नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बाइक बेचेर घरभाडा तिरें, बेचिन बाँकी अब आफैं छु

हैट, म पनि के के सोचिराको रैछु भन्या ! तलब नआएर के भयो त ? आफ्नो काम त गर्नै पर्यो नि । दश बज्न लागिसक्यो, अनलाइन क्लास पढाउने बेला भो ।

आज त बिहान छ बजे नै निन्द्राले छोड्यो । आजकाल मनमा पनि के के कुरा खेल्ने भन्या । लकडाउन भएको पनि करिब सात महिना बितेछ । भावनामा रमाउनुको पनि बेग्लै मजा । अचानक सम्मानीय प्रधानमन्त्रीको एउटा वाक्यांशले झसङ्ग भएँ । धनी हुनका लागि काम गर्नुहोस्, खान बस्नको लागि त सरकार छ । फेरि आफैंलाई सम्झाउँदै मन बुझाएँ, यो त सायद प्रधानमन्त्रीकै आसेपासेलाई पो होला त !

गत बैशाख महिनादेखि नै देशका लाखौं शिक्षक प्राइभेट संस्थामा दिनरात नभनी अनलाइन शिक्षण प्रक्रियामा सामेल छन् । स्कुलहरूले अनलाइन कक्षा संचालन गरेका छौँ भन्दा पुगेको छ । अनलाइन कक्षा संचालन गर्ने मिनिमम् क्राइटेरिया के के हुन् ? विद्युतीय उपकरणहरू, मोबाइल इन्टरनेटको मासिक शूल्क कहाँबाट कसरी बुझाउने ? सायद प्राइभेट संस्था संचालन गरिबसेका उपल्लो निकायका हाकिमहरूलाई यो सम्बन्धमा साधारण हेक्का पनि होला कि नहोला ?

रुपक अधिकारी
सान्दर्भिक पोस्ट

ए साँच्ची, मसँगै काम गर्ने एक जना साथीको त असारमै ग्यास चामल सकिएर काठमाडौँ बसाइका दिन सकिए भनेर गन्गन गर्दै थिए । उनको अहिले के हालत होला ? अनि सबै प्राइभेट संस्थामा कार्यरत साथीहरूको काठमाडौँ या मुख्य सहरमै घर होला कि कोठा भाडामा लिएर बसेका होलान् ? भाडामा बस्नेहरूको के हालत होला ? कि घरबेटीहरूले लकडाउनभरीको भाडा छुट पो गरेका होलान् कि ? फेरि मेरो त गरेका छैनन् । सायद त्यस्तो नि नहोला ।

फेरि अर्को एक जना प्राइभेट शिक्षक साथीले भनेको कुराले म झसङ्ग भएँ, “भान्सामा चुलो बल्न छोडेको धेरै दिन भयो अब त तलबको कुनै आस छैन, सर । भोको पेटमा पटुका बाँधेर कति दिन खट्ने ?” कति करुणा लुकेको छ यहाँ । प्राइभेट संस्थामा कार्यरत शिक्षकको महिना दिनको तलबले अरुबेला त महिना मर्नलाई धौ धौ हुन्थ्यो । अहिले झन् के हालत होला ?

आफ्ना असीमित आवश्यकताले डाँडो काटिसके । अत्यावश्यक वस्तुको चाङ लागिसके । घरभेटीलाई तिर्न बाँकी डेरा भाडा, भान्सामा कसरी आगो बाल्ने भन्ने पीडा, बालबच्चा र प्यारीले महिनौंदेखि मीठो खान नपाएको पीडा । गाउँमा भएका बा-आमाको औषधी खर्च, मरमसला, लुगाफाटोको कसरी व्यवस्थापन गरौँ भन्ने तनावको बीचमा तलब नै नआउने ठाउँमा इनटरनेटको पैसा तिरेर अरूको अगाडि हजाराैं हजार पीडा लुकाएर मुसुक्क मुस्काउँदै ज्ञानको ज्योति छरिरहेका छन् शिक्षक । अरूको अगाडि कहिल्यै अँध्यारो मुख नलगाई यो पवित्र पेसामा भोको पेटले काम गर्ने शिक्षक साँच्ची स्वर्ग नै जालान् कि ग्यास्ट्रिकका बिरामी भएर जिन्दगीभर दीर्घरोगी बन्लान् ?

ए साँच्ची, अस्ति त एक जना प्राइभेट स्कुलको शिक्षक पनि बिरामी पो भएछन् । हैन, ढुङ्गाजस्तो मन भएका संस्थापकहरूको संस्थामा काम गर्ने ती शिक्षक पनि कति कमजोर भन्या । विचरा बिरामी भएर उपचारको निम्ति खर्च कसरी जुटाउँ भनेर खाली पेट बसेको बेला एक्कासि मोबाइलमा घन्टी बज्छ । फोन उठाउन मात्रै के पाएका थिए, प्रिन्सिपलको खप्की सुरु भयो, “किन अनलाइन क्लास नलिनु भएको ? यस्तो तरिकाले हुँदैन है सर, बरु नगर्ने भए नगर्ने भन्नूस् म अर्कै व्यवस्था गर्छु, अभिभावकले किन क्लास नभएको भन्दा मैले जवाफ दिने ? हिजो नि ५ मिनेटमा अगावै क्लास छोड्नु भएछ । गृहकार्य चेक नगरेको पनि २ दिन भैसकेछ । यस्तो पाराले हुन्न अब ।”

त्यहाँ पनि भाडा त तिर्न पर्ला । भयो यसपालीको दशैं नै मनमनै बहिष्कार गर्छु, बूढा भएका बाआमालाई औषधी सर्टेज छ भनौंला ।

अब त दशैँ पनि आउन लागेछ । तलब आउने कतै गाईँगुईँ सुनिन् । बालबच्चालाई नयाँ लुगा त परकै कुरा भयो । दीर्घरोगी बाआमालाई औषधी पनि किन्न नसके त कुन मुख लिएर घर जानु । फेरि आफ्नै काका बडाउको गाडी पनि त छैन । त्यहाँ पनि भाडा त तिर्न पर्ला । भयो यसपालीको दशैं नै मनमनै बहिष्कार गर्छु, बूढा भएका बाआमालाई औषधी सर्टेज छ भनौंला ।

बीसौं वर्षदेखि एउटा शिक्षक नाम चलेकै संस्थामा काम गरिरहेको हुन्छ । आफ्नो जिन्दगीको उर्जाशील समय त्यहीँ बिताउँछ । संस्था मोटाउँदै जान्छ । शिक्षक कहिलै मोटाउँदैन । उसका दार्हीजुँगा त्यहीँ फुल्छन् । यत्रो महाविपत्तिको घडीमा पनि ज्ञानको सिलसिला टुट्न दिनु हुँदैन भनेर ऊ अनलाइन क्लास जसोतसो पढाउँछ, विद्यार्थीमाथि पाप गर्नु हुन्न भनेर आँसु पिएर पढाउँछ, तर जब ऊ “ग्यास चामल सकियो, अनलाइन पढाउन इन्टरनेटको बिल तिर्न सकिनँ” भन्छ, “पेट भोको भयो” भनेर आफूले काम गर्ने संस्थाको हाकिमसँग केही तलब माग्ने दुस्साहस गर्छ, उसलाई त कानुन नै लाग्नुपर्ने हो, झ्यालखानामै जाक्दिनुपर्ने हो, विचरा त स्कुलबाट मात्रै निकालिएछ, जागिर मात्र पो गएछ !

तिनै शिक्षक जसको पसिनाले विद्यालय कलेजहरूले आफ्नै सुविधासम्पन्न भवन, घरजग्गा, गाडी जोड्न सफल भएका छन्, चिल्ला कारमा निजी ड्राइभर राखेर देश विदेश घुम्ने सौभाग्य ती संस्थागत विद्यालयका हाकिमहरूले पाएका छन् । तिनीहरूले सायद आज एउटा शिक्षकको समस्या त बुझ्न नसक्लान् तर कहिलेकाहीँ यी शिक्षक कसरी बाँच्दैछन् भनेर सोच्लान् कि सोच्दैनन् होला ?

हिजो काठमाडौंको नाम चलेकै प्लसटूमा पढाउँदै गरेका एक जना शिक्षक मित्रले रुन्चे बोलीमा भन्नुभयो, “कोभिड १९ त प्लसटूलाई त कमाउ धन्दा नै भएको छ । कक्षा एघारको विद्यार्थी भर्नामा कुनै कमी छैन । विद्यार्थीसँग लिइने शूल्कमा कुनै कमी छैन । शिक्षकको तलब दिनुपर्छ भन्ने सामान्य हेक्कासम्म नहुने यी संस्थापकहरूले चैं मर्नु पर्ला कि नपर्ला ? के मान्छे मार्नु मात्रै अपराध हो र ? खुलेआम लुट्नुचाहिँ अपराध हैन र ? नैतिकताको थोप्पो नै नराखेर शिक्षक कर्मचारीको पेटमा लात हान्नुचाहिँ अपराध हैन र ? के वाहानामा २० या ३०% तलबमा एउटा ठूलो शिक्षित वर्गलाई शोषण गरिरहेका छन् उनीहरू ? सायद त्यसै भनिएको हैन रहेछ, लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै छ छुट ।

प्रधानमन्त्रीज्यू, भो यहाँ धनी हुने कुरा परै छोड्नूस् । प्राइभेट स्कुलका शिक्षक कर्मचारी भोकले मरिसके, यिनीहरूलाई बचाउनूस् । यी पनि यही देशका नागरिक हुन् ।

निजी विद्यालयका यति विज्ञ संचालकहरू देश विदेशका विभिन्न कार्यक्रम सहभागी भई सबैको मर्म बुझे झैँ गर्छन् । त्यहाँको नवीनतम प्रविधि आफ्नो संस्थामा आएर तुरुन्तै लागू गर्न तल्लीन देखिन्छन् । आज भोको पेटमा पटुका बाँधेर शिक्षक बाँचेछन् यदि भने त भोलिका दिनमा ती शिक्षकले गुणस्तरीय शिक्षा देलान् नत्र त आफूले जोताउने गोरु नै मरे भने भोलिका दिनमा कमाउने बाटो पनि बन्द होला भन्ने सामान्य हेक्का चैँ किन नभएको होला ?

शिक्षकहरू जो शिक्षाको ज्योति छर्दै अन्धकारलाई उज्यालो बनाउँदै आफ्नो जीवन यसैमा समर्पण गर्दछन् । आज उनीहरूकै पेटमा यसरी लात हानिन्छ भने भोलिको शिक्षा कस्तो होला ? शिक्षाविनाको कस्तो राज्यको परिकल्पना होला ? समाजको एउटा शिक्षित वर्ग कतिन्जेल यसरी शाषित भएर बाँच्न सक्ला ? प्रधानमन्त्रीज्यू, भो यहाँ धनी हुने कुरा परै छोड्नूस् । प्राइभेट स्कुलका शिक्षक कर्मचारी भोकले मरिसके, यिनीहरूलाई बचाउनूस् । यी पनि यही देशका नागरिक हुन् ।

हैट, म पनि के के सोचिराको रैछु भन्या । तलब नआएर के भयो त ? आफ्नो काम त गर्नै पर्यो नि । दश बज्न लागिसक्यो अनलाइन क्लास पढाउने बेला भो । कति अरुको चिन्ता लिनु, आफ्नो व्यवस्था गरिहालें मैले त ! बाइक बेचेर छ महिनाको घर भाडा तिरिसकें, अर्को छ महिना बाँकी पैसाले धान्ला नि त । त्यसपछि के के बिक्छ, बेच्दै जाउँला ।

प्रतिक्रिया
Loading...