नेपाली साहित्यको सम्पूर्ण पत्रिका

संसारै ध्वस्त हुने समयको कथाः सन् २०२७ को एक बिहानी

पानी परिरहेको छ । आज पनि तपाईंले पैदलै कार्यालय जानुपर्ने भयो । उपनगरीय रेल भरिभराउ छ । बसका दिन त गए भन्दा पनि हुन्छ । भिजेको सडकमा साइकल पनि निकै चिप्लन्छ । राम्रो कुरा के भने तपाईंले धेरै टाढा गइरहनु पर्दैन । तपाईंसँग छाता त छँदैछ, त्यसलाई ह्वात्त खोल्नुस् र अघि बढ्नुस्, बस् !

तपाईं भाग्यशाली हुनुहुन्छ किनभने छेउमै भएको बहुतल्ले भवनलाई भत्काउने काम पाउनु भएको छ । बिजुली भन्ने चिज हिजोआज दुर्लभ भएपछि ठूला-ठूला बहुतल्ले भवनहरू नरकजस्तै बन्न पुगेका छन् । मानिसहरू सानासाना खुला घरमा बस्न थालेका छन् । त्यसैले बहुतल्ले भवनहरू भत्काउने काम तीव्र गतिमा बढिरहेको छ ।

यस्ता भवन भत्काउनुको उद्देश्य पनि यी घर भत्काउँदा फेला पर्ने धातु र तिनको बहुमूल्य रकम पनि हो । धर्तीबाट भएभरका सारा भण्डार रित्याइसकिएको छ । फलाम भन्ने चिज नै नरहेको अवस्थामा पुराना घर

आइज्याक असिमोभ

भत्काएर त्यहाँबाट निकाल्नु बरू निकै ठूलो आम्दानीको कार्य बन्न पुगेको छ । यी भवन भत्काउनुस् र आफूलाई आवश्यक पर्ने चिजहरू लिनुहोस् । पेट्रोल वा बिजुलीजस्तै कोइला पनि उहिल्यै सकिएको हो । परमाणु इन्धनको अनुभव पनि निकै खतरनाक साबित भइसकेकाले त्यसको प्रयोग हुन छाडेको पनि निकै भइसकेको छ । पृथ्वीको अवस्था यस्तो भइसक्यो कि सौर्य ऊर्जा पनि अव्यवहारिक भइसकेको छ ।

१० वर्षभन्दा बढी उमेरका मानिसले अझै पनि मोटरगाडीलाई बिर्सिएका छैनन् । वृद्धवृद्धाहरूलाई त अझै पनि पेट्रोलको दाम दिनप्रतिदिन उच्च गतिमा बढेको याद छँदैछ । सडकमा निख्रिन लागेको पेट्रोल र उच्च दाम पर्ने पेट्रोल गाडीमा हाल्न लामो लामो लाइनमा लाग्थे । केही समयपछि त त्यो लाइन पनि घट्न थाल्यो । पेट्रोल किन्नु सामान्य मानिसको बुताभन्दा बाहिरको हुन थाल्यो । केही सीमित सम्पन्न मानिसहरूले मात्र निजी कार चलाउन सकिरहेका थिए । अब त यी मोटर र कारहरू पनि कुख्यात धनीको प्रमाण बन्न पुगेको थियो । त्यसैले पनि जब सर्वसाधारणहरूले निजी कार देख्थे, केही आरिसले र केही पीडाले सराप्न थाल्थे । केहीले त सडकमा दौडिरहेका एकादुई गाडी रोक्थे, तिनलाई आगो झोसिदिन्थे । त्यसपछि पेट्रोल लिनका लागि कुपन बाँड्न थालियो । कुपन भएकाहरूले मात्र पेट्रोल पाउने अवस्था आउन थालेपछि सडकमा गाडीको संख्या अझै घट्न थाल्यो र हेर्दाहेर्दै एकादुई देखिने कारहरू पनि देखिन छाडे । हरेक तीन महिनामा कुपन बाँडिन्थ्यो । र, हरेक कुपनपछिको तीन महिनामा गाडीको संख्या खुम्चिदै खुम्चिदै जान थालेको थियो ।

एक समय त यस्तो आयो, कुपन बाँड्न छाडियो र कारहरू जहाँको त्यहीँ अड्किन थाले । अर्थात्, ती रद्दीझैँ मान्छेले छाडेर हिँड्न थाले ।

तर यी निराशायुक्त समयमा पनि आशाका किरण मानिसले खोजिरहेको थियो । शर्त के मात्र छ भने त्यो आशा तपाईंले देख्नु चाहिँ पर्‍यो । अब आजकै दिनको अखबार पल्टाउनुस् न ! २०२७ अक्टोबर १२ को दिन प्रथम पृष्ठमा लेखिएको छ- हाम्रो शहरका वायु प्रदूषण अचम्मलाग्दो तरिकाले घटेको छ । यहाँका उद्योगबाट निस्कने धुँवा-धूलोको कमीका कारण क्रमशः शहरमा प्रदूषण घट्दै जान थालेको छ ।

हुन पनि उद्योगहरू बन्द भएको कयौँ समय भइसकेको छ, त्यस्तै मोटरहरू पनि चलेका छैनन् । यस्तो अवस्थामा प्रदूषण घट्नु त छँदैछ ।

सर्वसाधारणमा डर थियो, प्रहरी गस्तीको अभावमा अपराध बढ्नेछ । प्रहरीसँग सवारी साधन नहुनाले उनीहरू पैदलै टाढासम्म जाने कुरा भएन । दूरदराज वा प्रहरी उपस्थिति नभएको ठाउँमा अपराध बढ्नेछ । तर आश्चर्य, अपराधको संख्यामा उल्लेखनीय गिरावट देखिएको छ । प्रहरीहरू पनि हिजोआज त पैदलै कहीँसम्म पुग्छन् । सडक त पहिलेजस्तो विरानो छैन । पैदलै निश्चित गन्तव्यमा पुग्नेहरूको संख्या बढ्न थालेको छ । एक्लैएक्लै घुम्नुको साटो मानिसहरू साथीहरू मिलेर घुम्न निस्कन थालेका छन् । चिनेजानेकै मानिसहरू मिलेर हिँड्नाले डरभर भन्ने चिज हराएको छ । सडकमा हुने अपराधका लागि त ठाउँ नै छैन । होस् पनि कसरी ?

मौसम? यदि ज्यादै चिसो भयो भने मानिसहरू बाहिर घाम तापिरहेका छन् । गर्मी पनि अत्यधिक भयो भने बाहिर केहीको आडमा, केहीको छायाँमा बसिरहेका छन् । खुला वातावरण नै अब त वातानुकूलनको एक मात्र तरिका बन्न पुगेको छ । घरघरमा बिजुली दिन सक्ने अवस्थामा सरकार छैन । केही सीमित घरमा मात्र बिजुली भन्ने चिज देख्न पाइन्छ । घरघरमा दिन नसकिए पनि सरकारले सडकका पोलमा बिजुली भने दिएको छ ।

शहरको मुख्य भागमा बस्नेहरूलाई केको ढुक्क छ भने उनीहरूको जिन्दगी कम्तीमा शहरको एक कुना वा एक छेउमा बस्नेको भन्दा अवस्था अलि राम्रो छ । यो भव्य उपनगर मोटरगाडीकै बलबूतामा उभिएको थियो । तिनकै बलमा त्यसको भव्यता कायम थियो र आज त्यसैका कारण अन्तिम श्वास लिइरहेको छ । अचेल ती उपनगरमा बस्नेहरू निकै भयानक समस्यासँग जुझिरहेका छन् । चौडा सकडका दुवै किनारमा बनेका भव्य बंगलामा बस्नेहरू अचेल खानेपिउने सामान मान्छेले नै बोकिरहेका छन्, केहीले भने ठेलामा तानिरहेका छन् । हिउँदका दिनमा हुर्रिने हिउँ तूफानका दिनमा त अवस्था अझ बिग्रन्छ । त्यसै पनि पहिला बिजुली बत्ती गायब हुन थालेपछि फ्रिजहरूकत्र काम टिनको आल्मारीमा सीमित भएका छन् । खानेपिउने कुरा पहिला साताभरिका लागि जम्मा गर्न सकिन्थ्यो भने अचेल त्यो पनि सम्भव हुन सकेको छैन । बरू बाहिर चिस्यानका कारण खानपिनका सामग्री हिउँमै पुरेर राख्न सकिएला तर ती सामान पनि छिमेकीका कुकुरको नजरमा नपरोस् भनेर एक जना त गोठालो बस्नै पर्ने अवस्था आएको छ ।

बाँकीको ऊर्जा जे जति छ, ती पनि निजी सुखसुविधाका लागि प्रयोग गर्न नसक्ने अवस्था छ । देशलाई त्यतिञ्जेल घिसार्नुपर्ने अवस्था आएको छ, जबसम्म ऊर्जाका अन्य स्रोत फेला पर्दैनन् । त्यसैले पनि बचेकुचेका ऊर्जा खेती-किसानीमा लगाइएको छ । कार बनाउने कम्पनी हिजोआज खेती किसानीको औजार बनाउन लागिपरेका छन् । अत्ति चिसो मौसममा घरका सदस्यहरू एकै ठाउँमा एकअर्कासँग टाँस्सिएर सुत्ने गरेका छन् । अत्ति गर्मीका बेला हातैले पंखा चलाउने कुरा त छँदैछ । कार भएन भने त हिँडेरै बरू यताउति गर्न सकिएला तर अन्न नै भएन भने के गर्ने ? त्यसो त मानिसहरूले यस्तो गरिबीको अवस्थामा सन्तान जन्माउने कुरामा अनिच्छा देखाइरहेका छन् । सोही कारण हाम्रो पृथ्वीको जनसंख्या त्यत्ति धेरै बढेको छैन । तर पनि अन्न वितरण व्यवस्थालाई एक स्तरमा नियमित बनाउने कुरा त दिनदिनै अप्ठेरो हुँदै गइरहेकै छ । केही अन्न त अन्य देश पनि निर्यात गर्नु नै पर्छ ताकि अन्य देशबाट पेट्रोल आदिका केही थोपा यहाँ जरूरी कार्यमा लगाउन सकियोस् ।

यो त भयो, हाम्रो देशको कुरा ! अरू देशमा त झन् अवस्था गएगुज्रेको छ । संसारका कयौँ ठाउँ त हाम्रो भाग्य जति भाग्यशाली कहाँ छन् र ? अन्य देशको दुःखका कारण हामीले सन्तोष लिएको भन्दै केही ‘बौलाहा’हरू हल्ला मच्चाइरहेका छन् । पृथ्वीको जनसंख्या नियन्त्रण नै हुँदाका अवस्थामा पनि लगभग साढे पाँच अर्ब पुगिसकेको छ । अमेरिका र युरोपभन्दा बाहिरका देशमा हरेक पाँचमध्ये एक व्यक्तिले दुई छाक खान नपाएर एकअर्कालाई नै मार्ने अवस्था आएकोसमेत खबर आइरहेका छन् ।

केही अर्थशास्त्री र मानवशास्त्रीहरूले अबका दिनमा जनसंख्या तीव्र रूपमा घट्ने बताइरहेका छन् । यसको मुख्य कारण शिशु मृत्युदर बढ्नु नै रहेको केहीको निष्कर्ष छ । भोकमरीको पहिलो शिकार यी बालबालिका भइरहेका छन् । हुन त अमेरिकाका केही अखबारले यस किसिमको प्रवृत्तिलाई राम्रै मानिएको छ । किन ? किनभने यो भोकमरीले जनसंख्या तीव्र रूपमा घट्दै जो छ ! हो नि, यस्तो विकट परिस्थितिमा पनि केही अखबार भद्दा खबरले ८/१० पृष्ठ छापिरहेकै हुन्छन् ।

०००
कहिलेकाहीँ राम्रो खबर पनि पढ्न पाइन्छ । त्यस्तैमध्ये एउटा खबर के पनि छ भने भोकमरीले ग्रस्त क्षेत्रमा केही क्षेत्रमा थोरबहुत खान पाइरहेका पनि छन् । त्यस क्षेत्रमा एक किसिमको नयाँ कुपोषण देखा परिरहेको छ र त्यो बडो विचित्र समस्या बनेर देखा परिरहेको छ । त्यस्तो कुपोषणले ग्रस्तहरू शरीर त हिँडडुल गर्न सकिरहेको छ तर तिनको मस्तिष्क निरन्तर कमजोर भइरहेको छ । हरेक वर्ष यस्ता कमजोर र विकृत भइसकेका दिमाग भएका मानिसको संख्या निरन्तर बढिरहेको छ । केहीले भने त्यहाँ एकअर्कालाई आक्रमण गर्ने क्रम बढेका कारण हामीकहाँ पनि त्यस्तै गर्नुपर्ने र कमजोरहरूलाई शुरूमै मारिदिनुपर्ने माग निरन्तर बढिरहेको छ । त्यसो त अखबारहरूले यस्ता खबर छापेका छैनन् तर कुन दिनबाट यस्ता ‘व्यवहारिक कदम’ चालिनुपर्ने कुरामा जोड दिएर सम्पादकीय लेख्न बेर छैन । तर संसारका अन्य भागबाट आएका केही यात्रुहरूले यस्ता अनेकन् भयानक किस्साहरू दबेको आवाजमा सुनाउन थालिसकेका छन् ।

ऊर्जाको यस संकटले एउटा ठूलो काम अर्को पनि गरेको छ । हरेक राष्ट्रका सेना खै कहाँ गायब भएका छन् कुन्नी ! पेट्रोललाई नै खाइदिन सक्ने शक्ति भएका ती सेना अचेल कसले पो पाल्न सकोस् ! काँधमा बन्दुक राखेर यताबाट उता र उताबाट यता गर्ने केही सीमित संख्यामा भने छँदैछन् तर पहिला जत्ति त होइन । ती सैनिक पनि अब हेलिकप्टर या प्लेन या गाडीमा होइन, पैदल नै घिस्रिरहेका देखिन्छन् । कुनै समयका शान मानिने फुर्र-फुर्र उडने वायुसेनाका हवाई जहाज, गुडुडु दौडने ट्याङ्क, ट्रक, जीपहरू सबैसबै धुलोमा पुरिएका छन् ।

बाँकी बचेको ऊर्जाका स्रोतहरू क्रमशः सकिँदै गइरहेका कारण अचेल मेसिनका ठाउँमा हातगोडाले नै काम चलाइन थालेको छ । मेसिनको बिदाइका कारण मानिसले गर्ने कामको घण्टा निरन्तर बढिरहेको छ । पहिला पहिला एकादेशको कथा बनेको हप्तामा चार दिन चार घण्टा मात्र काम गर्ने अहिले बढेर हप्तामा सातै दिन १८ घण्टासम्म काम गर्नुपर्ने अवस्था आएको छ । हुन पनि मानिसले आराम गरेर के पो गर्छन् र ? पहिला आरामको अर्थ बिजुली थियो, बिजुली हुँदा टिभी र इलेक्ट्रोनिक सामग्री थिए । बिजुली अभाव चर्किंदै जाँदा मनोरञ्जनका सामग्री पनि कम हुँदै गए । चौबीसै घण्टा वाहियात् विज्ञापन र टिभी कार्यक्रम त हिजोआज जम्मा राति तीन घण्टा मात्र चल्ने गरेका छन् । सिनेमा हलमा पनि हप्तामा तीन सो मात्र देखाउन पाइन्छ । नयाँ किताब छाप्न बन्द भइसकेका कारण पढ्नुपर्ने मानिसले पुरानै चिजबिज पढिरहेका छन् । सन् २०२७ सम्म आइपुग्दा जम्मा तीन चिज बाँकी रहेका छन्, काम गर, सुत र खाऊ । खाने कुराको पनि कुनै निश्चित छैन !

यो अवस्था कहाँ गएर सकिने हो ? मान्छे अब बढ्ने हो कि पछि धकेलिने हो, सबै चकित छन् । केहीले आँकलन गरिरहेका छन्, अब केही वर्षपछि यो संसार सन् १८०० ताकको समयमा पछि फर्कनेछ । शहरमा एकत्रित भएको जनसंख्या गाउँ फर्कनै पर्नेछ । ससाना स्वावलम्बी उद्यम र साना खेतीमा मानिस निर्भर हुनेछ । हस्तकला, हस्तउद्योग र ग्रामउद्योग बिना नारा नै पुनः शक्तिशाली हुँदै जानेछन् ।

के उसो भए हामी आजको यस परिस्थितिमा सुधार ल्याउन सक्दैनौँ त ? अँहँ, अब कुनै उपाय नै बाँकी छैन । अँ, यदि आजभन्दा पचास वर्षअघि अर्थात् सन् १९७८ मा केही निर्णय लिइएको भए आज सन् २०२७ सम्म आइपुग्दा हामीले जे झेलिरहेका छौँ, त्यसलाई टार्न सकिन्थ्यो होला । हामी अझ सन् १९५८ ताका नै सही दिशा पक्रेका हुन्थ्यौँ र संसारलाई सही दिशा देखाउन सकेका हुन्थ्यौँ भने अवस्था सुधार्न हामीलाई अझ बढी सहज हुन्थ्यो होला !

थाहा छैन, अब के हुने हो !

(सन् १९७६ को अप्रिल महिनामा टाइम म्यागेजिनमा प्रकाशित कथा। आइज्याक असिमोभ अमेरिकाका साईफाई कथा-उपन्यास विधाका सर्वाधिक रूचाइएका आख्यानकारका रूपमा चिनिइन्छन् । उनले साईफाई विधाका डेढ सयभन्दा बढी उपन्यास, पाँच सय भन्दा बढी छोटा कथा तथा सयभन्दा बढी नन् फिक्सन पुस्तक लेखेका छन् ।)

प्रतिक्रिया
Loading...