नेपाली साहित्यको सम्पूर्ण पत्रिका

चन्द्रवदन

शुक्रबार नयाँ पुस्ताकाे दिन । नव लेखककाे लेखनमा हाैसला थप्न हामीले नयाँ स्तम्भ सुरू गरेका छाैँ । यसमा स्थापित लेखककाे पहिलाे प्रकाशित सामग्री प्रस्तुत गरिन्छ । हरेक पुराना लेखक कुनै बेला नयाँ थिए र उनीहरूका रचना पनि सामान्य नै हुन्थे । लगातारकाे साधनाले नै उनीहरूकाे उचाइ बढेकाे हाे भन्ने दृष्टान्तका लागि याे स्तम्भ सुरू गरेका हाैँ ।
“चन्द्रवदन” विश्वेश्वरप्रसाद काेइरालाकाे पहिलाे नेपाली कथा हाे । याे कथा शारदा प्रत्रिकामा वि.स. १९९२ सालमा छापिएकाे थियो । ८५ वर्ष पहिले, विश्वेश्वर जम्मा २१ वर्षका हुँदा उनले यो कथा लेखेका थिए । त्याे समय अाधुनिक कथा लेख्ने चलन सुरूवाती अवस्थामै थियाे ।
याे कथा विश्वेश्वरप्रसादका कथा संग्रहमा नभएका कारण उनकाे पहिलाे रचना खाेज्न हामीले निकै महेनत गर्नुपर्याे । अन्त्यतः साहित्यकार गाेविन्द गिरी प्रेरणाकाे पुरानाे अर्काइभमा याे कथा फेला पर्याे । कथा उपलब्ध गराइदिने प्रेरणालाई साहित्यपाेस्ट हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

चन्द्रवदनको दिन बडो कठिनले बित्थ्यो । अलिक फुर्तिलो हुनाले सानो घरको काम सबै सिद्ध्याईकन पनि उसलाई सारा दिन फुर्सद हुन्थ्यो । बिहान उठी नुहाईवरी पूजापाठ पनि गरी हाल्थी, र जब त्यो तरकारी काट्न भनी बस्दथ्यो र उसको एउटी तीन वर्षकी छोरी बिछ्यौनाबाट उठीकन आँखा मिच्दै रुँदै आउँद्थी । एकछिन त्यसलाई काखमा लिई फुल्यायो, काट्दा काट्दै एउटा आलुमा चार ओटा सिन्का घोची “नानीको खसी” बनाई उसलाई खेल्न दियो । भात पकायो, खायो, भाँडा पनि माझ्यो, अरु घरको यताउती गर्यो तैपनि दिन भर्खर चढ्न लागेको हुन्थ्यो । त्यसको स्वभाव कसैसँग नमिल्ने हुनाले छिमेकीसँग आवतजावत थिएन । अल्छीले हाई हाई गर्दै दिन बिताउनु पथ्र्यो । जब दिन अलिक ढल्किन्थ्यो, फेरि तर्खर गर्न थाल्थी र खाई पिई छोरीलाई ख्वाई समसाँझै सुत्दथी ।

त्यसको पति एउटा मुद्दा परी थुनिएका थिए, कहिले छुट्टछन् उसलाई पनि राम्ररी थाहा छैन । काम गर्दा, भाँडा मोलीकन घोप्टाएर राख्दा, कोठामा कूचो लाउँदा “कस्ती फोहोरी” भनी छोरीलाई गाली गर्दै कटकटिएको नाँक थोइदिँदा कहिले कहिले झ्यालखानामा परेको पतिलाई सम्झिन्थी । तर दिनभरी पट्टाई लागेर बस्दा कहिले पनि उसलाई सम्झिन्नथी, त्यसबखतमा केही सम्झिन पनि अल्छी लाग्थ्यो ।
आफू अहिले १६ वर्षकी भई, प्रेम भनेको के हो ? थाहा पाएकी थिइन् । ५ वर्ष पहिले बिहे भएपछि फेरि जीवनमा रहरलाग्दो कुरा भएन । सारा दिन एक नाससँग गइरहेछ । बिहा भएको २ वर्षपछि छोरी पाई । छोरी पाएको दिन ऊ हाँसिथी तर छोरी …. किन हो किन छोरी भन्नासाथ उसको मन अलिक अमिलो भयो । फेरि अल्छीलाग्दो दिन सुरु भयो । एक वर्ष पहिलो उसको पतिलाई अड्डामा पक्री लगेर झ्यालखानामा हाली दिए । माइत जाओस् भने माइतमा कोही छैनन् । त्यसो त दाज्युभाउज्यू छन्, बहिनी छ, तर माइतीले चाख नमाने के जानु !

एक दिन चाँडै काम सिध्याई छ क्यारे ! खाई पिई सारा काम गरी त्यो पतिले वनारसबाट लिएर आएको घडीमा हेर्दा भर्खर ८ बजेको रहेछ । कसरी दिन काट्नु ? बैशाखको महिना झन् लामो दिन हुने । दक्षिणतिरको बार्दलीमा बसी सोच्न थाली, “जाडोको महिना नै असल, कति चाँडो चाँडो दिन जान्छ । गर्मी कैले जान्छ नि ?”अलिक टाढा भएकी छोरी एउटा सानो कमिलासँग खेलिरहेकी थिई । कहिले बाटो थुनिदिन्थी, कहिले समात्थी, कहीले छोडिदिन्थी । नजिकैको रुखको पात अलिअलि हल्ली रहेको थियो । चन्द्रवदन अल्छी मानी मानी पीतलको एउटा कटौरीमा खरर…टन खरर…टन बाती काती रहेकी थिई । बीच बीचमा काठको सानो बट्टामा खरानी औंलोमा घस्दथी । सोच्दै थिई, “कहिले जाडो आउँछ ? किन ईश्वरले यस्तो लामो दिन बनाएको ? गर्मी सिद्धिन त अझै तीन महिना छ ….”, त्यसैबखत अगाडिको घरको बार्दलीमा जुल्फी पालेको एउटा मान्छे– २५ वर्षको हुँदो हो– आयो । चन्द्रवदनले थाहा पाई, कोही नयाँ मान्छे आएछ । पहिले त्यो मान्छे कहिले पनि देखिएको थिएन । त्यसलाई देख्नसाथ चन्द्रवदन कपालमा लुगा हाली आँखा तल गरी बाती कात्न थाली । फेरि यसो हेर्दा त्यो मान्छे त्यहीँ आफ्नो छातीलाई बार्दलीबाट बाहिर झिकी यतैतिर हेरिरहेको थियो । त्यो कात्दै सोच्न थाली, “त्यो निश्चय नै खराब मान्छे हो । बद्मास मान्छे यस्तै तेलले चुपीचल्ल पारेको जुल्फी राख्दछन्, र फेरि हेरन”, निहुरी निहुरी चन्द्रवदन त्यसलाई हेर्दथी, “यतै हेरिरहेछ ।”

चन्द्रवदन सोच्न थाली, “म एक्लै छु, दुलहा कहिले छुट्ने हुन् ।” आज उसलाई दुलहाको अचनाक स्मरण हुन लाग्यो । अहिले कोही मान्छे– त्यही जुल्फीवाला आए के गर्ने थिई, कहाँ भाग्ने थिई ....

विश्वेश्वरप्रसाद कोइराला

चन्द्रवदनलाई आजकालका त्यस्ता गुण्डादेखि रिस उठ्यो । कात्दाकात्दै छोडी, “हरे हरे, के गरेको, पशु !”, भन्दै छोरीलाई तान्दै कोठाभित्र लगी । “कति चाँडै लेगा मैलाउँछेस्, जानु पर्छनी धुलामा !” भन्दै छोरीको लुगा फेरिदिन थाली । लुगा लगाई फेरि त्यो केटी बार्दलीमा आएर खेल्न थाली । चन्द्रवदन शीतलपाटीमा लडीकन दलिनतिर हेर्दै सोच्न थाली । बाहिर बार्दलीबाट कतुवा ल्याउन बिर्सिछ, नत्र त्यही बसी कात्ने थिई । अहिले जाऊँ भने त्यो मान्छे हुँदै होला ! बीम (दलिन)को कुनामा एउटा बूढो माकुरा अचल भई बसेको थियो । यताउती माकुराका जाला पनि थिए । यसलाई साफ गर्नुपर्ने रहेछ, तर अहिले त जाँगर छैन । एउटा भँगेरो भूँ…. भूँ… गर्दै कहिले कोठाभित्र आउँदथ्यो फेरि बाहिर जान्थ्यो । चन्द्रवदन सोच्न थाली, “म एक्लै छु, दुलहा कहिले छुट्ने हुन् ।” आज उसलाई दुलहाको अचनाक स्मरण हुन लाग्यो । अहिले कोही मान्छे– त्यही जुल्फीवाला आए के गर्ने थिई, कहाँ भाग्ने थिई …. डरको अलि अलि अनुभव गर्दागर्दै त्यो निदाइछ ।

अर्को दिन ठीक उही समयमा जुल्फीवाला उस्तै गरी हेर्न थाल्यो । कस्तो असभ्य मान्छे रहेछ ? थाहा पाई पाई म स्वास्नीमान्छे छु, एक्लै छु भनी यता हेर्छ । हेरन, तेसै ठिङ्ग उभिरहेछ । आज पनि बर्दलीमा बस्न पाइन । कोठामा आई । पश्चिमतिरको झ्यालबाट तातो बतास पसिरहेको थियो, झ्याल थुनी । कोठा अलिक अँध्यारो भयो । किन मान्छे त्यस्ता हुन्छन् ? त्यसले बिहा गरेकै होला, त्यसको म जस्तै दुलही पनि होली– एकचोटि आफ्नो शरीरलाई हेरीकन– म जस्तै …म त्यसको दुलही भएको भए … ओहो ! कस्तो पाप चिताएँ । चन्द्रवदनले माकुराको जालो देखेर कोठा साफ गर्नुपर्ने सम्झी ।

दक्षिणतिरको शीतल बतास अब उसले छोड्नु पर्यो, त्यस जुल्फीवालाले गर्दा । भोलिपल्ट एउटा हातमा गलैँचा लिएर अर्कोले छोरीलाई डोर्याउँदै बार्दलीतिर जाँदा त्यो मान्छेलाई त्यहीँ देखी । रिसले गोडा थचार्दै फनक्क फर्की । मान्छेलाई अरुको सुविधाको पनि त विचार राख्नु पर्छ । दिनभरि काम नपाएको त्यो मान्छे । जहिले पनि त्यही उभिइरहन्छ । संसारमा यो के नियम चलाएको रहेछ ? स्वास्नी मान्छेलाई मात्र काम गर्नुपर्ने । त्यसकी स्वास्नी कहीँ काममा खटिरहेकी होली, यो चाहिँ अर्काकी स्वास्नी मान्छेलाई घुर्न दिनभर फुर्सद पाउँछ ।

लोग्नेमान्छेको जातै यस्तै हो । उसलाई सोच्दा सोच्दै सारा पुरुष जातिमाथि रिस उठ्न थाल्यो । हामी स्वास्नीमान्छेले कसैलाई – झट्ट उसलाई जुल्फीवालाको स्मरण भयो– हेर्यो भने …. त्यसलाई सोच्दा सोच्दै झन् रिस उठ्न थाल्यो ।

दिन प्रतिदिन गर्मी बढ्दैछ । आज रातभरि गर्मीले निद्रा परेन । चन्द्रवदन भएभरको डसना एउटै खाटमा हाली अर्को बिछ्यौनामा सेतो तन्ना कसी सुत्दथी । नजिकै भित्तातिर छोरीलाई सुताउँदथी । आज रातभरि गर्मी हुनाले निद्रा लागेन । पंखा हाँक्दा हाँक्दा – कहिले छोरीलाई कहिले आफूलाई – हात फतक्क गलिसक्यो । बिछ्यौना कहिले यता कहिले उता ढलीमली गर्दा पनि निद्रा आउँदैन । कोठा अँध्यारो थियो । ढोकामा मात्र कताकताबाट जून परिरहेको थियो । बिछ्यौनाको चिसो कुनातिर ढलेर तकियाबाट शिर झारीकन चन्द्रवदन आफ्नो दुलहाका घरका विषयमा सोच्न थाली– कहिले उनी छुट्लान् ? उनी के सोच्दा होलान् ? मलाई सम्झिन्छन् कि सम्झिदैनन् ? तिनी यहाँ छँदा त ….. अहँ, कुन्नि माया गर्थे गर्दैनथे । कहिल्यै मायाको कुरा गरेनन् । केवल काम बिग्रिँदा मात्रै, तरकारी मीठो नहुँदा या अरु केही काम बिग्रिदा मात्रै, उनी रिसाउँथे । के पति–पत्नीको सम्बन्ध यही हो ? माया भनेको आमाबासँग मात्र पाइन्छ ? बिहा हुनुभन्दा पहिले माइतमा म कति काम बिगार्दथें, आमा रिसाए झैं गर्थिन् तर कति माया गर्थिन् । जसका पनि दुलहा यस्तै गर्छन कि कसै कसैका माया पनि गर्छन् ? …. चन्द्रवदनले आफूले चिनेका विवाहित स्वास्नी मानिसलाई सम्झिन थाली । उनीहरुका दुलहा उनीहरुसँग कस्ता व्यवहार गर्दा होलान् ! कालिकाको कस्तो उज्यालो सन्तुष्ट मुख छ, निश्चय त्यसले आफ्नो पतिको प्रेम पाई होली ।

म त्यसकी पत्नीको ठाउँमा भए …. चन्द्रवदन त्यस्तै सोच्न थाली उसको विचारधार उसलाई कताबात कता लैजान थाले ।

उसले एकचोटि कालिकाको पतिलाई देखेकी थिई, त्यस्तै मान्छेले मात्र स्वास्नीलाई सुख दिन्छ । विस्तारै विस्तारै उसलाई कालिकामाथि डाहा उठ्यो । म उसकी दुलही भएँ …. सोच्दा सोच्दै जुल्फीवालाको पनि स्मरण भयो । निश्चय त्यसका पनि बिहा भएको होला, त्यसकी दुलही कस्ती होली ! सुखी होली कि मजस्तै न सुखी न दुःखी ! म त्यसकी पत्नीको ठाउँमा भए …. चन्द्रवदन त्यस्तै सोच्न थाली उसको विचारधार उसलाई कताबात कता लैजान थाले । टुइ….ञ गर्दै लामखुट्टै उसको कानमा कराइरहेका थिए । आफ्नो हातले लामखुट्टे र मनकोे कलुषित विचार धपाउँदा धपाउँदै भुसुक्क निदाइछ ।

सधैं चन्द्रवदन त्यो जुल्फीवालालाई कहिले बार्दलीमै, कहिले पानी भर्न जाँदा बाटामा देख्थी । सधैं त्यसको जुल्फी तेलले चिपीचल्लो रहन्थ्यो । चन्द्रवदनलाई कहिले पनि त्यो भद्र मनुष्य जस्तो लागेन, र जहिले पनि त्यसको दृष्टिबाट हट्ने प्रयत्न गर्थी । तर “अहिले बार्दलीमै छ कि त्यहाँबाट गैसक्यो ?” भन्ने सोच्दै फेरि बार्दलीमा आउँथी । त्यो जुल्फीवाला त्यहीँ आफ्नो बार्दलीमा रहन्थ्यो, त्यसैगरी निउ खोजी खोजी दुई तीनचोटि त्यसलाई हेर्थी । नसोचू भन्दाभन्दै यस्तो फुर्सदको लामो दिनमा त्यो जुल्फीवालाको विषयमा सोच्न करै लाग्दथ्यो । धोएको नयाँ लुगा लगाएपछि पनि एकचोटि जुल्फीवालालाई हेर्न मन लाग्दथ्यो । त्यसै, केही कामले होइन । दिनभरि लगाई एक दिन कालटिकी सिन्दूर बनाई । जुल्फीवालालाई हेर्नु त्यसको एउटा नियमजस्तो भएको थियो । अथवा भन्नुहोस्, त्यसको एउटा बानी नै भएको थियो ।

एक दिन आफ्नो सबभन्दा राम्रो लुगा लगाई, आफ्नी छोरीलाई पनि राम्रो फेराई । आज त्यसै रहर लाग्यो, गाजल टिकी, कालटिकी लगाई बार्दलीमा आएर बसी । तर त्यो जुल्फीवाला आएन । दिनभरि बसिरही अहिले । अब आउला भन्दाभन्दै दिन बित्यो । अरे आज कति चाँडै दिन गयो ? खेल्दाखेल्दै त्यसकी छोरी त्यहीँ बार्दलीमै सुतिछ । विचरीले दिनभरि केही खान पाइन । “उठ्, पुसु, दुद तताई दिन्छु खालीस् ।” भनी ।

भोलिदेखि फेरि अल्छीलाग्दो दिन सुरु भयो ।

चन्द्रवदनको एकनासको जीवनमा यस्तो एउटा घटना पनि भएछ ।

प्रतिक्रिया
Loading...