नेपाली साहित्यको सम्पूर्ण पत्रिका

उपन्यासकार खोज्ने उत्सव

अमेरिकामा आउँदो नोभेम्बर महिनामा धुमधामका साथ उपन्यास महिना मनाइँदैछ । नोभेम्बर महिनाका दिन संसारभरिका उपन्यास लेखनमा रूचि भएका लाखौँले यस उपन्यास उत्सव महिनामा सहभागिता जनाउँदैछन् ।

हुन त यो अमेरिकी उपन्यास लेखन उत्सव हो तर यसले अमेरिकाको सीमा नाघेर संसारभरि नै अघि बढ्न थालेको छ । नेसनल नोवल राइटिङ मन्थ अर्थात् नानोरिमो उत्सवका रूपमा यसलाई लिन थालिएको छ ।

यो महिनाभरि ५० हजार शब्दको उपन्यास लेख्नेहरूबीच होड चल्ने गर्छ । यसका लागि कम्तीमा दिनको १६६७ शब्द लेख्नै पर्ने नियम बसालिएको छ ।

लेख्न अभ्यस्त हुनेका लागि १६ सय शब्द कुनै ठूलो कुरा होइन तर लेख्न हात नउचालिनेका लागि त यो ठूलो समर हो । तर अमेरिकाको नानोरिमो उत्सवमा सहभागिता जनाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । ४ लाख ३० हजार जनाले त गएको वर्ष मात्र सहभागिता जनाएका थिए ।

नानोरिमोडटओआरजीमा क्लिक गरेर त्यहाँ लगइन गरी त्यहीँ लेख्न सक्नुहुन्छ, आफूलाई मन परेको विषयमा मनलाग्दो उपन्यास । यसका लागि त्यहाँ वेबसाइटले तपाईंलाई उपन्यास कसरी लेख्ने, कस्तो लेखियो भने राम्रो उपन्यास तयार हुन्छ आदि कुरा समेत सिकाउँछ ।

त्यसो त यो उत्सवमा भाग लिएका नयाँ उपन्यास लेखकहरूले कुनै पुरस्कार भने पाउँदैनन् । लेख्ने रूचि राख्नेहरूको उत्साहलाई जारी राख्ने यो उत्सवको काम हो । रोचक त के छ भने, यहाँ महिना दिन लगाएर उपन्यास लेख्ने लाखौँहरूमध्ये जम्मा अढाई सय जनाको मात्र उपन्यास प्रकाशित भएको थियो ।

तीमध्ये पनि हालसम्म चर्चित लेखकका रूपमा हालसम्म नाम कमाउने एक जना मात्र रहेकी छन् । सन् २००६ मा नानोरिमो उत्सवमा सहभागिता जनाएर उपन्यास लेखिभ्याएकी सारा ग्रुएनले त्यो बेला वाटर फर एलिफेन्ट्स उपन्यास लेखिसिध्याएकी थिइन् । त्यो उपन्यासलाई अमेजन डटकमले आफ्नो वेबसाइटमा राखेको थियो भने पछि त्यो बेस्टसेलरसमेत बन्न पुगेको थियो ।

रोचक त के भइदियो भने पछि यो उपन्यासमाथि फिल्मसमेत बन्यो र रिजी विदरस्पुनजस्तो अस्कर अवार्ड विजेता अभिनेत्री तथा रोबर्ट प्याटर्सनजस्ता लोकप्रिय अभिनेताले समेत अभिनय गरेका थिए ।

यो उत्सवको सबैभन्दा रोचक पक्ष के छ भने यहाँ भाग लिनका लागि वर्षभरिमा नोभेम्बर महिना नै कुर्नुपर्छ । नोभेम्बर १ को मध्यरातबाट यो वेबसाइटमा छिर्न सकिन्छ । यहाँ छिरिसकेपछि तपाईंले उपन्यास लेखनका विज्ञहरूसँग परामर्श गर्न सक्नेदेखि लेख्न थालेपछि अनेकन् सुझावहरू पनि पाउनु हुन्छ ।

जति राम्रो लेखन हुँदै जान्छ, वेबसाइटका एडमिनहरूले तपाईंको लेखनी तथा सम्भावनाका आधारमा तपाईंलाई विशेष ब्याच प्रदान गरिन्छ । तपाईं शुरूमै यसमा साइन इन हुनु भएको अवस्थामा तपाईंको ब्याच त्यहाँ देखिन्छ । तपाईं कस्तो लेखक हो, तपाईंको प्रगति कस्तो भइरहेको छ, त्यहीँबाट स्वमूल्याङ्कन गर्न सक्नुहुन्छ ।

नानोरिमोको सुझाव छ, राम्रो लेखक बन्नका लागि तपाईंले लेख्नेबाहेक अरू कुनै उपाय छैन । यहाँ तपाईं छिरिसकेपछि महिना सकिनुअघि नै ५० हजार शब्दको उपन्यास लेखिसक्नुपर्छ । यो एक किसिमको चुनौती हो र त्यो चुनौतीमा तपाईं सफल हुनुभयो भने तपाईंले एउटा तह पार गर्नुभयो भनी वेबसाइटले भन्छ ।

वेबसाइट भन्छ, ‘जीवनमा सधैँ तपाईंले महान् उपन्यास लेख्न सक्नुहुन्छ । कसैले पनि हरेक पटक महान् उपन्यास लेख्न सक्दैन तर लेख्दालेख्दै तपाईंले छोड्नुभयो भने भविष्यको महान् उपन्यास अधुरै भने छाड्न सक्नुहुन्छ । त्यसैले जे लेख्न थाल्नुभएको छ, त्यसलाई पूरा गरेरै छाड्नुस् ।’

यो एक महिनाको दौरानमा केही विज्ञ सम्पादक, प्रख्यात उपन्यासकारहरू यही वेबसाइटमा निम्त्याइन्छन् । त्यहाँ तपाईंले तिनलाई तिनको उपन्यास अनुभव, तिनको संघर्ष र उपन्यास सक्नुको खुसी बयान गरिदिने छन् । जसका कारण तपाईंले अधुरो सिर्जना पूरा गर्न सक्नुहुनेछ । यस्तै आधाअपूरो उपन्यास कहीँकतै अड्किँदा के गर्न सकिन्छ भन्ने सुझाव पनि लेखकहरूबाट पाउन सक्नुहुन्छ ।

यो अभियान अमेजनडटकमले प्रायोजन गरेको हो । नयाँ लेखकहरूलाई ठाउँ दिन, तिनले लेखेका सिर्जनालाई व्यापक स्तरमा लैजान यो अभियान चलाइएको वेबसाइटले जनाएको छ ।

प्रतिक्रिया
Loading...