नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मुकेश श्रेष्ठका दमदार चित्रहरु

मुकेश श्रेष्ठ

भक्तपुर सूर्यविनायक नगरपालिकाका मुकेश श्रेष्ठ पछिल्लो युवा पुस्ताका चित्रकार हुन् ।

विद्यालय तहबाट नै चित्रहरु कोर्ने मुकेशलाई त्यहाँका कला शिक्षकले सानैदेखि हाैस्याउँथे । उनी सम्झन्छन्, ‘मेरो कलाको शिक्षक हुनुहुन्थ्यो, मैले चित्रहरु कोरेर उहाँलाई देखाउँथे । उहाँले रामो छ भनेर प्रेरणा दिनुहुन्थ्यो ।

‘मलाई सानैदेखि पढाइमा भन्दा पनि चित्र कोर्नमा ध्यान हुन्थ्यो, मेरो बाबाआमाले पनि यसमा सपोर्ट गर्नुभो,’ उनी भन्छन् । यही हाैस्याइ र सहयोगका कारण उनी सन् २००१ देखि ललितकला क्याम्पसमा भर्ती भए ।

स्नातकसम्म नेपालमै अध्ययन गरेका श्रेष्ठ स्नातकोत्तर (मास्टर डिग्री)का लागि बनारस हिन्दु विश्वविद्यालय भारत पुगे ।

श्रेष्ठलाई आध्यात्मिक खालका चित्रहरु कोर्न बढीजसो मन पर्छ । उनी भन्छन्, ‘बनारसमा पढ्दा म गंगा नदीको किनारमा जान्थेँ, त्यहाँ दिनभर, अबेर रातिसम्म बस्थेँ । त्यहाँका दृश्यहरु अवलोकन गर्ने गर्थें । त्यहाँका धार्मिक, सांस्कृतिक र सामान्य जनजीवनले मेरो मन तान्ने गर्थ्यो ।’

मुकेशले आफ्ना चित्रहरुमा सामाजिक राजनीतिक मुद्दाहरु पनि उठाउने गर्छन्। समाजमा भएका सामाजिक विकृति विसंगतिविरुद्ध पनि उनका चित्रहरु बोल्ने गर्छन् ।

उनलाई देशको परम्परा संस्कृतिले पनि चित्र कोर्न प्रेरित गर्छ । उनी नेवारी पौवा र थाङ्काप्रति पनि आर्कषित छन् ।

मुकेशले अहिलेसम्म सात वटा एकल कला प्रदर्शनी र ७० वटा सामूहिक कला प्रदर्शनी गरिसकेका छन् । उनले भारत, चीन, कोरिया, जर्मनी लगायत युरोपका अन्य देशहरुमा भएका अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशालाहरुमा पनि भाग लिइसकेका छन् । त्यस्तै उनले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका पुरस्कार तथा अवार्ड, मेडलहरु पनि प्राप्त गरेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र सिर्जना फाइन आर्ट्स कलेजमा प्राध्यापक भएर पनि काम गरिसकेका छन् ।

पछिल्लो समय भने उनी चित्रहरु कोर्नमा व्यस्त छन्। आउनुस्, आजका दिन यिनै प्रतिभाशाली मुकेशका चित्रहरू अवलोकन गराैँ ।

 

प्रतिक्रिया
Loading...