नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘कला बुझ्ने चेतनास्तर सबैको एकै हुँदैन’: केशवराज खनाल, कलाकार एवं अध्यक्ष, नेपाल ललितकला पत्रकार समाज

कलाकार, पत्रकार, कला समीक्षकजस्ता समाज रूपान्तरण गर्न सक्ने बहुआयामिक व्यक्तित्वको रुपमा ललितकला क्षेत्रमा आफूलाई स्थापित गराउन सफल अहिलेका अग्रपंक्तिका चर्चित युवा कलाकार हुन्, केशवराज खनाल। पछिल्लो समय उनी “प्रत्यक्ष कला प्रदर्शन” (मास्टर डेमोन्स्ट्रेटर) गर्न सक्ने थोरै तर व्यस्त कलाकारमध्ये एक हुन् । आफ्नै शैलीको कला, विशेषगरी सिटिस्केप (उपत्यकाका शहरी दृश्य) उतार्न माहिर कलाकार खनालसँगको जम्काभेटमा साहित्यपेस्टको लागि बाबु साइँलाले गरेको छोटो कुराकानीः

कलाकारिता, कार्टुन, पत्रकारिता, लेखनका साथै सामाजिक संघसंस्थामा एकैसाथ लाग्नु भएको छ । कसरी समय मिलाउनु हुन्छ ?
कला मेरो जीवनको अंग नै भयो, यो त म रहुन्जेल मसँग रहने नै छ। कार्टुन विधा मेरो मित्र बन्न पुगेको छ । यी दुई विधा मेरो पहिचान बनेका छन् । साथसाथै कला पत्रकारिता समयको माग हो जस्तो मलाई लाग्छ। लेखनले मलाई कलाका विभिन्न अवयवहरुसँग नजिक्याउन र आफूलाई पनि माझ्न सहज तुल्याउँछ। यो मेरो रहरको विषय पनि हो। रह्यो, सामाजिक संघसंस्थाको कुरो- हरेक मानिसले समाजबाट पाउने हो भने समाजलाई दिन सक्नु पर्छ । त्यसैले समय निकाल्नु नै पर्दो रहेछ। आफ्नो मनको कुरा गर्न र आफ्नो समुदायको हकहितका लागि जे जसरी पनि समय मिलाइँदोरहेछ।

तपाईंको विचारमा कला के हो ? कलालाई मानिसहरुले आफूअनुकूल व्याख्या गरिरहेको पाइन्छ। यसलाई आम मानिसले सहज रुपमा बुझ्ने गरी परिभाषित गरिदिनु हुन्छ कि?
कोइलीको बोली नबुझे पनि राम्रो लागेजस्तै कला अति गहन ढंगबाट बुझ्नु नै पर्छ भन्ने छैन। जब कुनै कलाले आफूलाई आनन्द दिन्छ, त्यो कला र कलाकार सफल हुन्छ। कलालाई कुनै एक व्याख्याको परिधिमा राखेर हेर्न मिल्दैन जस्तो लाग्छ। सर्जकले सृजना गरेपछि आफ्नो भावना अनुरुपको व्याख्या गर्ला तर दर्शक, पाठक वा श्रोताले त्यो कलालाई आफूअनुकूल परिभाषित गरी बुझ्न सक्छ किनकि सबैको चेतनास्तर एकै हुँदैन र कुनै विषय वा समयले एकै प्रकारको प्रभाव सकैमा पार्छ भन्ने पनि हुँदैन। अझ यसोगरी भनूँ– दुःखको विषयमा सृजना गरेको कला सुखमा रमाइरहेको मानिसका लागि औचित्यहीन होला तर कुनै पीडामा परेको दर्शकलाई त्यो आफ्नो कथा भनिदिने पात्र बन्न सक्छ। त्यसैले कलालाई समय र अवस्थाले पनि मोहक र सान्दर्भिक बनाउने गर्छ।

अचेल कलाकारले आफ्नो कलाबाट जीविकोपार्जन गर्ने अवस्था छ कि छैन ?
कलाकार भनेको चित्र वा मूर्ति बनाउने भन्ने मात्र होइनन्। सबैले विश्वस्तरको कला गर्न सक्छन् भन्ने पनि होइन। कलाकार भएपछि कोही अध्यापन गराउन सक्छन्, कोही कलाकर्ममै लाग्न सक्छन्, डिजाइनर बन्न सक्छन्। यस्ता धेरै विधामा लाग्न सकिन्छ। आफूले जानेको कुराबाट सहज रुपमा बाँच्न र प्रगति गर्नु नै सफलता मान्नु पर्छ। जो कलाकार कलाकर्ममा क्षमतावान छन्, ती राम्ररी जीविका चलाइरहेका छन् र कलामा अझै धेरै सम्भावनाको ढोका खुल्ला छ। लगनशिलता र आवश्यक अध्ययनको खाँचो त पर्छ नै। अहिले कलाकारका लागि सहज छ र सम्भावना पनि प्रशस्त छन्।

राज्यबाट कला र कलाकारको हकहितका निम्ति कत्तिको पहल भएको पाउनुहुन्छ?
राज्यले कला विकासका लागि छुट्टै ललितकला प्रज्ञा प्रतिष्ठान दिएको छ। कलाकारहरुका लागि यति मात्रले राज्यको दायित्व पूरा हुँदैन । आवश्यक बजेट र कलाकारका लागि अवसरका ढोका खोल्ने विषयमा राज्यपक्ष मौन छ तर यस विषयमा पहरेदारी गर्ने र कलाको नीति बनाउने विषयमा प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु पनि रणभुल्लमा हुनुहुन्छ। साना-तिना क्लब वा संघसंस्थाले गर्ने वा गर्न सक्ने कला कार्यशाला र प्रदर्शनी गरेर मात्र उहाँहरुको दायित्व पूरा हुँदैन। सम्पूर्ण कलाकारका लागि फाइदाजनक हुने कला नीति बनाउने, अनुसन्धान गर्ने गराउने र कलाको बजारीकरण गर्ने दिशामा प्रतिष्ठानले अझैसम्म आँखा चिम्लेको छ। सानातिना कार्यक्रम र तलब भत्तामै बजेट सकिन्छ। कलाको इतिहास र वर्तमान अवस्थाको कलाको विषयमा खोज अनुसन्धान गर्न गराउन हामी धेरै पछि परेको अवस्था विद्यमान छ।

लामो समयदेखि कार्टुन विधामा हुनुहुन्छ। कार्टुनिस्ट क्लबमा पनि विभिन्न भूमिकामा हुनुहुन्छ। तपाईंको भूमिका र संस्थाका अवस्थाका बारेमा बताइदिनु हुन्छ कि ?
एक दशकभन्दा बढी समयदेखि गोरखापत्रमा आबद्ध छु। सोही समयदेखि कार्टुन विधामा पनि पाइला चाल्ने अवसर जुर्यो। लामो समयदेखि निष्क्रिय रहेको कार्टुनिस्ट क्लबको निर्वाचनबाट म कोषाध्यक्षको जिम्मेवारीमा आएँ । कोषको अवस्था ऋणात्मक थियो। सबै साथीहरुको लगनशिलता र सक्रियताले आज क्लबमा केही रकम जम्मा भएको छ र कार्टुन विधाको लागि विभिन्न गतिविधिहरु पनि गर्दै आएका छौँ। हाल म संस्थाको सक्रिय सदस्य र पत्रकार महासंघको लागि क्लबबाट केन्द्रीय पार्षद्को भूमिकामा छु।

पछिल्लो समय सिर्जनाकर्मका सन्दर्भमा जलरङ माध्यममा बढी केन्द्रित हुनुहुन्छ । त्यसमा पनि सिटीस्केप र विशेषगरी काठमाडौं उपत्यकालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ। अरु विषय पनि त थियो होला नि ?
विषय त छन्, अवश्य पनि छन् तर सिटीस्केप मेरो रोजाईमा पर्यो। माध्यम पनि जलरङ विशेष रुचिकर लाग्छ। विषय, कला माध्यमका लागि कलाकार स्वतन्त्र हुन्छन्। मलाई मनमा लागेका हरेक विषयलाई म कलामा उतार्छु। माध्यम त विषयलाई प्रस्तुत गर्ने साधन मात्र हो, कहिले मूर्तिबाट आफ्ना भावना पोखिन्छ त कहिले चित्रबाट त कहिले प्रतिस्थापन कलाबाट। म पनि हरेकजसो माध्यममा कला गर्छु तर सिटीस्केप, ल्याण्डस्केप वा मुहारचित्रणका लागि मलाई जलरङ मन पर्छ। कसैले अन्य माध्यममा बनाइदिनु पर्यो भनेको खण्डमा जुनसुकै माध्यम पनि प्रयोग गर्छु होला, चाहे त्यो ढुङ्गा होस् या माटो । (हा हा हा… लामो हाँसो)

तपाईं नेपाल ललितकला पत्रकार समाजको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । यो संस्था जन्माउनुको उद्देश्य के हो? के-के गर्नु भयो? अहिलेको कला पत्रकारिताको अवस्था कस्तो छ त ?
गोरखापत्रमा आबद्ध भएपछि आफू कलाकार भएको नाताले कलासम्बन्धी समाचार र लेखरचना कम रहेको पाए। अन्य बिटमा लेख्ने साथीहरु हुनुहुन्थ्यो तर कलाको रिपोर्टिङ गर्ने पत्रकार भेट्न सबैजसो मिडिया हाउसमा हम्मेहम्मे पर्थ्यो। आफू सहभागी हुने कार्यक्रमको समाचार त म बनाउँथे तर नियमित रुपमा लेख्ने मान्छे पाउन गाह्रो थियो। यो माध्यममा पत्रकार अडिन सकिने अवस्था थिएन। कला पत्रकारितालाई बिट पत्रकारिता बनाउने र कला पत्रकारहरुको लागि केही रचनात्मक काम गर्ने सोचका साथ केही पत्रकारहरु भेला भयौँ र संस्थाको आवश्यकता देख्यो। सुरुवातकर्ताका रुपमा साथीहरुले मलाई नेतृत्व गर्न गर्नुभएको आग्रह बमोजिम मलाई संस्थापक अध्यक्ष हुने अवसर जुर्यो। यसको मुख्य उद्देश्य भनेको ललितकला पत्रकारिताको बिटलाई व्यवस्थित गर्ने, कला पत्रकारहरुको समस्यालाई सम्बोधन गर्ने र पत्रकारिताको माध्यमबाट नेपाली ललितकला क्षेत्रको श्रीवृद्धि गर्ने नै हो।

संस्थाको स्थापना गर्नासाथै हामीले अग्रज कला पत्रकारको सम्मान र युवा पुस्तालाई पुरस्कृत गर्ने जमर्को गर्यौं। हरेक वर्ष हामीले विभिन्न माध्यम (दैनिक/साप्ताहिक आदि समाचारपत्र, टिभी, रेडियो, अनलाइन आदि) मा लागिपरेका पत्रकारहरुलाई नगद राशिसहित पुरस्कार दिँदैआएका छौँ । कला पत्रकारिताबारे प्रशिक्षण दिएका छौँ। विभिन्न व्यक्तित्वहरुसँग अन्तरक्रिया गर्दै आएका छौँ ।

अवस्थाको कुरा गर्दा हिजोका दिनमा भन्दा अहिले कला पत्रकारिताको अवस्था सुदृढ भएको पाएको छु। हार्ड न्युजबाट कलाको रिर्पोटिङ विश्लेष्णात्मक भएको छ। पहिलाको तुलनामा हिजोआज बढी नै स्पेश पाइन थालेको छ। साथै, अब यो ललितकला पनि बिट पत्रकारिताको अंग बन्दै गएको छ।

आउनुस्, उनका विचार मात्र होइन, कलातर्फ पनि नजर दौडाऔँः

प्रतिक्रिया
Loading...