नेपाली साहित्यको सम्पूर्ण पत्रिका

गनेस-कुमार कम्पनी

सेराेफेराे

कला-सौन्दर्यको परख गर्ने मामिलामा गनेस र नगरकोटीबीच अधिकतम निकटता छ । उनले देखाउने साहित्य (कार समेत) प्रतिको प्रेम निःसर्त छ भने गनेस त्यस्तो निःसर्त हुनै सक्दैनन् । तर नगरकोटी गनेसको त्यो ‘निःसर्त हुन नसकाइ’ लाई पनि निःसर्त प्रेम गर्न सक्छन् ।

गनेस-कुमार कम्पनी

कुमार नगरकोटीको गुफामा एउटा भुइँखाट छ । त्यसमा पत्नी र छोरालाई समेत सुत्ने अधिकार छैन । पोखराबाट जोगी मित्र आएको मौका पर्यो भने चाहिँ त्यो निजी ओछ्यान सरक्क छाडिदिन्छन् । मिस्टर जोगी नगरकोटीको कति आत्मीय मित्र हुन् भने आफ्नो ओछ्यानमा सुत्ने सर्वाधिकार उनलाई मात्रै छ ।

सुरुमै निवेदन गरौँ, नगरकोटीले आफ्नो निवासास्थानको लेखन तथा विश्राम कक्षलाई गुफा नाम दिएका छन् । त्यहाँ उनका पुस्तक, पाण्डुलिपि, सिगरेट, अगरबत्ती छरपस्ट हुन्छन् । जिन्दगीका अनेकन निजी बहीखाताहरू पनि त्यहीँ छन् ।

नगरकोटीको गुफामा रात्रि-विश्राम गर्न पाउने एकल मनुवा हुन्, गनेस पौडेल । उनी आफ्नो घरबाहेक नगरकोटी र राजन गोदारका निवासमा कहिल्यै पाहुना बसेजस्तो अनुभूति गर्दैनन् । आफ्नै निवासमा जस्तो स्वतन्त्र अनुभव गर्छन् । पेसाले करिअर कोच राजन नगरकोटीका कुनै बेलाका ‘लिटेररी एजेन्ट’ हुन् ।

गनेस मात्र किन ? नगरकोटी पनि जोगी नै हुन्, ब्ल्याक एन्ड ब्राउन डिंगो लगाउने फकिर । दुवै जोगीलाई पीतवस्त्र खुब सुहाउँछ । गनेसले कटनको पहेँलो पाइन्ट मात्र लगाएर हिँड्दा नगरकोटीलाई अधुरो लागेछ । उनलाई लागिरहह्यो, अब त्यसलाई मधुरो-मधुरो बनाउनु पर्छ ।

त्यसैले इन्डियाबाट फर्कंदा उनले गनेसलाई पहेँलो टीसर्ट उपहार ल्याइदिए । उनले फोनमा खबर गरे, ‘तपाईंलाई पूरा बनाउन पहेँलो टीसर्ट ल्याइदिएको छु ।’ त्यो सुनेपछि गनेसलाई काठमाडौँ जाऊँ जाऊँ लागिहाल्यो । उनी जहाज चढेर काठमाडौँ आए ।

अघिल्लो दिन आए, भोलिपल्ट फर्किहाले । यहाँ उनको अरु कुनै काम थिएन । पहेँलो पाइन्टमाथि पहेँलै टीसर्ट लगाएर अधुरा गनेस पूरा भए ।

नेपाली साहित्यका अविस्मरणीय र प्रत्युत्पन्नमतिका दुई लेखकहरुको सम्बन्धको किस्सा रोचक ओ रोचक छ ।

बिहान ९ बजेको हुँदो हो । गनेस पुरानो हाफ पाइन्ट लगाएर फार्म हाउसको टनेलभित्र पसेर गोलभेँडामा औषधि छर्कंदै थिए । नगरकोटीले अर्जेन्ट छ भनेर तुः का तुः काठमाडौँ बोलाए ।

राजकुमार बानियाँ

त्यही पोसाकमा हान्निएर एयरपोर्ट पुगे । शरीरबाट पूरै बिषादि गन्हाइरहेको थियो । काठमाडौँ एअरपोर्टबाहिर निस्कनेबित्तिकै देखे, पोलिथिन ब्यागमा एक थान सीडी बोकेर पर्खिरहेका नगरकोटी ।

अर्जेन्ट भनेको त नगरकोटी ‘मैले एकाबिहानै हेरेँ, हामी दुवैले यो सिनेमा एकै मितिमा हेर्नुपर्छ भन्ने सोचेर बोलाएको । आजै हेरिभ्याउनू । घर गएर हेर्नू’ पो भनेछन् ।

त्यही सीडी बोकेर गनेस तुरुन्तै पोखरा फर्के । १५—२० रुपियाँको एक थान सीडी लिन आठ हजारको टिकट काटेर पोखरा–काठमाडौँ आउजाउ गरे ।

हिजोआज कहिले कथा सुन्न—सुनाउन, अत्यास लागेर भेट्न, कफी पिउन, सँगै बसेर सिनेमा हेर्न मात्रै भनेर गनेस र कुमारको काठमाडौँ–पोखरा आउजाउ भइरहन्छ । बिहान आयो, बेलुकी फर्कियो । बिहाना गयो, बेलुकी फर्कियो ।

एक पटक नगरकोटीलाई फोन गर्न मात्रै पनि काठमाडौँ आएछन् गनेस । फोन त पोखरा वा अन्त कतैबाट गरेर ‘म काठमाडौँ छु तर तपाईंलाई आज भेट्दिनँ’ भन्न सकिन्थ्यो । तर उनलाई त्यसरी ढाँट्न मन लागेन । बरा जोगी मान्छेसँग किन झुट बोल्नू !

नगरकोटीसँग झुटमुट नबोल्नकै लागि गनेस काठमाडौँ ओर्लिए र ‘म काठमाडौँमा छु तर तपाईंलाई आज भेट्दिनँ’ भनेर फर्किए । नगरकोटी पनि गनेसलाई किताब उपहार दिन भनेरै वीरगन्ज गएका थिए । गनेस घुमफिरमा त्यता पुगेका रहेछन् ।

नगरकोटी भन्छन्, ‘पहिलो भेटमै हाम्रो सम्बन्ध निकै पुरानो जस्तो बोध भयो । आफ्नै अर्को रुप भेटेको भान भयो । मैले नभोगेको जिन्दगी उसले भोगिरहे जस्तो लाग्यो ।’

जिन्दगी भनेको सम्झना-शृंखला त हो । कहिलेकाहीँ उनीहरु जानाजान किस्सा निर्माण गर्छन् । यस्ता किस्सा जति व्यक्त गरे पनि अधुरै हुन्छन् । उनीहरु के ठान्छन् भने कहिलेकाहीँ एनेक्डोटहरू बन्दैनन्, बनाउनुपर्छ । लाइफ इज मेकिङ मेमोरिज् ।

गनेस र कुमारको मित्रता उत्पात पुरानो चाहिँ होइन । ‘उसको भौतिक जन्म कहिले भयो मलाई मतलब छैन, अहिले पनि बालखै लाग्छ । मेरो मनमा जोगी जन्मेको चाहिँ २०७१ साल माघ २३ गते शुक्रबार साँझ हो,’ नगरकोटी भन्छन्, ‘पहिलो भेटमै हाम्रो सम्बन्ध निकै पुरानो जस्तो बोध भयो । आफ्नै अर्को रुप भेटेको भान भयो । मैले नभोगेको जिन्दगी उसले भोगिरहे जस्तो लाग्यो ।’

भेट्नुभन्दा पहिले नै पढेका थिए गनेसलाई उनले । महाभारतका बारेमा किस्ताबन्दी लेखिरहने गनेस त महाभारतकै साक्षात् अजर अमर पात्र अश्वत्थामा जस्तो लाग्यो रे । निधारमा विशाल घाउ लिएर भौँतारिइरहेको यायावर ।

गनेस कस्तो लेखक हो भने पौराणिक आख्यानको पनि अथोराइज्ड भर्सनमा कुरा गर्छन्, उत्तरआधनिक गाथा पनि उत्तिकै विश्वसनीय र आत्मविश्वाससहित सुनाउन सक्छन् । पौराणिकता र उत्तरआधुनिकता उनमै समागम भएको छ ।

गनेसको स्मरणमा भने नगरकोटी अलिक पुराना चुरौटे हुन् । प्रज्ञाप्रतिष्ठानमा कुनै संस्करणको नेपाल लिटरेचर फेस्टिबल चल्दै थियो । तिनताका चुरोटका अम्मली थिए गनेस । खुब तलतल लागेको थियो । आसपासमा पसल थिएनन् ।

‘पर बैरागी पाराको एउटा मान्छे वरिवरि (मैले नचिनेका) मनुष्यहरू थुपारेर धुवाँ उडाइरहेको देखेँ । एक खिल्ली मागेँ, खाएँ,’ गनेस सम्झन्छन्, ‘फर्केपछि तपाईं (स्तम्भकार) ले भनेपछि थाहा पाएँ, त्यो मान्छे त ‘फोसिल’ को सर्जक पो रहेछ !’

र्यान्डम रिडर्स सोसाइटीमा ‘अक्षरगन्ज’ को पोखरा परिचर्चा गर्दासम्म पनि नगरकोटीसँग उनको खास नजिकको चिनजान थिएन । उनलाई भेटेपछि गनेसको मुखबाट अचानक पहिलो प्रश्न फुस्केछ, ‘कहिल्यै आत्महत्या गर्ने कोसिस गर्नुभा’छ ?’

नगरकोटीलाई दारु भेट गर्न नपाएकामा किशोर नेपालदेखि सुनील पोखरेल, विप्लव प्रतीकसम्मले खेद मानेका छन् । गनेसले भने त्यस्तो केही सुर्ता मानेका छैनन् ।

कहिलेकाहीँ नगरकोटी गनेसलाई बिहान चारै बजे वा राती १२-१ बजे पनि फोन गर्छन् अनि ‘भर्खरै रचेका’ कविता वा छोटा कथा वा निबन्ध वाचेर सुनाउँछन् । नगरकोटी आफ्ना सिर्जनाअनुसारले पहिलो पाठक छनोट गर्छन् । आफूबाहेक उनको सूचीका पहिला पाठकहरू अरु पनि छन् भन्ने गनेसलाई थाहा छ । तर ती सीमित छन् ।

यी दुई कति खुलस्त छन् भने गनेसका सबै जायज-नाजायज कुरा थाहा हुने एक मात्र पात्र नगरकोटी हुन् । नगरकोटीका गोप्यता त छरपस्टै छन्, हुन बाँकी कुरा पनि गनेसलाई ज्ञात छ । नगरकोटी नाचेको गनेसले बाहेक कसैले देखेको छैन । गनेसको मूल्यांकनमा नगरकोटी नाच्न जान्दैनन् ।

‘नगरकोटी अत्यन्त अव्यावहारिक छन्, मभन्दा बेसी । मेरो संसारमा उनी मात्रै एक पात्र हुन्, जसलाई म ‘यो पाराले त भएन है, अलि व्यावहारिक हुनुपर्यो’ भनेर झपार्न सक्छु,’ गनेस भन्छन्, ‘अरु सबै जना त मभन्दा परिपाठयुक्त, सांसारिक र व्यावहारिक छन्, कसरी त्यसो भन्न सक्नु ?’

सेताम्मे दाह्री, खुइले तालु र चुरोटले डढेका ओठ देखेर होला, सहरका बूढा काकाहरु पनि उनलाई ‘दाइ, दाइ’ भन्छन् ।

गनेस नगरकोटीलाई ‘दाइ’ भन्छन् तर नगरकोटी उनलाई ‘भाइ’ भन्दैनन्, ‘गनेसजी’ भन्छन् । एक पटक पोखराकै कवि सरस्वती प्रतीक्षाले यस्तै प्रतिक्रिया दिएकी थिइन् । ‘सरस्वती प्रतीक्षाले दाइ भनेको मलाई मजा आएन, कुमारजी भनेकै राम्रो हो,’ उनी भन्छन्, ‘जुनियर साहित्यकार कसैलाई भाइ या बहिनीको नाता लगाउनु मलाई एस्थेटिकल्ली ब्युटिफुल लाग्दैन ।’

त्यसो त उनी चाहिँ आफूभन्दा ठूलालाई ‘दाइ’ नै भन्छन् । सेताम्मे दाह्री, खुइले तालु र चुरोटले डढेका ओठ देखेर होला, सहरका बूढा काकाहरु पनि उनलाई ‘दाइ, दाइ’ भन्छन् । ‘नगरकोटी दाइ’ को उमेर ४५ मात्र हो भन्ने थाहा पाए सायद भतिजा नै भन्दा हुन् ।

हरकोहीको मामलामा लेखक र व्यक्ति फरक हुन्छ । तर नगरकोटी चौबीसै घन्टा लेखक भएर बाँच्न सक्छन्, बाँच्छन् वा बाँच्ने कोसिस गर्छन् । उनी सपनामा समेत कथाका प्लट बुनिरहेका हुन्छन् सायद ।

व्यक्ति नगरकोटी अत्यन्त कोमल र बालखी लाग्छन् । तर उनको लेखाइ अत्यन्त परिपक्क तर निरपेक्ष हुन्छ । उनका रचनाको चुरो भनेको संवेदनाविहीनताको अभ्यास (दोचा बाहेक) हो । उनका रचना (संस्मरण बाहेक) पढेर पाठक भावुक हुनै सक्दैनन् । उनी भाव-निरपेक्ष भएर लेख्न सक्छन् ।

व्यक्ति नगरकोटी अति स्वतःस्फूर्त छन् । जो पर्ला, सो टर्ला मार्काको । तर उनको लेखाइमा सतत होइन, अत्यन्त सचेत शब्द संगठन हुन्छ । व्यक्ति नगरकोटी त्यति सचेत छँदै छैनन् । खासमा ‘हु द हेल केयर्स’ मार्काका छन् ।

त्यस कारण कहिलेकाहीँ दुर्घटना भएको पनि देख्छन् गनेस । अधिक छापा लेखनले गर्दा होला, कहिलेकाहीँ व्यक्ति नगरकोटीले लेखिरहेका हुन्छन्, लेखक नगरकोटी चाहिँ कफीगफ चुट्दै बाँचिरहेका हुन्छन् ।

लकडाउनको अघिल्लो दिन नगरकोटी पोखरा गएका थिए, मोटरसाइकल सिक्न । उनले सोचेछन्, नगरकोटीलाई एक्स, वाई, जेडले कसरी मोटरसाइकल सिकाउने ? त्यसैले उनी पोखरा जाने भए गनेससितै सिक्नका लागि । जहाजको टिकट पठाइदिए गनेसले । डेढ महिना त्यतै रोकिए ।

‘मैले मौखिक इन्स्ट्रक्सन मात्रै गरेको हुँ, भनेकै भरमा चलाएर देखाए,’ गनेस भन्छन्, ‘भनेको नमान्दा एकाध पल्ट मेरो झपार पनि खाए । एक पटक त बेस्मारी पल्टिए पनि ।’

मोटरसाइकल सिक्ने भनेको चलाउनै त हो । नगरकोटीलाई बुलेट चढेर काठमाडौँको सडकमा हुइँकिने रहर छ । उनको गेटअपमा बुलेट पक्कै सुहाउला । तर गनेसलाई बुलेटको आवाजै मन पर्दैन ।

नगरकोटी गनेसलाई संसारकै ‘अनबोर्ड’ र ‘टाइमलेस’ मान्छे मान्छन् । जो कसैसित एक घन्टा बिताउनु नगरकोटीलाई मुस्किल हुन्छ । तर गनेससित डेढ महिना सँगै बस्दा एक मिनेट पनि बोर भएन रे ।

उसो त गनेस र नगरकोटीबीच साम्यभन्दा विषम्य कुरा अधिक छन् । विषम्य विषयकै कारण नगरकोटी नगरकोटी भएर बाँच्छन्, गनेस गनेस भएर बाँच्छन् । साहित्य लेखनको कुरा गर्ने हो भने नगरकोटीका दर्जन कृति पुगिसके, गनेसका बल्ल दुइटा । ‘नगरकोटीसँग समानता र विषमताको विषयमा कुरा गर्ने बेलै भएको छैन मेरो,’ गनेस भन्छन्, ‘म त उनको अनुज पुस्ताको लेखक हुँ ।’

गनेसको उपन्यास ‘पैताला’ पढेपछि धेरैले नगरकोटी शैलीको लेखन भनिदिए । तर उनी न खुसी भए, न त दुःखी । हाम्रो समाजको कलाचेतना देखेर फिस्स चाहिँ हाँसे ।

गनेसको उपन्यासलाई नगरकोटीको फोटोकपी भनिनुमा पनि जोगी मित्रताबाहेक अरु कुनै कारण छैन । धेरै मान्छेलाई कसैको काँधमा ट्याग भिराइदिँदा बडो आनन्द आउँछ । कहिले त्यो ट्याग राजनीतिक विचार भएर आउँछ, कहिले शैलीगत प्रभाव । त्यो एक प्रकारको परपीडक मनोवृत्ति हो । त्यो आनन्द प्राप्तिको सस्तो उपाय पनि हो ।

गनेसको लेखनमा सांसारिकताप्रति एकप्रकारको गहिरो संलग्नता, तृष्णा वा भावात्मकता किन देखिन्छ वा त्यस्तो कसरी दखाइएको छ ?

‘विचार र प्रभावका बारेमा गरिने योभन्दा सतही टिप्पणी केही हुँदैन । किनकि अधिकांश मान्छे ज्ञानको मामलामा सतही जिन्दगी बाँच्छन्,’ गनेस थप्छन्, ‘यस्तो टिप्पणीको बजार भने ठूलो छ । तर कला–साहित्यको साधना सतही बँचाइ होइन ।’

नगरकोटीको लेखनमा सांसारिकताप्रति एकप्रकारको गहिरो असंलग्नता, वितृष्णा वा भावातीत अनुभूति किन देखिन्छ ? गनेसको लेखनमा सांसारिकताप्रति एकप्रकारको गहिरो संलग्नता, तृष्णा वा भावात्मकता किन देखिन्छ वा त्यस्तो कसरी दखाइएको छ ?

आम मानिससँग त्यसरी सोच्ने न फुर्सद छ, न त्यसरी सोच्न सक्ने सक्यता । सतही टिप्पणीले नै छापा र (अ) सामाजिक सञ्जालहरूमा वाहवाही पाइन्छ, फोकटको दुःख किन बेसाउन् ? ‘स्पेस’ पाइएकै छ भने बेफ्वाँकको झन्झट किन व्यहोर्नु ?

नगरकोटीको ‘मिस्टिका’ र गनेसको ‘पैताला’ दुवै स्वैरकाल्पनिक कथा भएकाले त्यस्तो प्रतिक्रिया आएको पनि हुन सक्छ । तर स्वैरकल्पनामा लेखिएका अनेकन कृति संसारमा छन् । स्वैरकल्पना न नगरकोटीको आविष्कार हो, न त गनेस पौडेलको ।

जसरी मुद्दाअनुसार हामी एउटै व्यक्तिको पक्ष र विपक्षमा उभिन्छौँ, साहित्यको मामलामा पनि त्यही हुन्छ । ‘कथावाचन र प्रस्तुतिका विषयमा कसरी नयाँ नयाँ तरिका अपनाउन सकिन्छ भनेर सोच्ने र त्यसरी प्रयोग गर्ने सवालमा मलाई कसैले नगरकोटीसँग समानता भयो भनिदियो भने फुलेल हुन्छु,’ गनेस भन्छन्, ‘किनकि उनको जस्तो अनेक आयामको कल्पनाशक्ति कमै मान्छेसँग हुन्छ । तर कसैले उनको जस्तो ‘विषय-शैली-स्वर’ भन्यो भने फिस्स हाँसो छुट्छ ।’

नगरकोटी र गनेस निक्कै भिन्न छन् । हरेक वास्तविक लेखक भिन्न भइहाल्छ । नगरकोटी धेरै कुरालाई बेवास्ता गर्न सक्छन्, गनेसको हकमा त्यसो गर्नु असम्भवप्रायः छ ।

यत्ति हो- दुवै हरेक कथालाई कसरी मौलिक तरिकाले प्रस्तुत गर्न सकिन्छ भनेर सोच्छन् । पिना बाउसको नृत्य होस् या जाकिर हुसैनको तबला, ल्याङ ल्याङको पियानो होस् या विश्वमोहन भाटको गितार या हरिप्रसाद चौरासियाको मुरली । के तिनको चाल र ताललाई शब्दमा र कथानकमा नियोग गर्न सकिन्छ ? दुवै त्यसरी पनि सोच्छन् । शब्द र वाक्यमा कसरी संगीत घुसाउने, कसरी रंगहरू छ्याप्ने, कसरी स्वादहरू संयोजन गर्ने आदि बारे लामा बहस गर्छन् ।

हाम्रो कथावाचनको खास परम्परा के हो ? कथानक संस्कृति के हो ? बाजेबराजुहरूले कसरी कथा हाल्थे ? हाम्रा लागि खासमा कथा भनेको के हो ? के हामीले अहिले त्यसरी नै कथा भनिरहेका छौँ ? के अहिले अतिप्रचलित भएको एकरेखीय कथावाचन नै हाम्रो मौलिक तरिका हो ? के गनेस पौडेल वा कुमार नगरकोटीले गर्ने कथावाचनमा नेपाली कथावाचन परम्पराको छेउटुप्पो मिल्दैन ?

कुनै बौद्धिक पाठकले चाह्यो भने गनेस यसबारे घन्टौँ होइन, सप्ताहन्तसम्म पनि बहस गर्न तयार छन् । ‘प्रश्नको छिनोफानै गर्ने भए गरौँ वा त्यसको प्रयास गरौँ । होइन भने चुप लागौँ,’ उनी भन्छन्, ‘त्यसै पनि मेरो काम लेख्ने हो, विवेचना गर्दै हिँड्ने होइन ।’

गनेसको लेखकीय खातामा हालै जोन स्टेनबेकको सदाकालीन आख्यान ‘अफ् माइस एन्ड मेन’ को अनुवाद पनि थपिएको छ, ‘मुसा मानुष’ । यसमा उनले पश्चिमाञ्चल क्षेत्रको बोली बान्की पनि चखाएका छन् । नगरकोटी पनि अनुवादै गरिरहेका छन्, ओशोको ‘सम्भोग से समाधि और’ ।

गनेसको हेलचेक्राइँ, अलमस्तपन, फकिरगिरी र अल्छी पाराबाट नगरकोटी भलिभाँती परिचित छन् । ‘मुसा मानुष’ को फाइनल गर्न बाँकी पाण्डुलिपि गनेसले आकाशे रंगको झोलामा हालेर हिँडेका थिए । पोखरा पुगेपछि झोला नै भेट्टाएनन् । नगरकोटी पोखरा गएका बेला धुइँपत्ताल झोला खोजे । नभेटेर राजन गोदारको निवासदेखि तिरुपति होटलसम्म तहकिकात चल्यो ।

आखिरमा भेटियो, घरकै फोहोर फाल्ने ठाउँमा । त्यसमा राहदानी, नागरिकता मात्र नभएर ‘पैताला’ उपन्यासको दोस्रो संस्करणका लागि सच्चाइएको कपी पनि थिए । ‘पैताला’ को पहिलो संस्करण ‘स्टक आउट’ भइसक्यो । तर उनले पैतालाको दोसो संस्करण निकाल्ने जाँगरै चलाएनन् । पहिलो र अन्तिम त्यही हो भनेर ढिपी गरिरहेका छन् ।

गनेसको आउनेवाला उपन्यास हो, ‘डेजाभू’ । ‘वर्किङ टाइटल’ भने ‘देजाभु’ । यो सारोन नामक पात्रका दामलीहरूको कथा हो ।

‘पैताला’ उनको पहिलो कृति हो । पाठकहरू देखाएको अनेकन प्रेमले प्रफुल्ल छन् । बौद्धिक आलोचनाले केही सचेत पनि भएका छन् ।

नगरकोटीको अध्ययन अनि फिल्मप्रतिको क्रोनिक लभबारे दुनियाँलाई थाहै छ । गनेसको अध्ययन अझ ‘अनलिमिटेड’ छ । हरेक विधामा त्यत्तिकै लेख्न सक्ने खुबीलिटी छ । उनी एउटै विधामा अड्किराख्दैनन् ।

गनेसको आउनेवाला उपन्यास हो, ‘डेजाभू’ । ‘वर्किङ टाइटल’ भने ‘देजाभु’ । यो सारोन नामक पात्रका दामलीहरूको कथा हो । पोखराको कथा । उसको किशोरकालीन पोखरा एकातिर गुण्डागर्दी, लागूऔषध, वेश्यावृत्ति आदिका कारण कुख्यात थियो भने खेलकुद र संगीत (विशेष गरी पप गीतको) कारण प्रख्यात पनि ।

त्यो सामाजिक कुख्याति र प्रख्यातिको छायामा ऊ हुर्कियो, त्यसकै अन्तरद्वन्द्वबाट स्कुले जीवन बित्यो । उसका धेरै मित्रहरू मेधावी थिए । सिर्जनशील थिए तर कुलतमा फसे । ऊ कताबाट उम्कियो, उम्कियो ।

टोले गुन्डा होऊन् वा लागूऔषधका कुलती, उसका असल मित्रहरू थिए । खासमा उनीहरू ‘मिस गाइडेड हिरो’ थिए । कतिले अत्यन्त मीठो गाउँथे । कतिले सुमधुर गितार बजाउँथे । कतिले सक्कल सराबरी चित्र कोर्थे । कतिले भव्य भलिबल खेल्थे, कति पढ्नमा अब्बल थिए । कतिले लेखेका सुन्दर गीत अझै रेडियोमा बज्छन् । कालान्तरमा कता हराए कता ।

उसका कति साथीहरू नसाको तालमा सडक दुर्घटनामा मरे । कति प्यारालाइसिस भएर ह्विलचेयरमा छन् । कतिले डिप्रेसनले आजित भएर आत्मदाह गरे । कति कता बेपत्ता भए भए । कतिलाई माओवादी द्वन्द्वले सोहोर्यो, कति आफैँ सोहोरिए । अहिले फर्केर हेर्ने ऊसँग तिनको तस्बिर पनि छैन ।

‘देजाभू उनीहरूलाई फर्केर हेर्ने शब्दको चित्रकोश हो,’ सारोन भन्छ, ‘मचाहिँ जिमका तिम छु । मस्त बाँचिरहेको छु । के मेरो अहिलेको जिन्दगीका लागि उनीहरूको योगदान थिएन ?’ ‘देजाभु’ सारोनका ११ साथीहरूको कथा हो ।

लाग्छ, साहित्यमा नौलो र अनौठो काम गर्न लेखकहरुले गनेस र कुमारबाटै सिकून् । नगरकोटीको आउनेवाला किताबको नाम हो, कल्प–ग्रन्थ । यसमा ६३ वटा प्रयोगधर्मी कथा छन् । २ सय ५० पृष्ठको भीमकाय कथा पनि यसमै छ । १७ शब्दका लम्बेतान शीर्षक पनि छन् । टाइपोग्राफिक र कन्सेप्चुअल कथा छन् । हुलाक टिकटसहितको पोस्टकार्ड कथा छन् । सम्पादकले सच्चाएको कपीसहितको कथा पनि छ ।

नगरकोटीले ग्राफिक उपन्यास पनि लेखेका छन्, ‘जे ३३’ । तीन वर्षसम्म थुप्रै चित्रकार बदलिए । अहिले त्यसलाई टुंगो लगाउँदै छन्, प्रबलविक्रम शाहले । युरोप, अमेरिका, जापान, कोरियातिर चल्तीको कमिक्स शैलीको उपन्यास नेपालीमा ‘वन एन्ड वन्ली’ नै हुनेछ ।

नगरकोटीको खुफिया खोपडीमा अन्टसन्ट आइडिया फुर्छन् । जस्तोः प्राइभेट नोबेल । उनले यो कन्सेप्ट लिएका रहेछन्, पेन्टिङबाट । एउटै पेन्टिङ किन ‘प्राइसलेस’ छ भने त्यो ‘वन पिस’ मात्र हुन्छ । साहित्यमा त्यस्तो किन हुँदैन ?

उनलाई लाग्यो, ओर्जिनालिटीलाई सम्मान गरी उपन्यासको पाण्डुलिपि लाखौँको अक्सन हाउसमा बोली लगाएर प्राइभेट बनाओस् कसैले । त्यसको क्युरियो भ्यालू कस्तो भने भोलि शाखा सन्तानमा भागबन्डा होस् । नगरकोटीको उपन्यास आफूसँग मात्र छ भनी गौरव पनि गरोस् । नेपालमा यस्तो दिलदार अर्बपति नदेखिए पनि कम्तीमा नगरकोटीको आख्यानमा भने भेटिएला नै ।

‘खितितित्त,’ गनेसको ब्रान्डेड हाँसो हो । हाँसोका कारण उनलाई जतिले चिन्छन्, त्यति त उनलाई लेखक भनेर चिन्नेहरू पनि छैनन् । खासमा उनी हार्दिक हाँसो रोक्नै सक्दैनन् । धेरै अवसरमा उनलाई हाँसेकै कारण अप्ठ्यारो भएको छ ।

कतिपय कार्यक्रममा ठाउँका ठाउँ उभिएर मान्छेहरूले गाली गरेका छन् । ‘पहिले पहिले नहाँस्ने प्रयत्न गर्थें तर सक्दिनथेँ । अहिले कुनै प्रयत्न गर्दिनँ,’ उनी भन्छन्, ‘मेरो हाँसो देखेर कसैलाई रिस उठ्छ भने मेरो के दोष ? म कसैको दुःखमा हाँसेको होइन क्यारे ।’

हिजोआज गनेस कार्यक्रममा उत्तिसारो जाँदैनन् । लेखक भैटोपलेपछि त्यही हाँसो पनि ‘उम्दा’ हुन थालेको छ । मान्छेको सोच न हो । मान्छे उही, हाँसो त्यही, प्रसंग उस्तै तर विवेचना फरक । हाँसोकै कारण कमेडी फिल्म हेर्न कहिल्यै सिनेमाघर जाँदैनन् । नत्र सबै दर्शकको गाली खानुपर्छ ।

मनमौजी गनेसले के त्यो हाँसोको कपीराइट दर्ता गराउलान् ? ‘म त कपीराइटको विरोधी हुँ । नाम केन्द्रित कपीराइट ठीकै सुनिएला तर दाम केन्द्रित कपीराइट पुँजीवादको मुख्य चाबी हो,’ उनी भन्छन्, ‘जुन दिन वस्तु र विचारमाथिको कपीराइट खत्तम हुन्छ, पुँजीवाद सकिन्छ । तर सबैभन्दा धेरै प्रतिलिपि अधिकारको कुरा वामपन्थीहरूले उठाउँछन् !’

कुरा बुझियो, गनेसलाई कपीराइट मोह छैन । तर उनकै किताबमा प्रकाशकले कपीराइटको प्रावधान लेखेका छन् । यो कुरा उनको जिन्दगीका केही ठूला विडम्बनामध्ये एक हो ।

‘नगरकोटी र मेरो न शब्द चयन मिल्छ, न वाक्य संगठन,’ गनेस भन्छन्, ‘कदाचित् यसरी कुनै कथा लेखियो भने हरेक पाठकलाई कुन अनुच्छेद कसले लेख्यो भन्ने ट्वाक्कै थाहा हुनेछ ।’

गनेस र कुमारले एक पटकसंयुक्त उपन्यास लेख्ने योजना बनाएछन् । एउटा अध्याय नगरकोटीले लेख्ने, अर्को अध्याय गनेसले तर कथानकबारे कुनै सरसल्लाह नगर्ने । लेखन सिध्याएर नगरकोटी पोखरा जाने अनि गनेस काठमाडौँ आउने ।

उसो त जीवनमा धेरै कुरा अधुरै छाड्नुपर्छ भन्ने मान्यता राख्छन् गनेस । अधुरो छाडेका कुरा नै यादगार हुन्छन् । पूरा गरेका कुरा स्मृतिमा खासै बस्दैनन् । गनेसलाई पछि लागेछ, यो कुनै मौलिक तरिका होइन । संसारभर यसरी अनेक किताब लेखिएका छन् । ‘नगरकोटी र मेरो न शब्द चयन मिल्छ, न वाक्य संगठन,’ गनेस भन्छन्, ‘कदाचित् यसरी कुनै कथा लेखियो भने हरेक पाठकलाई कुन अनुच्छेद कसले लेख्यो भन्ने ट्वाक्कै थाहा हुनेछ ।’

संयुक्त उपन्यास लेखन बक्यौतामै नभए पनि प्राइभेट क्यालेन्डर छापेर आआफ्नो कोठाको भित्तामा टाँस्ने योजनाचाहिँ छँदै छ । अझ स्पष्ट पारौँ, पब्लिक क्यालेन्डरमा सबैको पहुँच हुन्छ, उनीहरुको पर्सनल-प्राइभेट क्यालेन्डर भने जम्मा दुई प्रति छापिनेछ । त्यसमा उनीहरुका भेटघाट, छुट्टी आदि अन्टसन्ट कुरा उल्लेख हुनेछन् ।

खासमा ‘इस प्यार को मे क्या नाम दूँ’ भनेजस्तो छ गनेस र नगरकोटीको मित्रता । उनीहरुलाई लाग्छ, यसरी नाम दिनु भनेको मित्रतालाई परिभाषित गर्नु हो । परिभाषा गर्न थालियो भने प्रेम गर्ने समय नै सकिन्छ । नामसामको चक्करमा नफसौँ भन्ने गनेसको भद्र निवेदन छ ।

देश-दुनियाँको दुर्घटना के हो भने मानिस मित्रलाई भन्दा बढी आफूले बनाएको मित्रताको परिभाषालाई प्रेम गर्छन् । को-किन-कसरी आदि प्रश्नको परिधिभित्र परिभाषा जन्मेको हुन्छ । परिधिमा बाँधिएर पनि केको मित्र हुनु छ र ?

हरेक मान्छेको जिन्दगीमा मित्रताको एउटा सर्कल (वृत्त) हुन्छ । यत्ति हो, हरेक मान्छेले आफूलाई त्यो वृत्तको केन्द्र (सेन्टर) ठानेको हुन्छ ।

‘हाम्रो मित्रताबारे मानिसहरुलाई उति वास्ता हुनुपर्छ जस्तो लाग्दैन । भैहाले पनि खासै आपत्ति गर्ने विषय भएन,’ गनेस भन्छन्, ‘हरेक मान्छेको जिन्दगीमा मित्र एक होइन, अनेक हुन्छन् । नगरकोटीबाहेक पनि मेरा मित्र छन् । मबाहेक पनि उनका मित्र छन् । मेरा मित्रसँग उनको जस्तै उनका मित्रसँग मेरो पनि मित्रता छ ।’

उनीहरू कहिल्यै फाल्तु कुरा गर्दैनन् । एकअर्काको त्यस्तो तारिफ पनि गर्दैनन् बरु आलोचनात्मक टिप्पणी गर्छन् । प्रायः अरुकै किताब, सिनेमा, नृत्य, संगीत आदिकै उत्सवमय कुरा हुन्छ । अरुको कुरा काट्ने बानी गनेसको पनि छैन, नगरकोटीको पनि छैन ।

लाग्छ, गनेस र नगरकोटीको मिल्तीजुल्तीमा कसरी भन्ने प्रश्नै नाजायज छ । कला-सौन्दर्यको परख गर्ने मामिलामा गनेस र नगरकोटीबीच अधिकतम निकटता छ । उनले देखाउने साहित्य (कार समेत) प्रतिको प्रेम निःसर्त छ भने गनेस त्यस्तो निःसर्त हुनै सक्दैनन् । तर नगरकोटी गनेसको त्यो ‘निःसर्त हुन नसकाइ’ लाई पनि निःसर्त प्रेम गर्न सक्छन् ।

प्रतिक्रिया
Loading...