स्ट्राउस एन्ड गिरक्स नामक पब्लिकेसनका अध्यक्ष जोनाथन गालासी भन्छन्, ‘उनका कविता उनको एकालापजस्तो लाग्छन्, आफैँसँग कुराकानी गरेका काव्य । शायद भित्रभित्रै उनले आफैँसँग कुरा गरिरहेकी पनि होलिन्, अथवा आफूमार्फत् हामीसँग गुन्गुनाएकी पनि हुँदी हुन् । तर ती सबै कुराकानीमा एक किसिमको श्यामव्यंग्य पाइन्छ । तर एउटा कुरा पक्का हो, उनले सधैँ आफैँसँग गुन्गुनाएका र भित्री आवाज मात्र कविताका रूपमा व्यक्त गरिन् ।’

सान्दर्भिक पोस्ट

उनले सधैँ आफ्ना निजी अनुभवलाई आफूले उभ्याएको आदर्शसँग दाँजिरहिन्, जुन कहिल्यै उनको भोगाइसँग मेल खाएन ।

कोरोनाभाइरसको शुरूवाती झंझावातले उनले कुनै सिर्जनकर्म गर्न सकिनन् । पछि जब यसबाट अभ्यस्त हुन थालिन्, उनले पहिले लेखेका कविता र नयाँ कविता समेटेर एउटा कृति बजारमा ल्याउने प्रयास गरिरहेकी छन् । ‘विन्टर रेसपीज् फ्रम द कलेक्टिभ’ शीर्षकको कविताकृति आउँदो २०२१ को वसन्तयाममा बजारमा ल्याउने तयारीमा छिन् । उनको यो कृतिको सम्पादन पनि जोनाथनले नै गर्दैछन् र उनकै कम्पनीले बजारमा ल्याउँदैछ ।

उनै ग्लिकसँग द न्युयोर्क टाइम्सले गरेको कुराकानीको सम्पादित अंशः

नोबेल पुरस्कार पाउनु भएको खबर तपाईंले कसरी थाहा पाउनुभयो ?
त्यही बिहान, झन्डै सात बज्न लागेको थियो क्यार ! म भर्खर मात्र ब्युँझिएकी थिएँ । फोन आयो, उठाएँ । अनि, फोनमा भएको मानिसले विनम्रतापूर्वक स्विडिस एकेडेमीको सचिवका रूपमा आफूलाई चिनाए र भने, नोबेल पुरस्कार जित्नुभएकामा तपाईंलाई धेरैधेरै बधाई छ । यो सुनेर मैले के जवाफ दिएँ, सम्झन्नँ तर मलाई पुरस्कार पाएँ र ? भनेर शंका लागिरह्यो ।
खासमा त्यस्तो किन भयो होला भने मैले त्यसबारे कहिल्यै सोचेकै रहिनछु !

जब पुरस्कार पाएकै हो भन्ने लाग्यो, यो समाचारलाई कसरी पचाउनु भयो त ?
खासमा एउटी श्वेत र अमेरिकी कविलाई यो पुरस्कारका लागि छान्नु भनेको कल्पनातित विषय थियो । यो कसैगरी पनि उचित कुरा थिएन । यतिबेला जब म पत्रकारहरूले मेरो घरको गल्लीको पल्लोछेउसम्म लाइनमा उभिएको देख्छु, अनि चैँ साँच्चै हो भनेर विश्वास गन बाध्य भएकी छु । म त त्यस्तो देशकी नागरिक हुँ, जसलाई अहिले उचित नजरले हेरिँदैन, त्यसमाथि गोरी जातकी परेँ । त्यसमाथि मैले पाउनु पर्ने पुरस्कार सबैजसो हात पारेकै हुँ । यस्तो अवस्थामा यो पुरस्कार दिइनु भनेको अनौठै थियो ।

महाव्याधिका बेला तपाईंको दैनिकी कस्तो थियो ? कस्तो के लेख्नुभयो ?
मेरो जीवनशैली डामाडोल छ खासमा । त्यसैले म कहिल्यै पनि लेख्दा नियमित र अनुशासित रूपमा लेख्दिनँ । मैले चार वर्षयता एउटा किताब तयार पारूँली भन्ने सोचेकी थिएँ । त्यो सम्भव भएन । झन् कोरोनाकालमा केही समय त अस्तव्यस्त नै भएँ । गएको जुलाई र अगस्त महिनामा चाहिँ केही नयाँ कविता लेखेँ, जुन मलाई पनि आफैँलाई आश्चर्य लागिरहेको छ । अब चाहिँ पाण्डुलिपिलाई केही आकार दिन सकूँली र किताब सकूँली भन्ने लागेको छ । यो सकिनु त मेरा लागि एउटा चमत्कारझैँ लागिरहेको छ ।

नयाँ संकलन बनाएँ भन्नुभयो, यो के बारेमा छ त ?
भत्किएको, बिग्रिएको बारेमा । यो पुस्तकमा अधिकांशतः शोक नै बढी छ । हुन त यसमा केही हास्यस्पद कुरा पनि छन्, मज्जाले हाँस्न सक्नुहुन्छ । केही कविता भने ज्यादै अवास्तविक पनि छन्, सररियल शैलीका ।
मैले लेख्न जान्दादेखि नै मृत्युबारे नै लेखेँ । खासमा भन्ने हो भने १० वर्षको उमेरमै मैले मृत्युकविता लेखेकी थिएँ । हुन त म जीवन्त बालिका थिएँ, जीवन्त केटी बनेँ तर पनि मैले मृत्युका बारेमा लेखिरहेँ । मृत्युबारे लेख्नका लागि मृत्युअनुभव गर्नुपर्छ भन्ने छैन । यसबारे सोच्नु र लेख्नु मेरा लागि निकै रोचक अनुभव रह्यो ।

तपाईंका कवितामा शास्त्रीय मिथक गाँसिएर आएका हुन्छन् । ती मिथक परिवार र नातासम्बन्धीमा उनिएका हुन्छन् । ती मिथकीय पात्रलाई यसरी गाँस्न केले तपाईंलाई प्रेरित गर्यो ? तपाईंका कवितामा ती मिथक गाँसेर के भन्न खोज्नु भएको हो ?
जसले जे जति लेख्छ, त्यसमा विगतको स्मृतिको रेखाङ्कन हुन्छ । तिनले तपाईंलाई भित्रैसम्म छोएको हुन्छ, तपाईंलाई नै परिवर्तन गरिदिएको हुन्छ । बालापनमा तिनले तपाईंलाई रोमाञ्चित बनाएको हुन्छ । ग्रिसेली मिथक मैले बालापनबाट नै पढेकी थिएँ । मेरा बा-आमाले मलाई ती कथा सस्वर वाचन गरिदिनु हुन्थ्यो । जब म आफैँले पढ्न जान्ने भएँ, तिनलाई बेलाबेलामा दोहोर्याएर पढिरहेँ । भगवान् र नायकहरूका विविध तस्बिर मेरो बाल मनस्पटलमा कुँदिएर रहे । यी कुराहरू जवान भएर मैले पढेकी थिइनँ तर जवान भइसकेपछि मैले तिनलाई नयाँ कोणबाट पुनः बुझ्ने प्रयास गरेँ, आलोचनात्मक चेतले मलाई नयाँ कोण दियो । ती मेरा सुत्ने बेला सुन्ने वा पढ्ने कथा थिए । तीमध्ये केही कथाहरू मसँगै हिँडिरहे, जवान छउञ्जेल, वृद्धा हुञ्जेल नै ! पर्सिफोनीको चरित्रले मलाई यतिसम्म तानिरह्यो कि विगत ५० वर्षदेखि उसलाई मैले आफूसँगै कवितामा दौडाएँ । एउटी महत्त्वाकांक्षी छोरीसँग उसकी आमाको सधैँ द्वन्द्व भइरहेको हुन्छ, जुन मेरो सन्दर्भ र मेरी आमाको सन्दर्भमा पनि उत्तिकै सटीक थियो । त्यसैले म आफूलाई पर्सिफोनी र उसकी आमा डिमिटरजस्तै द्वन्द्वमा पाउँथेँ । त्यही मिथकले मलाई संघर्षको नयाँ पक्ष हेर्ने कोण दियो । म दैनिक रूपमा मेरी आमासँग झगडा गर्थें भन्ने होइन तर जब म लेख्न बस्थेँ, म लेखनीमार्फत् मेरी आमासँग गुनासो गरिरहेकी हुन्थेँ ।

केही आलोचकहरू तपाईंको लेखनीलाई सिल्भिया प्लाथसँग दाँज्छन् र निजत्व र स्वयंका बारेमा बढी लेख्नुका कुराले त्यसमा दम छ जस्तो पनि लाग्छ । कुन हदसम्म तपाईंले निजी कुरा ल्याउनु हुन्छ र कुन हदसम्म तपाईंले वैश्विक भोगाइ र मानवीय पक्ष ल्याउनु हुन्छ ?
कविता लेख्दा काल्पनिक कुरा त आउँदैन, निजी भोगाइले नै लेखनीमा प्रभाव पारेको हुन्छ । तपाईंको बाल्यकालको भोगाइले तपाईंलाई केही चिज त अवश्य नै दिन्छ तर मेरो भोगाइ त्यस्तो वृहद् थिएन, मेरा संघर्ष र खुसीहरू पृथक् थिएनन् । तपाईंले आफ्ना भोगाइलाई पृथक् ठान्नु त हुन्छ तर मलाई ती भोगाइ त्यस्ता भए पनि ती जान्न योग्य छन् भन्ने लाग्दैन बरू मानव संघर्ष, खुसी, जेजस्तो ती जन्मिए र ती जस्तो अवस्थामा रहन बाध्य भए, ती कुरा लेख्दा मलाई बढी आनन्द लाग्छ । म मृत्यु वा मरणशीलताबारे बढी लेख्छु भन्ने लाग्छ किनभने बालापनमा जब मैले थाहा पाएँ, भर्खरैको मानिस अब जीवनभर फर्केर आउँदैन, त्यसले मलाई भित्रैसम्म हल्लाइदियो । यही कुरा मेरो लेखनीको पक्ष हो ।

तपाईंले आफ्नो लेखनीक्रममा विभिन्न प्रयोगशील काव्य रूप (शैली) अपनाउनु भएको देखिन्छ । तपाईंको आवाज पनि पृथक् सुनिन्छ । तपाईंले जानाजान विविध फर्म (रूपहरू) रोज्नु भएको हो कि स्वभाविक चयन हो ?
हो, मैले सधैँ विविध फर्महरू रोज्छु । एउटा साहसिक यात्रुका हिसाबले तपाईंले त्यो गर्नै पर्छ र जानाजान नै गर्नुपर्छ । म कतिपय नयाँ कुरा अभिव्यक्त गर्न नयाँ शैली प्रयोग गर्छु, त्यसो गर्दा नहिँडेको बाटोमा एक्लै हिँडेजस्तो महसुस हुन्छ । उमेरदार हुनुको सीमित फाइदामध्ये एउटा के छ भने तपाईंले नयाँ अनुभव पाउनुहुन्छ । कुनै कुरा घट्नु सबैका लागि अपेक्षित आनन्द हुँदैन तर त्यस अवस्थामा एउटा समाचार हुन्छ । एउटा कवि वा लेखकका लागि त्यो खबर वा घटना मूल्यवान् बन्न पुग्छ । एउटा कविमा सधैँ नयाँ घटनामा चकित हुने गुण हुनुपर्छ, एक हिसाबले नवयात्रुझैँ हुनुपर्छ, जसले एउटा आँशुबाट केही न केही नयाँ सिर्जन गर्ने शक्ति र सामर्थ्य जन्माउनुपर्छ ।

वृद्धावस्था हुनुले एउटा कविका रूपमा तपाईंलाई नयाँ क्षेत्र खोज्न कसरी मद्दत गरिरहेको छ ?
एउटा अवस्थामा तपाईंले एउटा नाम गुमाउनुपर्छ र त्यहाँ तपाईंको वाक्य निर्माण हुन्छ । कहिलेकाहीँ ती खाली ठाउँ, जहाँ नयाँ कुरा लेख्न सकिन्छ, तपाईंले त्यो भेउ पाउन सक्नुपर्छ । मेरो मामिलामा त्यही हो । एउटा कलाकारको कोणबाट हरेक कुरा नयाँ, उत्तेजित बनाउने अवस्था हुनुपर्छ ।

तपाईंको लेखन शैलीलाई प्रायः एक्लो, छुट्टिएको, एकान्तिकताका रूपमा अर्थ्याइन्छ । जब तपाईं लेख्न बस्दा ती आवाज स्वाभाविक रूपमा आउँछन् कि तपाईंले यसलाई विकसित गर्नु भएको वा सिंगार्नु भएको कला हो ?
मेरा कवितामा प्रायः पेयर्ड डाउन शैली भनिन्छ र यो हो पनि । म कहिलेकाहीँ संवादात्मक तरिकाले लेख्छु । कसैले आवाज दिन्छ भन्दै त्यसलाई पछ्याउने हिसाबले तपाईं काम गर्न सक्नुहुन्न । वाक्य आफैँले तपाईंसँग बात मार्न खोज्छ । यो आवाज डेल्फीको जस्तो सुनिन्छ । (डेल्फी मिथकीय मन्दिर हो, जहाँ पूजारीहरूले भविष्यवाणी सुन्छन्।) यो आवाजलाई म छलफल गर्न सक्दिनँ, भन्न कठिन हुन्छ । मेरो विचारमा म सिन्ट्याक्स (वाक्यविन्यास)मा मुग्ध हुन्छु । यसमा म शक्ति देख्छु । वाचनात्मक रूपमा त्यो भव्य देखिने कविताप्रति म भने त्यत्ति इच्छुक हुन्नँ । विलियम ब्लेक वा जोन मिल्टनका वाक्यविन्यास आश्चर्यजनक हुन्थ्यो, जसमा वाचनका कुरामा पनि उत्तिकै ध्यान दिनुपर्थ्यो । म भने मेरा सिर्जनामा त्यस्ता कुरामा ध्यान दिन्नँ ।

येल विश्वविद्यालयमा तपाईं पढाउनु हुन्छ, शिक्षणले कसरी तपाईंलाई लेखनमा भूमिका खेल्यो भन्ने पनि बताउनु भएको छ । कसरी शिक्षणले तपाईंको लेखनीलाई आकार दिन भूमिका खेल्यो त ?
तपाईं जब अनपेक्षित कुरामा सधैँ र नियमित रूपमा नुहाउनु हुन्छ, तपाईंलाई त्यसले नयाँ नै बनाउँछ । जब तपाईंले विद्यार्थीहरूलाई नयाँ तरिकाले निर्माण गर्न सघाउनुहुन्छ, विद्यार्थीले तिनमा नयाँ अर्थ पाउँछन् र उत्साहित हुन्छन् । यही कुरा मेरा सन्दर्भमा पनि लागू हुन्छ । मेरा विद्यार्थीले मलाई सधैँ आश्चर्यमा पारेका छन्, तिनले मलाई सधैँ चकित पारिदिएका छन् । म सधैँ लेख्न त सक्दिनँ तर सधैँ अरूका पढेर चकित भने भएकी छु ।

अरू केही भन्नु छ ?
मेरो थर धेरैले गलत लेख्छन् । मेरो थर ग्लक वा ग्लुक होइन, ग्लिक हो । यो चाहिँ भनिदिनुस् न है !

(द न्युयोर्क टाइम्सबाट साभार)

प्रतिक्रिया
Loading...