नेपाली साहित्यको सम्पूर्ण पत्रिका

थोमस पिकेटी र युवल नोह हरारी सिनेमा हलमा ! नयाँ ट्रेन्ड बस्दै !

फिक्सनमाथि फिल्म बनेको त हामी सबैलाई थाहा छ तर नन फिक्सनमाथि फिल्म ? हिजोआज हलिउडमा यो नयाँ शैलीले ठाउँ ओगट्दै छ ।

हुन त अमेरिकाका पूर्व उपराष्ट्रपति अल गोरले जलवायु परिवर्तनमाथि लेखेको उनको पुस्तक ‘इन्कन्भेनियन्ट ट्रुथ’लाई पछि लामै डकुमेन्ट्री मात्र बनाएनन्, सिनेमा हलमा समेत चलाएका थिए ।

यो ट्रेन्डले पछिल्लो समय लोकप्रियता हासिल गरिरहेको छ । जस्तो कि थोमस पिकेटीको ‘क्यापिटल: इन द ट्वेन्टी फस्ट सेन्चुरी’ पुस्तकमाथि यतिबेला फिल्म बनाइएको छ, जसको लिमिटेड प्रदर्शन भइरहेको छ ।

२०१३ मा फ्रान्सेली भाषामा लेखिएको र २०१४ मा अंग्रेजीमा अनूदित भएर फाइनान्सियल टाइम्स बुक अफ दि इयर अवार्ड समेत जितेको थोमस पिकेटीको ‘क्यापिटल’ले सोही वर्ष अन्य दुई महत्त्वपूर्ण ‘मेन्सन’ पाएको थियो ।

यस्तै युवाल नोह हरारीको ‘सेपियन्स’को पनि त्यस्तै फिल्म बनाउने तयारी भइरहेको छ । यसलाई हलिउडका प्रख्यात फिल्म निर्देशक रिडली स्कटले निर्देशन गर्ने भएका छन् । स्कटले ब्लेड रनरजस्तो माइल स्टोन फिल्म बनाएका थिए । हरारीको ‘सेपियन्स’ यति लोकप्रिय भयो कि यसलाई ग्राफिक उपन्यास शैलीमा छापिएको केही दिन पनि बितेको छैन तर संक्षेपीकृत रूपमा बनाइएको ग्राफिक उपन्यास कत्तिको मजाको बनेको होला र त्यसले पहिलो पुस्तकझैँ लोकप्रियता पाउला कि नपाउला, किताब बजारमा राम्रै चर्चा भने बटुल्न सफल भएको छ ।

सन् २०११ मा बजारमा आएयता यो पुस्तक ८० लाख प्रति बिक्री भइसकेको छ भने विश्वका ३० भाषामा अनुवाद भइसकेको छ ।

यसैगरी, एक समयको बहुचर्चित डकुमेन्ट्री ‘द सेक्रेट’ पछि पुस्तकाकारमा परिणत गर्दा ज्यादै लोकप्रिय भएको थियो । अहिले सोही ‘सेक्रेट’लाई फिचर फिल्मसमेत बनाइसकिएको छ ।

यसरी प्रयोगात्मक रूपमा बनाइएको थोमस पिकेटीको ‘क्यापिटल’लाई समीक्षकहरूले पाँचमा तीन रेटिङ दिएर यसलाई राम्रो मानेका छन् । अब प्रतीक्षा भने हरारीको पुस्तकमाथि बनाइएको फिल्म सेपियन्सको रहेको छ ।

प्रतिक्रिया
Loading...