नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कवि मदन कार्की रहेनन्

कवि मदन कार्कीको ७७ वर्षको उमेरमा आज बिहान केएमसी अस्पताल सिनामंगल, काठमाडौँमा निधन भएको छ । कोभिड–१९ बाट संक्रमित कार्की केही दिनदेखि अस्वस्थ थिए । श्वासप्रश्वासमा समस्या भएर विहीबार अस्पताल भर्ना भएका उनी मधुमेह, उच्च रक्तचाप, दमलगायत रोगबाट पीडित थिए ।

कार्कीले काठमाडौंको गौशालास्थित आफ्नै घरमा सञ्चालन गरेको रेस्टुराँ कार्की किचेन नेपाली साहित्यकारहरुको जमघट हुने स्थल थियो । खाने, पिउने मामिलामा सोखिन उनी साहित्यकारहरुबीच कार्कीजीका नामले परिचित थिए । त्यहाँ हरेक महिनाको पहिलो बिहीबार अभिव्यक्ति भेटघाट १७ वर्षसम्म सञ्चालन भएको थियो ।

खोटाङको खाम्तेल गाउँबाट सप्तरीको फत्तेपुर, ओद्राहा झरेको मुडुला कार्की परिवारका पाँच दाजुभाइमध्ये काइँला उनी २००१ भदौ ८ मा जन्मेका थिए । २०२२ मा सगरमाथा अञ्चलाधीश कार्यालयको बैदार पदमा काम गर्न थालेका उनी २०४७ मा सर्वोच्च अदालतको शाखा अधिकृतका रुपमा सेवानिवृत्त भएका थिए ।

२०२३ मा राजविराजको ‘सगरमाथा’ पाक्षिकमा पहिलो कविता प्रकाशन गरेका उनको हालै मात्र ‘भावुकताको बीउ’ कवितासंग्रह ओरिएन्टल पब्लिकेसन्सबाट छापिएको थियो । त्यसमा उनको १ सय ४ वटा कविता समेटिएका छन् । स्वास्थ्यले साथ दिए केही पुराना, केही अधुरा सय वटाजति कविता छपाउने उनले बताएका थिए ।

‘सिनियर र जुनियरसित उत्तिकै घुलमिल हुने र हार्दिकता पोख्ने दाजुलाई गुमायौँ,’ कवि जीवनपानी सम्झिन्छन्, ‘एउटा मात्र संग्रह प्रकाशित भए पनि अर्गानिक कविता लेखेर उनले कविहरुको मन जितेका थिए ।’ कार्कीका पत्नी र दुई छोरा छन् ।
केही साताअघि साहित्य पोस्टमा राजकुमार बानियाँले उनको व्यक्तिचित्र लेखेका थिए ।

सान्दर्भिक पोस्ट

कविताका ‘अननोन सोल्जर’

प्रतिक्रिया
Loading...