नेपाली साहित्यको सम्पूर्ण पत्रिका

साहित्यिक पत्रकारिताका ती दिनहरू 

भविष्यमा ‘रचना’प्रकाशन जारी नै राख्न सक्ने बलियो आधार पनि केही छैन, तर कुनैबेला ‘रचना’बन्द गर्नूपर्यो भने मेरा निम्ति यो दुखदस्थिति हुनेछ । अहिले त म रचनाबाहेकको आफ्नो बँचाइको कल्पना गर्न सक्तिनँ ।

घरको वातावरण साहित्यिक थियो उहाँको । ‘गोरखापत्र’, ‘शारदा’, ‘साहित्यस्रोत’, ‘पुरुषार्थ’, ‘उदय’, ‘उधोग’ आदि नेपाली पत्रिका र ‘सरस्वती’, ‘गङ्गा’, ‘चाँद’, ‘सुधा’, ‘बैङ्कटेश्वर’, ‘कल्याण’ जस्ता हिन्दी पत्रिका पढ्न सौखिन हुनुहुन्थ्यो उहाँको पिता । यी पत्रपत्रिकाहरू उहाँको पिता सधैं पढ्ने गर्नुहुन्थ्यो । बालरोचकलाई पनि पत्रिका पढ्नु पर्ने रहेछ भन्ने ज्ञान भयो । बुझी नबुझीकनै पत्रिकाका पानाहरु पल्टाउँदा पल्टाउँदै साहित्यको रस पसिसकेछ रोचकमा । साम्वभक्त सुवेदी, लक्ष्मीप्रसाद देवकोटा, मधुसुदन देवकोटा, हृदराज शर्मा, योगी नरहरीनाथ, बुद्धिसागर पराजुलीजस्ता व्यक्तित्वहरु पिताजीका मित्र हुनुहुन्थ्यो । पीताजीको कोठामा उहाँहरुलाई कविता सुनाउन लाग्नुभएको, साहित्य चर्चामा मग्न हुनुभएको, इतिहास, संस्कृति अथवा धर्म चिन्तनमा डुब्नुभएको बाल रोचकले सधैं देख्नुहुन्थ्यो । उहाँहरुको बौद्धिक चर्चा बालमथिङ्गलमा नघुसे पनि नेपाली साहित्यतर्फ चाख उमार्ने पहिलो खुड्किला बन्यो रोचकलाई ।

बुझी नबुझी पल्टिएका पत्रिकाका पानाहरुले पछि प्रमुख दैनिक पत्रिकाहरु ‘कल्पना’ र ‘हालखवर’ नियमित पढ्ने बानी बस्यो । ‘कल्पना’का सम्पादक तारिणीप्रसाद कोइरालासँग पनि सम्पर्क हुन पुग्यो । उहाँकै आज्ञाले सर्वप्रथम २०१५ सालमा कल्पनामा केही रचनाहरु छापिए त्यहाँबाट लेख्ने क्रम पनि सुरु भयो । ‘साहित्य’ प्रकाशित हुन थालेपछि पाठकको नाताले सम्पादक श्यामप्रसादसँग पनि नाता गाँस्न सफल भए रोचक घिमिरे । पछि उहाँकै संगतमार्फत् नेपालका केही लेखक कविसँग पनि सम्पर्क बढ्दै गयो । २०१६ सालमा पुरुषोत्तम रिसालले भैरवप्रसाद अर्यालसँग चिनापर्ची गराए । त्यस बेला भैरव ‘हालखवर’मा काम गर्दथे । ‘हालखवर’मा छापिने भैरवका समसामयिक व्यङ्ग्य निकै तीखा र च्वास्स घोच्ने खालका हुन्थे । भैरव अर्यालसँगको चिनाजानले उहाँसँग घनिष्टताको रुप लिँदै गयो । पत्रपत्रिका र पुस्तकमा औधी खर्च गर्ने रोचकको बानी भैरव अर्याललाई नजाति लाग्यो र, ‘तिमी किताब र पत्रपत्रिकामा यत्रो खर्च गर्छौं, बरु त्यो पैसाले हामी आफैंले एउटा पत्रिका निकालौँ न’, भन्ने सल्लाहदिए पछि रोचक घिमिरे झस्किए । त्यसबेला कमलमणि, श्यामप्रसाद, के.पि. शैल र श्रीरामदेव भट्टराईहरुले भर्खरै नेपाली ‘साहित्य’, ‘इन्दु’, र ‘रुपरेखा’ निकालेका थिए ।

राेचक घिमिरे
सान्दर्भिक पोस्ट

यी जागरिला युवाहरुको साहित्यप्रतिको लगाव देख्दा रोचकलाई पनि लोभ लाग्यो भने भैरव अर्यालजीको सल्लाह पनि नराम्रो थिएन । दुवै जना मिलेर पत्रिकाको माध्यमबाट नेपाली साहित्य फाँटमा स–सानै भए पनि केही काम गर्ने जाँगर चल्यौ । यस्तै रहरै रहरबाट उत्साहित भएर उहाँहरुले एउटा साहित्य संकलन निकाल्ने निर्णय गर्नु भयो । कुरो सम्पादकमा आएर अड्कियो । भैरव अर्यालजीको सरकारी जागिर भएकाले सम्पादक बन्न नहुने कुरा भनेपछि सम्पादकमा रोचक घिमिरे नै बस्नु पर्ने भयो । काम सबै भैरव अर्यालजीले गर्ने तर सम्पादकको पगरी भने रोचक घिमिरेले लगाउनु भयो ।

‘रोचक पुस्तक सदन’ नाम दिनु भएको थियो उहाँले आफ्नो पत्रपत्रिका संग्रह गर्ने स्थानलाई । त्यही रोचक पुस्तक सदनबाट एउटा पत्रिका जन्म्यो । त्यो हो ‘रचना’ । २०१८ साल असोज २० गतेका दिन ‘रचना’ चार महिने साहित्यिक प्रकाशनका रुपमा दर्ता भयो । पत्रिका दर्ता भए पनि अब अर्को दाैडधुप सुरु भयो उहाँहरूमा रचना संकलन गर्ने । पुरुषोत्तम, भैरव र रोचकको दाैडधुप सार्थक भयो । २०१८ साल मंसिरमा चार महिने ‘रचना’को पहिलो अंक प्रकाशित भयो ।

पहिलो अंकमा महानन्द सापकोटा, केदारमान व्यथित, राजेश्वर देवकोटा, श्यामप्रसाद, धर्मराज थापा, भूतको भिनाजु, अनन्ददेव भट्ट, रमेश विकल, नीरविक्रम प्यासी, गोविन्द भट्ट, भैरव अर्याल, तुलसी दिवस, लीलासिंह कर्मा, कन्चन पुडासैनी, शशिकला शर्मा, भीमदेव भट्ट आदि साहित्यकारहरुका लेख रचना छापिएका थिए । यसैक्रममा विभिन्न पत्रपत्रिका र पाठकहरुले त्यो पहिलो अंक खुबै रुचाएर पढें ।

सम्पादकलाई स्याबासीको धाप मार्दै प्रशंसात्मक टिप्पणी र चिठ्ठी लेखें । त्यस्तो नितान्त नौलो व्यक्तिको सम्पादनमा निस्केको पत्रिकाको स्तर देखेर धेरै जना छक्क परेका थिए । यसपछि ‘रचना’का सहयाेगीहरु उपत्यकाबाहिर पनि थुप्रै भए । ग्राहक बन्न पनि थुप्रै साहित्य मित्रहरुले चिठ्ठी पठाउनु भयो । २०१९ पुषदेखि ‘रचना’ तीन महिने भएर प्रकाशित हुन थाल्यो । यो खुशीकै कुरा थियो । त्यसबखत सुशील कोइराला, रमेश विकल, भैरव अर्याल, नवराज चालिसे, परशु प्रधान, बलराम अर्याल, लिलाराज श्रेष्ठ,कन्चन पुडासैनी, गणेस भण्डारी, बसन्त सिटौला, शिव भट्टराई र राम लामिछानेको ठूलै सहयोग मिलेको थियो उहाँलाई ।

आफ्ना सहयोगीहरुले उत्साहपूर्वक ग्राहक बनाई दिए पनि त्यसबाट आएको रकमले छेउ न टुप्पो हुने भएकोले पत्रिका प्रकाशन गर्न झन कठिन हुँदै गयो । साहित्यिक पत्रिकाहरुलाई कसैले विज्ञापन नदिने भएकाले पनि कठिन हुन पुगेको हो । सरकारी सहयोगको कुरा त कता हो कता ? कुरा गर्नु ब्यर्थ थियो त्यसबेला पनि । तैपनि समयसँग पाैठेजोरी खेल्दै आफ्नै गाँस काटेर पनि पत्रिका प्रकाशन गरेको अनुभव छ रोचक घिमिरेको । नेपाली साहित्यिक पत्रिका पढ्न ज्यादै लालायीत हुने पहाड तराईका पढेलेखेका मान्छे र प्रवासी नेपालीहरुको माया पाएर नै रचना आज यो उचाईमा पुग्न सफल भएको ठान्नु हुन्छ रोचक घिमिरे । भैरव अर्यालको त्यो योगदानले पनि रचनालाई आज जीवित राख्न सकेको हो भन्ने उहाँको ठहर छ ।

यसरी ‘रचना’ आज १६६ अंकसम्म प्रकाशित भैसकेको छ । १६७ औं अंक प्रकाशनको तयारीमा छ । उहाँ यस कुरामा खुशी हुनुहुन्छ ‘रचना’ले हालका वरिष्ठ साहित्यकारहरुलाई स्थान दिएको थियो । पारीजातको कथा ‘मैले नजन्माएको छोरो’ सबै भन्दा पहिला ‘रचना’मै छापिएको थियो । पारिजातलाई कथाकारको रुपमा परिचित गर्ने काम ‘रचना’ले नै गरेको हो ।

“हुँदैन बिहान र्मिर्मिरे तारा झरेर नगए
बन्दैन देश दुई चार सपुत मरेर नगए……”

भूपि शेरचनको यो प्रसिद्ध गीत पनि प्रथमपटक ‘रचना’मानै प्रकाशित भएको हो । शैलेन्द्र साकारलाई पनि नेपाली साहित्यका प्रवेश गराउने काम ‘रचना’ले नै गराएको हो । ‘रचना’ प्रकाशनको ४८ वर्षको समयमा नेपालका थुप्रै स्थापित साहित्यकारहरुलाई ‘रचना’ले नै लेख रचना प्रकाशित गरेर उचाईमा पुर्याएको अनुभव छ रोचक दाइको ।

‘रचना’को बारेमा उहाँको यस्तो धारणा छ– “साहित्यिक समाजमा मेरो परिचयको माध्यम ‘रचना’ नै हो । मैले जति पनि साथी, सहयोगी र हितैषीहरु कमाएँ यसैबाट कमाएँ । यी कमाइका अगाडि अरु भौतिक कमाइलाई म तुच्छ सम्झन्छु । ‘रचना’लाई आफूले सोचेजस्तो रहर पुर्याएर निकाल्न सकिएको छैन । यसैको सिंगारपटार निम्ति जतिसुकै सपना देखे पनि सामथ्र्यहीन भएर खुम्चँदै बस्नु परेको छ । भविष्यमा ‘रचना’प्रकाशन जारी नै राख्न सक्ने बलियो आधार पनि केही छैन, तर कुनैबेला ‘रचना’बन्द गर्नूपर्यो भने मेरा निम्ति यो दुखदस्थिति हुनेछ । अहिले त म रचनाबाहेकको आफ्नो बँचाइको कल्पना गर्न सक्तिनँ ।”

पाठक र साहित्यकारहरुको माया नै ठूलो कुरा हो । उहाँले सधैं यस्तो माया पाई नै रहनु हुनेछ । ‘रचना’ ६० वर्षको पाको भैसकेको छ । रोचक दाइको यो सार्थक कार्यको प्रसंशा गर्नुपर्छ । उहाँको यो यात्रा अनवरत रुपमा अगाडी बढी नै रहने छ । शुभकामना !!!

प्रतिक्रिया
Loading...