नेपाली साहित्यको सम्पूर्ण पत्रिका

चर्चित कविता नेपाली भाषामा भाग ७

कवि सीताकांत महापात्रको प्रख्यात कविता

कवि सीताकांत महापात्रको परिचय

सीताकान्त महापात्र

ओडिया भाषाका सुप्रसिद्ध कवि सीताकान्त महापात्रको जन्म १७ सितम्बर सन् १९३७ मा उडिसा राज्यको माहांगा, कटकमा भएको हो । उनका दीप्ति ओ द्युति (१९६३), अष्टपदी(१९६७), शब्दर आकाश (१९७१), समुद्र (१९७७), चित्रनदी (१९७८), आर दृश्य (१९८१), समयर शेष नाम (१९८४), काहाकु पूछिवा कुह (१९८७), चढेइरे तु कि जाणु (१९९०), फेरि आसिवार वेल (१९९१), वर्षा सकाल (१९९३), पदचिन्ह (१९९६), मृत्युर असीम धैर्य (१९९७) जस्ता कविता सङ्ग्रहहरू प्रकाशित छन् । उनलाई १९९३ मा ज्ञानपीठ पुरस्कारद्वारा सम्मानित गरिएको छ । तस्तै सन् सन २००३ मा भारत सरकारले साहित्य एवं शिक्षाका क्षेत्रमा पद्मभूषणले सम्मानित गरेको छ । सीताकान्तको काव्य संसार यथार्थ और अनुभूतिको सम्मिश्रमबाट निर्माण भएको बताइन्छ । उनकी कविताहरूको सांस्कृतिक धरातल उनकै अनुभवका उपज हुन् । अतीतका आँखाले गाउँका गोरेटाहरू, तलाउ, नदी, घर, मन्दिर, सूर्योदय, गोधूलि साँझ तथा विविध मानवीय सम्बन्धहरूलाई सूक्ष्म अवलोकन गरेर सहज ढङ्गले आफ्ना कवितामा अभिव्यक्ति गर्ने काव्यिक कलाका कारण उनका कविताहरू पाठकलाई बाँध्न सफल भएको भारतीय समलोचकहरू बताउँछन् ।
उनै विशिष्ट कवि महापात्रको एउटा कविता यस पटकको भाषान्तर कवितामा प्रस्तुत गरिएको छ । यो मूल उडियाबाट दिनेश कुमार मालीले गरेको हिन्दी अनुवादको नेपाली रूपान्तर हो ।

 

सान्दर्भिक पोस्ट

भाषान्तर कविता- ९

समयको शेष नाम

सीताकांत महापात्र

 

कैयौँपटक गोधूलि साँझको लालिमामा बसेर एक्लै
म सुनाउँछु तिम्रा कथा
पातला हाँगा भएको चुवाको रुखलाई
हाँसिरहेका बेलीका फूलहरूलाई
निःशब्दमा उडिरहेका चराहरूलाई
ज्ञानी बालकझैँ पखेटा खुम्च्याएर बसेका पुतलीलाई
भन्छु- हेर, तिमी अब केवल चुवाको रुख
बेली फूल, चराहरू वा पुतली मात्र रहेनौ
मजस्तै यसरी एक्लै बसेर तिमीहरू
हेर्दै छौ, स्पर्श गर्दै छौ, सजाउँदै छौ चुल्ठोमा फूल, गर्दै छौ विश्वास

नबिर्स प्रिय !
ठुला छौँ हामी, हाम्रो विगत हिजोभन्दा, आजभन्दा
ठुला छौँ हामी हाम्रो अतीत, पुनर्जन्मभन्दा
र, ठुलो छ हामीभन्दा प्रबल पराक्रमी त्यो निर्जनता
सारा कर्महरू, करण सम्प्रदानको त्यो अलङ्घ्यकर्ता छ जुन ।

सीताकान्त महापात्र

कुनै पतझर चैतले तिमीलाई,
ल्याएको थियो मेरो कवितामा कसलाई थाहा थियो
कुनै उन्मादग्रस्त फागुन
रङहरू चोरेर तिम्रा आँखाबाट
लगाउँदै थियो रुखहरू, पातहरू, फूलहरू र आकाशमा
श्रुतिमधुर बनाउँदै मेरा प्रत्येक शब्दहरूलाई
आज पनि आयो निर्जन चैत, उन्मत्त फागुन
फेरि पोत्नका लागि स्नेह, आँसु र शब्दहरूको परिपूर्ण हाट
हाम्रो अन्तिम अवस्था, जो हाम्रै बाटोको मोडमा गर्थ्यो
अमर प्रतीक्षा र कामना
हाम्रै रगतको, उसका हरेक नयाँ पात र फूलहरूमा
हाम्रा आँखाका स्वप्नील आकाशको उन्मुक्त रङको
शेष उसको यही अवस्था एक्लोपन र खिन्नता भाव
र दिउँसभरि केवल कागहरूको काँ-काँ
नितान्त जनशून्य निर्जनतामा
असीमलाई नाघ्दै गरेको एक्लो बटुवाको सुनसान बाटो ।

लाग्छ- कहिलेकाहीँ
अहिले हाम्रा चारैतिर असङ्ख्य शब्दहरूको भिड
चारै दिशाहरूलाई घेरिरहेका केवल शब्द, शब्द, शब्द
कोचाकोच, धकेलाधकेल, खाँदाखाँद, ठेलमठेल, अन्धा शब्दहरू
शब्द रूप, शब्द रस, शब्द गन्ध, शब्द स्पर्श
न तिमी मलाई देख्न सक्छ्यौ न म तिमीलाई
निस्केर मबाटै कतै शब्दहरूको भिडमा हराउँछ्यौ तिमी
र, डुब्दछ्यौ शब्दहरूको समुद्रमा
तिनै शब्दहरू पन्छाएर म खोज्छु तिमीलाई

यो भन्नका लागि-
जहाँ समाप्त हुन्छन् सारा शब्दहरू त्यहीँ छ प्रेम
त्यहीँ छ कविता

संसारका सबै सङ्कोच, भय र कम्पनहरूसहित
कुल पुरोहितको रेखदेखमा
जुन हात दिइएका थियो मेरा हातहरूमा
ती हात आज माथि स्थिर भएर रहेका छन्
आकाशीय दिगन्तजसरी
यन्त्र, दुबो, चामल, जलको पोको दिएर
अनौठो, पवित्र, निर्जन आन्तरिकतामा
त्यही निर्जनता बिस्तारैबिस्तारै फैलाउँदै थियो आफ्नो साम्राज्य
कर तिर्ने अनेक राज्य, छोरा, नाति, पनातिहरू
योग्य मन्त्री, सिन्धु घोषको जयकार गरिरहेका पार्षदगणको गर्जनभन्दा पछि

निर्जनताले मात्रै हाई काढ्ने गर्छ
आँखाहरू बन्द गर्नासाथ निद्राजसरी
उसका अगाडि हुन्छन् फगत रित्तो आकाश र शान्त चन्द्रमा
तर निद्राविहीन रातको निर्जनताबाट कहाँ पाइन्छ मुक्ति ?
यहाँसम्म कि हातले छुन सकिने हुँदाहुदै पनि असम्भव
कथा सुनाउँदासुनाउँदै ऊ मौन भयो
बिस्तारैबिस्तारै लाग्न थाल्यो उसका कोही मित्र छैनन्
सामुन्ने छ कुनै समयदेखि प्रतिष्ठा गरिएको शीतले भिजेको-
शब्दहीन, मुद्राहीन निर्वाक खण्डित मूर्ति

कहिलेकाहीँ सोच्दी हौ तिमी
तिम्रा अदृश्यहरूमा अन्तर्निहित हुने गर्छु म
तिम्रा मनका चित्रपटहरूबाट
बिहानी ध्रुवतारा जसरी
बालवयका दिनहरूका ती अजस्र स्मृति जसरी
विश्व इतिहासका राजतन्त्र जसरी
म समाहित हुन्छु, विलीन हुन्छु
परीकथाहरूमा, आकाशका निला बादलहरूमा
सम्झीसम्झीकन बिरह गाइरहेका कोइलीका पीडादायी गीतहरूमा
अन्धकारमा अद्यापि सुनिइरहेका छन् तिम्रा स्वरहरू
पुरानै दिनहरू जसरी
कहिलेकाहीँ वृद्ध आमाको आबाज जसरी
गाउँको गहिरो इनारको पानी जसरी
कैयौँ पटक कुनै चर्को प्रतिबन्ध जसरी
अझ कैयौँ पटक सानी बालिका जसरी, ती स्वर
पहाडी झरना झैँ छल्किरहेका चञ्चल ।
के हामीलाई थाहा छैन स्नेहको परिभाषा
जति बलियो गहिरो, जति सुदीर्घ भए पनि
समाप्त पार्न सक्दैन निर्जनतालाई ।

निर्जनता जुन हाम्रो भाग्य, शेष दशा
निर्जनता जुन हाम्रो साक्षी र साक्ष्य, हाम्रो शेष भाषा
समयको सहस्र नामभित्रको शेष नाम नै निर्जनता
अन्तमा हामी सबै पुग्छौँ त्यहीँ
र, बनाउँछौँ उसैलाई आफ्नो साथी
खेलौना बिग्रँदा मन दुखाएर बसेकी सानी छोरीलाई
क्रिकेट खेल्नका लागि साथी नभेटेको किशोरलाई
भर्खरै प्रेममा बाँधिएका नव युवायुवतीलाई
आआफ्ना काममा सारा परिवार यताउता गएका बेला
अँध्यारो साँझमा ओछ्यान परेका वृद्धलाई
अन्तहीन लामो अपराह्नमा स्वेटर बुन्दै गरेकी अधबैँसे स्त्रीलाई
यी सबैसबैलाई, हो
घनघोर वनमा जाराशबर** को
प्रतीक्षा गरी बसिरहेका ईश्वरलाई पनि ।

000
मूल ओडियाबाट हिन्दी अनुवाद : दिनेश कुमार माली
हिन्दीबाट नेपाली अनुवाद : निमेष निखिल
000

** धार्मिक ग्रन्थ र दन्त्यकथाका अनुसार जाराशबर नामक आदिवासीले श्रीकृष्णलाई जङ्गलमा सिकार गर्ने क्रममा गल्तीले एउटा धनुकाँड हानेको थियो र भगवान् कृष्ण गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया
Loading...