नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नयाँ दृष्टिकोणको कथाविमर्श प्रकाशित

नेपाली समालोचनामा समकालीन नेपाली कथालाई हेर्ने नयाँ दृष्टिकोणहरु पछिल्लो समयमा सशक्त रुपमा आएका छन् । यसैको पृथक् नमुनाका रुपमा समालोचक ज्ञानु अधिकारीद्वारा सम्पादित ‘प्रज्ञा समकालीन नेपाली कथाविमर्श’ समालोचना ग्रन्थ भर्खरै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको छ ।

नेपाली समालोचनामा नारीसमालोचकको उपस्थिति कम भइरहेको स्थितिमा यस कृतिमा भने नारीसमालोचकको पूर्ण उपस्थिति रहेको छ । सम्पादक ज्ञानु अधिकारी समेत दसजना नारी समालोचकहरुको समालोचना रहेको यस कृतिमा समकालीन नेपाली कथामाथि केन्द्रित भएर नयाँ दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । समकालीन नेपाली नारीसमालोचकहरुले आजको नेपाली कथालाई कसरी हेरेका छन् भन्ने कुराको यो एउटा नवीन दस्तावेज पनि हो ।

‘प्रज्ञा समकालीन नेपाली कथाविमर्श’ मा कथालाई हेर्ने केही नवीन दृष्टिकोणहरु आएका छन् । समकालीन नेपाली कथालाई अन्तर्विषयकता, नारीचेतना, शरीर राजनीति, पर्यावरण, साइबर चेतना, लैङ्गिक चेतना, वर्गीयता, विचार र कलाको संयोजन, शिल्पविधान र सांस्कृतिकताजस्ता कोणबाट हेर्नु नै यस पुस्तकको महत्वपूर्ण उपलब्धि हो ।

यी विषयमा क्रमशः अनुपमा रेग्मी, अम्बिका अर्याल, कुमारी लामा, गीता त्रिपाठी, ज्ञानु अधिकारी, ज्ञानू पाण्डे, बिन्दु शर्मा, रजनी ढकाल, शान्तिमाया गिरी र सावित्री मल्ल कक्षपतीले गहन समालोचना लेखेका छन् । पछिल्लो समयमा नेपाली समालोचनाको स्तर खस्केको छ र त्यसमा पनि महिलासमालोचकहरु त्यति सशक्त छैनन् भन्नेहरुका लागि यो कृति त्यसको जवाफ भएर आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका पछिल्ला उत्कृष्ट कृतिहरुमध्ये यो कृति पनि पर्दछ । नेपाली समालोचनामा नयाँ किसिमले कलम चलाउन खोज्नेहरुका लागि र गहन अध्येताहरुका लागि यो पुस्तक अत्यन्त उपयोगी हुने प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
Loading...