नेपाली साहित्यको सम्पूर्ण पत्रिका

छोरीको गर्भ पतन गरौं

साथमा हतियार भएको भए म आफ्नो लिङ्ग काट्थे झैं लाग्यो । म पनि पुरुष त हुँ । भोलि मैले बलात्कार गर्दिनँ भन्ने आधार के छ ? के अब नारी नजन्मेरै सुरक्षित हुनुपर्ने हो त ?

‘तैंले पनि मेरो रेप गर्छस् होला है ?’

कुनै कुनै प्रश्न पनि कस्ता हुन्छन् भने जसको उत्तर-दक्षिण , पुर्व-पश्चिम केही पनि हुँदैन । प्रश्नले करेन्ट हान्यो ।

यो पृथ्वी प्रयोगशाला रहेछ र म प्रयोगात्मक परीक्षा । प्रश्नको झट्काले भित्री शरीरमा कम्पन महसुस गराइरह्यो । झसङ्ग भएँ । तर ‘तँ गलत’ पनि भन्न सकिनँ । आज यसले किन यस्तो कुरा गरिरहेकी छे त ?

चार महिना एघार दिन र ६ घण्टापछि आएर उसले यो कुरा गरिरहँदा मेरा आँखा मात्र रोएनन् । आत्मा पनि रोयो । मन रोयो । शरीरका एक-एक अंग रुन थाले । सबैभन्दा प्रिय मान्छेले जब यस्तो भन्छन् तब छाती चस्स पोल्दो रहेछ ।

मैले आफ्नो प्रिय मान्छेको कथाभन्दा सबैलाई रहस्य लाग्छ । उसको सवालजवाफ पनि त्यस्तै त छ । जहिले मन लाग्छ, आउँछे । जहिले मन हुन्छ, जान्छे । उसलाई यो समाजको बारेमा सब थाहा छ, तर यो समाज उसलाई चिन्दैन ।

सडक बत्ती बलिरहेको छ । मन्त्रीको घरको प्राङ्गणमा बलेको भए पनि सडक योजनाको बत्ती भएकाले मन्त्री बत्ती भन्न नसुहाउला । म यसलाई सडक बत्ती नै भन्छु । अरूले पनि सडकबत्ती नै भन्दा हुन् । घर अगाडिको सडकमा करिब एक दर्जन कुकुरहरू सम्मेलन गरिरहेका छन् । सायद शिकारको प्रतिक्षामा होलान् । तर कसको ? यो निष्पट अँध्यारो रातमा के शिकार गर्न चाहान्छन् । भर्खरै मेरै छेउबाट गएको बिरालोले पनि मुसाको शिकार गरेर फर्कियो । मुसाले बार्दलीमा छुन्ड्यारहेको मकै खाएर दुःख दिइरहेको हुन्छ । कहिलेकाहीँ आमाले दुःख सुनाउनुहुन्छ । अब यही बिरालो सडकतिर निस्कियो भने कमजोर हुनेछ ।

साथमा हतियार भएको भए म आफ्नो लिङ्ग काट्थे झैं लाग्यो । म पनि पुरुष त हुँ । भोलि मैले बलात्कार गर्दिनँ भन्ने आधार के छ ? के अब नारी नजन्मेरै सुरक्षित हुनुपर्ने हो त ?

रूपक अधिकारी

‘बलियोले कमजोरको शिकार गर्नैपर्ने बाध्यता कि प्रकृति ?’

अँध्यारो रातमा एक्लो टोलाइरहेको म अचानकको आवाजले झस्किएँ, तर त्यो आवाज अपरिचित भने थिएन । वर्षौंदेखि बेलाबखत मेरा कानमा यो आवाज ठोक्किरहन्छ ।

‘नानी तँ … ?’

‘हो म । अब मैले आउनै नहुने भैसक्यो र ?’

‘मैले त्यस्तो भन्न खोजेको हैन नि नानी ! तैंले त्यस्तो सोचिस् भने त मेरो मन रुन्छ है ।’

‘ल ल भयो छोड् यो कुरा । पहिले मेरो प्रश्नको उत्तर दे ।’

रहस्यताले आमाले जस्तैगरी निर्देशन दिई । उसका आँखामा बुबाको जस्तै द्विविधा थियो । अब म दोधारमा परें के जवाफ दिनेहोला त ! हुन त विज्ञानले बाँच्नको लागि संघर्ष पढाउनु भनेर गुरुलाई भनेको हुँदो हो । त्यस्तै पढाउनु भयो । आफूले पनि त्यही कुरा भन्न मुस्किल थिएन, तर पनि उसलाई बुझाउन अर्कै केही भन्नुपर्ने पो हो कि ? डार्बिनले भनेका छन् त, मैले भनिदिएँ ।

‘के भने मैले कसरी जान्नु ?’

‘पर्यावरण जोगाउन एकले अर्कोलाई खानैपर्छ । सायद यस्तै भावमा भनेका छन् ।’

‘त्यस्तो भन्न के उनी भगवान हुन् र ?’

रहस्यताले मेरो उत्तरमाथि अर्को प्रश्न राखी । मसँग केही जवाफ थिएन । हुन त मैले जे भने पनि उसले विश्वास गर्छे, तर म झुट बोल्दिनँ । अझ ऊसँग त बोल्दै बोल्दिनँ । अरूले पनि जब मेरो कुराको विश्वास गर्दैनन् तब म उसैको कसम खाएर भन्ने गर्छु ।

‘वैज्ञानिक हुन् ।’

‘मतलब ! मान्छे नै हुन् नि ?’

‘क्षमतावान् मान्छे ।’

‘मतलब उनी पनि तँजस्तै सम्भावित बलात्कारि नै हुन् !’

मेरो बोली निस्किएन । म आज बरफजस्तै बनें । आज ऊ एकसाथ ठीक र बेठीक कुरा गरिरहेकी छे । तर कसरी ? कोही कसरी सक्छ ? कसरी सम्भव छ सही र गलत कुरा एकसाथ गर्न ? हो, ऊ यो संसारमा छँदै छैन तर नहुँदैमा यस्तो कुरा गर्न सुहाउँछ र ? उसको उपस्थिति हुनु र नहुनुमा यहाँ कसैलाई पर्वाह छैन । यहाँसम्म कि जसको डिम्ब र शुक्रकिटबाट बनेकी छे, उहाँहरूलाई पनि उसको चासो छैन । मात्र मलाई उसको फिकर हुन्छ । ऊ मेरो एक्लोपनको साथी हो । साथ हो । जब जब म एक्लो हुन्छु ऊ मेरो सामु आउँछे र नानीभाँती कुराहरू गर्छे । हसाउँछे … घुर्काउँछे … फकाउँछे र सिकाउँछे ।

के साँच्चै, हरेक पुरुष सम्भावित बलत्कारी नै हो त ? यदि हो भने सन्जालमा छेडिएका बहस पनि सही छन् । यस्ता बहस हुनु जरुरी पनि छन् । जवाफमा केही पुरुषहरू आक्रमक हुनु स्वभाविक हो । महिला पनि सम्भावित बेश्या नै हुन् । मैले मनसँग मनमनै कुरा गरें तर ऊ यति चलाख छे कि म मनमा के कुरा गरिरहेको छु, एक-एक गरेर सब भनिदिन्छे । मानौं मैले चिच्याएर ती सब कुरा भनेको छु ।

‘तैंले मलाई र ममीलाई कसरी बेश्या भन्न सकिस् ? ‘

‘जसरी तैंले बा र मलाई बलत्कारी भन्न सकिस् ?’

‘रामको पूजा गर्ने समाजमा तैंले यस्तो सोच्नुलाई गलत त मान्दिनँ, तर सोचेर सही पनि गरिनस् ।’

‘ब्राइट फ्युचरको कथा याद होला नि ?’

‘अँ याद छ । त्यो दिन पशुपतिमा तँजस्ता हजारौं पशुहरू बसिरहेका थिए । ब्राइट फ्युचरका नानीहरू आउँदा मेरो भविस्यको कुरा भएको थियो ।’

अब भने आफ्नो प्रेमसँग पहिलोपटक औधी रिस उठेर आयो । तँ मेरो बहिनी नै नभएको भए जाती हुन्थ्यो । ‘धन्न तँ छैनस्,’ भन्दिऊँ कि लाग्यो । तर रिसाउनु मेरो स्वभावमा पर्दैन । तर रिसले सगरमाथा छोएको थियो ।

‘तँ मरेर ठीक गरिस् ।’, मैले रिस पोखें ।

आफ्नो मनलाई बाँध्नै सकिनँ । उसले पहिले सबैलाई सम्भावित बलत्कारी भनी, त्यहाँसम्म कि म र बुबालाई पनि छोडी । त्यसपछि अहिले पशु भन्दैछे । यति कुन्ठा बोकेर बाँचेकी भए के गर्थी होला ! तर उसको विद्रोही स्वभाव मलाई मन पर्छ । ऊ राजा जस्ती छे । मलाई छोरी मान्छे रानी मात्र भएको मन पर्दैन । ऊ भलै ठीक थिई, तर मैले उसको कुरामा आगो पोखेपछि ऊ विलय भई । सधैंजस्तै आफ्नै मनको गरी । कुकुरहरू जोडले भुक्न थाले । मलाई त्यसमा पनि रिस उठ्यो । बाटोमा हेरेर यी ज्यामराजहरूलाई कसैले मारे पनि त हुने जस्तो लाग्यो । उनीहरू बाइकको पछाडि दौडिरहेका थिए । कोही अलि अगाडि र कोहि अलि परसम्म पिछा गरिरहे । एउटा कुकुर भने शान्त स्वभाव बोकेर त्यहीँ बसिरह्यो । त्यो मेरो प्रतिनिधि झैँ लाग्यो ।

नानी साँच्चै सही थिई । हामी सब पशु नै हौ, तर सब पशु शिकारी पनि त हुँदैनन् । उसलाई शिकारको जरुरत थिएन वा उसमा स्वार्थको अंगुर रसाएको थिएन । कुकुरहरू लुछ्नै दौडिए तर अन्तिमसम्म सबै दौडिएनन् । जसमा भोक धेरै थियो ऊ मात्र परसम्म दौडियो ।

‘तँ पनि मेरो रेप गर्छस् होला है ?’

ऊ फेरि आई । प्रश्नको झटारोले मलाई कँस्सेर हिर्काई । उसले नसिकेरै धेरै कुराहरू सिकाइरहेकी हुन्छे । हो न हो, आज पनि ऊ मलाई सिकाउनै आई । तर के ? मैले आफैंसित प्रश्न गरें । उसको बुझाउने शैली एकदम फरक छ । सही छ । ऊ गलतलाई गलत भन्दै आउँदिन् । ऊ त आउँछे ‘खबरदार ! गलत गर्लास्’ भन्दै । ऊ सिद्धान्तनिष्ठ छे । हुन पनि हो, मान्छेलाई हुँदैन भन्यो कि गर्न मन लागिहाल्छ ।

‘तँ मेरो धर्म होस् । तँलाई फूल र धुपले हैन मेरो अनुशासनले पुज्छु । तँलाई के लाग्छ म तेरो रेप गर्छु होला त ?’

ऊ चुप भई । म पनि बोलिरहन सकिनँ । कौयन बुबाले, दाजुले, मामाले , काकाले घरमै लुटिरहेको खबर मिति बदलेर छापिइरहन्छ । यस्तो लाग्छ, एउटै समाचार पुनःप्रशारण भैरहेको छ । त्यसैले उसको मप्रतिको संका जायज छ । उखुबारीहरू, मन्दिरहरू र बसहरू त उदाहरण मात्र हुन् । यहाँ त आफ्नै प्रियसी, आफ्नै श्रीमानको खाटमा असुरक्षित छे ।

‘हो, त्यही भएर मैके तँमाथी शंका गरेकी हुँ । तँ मेरो त के, कसैको पनि रेप गर्दैनस् । मलाई माफ गरिदे है दादा !’

‘माफी नै माग्दा त मैले माग्नुपर्ने हो । तँजस्ता हजारौं मरिरहँदा मैले रक्षकको भूमिका वहन गर्न सकेको छैन ।’

‘तेरो मगजमा हिंसाभन्दा रक्षाको तराजु मजबुत देख्छु । म सुरक्षित छु । मजस्ता हजारौं सुरक्षित छन् । बरु तँ एउटा काम किन गर्दैनस् ।’

‘कस्तो काम ?’

‘तँ चेतना विकासको एउटा अभियान किन सुरु गर्दैनस् ? तँ किन रोल मोडल बन्न चाँहादैनस् ? ‘

‘यहाँ मभन्दा धेरै ज्ञानी मान्छेहरू छन् । शिक्षित छन् । यो समाज देख्दैछस् नि ! यहाँ भद्रहरू मात्र बस्छन् ।’

‘त्यसो भए भद्र मान्छेहरू माझमा मेरो सन्देश लैजान्छ त ?’

‘अब मन्चमा उभिएर- मेरो एउटा बहिनी छे , जो छैन । जो २७ वर्ष पहिले नै मरिसकी । उसले तपाईं सबैलाई एउटा सन्देश पठाएकी छे भन्दा बहुलाएछ पो भन्ने हुन् कि ? कसले पत्याउँछ कुरा ? कसले सुन्छ ? यहाँ ज्युँदाहरूको कुरा सुन्न मान्दैनन् । तेरो कुरा सुन्लान त ? हुन्छ म गर्छु , लैजान्छु भनौंला । तर के सकुँला र ?’

‘कोसिस त गर ।’

‘हुन्छ, म भन्छु । मैले भन्न खोज्दा उनीहरूले माइक खोस्लान्- कलम छ । तँ आएर मसीमा मिसिइनु र भन्नू रहस्यताको सिद्धान्त ।’

‘महाभारत र रामायण कालदेखि नै नारी असुरक्षित छन् । आज मात्र दोष देखाउन मिल्दैन । मैले नजन्मेर आफ्नो रक्षा आफैं गरें । अब यसबाट के सिकिन्छ भने नारीको जन्मनै नहोस् । ए सरकार ! ए समाज ! मजस्तै गरी सबै नारी भ्रुणहरू गर्भमै मरून् । अब डार्बिनको हैन रहस्यताको सिद्धान्त अमल होस् । कुनै स्त्रीको जन्म नभएपछि म पनि हेर्छु आखिर कसको रेप गर्छौं तिमी ? क्यान्डलहरू पनि बचत हुनेछन् । सडकमा जाम पनि लाग्नेछैन ।’

आफ्नो सन्देश राखेर अलप भई । अब फेरि ऊ कति महिना, कति दिन पछि आउँछे ? थाहा छैन । तर जसरी आज आएर मलाई केही सिकाई त्यसैगरी जिन्दगीभर ऊ आफ्नो अनेकन सिद्धान्तको जन्म गराउन आइरहनेछे ।

आँखाका डील भरिएर गालाहुँदै चिउँडोसम्म बग्यो । साथमा हतियार भएको भए म आफ्नो लिङ्ग काट्थे झैं लाग्यो ।

म पनि पुरुष त हुँ । भोलि मैले बलात्कार गर्दिनँ भन्ने आधार के छ ? के अब नारी नजन्मेरै सुरक्षित हुनुपर्ने हो त ? हो भने आउनुस्, हामी आजैबाट छोरीको गर्भपतन सुरु गरौं ।

प्रतिक्रिया
Loading...