नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मुक्तक प्रतियोगिता ११ का सर्वोत्कृष्ट घोषित

साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको एघारौँ संस्करणमा यश घिमिरे, रुपक अधिकारी र एन. एच. पाण्डे सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन भएका छन् । यस्तै अनील चापागाईं, सागर काफ्ले, भद्र घर्ती, भोला विद्रोही, संजिता बास्कोटा, सन्देश राउत भने उत्कृष्ट मुक्तककारका रूपमा छानिएका छन् ।

साप्ताहिक रूपमा सञ्चालन हुने यस खुला प्रतियोगिताको अघिल्लो अङ्कमा वीएस नीरव, मिनिता पौडेल, शोभा पोख्रेल सर्वोत्कृष्ट भएका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने यश घिमिरे, रुपक अधिकारी र एन. एच. पाण्डेका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।

डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका छन् । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।

प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भने, “तोकिएको नियममा रहेर २५ मुक्तक प्राप्त भएका थिए । केही मुक्तकहरू नियमबाहिर रहेर पनि प्राप्त भएका थिए ।”

यस पटक भने कुनै पनि विषय दिइएको थिएन ।

५० साता चल्ने यस प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ ।

विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।

प्रतिक्रिया
Loading...