नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अङ्ग्रेजीमा फिक्सन लेख्ने कोसिस गरें तर सफल भइनँ – प्रकाश ए राज

साहित्य निर्माता: वार्ता ३

शान्ति निकुञ्जमा चाहिँ नेपालको यहाँको अल्पसङ्ख्यक समुदायको जागरणको प्रतीक थियो के ! भख्खर भख्खर उनीहरूले आफ्नो भाषामा पनि पढ्नु पर्ने, अनि म के गर्थें भने त्यहाँबाट हाफ टाइममा जहिले पनि भाग्थें ।

(नेपाली साहित्यमा उपन्यास, नियात्रा र ऐतिहासिक लेखनमा कलम चलाउने प्रकाश ए राज, नेपालका विद्च्छिरोमणि हेमराज गुरुका नाति हुन् । उनले पर्यटक गाइड बुकहरू पनि लेखे जुन विश्व प्रसिद्ध प्रकाशक लोन्ली प्लानेटले प्रकाशित गरेको थियो । भारतको विश्वविख्यात प्रकाशन संस्था रूपाबाट पनि उनका पुस्तकहरू प्रकाशित भएका छन् । उनी स्थापनाकालदेखि नै पेन नेपालसँग सम्बन्धित छन् र पेनको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट सबैभन्दा बढीपटक भाग लिनेमा उनी पर्छन् । प्रस्तुत छ, उनीसँग २४ जुलाई २०१८ मा काठमाडौंस्थित उनकै निवासमा लिइएको अन्तर्वार्ता ।)

तपाईंको बाल्यकाल कसरी बित्यो ?

मेरो जन्म यही काठमाडौंमा भयो । हजुरबा हेमराज शर्मा हुनुहुन्थ्यो । म १० वर्षको हुँदा उहाँ बित्नुभयो । म ७ देखि १० वर्षसम्म उहाँको सान्निध्यमा रहें । राणा शासनकालमा उहाँ राणाहरूको धेरै नजिक हुनुहुन्थ्यो । धेरै प्रभावकारी हुनुहुन्थ्यो, तर २००७ सालपछि उहाँको फूर्सदको समय धेरै हुन्थ्यो । त्यसै भएर पनि जहिले पनि म उहाँ कहाँ गएर बसिराख्थें । र मलाई उहाँको प्रेरणाले लेखक बन्नलाई मद्दत गर्यो । उहाँको प्रेरणा नभएको भए म यति लेख्ने थिइनँ जस्तो लाग्छ ।

उहाँको के कुराबाट प्रेरणा प्राप्त भयो ? उहाँ विद्वान् हुनुहुन्थ्यो । विद्च्छिरोमणि हुनुहुन्थ्यो । उहाँको लेखाइले प्रेरणा पाउनु भएको हो ?

प्रकाश ए राज

हो, त्यसो भन्न सकिन्छ । उहाँसँग नेपालको तीन सबभन्दा ठूलो पुस्तकालयमध्ये एउटा थियो । जस्तो कि सबभन्दा ठूलो कि त केशर समसेरको थियो, कि उहाँको थियो, कि वीर पुस्तकालय थियो । विभिन्न विद्वानहरू उहाँलाई भेट्न आउँथे, जस्तो कि मैले डायरीमा राहुल साँकृत्यायनको विषयमा पनि लेख्या छु । उहाँसँग दोस्ती थियो । हुन त राहुल साँकृत्यायन कम्युनिष्ट थिए, तर उनलाई तिब्बतमा जान उहाँले मद्दत गर्नु भएको रहेछ । अनि अरू विदेशी विद्वान् पनि आइराख्थे । फ्रान्सको सिल्भाँ द लेभी, इटलीको टुच्ची अनि बेलायतको टमस पनि आइराख्थे । उनीहरूसँग प्रशस्त पुस्तकहरू आइराख्थे, उनीहरूको लेखहरू पनि आइराख्थे । अनि उहाँले पनि लेख्नुहुन्थ्यो । रेगुलरली । मलाई सबैभन्दा बढी प्रेरणा मिलेको चाहिँ डायरी लेखनबाट हो । उहाँले मलाई पनि डायरी लेख्न सिकाउनु भयो । सात वर्षको उमेरदेखिको डायरी मसँग छ । बीचमा अमेरिकामा सात वर्ष बस्दाको चाहिँ छैन । त्योबाहेक जम्मै सात सालदेखि अहिलेसम्म छ । ५०।५५ वर्षको डायरी छ ।

सात वर्षको उमेरदेखिको कि सात साल देखिको ?

सात वर्ष सात साल जे भने पनि उही हो । म वि.सं २००० सालमा जन्मेको हुन्मेको हुँ । जति वर्ष भयो त्यति उमेर ।

भन्नाले सात वर्षकै उमेरमा तपाईंले डायरी लेख्नु सुरू गर्नुभयो ?

हो ।

पहिलो इण्ट्री के थियो, तपाईंलाई याद छ ?

त्यो त डायरी पल्टाएरै हेर्नुपर्छ होला । खास केही थिएन, सुरुमा आज यस्तो भयो, त्यहाँ गएँ इत्यादि । साधारण थियो । प्रौढता चाहिँ पछि पछि आयो । आउन थाल्यो ।

हजुरबाले सिकाएर डायरी त लेख्न थाल्नुभयो, तर भाषा साहित्यको मर्म बुझेर चाहिँ कहिलेदेखि लेख्न थाल्नुभएको जस्तो लाग्छ ?

मैले जेपी स्कूलमा पढ्न थालें । जेपी स्कूलमा पढ्दाखेरी हामीलाई नेपाली पढाउनुहुन्थ्यो, वासुदेव लुइँटेल । उहाँ बडो चाखलाग्दो तरिकाले पढाउनुहुन्थ्यो । अनि हजुरबाको लाइब्रेरीको एउटा इन्टरेस्टिङ् कुरा के छ भने मैले १० वर्षको उमेरसम्म त्यहाँ भएको नेपाली कथा, उपन्यासको सबै किताब मैले पढिसक्या थिएँ । हिन्दीको चाहिँ अलि अलि मात्र पढ्थें । जेपी स्कूलमा भर्ती हुनुभन्दा अगाडि एक डेड वर्ष शान्ति निकुञ्जमा पनि पढ्थें । शान्ति निकुञ्जमा चाहिँ नेपालको यहाँको अल्पसङ्ख्यक समुदायको जागरणको प्रतीक थियो के ! भख्खर भख्खर उनीहरूले आफ्नो भाषामा पनि पढ्नु पर्ने, अनि म के गर्थें भने त्यहाँबाट हाफ टाइममा जहिले पनि भाग्थें । घरमा आएर पुस्तकहरु पढ्थें, लाइब्रेरीमा रहेको। त्यही बेलादेखि झन् बढी इन्ट्रेस्ट भयो ।

भनेपछि हजुरबुबाको प्रेरणा भयो, बुबाको रोल के भो त ?

प्रकाश ए राजका साथमा गाेविन्द गिरी प्रेरणा

बुबाको खास केही थिएन । उहाँ आफैं विद्यार्थी हुनुहुन्थ्यो, पढाइमा हुनुहुन्थ्यो । उहाँ र म बीचमा १६ वर्षको मात्र फरक छ । म र आमाबीच १५ वर्षको । बुबाको पनि जीवनी निकालिएको छ । आमाको पनि जीवनी निकालिएको छ । हजुरबुबाको त मैले अस्ति दिएँ । आमाको पनि गार्गीले लेख्नुभएको छ । अनि मेरोबारेमा पनि केही लेखिएको छ ।

अनि त्यो हजुरबुबाको पुस्तकालय के भयो ?

राष्ट्रिय पुस्तकालय त्यही त हो नि, हरिहर भवनमा रहेको । तर अहिले त भुइँचालोले धेरै नोक्सान भयो । अब कुनै गोदाममा राखिएको छ त्यहाँको पुस्तक भन्ने सुन्छु ।

राष्ट्रिय पुस्तकालयले किनेको कि दान गरेको ?

त्योबेलामा हाम्रो आर्थिक अवस्था राम्रो थिएन, त्यसैले बेच्नै पर्यो ।

कतिमा बेचियो होला ? सम्झना छ ?

३ करोडमा बेचेको तर त्यसमा हामीले पाएको २ करोड ७५ लाख मात्रै हो । त्यसमा खोजे जति पुस्तकहरू पाइएन । त्यसमा पनि ३ भाग लाग्यो, मेरो बाको, काकाको र मेरो बज्यैको, ३ भाग ।

तपाईंको किताबको यात्रा रोदी घरको सम्झनाबाटै सुरु भयो ?

नेपालीको चाहिँ रोदी घरको सम्झनाबाट सुरु भयो । अङ्ग्रेजीको चाहिँ त्योभन्दा पहिला अमेरिकामा मैले आफ्नो अनुभवको बारेमा लेखेको थिएँ । “नेप्लिज स्टूडेण्ट भ्यूज द युनाइटेड स्टेटस्” भन्ने । अमेरिकाकै बारेमा लेखहरूको सङ्ग्रह । मैले अमेरिकाबाट फर्किनासाथ राइजिङ नेपालमा लेखहरू लेख्न थालेको थिएँ । अनि ती लेखहरूको सङ्ग्रह आफैं निकालेको थिएँ ।

“रोदीघरको सम्झना” लेख्न केले प्रेरित गर्यो ?

नेपालको सबभन्दा रोमाञ्चक ठाउँ, अन्नपूर्णा क्षेत्र, जुन मैले ट्रेकिङ पनि गरें । पोखरा पनि गएँ, पहिलोपटक । अनि त्यसपछि त्यहाँ बडा रमाइलो लाग्यो । सजिलो ठाउँ नेपालमा ट्रेकिङ गर्न, गण्डकीको क्षेत्र । त्यहाँ गुरुङहरू छन् धेरै । त्यसपछि मेरो एक जना साथी थियो, तीर्थ माली । उसले गुरुङहरूसँग भिजेर धेरै काम गरेको छ । नेवार हो काठमाण्डौंको । त्यसले पनि मलाई धेरै कुराहरू भन्यो तिनीहरूको बारेमा । त्योबेलामा डा. हर्क गुरुङ आउनु भयो राष्ट्रिय योजना आयोगमा, जहाँ म काम गर्थें । पहिला मेम्बर हुनु भयो, पछि भाइस चेयरमेन भएर आउनु भयो। त्योबेलामा उहाँको सान्निध्यमा धेरै नयाँ कुराहरू थाहा पाएँ । गुरुङ संस्कृतिको बारेमा पनि मलाई चाख लाग्यो । हुन त मैले त्यो “रोदीघरको सम्झना” पनि लेखिसकेपछि उहाँलाई देखाएँ । त्यति मन पराए जस्तो लागेन । उहाँ हिन्दुवादी गुरुङ होइन कि, जगमान गुरुङलाई हिन्दुवादी गुरुङ भन्ने रहेछन् के । उहाँको साथी पनि यहाँ बिहा भाछ, बेलायतमा बस्छ । डा.चन्द्र बहादुर गुरुङ । जनजाति भन्ने इस्यूमा लेख्छ । अनि गोर्खा सोल्जरहरूको बारेमा लेख्छ । उसबाट पनि जान्न धेरै मद्दत भयो । तर मैले लेख्या कुरा चाहिँ अहिले आएर मन पराउने छैनन् । किनभने त्यहाँ उनीहरू आफैं इण्डिपेण्डेण्ट फोर्स रहेछन् । हिन्दु धर्मबाट प्रभाव पर्या स्वीकार्दैनन् ।

तपाईं लेखनमा पनि लाग्नु भयो, विदेश यात्रामा पनि लाग्नु भयो । लेखनलाई यात्राले कस्तो प्रभाव पार्यो ?

५ वर्ष अमेरिकामा बस्दाखेरी नेपालीमा लेख्दै लेखिनँ भने पनि हुन्छ ।

कति सालदेखि कति सालसम्म हो त्यो ?

२०१७ सालदेखि २०२२ सालसम्म । भर्खर भर्खर नेपालमा परिवर्तन भएको बेला हामी तीन जना नेपालीहरूअमेरिका गयौं । १९६० मा ।

को को हुनुहुन्थ्यो तीन जना ?

म, एकजना किरण शंकर भन्ने थिए, एकनजा मीनबहादुर राउत भन्ने पूर्वाञ्चलको थियो । अमेरिकामा सबभन्दा पहिला जाने नेपालीहरु मध्ये हामी थियौं । हामीहरु फर्क्यौं तीनैजना यहाँ, अनि सरकारमा काम गर्यौं । साँढे सत्र वर्षको उमेर थियो। त्यो उमेरमा अमेरिका गएँ । त्यो बेलामा अङ्ग्रेजीमै बढ्ता ध्यान दिएँ । त्यो बेलामा नेपालीमा लेख्नै छुट्यो । मैले तारानाथ शर्माको बारेमा लेख्या छु, त्यो बेलामा मैले नियात्राहरु लेखें, सब अङ्ग्रेजीमा मात्रै लेखें, नेपालीमा लेखिंन क्या । नेपालीमा लेख्न नसक्ने होइन, नेपाली राम्रो थियो मेरो । मेरो एसएलसीमा पनि राम्रो नम्वर आएको थियो नेपालीमा, नेपालीमा लेख्या भए अलि नाम हुँदो रहेछ क्या, अङ्ग्रेजीमा लेखेर कल्ले कति परवाह गर्ने र ? त्यसको कदर भएन क्या ।

अनि ऐतिहासिक विषयमा लेख्न चाहिँ तपाईंलाई के ले प्रेरित गर्यो ?

ऐतिहासिक लेखनमा मेरो बुबाको योगदान छ । उहाँ आफैं विद्वान् हुनुहुन्थ्यो तर लेख्नु हुन्थेन । इतिहासका कुराहरू, राणा शासनसम्बन्धी कुराहरू मैले हजुरबाभन्दा पनि उहाँबाट धेरै बुबाबाट थाहा पाएँ । सामाग्री छँदै थियो, त्यो सामाग्रीलाई उपयोग गरेर लेखें । जम्मै राणाहरूको जीवनीको किताब पनि निस्क्या छ ।

जस्तो तपाईंले “पन्नाको औंठी”, “काठमाडौं जाने बाटो” उपन्यास लेख्नुभयो, तिनको प्रतिक्रिया कस्तो पाउनु भयो ?

“काठमाडौं जाने बाटो” को धेरै राम्रो भयो, धेरै रिभ्यूहरू आए । त्यही लेखेको कारणले मैले अटल बिहारी बाजपेयीलाई भेट्न पाएँ, दिल्ली गएको बेलामा ।

कसरी ?

के भयो भने, त्यस पुस्तक हिन्दीमा धारावाहिक रूपमा छापियो ।

एउटा राष्ट्रिय स्वयमसेवक संघको पत्रिका छ, पाञ्चजन्य भन्ने । दिल्लीबाट निस्कन्छ । त्यसको सम्पादक थियो तरुण विजय । उनी मेम्बर अफ पार्लियामेण्ट पनि भएको थियो, राज्य सभाका सदस्य पनि । उसले भन्यो, “हम आपको पुस्तकको हिन्दीमें अनुवाद करके धारावाहिक रुपमें निकालेंगे” । र हिन्दीमा अनुवाद गरेर धारावाहिक रूपमा निकाल्यो । अनि त्यसलाई नेपालीमा अनुवाद गरेर राजेन्द्र श्रेष्ठले प्रजातन्त्र पत्रिका निकालेका थिए । त्यसमा पनि धारावाहिक रुपमा निकाल्यो। त्यसले गर्दाखेरि …..

भनेपछि त्यो नेपालीमा लेख्नु भएको होइन ?

होइन, अङ्ग्रेजीमा हो । अङ्ग्रेजीबाट नेपालीमा मैले आफैं अनुवाद गरें । अनि हिन्दीमा अरूले गर्यो । त्यसरी निकालेको ।

भनेपछि अङ्ग्रेजीमा लेखेर पछि अनुवादमा हिन्दी र नेपालीमा आयो ?

हो, हिन्दीमा मैले गर्या होइन । नेपालीमा भने मैले आफैं गर्या हो । आफूले लेख्या आफैंले अनुवाद गर्दा सजिलो भो नि नेपाली त ।

अनि अटल बिहारी बाजपेयीलाई कसरी भेट्नु भयो त ?

अटल बिहारीलाई त्यही तरूण विजयले भेटाउन लगेको हो । ऊ बसेको ठाउँमा परिचय गरायो । उनले पनि एप्रिसियट गर्यो । उनलाई पनि प्रिजेण्ट गरें ।

तपाईं पेन नेपालसँग सम्बद्ध हुनुहु्न्छ । पेन नेपालसँग तपाईंको नाता कसरी गाँसियो ?

पेन नेपालसँग कसरी नाता गाँसियो भने यसको संस्थापक भनेको मधुकर समसेरकी श्रीमती ग्रेटा राणा हुनुहुन्थ्यो । उहाँले खोल्नु भएको थियो २, ३ वर्षसम्म १९८७/८८ तिर । अनि उहाँले मलाई सचिव बन्न रहरछ कि छैन भनेर बोलाउनु भो । उहाँचाहिँ खाली मेम्बर बन्नुभो, त्योबेलामा भुवन ढुंगाना हुनुहुन्थ्यो अध्यक्ष । त्यहीबेलादेखि सुरु गरेको हो । त्यसपछि म धेरै गएँ, पेन कङ्ग्रेसलाई सम्मेलन भन्छ, गएँ । सबभन्दा पहिला नर्वेमा गएँ, नर्वेको उत्तरी भागमा ट्रम्सो भन्ने ठाउँ छ, आर्कटिक सर्कलभन्दा माथि । पेनको काङ्ग्रेस हुन लागेको थियो, त्यहाँ जान ब्रिटिश राजदूतावासबाट टिकट भेट्टियो । त्यहाँ गएँ । ६/७ दिन त्यहाँ बसें ।

सन् २००४ को कुरा हो क्यार ! त्यसपछि स्लोभेनियामा भयो । युगोस्लाभिया टुक्रियो नि, युगोस्लाभिया टुक्रेपछि एउटाटा देश स्लोभानिया पनि भयो, सबभन्दा विकसित पार्ट चाहिँ स्लोभेनिया थियो । त्यहाँ गएँ । अनि जर्मनीको बर्लिनमा गएँ । त्यसपछि कोलम्बियाको बोगोटामा गएँ । क्यानाडाको कुबेकमा गएँ । किर्गिजिस्तानमा गएँ । कोरियामा गएँ । त्यस्तै गरेर पेन नेपालको सचिवको हैसियतले धेरै ठाउँमा गएँ । तर कहिलेकाहीँ आफ्नै पैसा पनि हाल्नु पर्यो । सधैं त उनीहरूले दिँदैनन् । तर फ्यासिलिटीहरू धेरै पाएँ । संसारभरिको लेखकहरूसँग परिचय भयो । मुख्य उपलब्धस् त्यही हो । कैयौं ठाउँहरू पेनको सदस्य नभएको भए जाँदै जाँदैनथें ।

भनेपछि पेनले संसारभरिका लेखकहरूसँग भेट गर्ने र भ्रमण गर्ने अवसर दियो ?

हो, दियो। त्यो कुरा मैले एउटा पुस्तिका निकालेको छु, ती सब लेखहरूको सङ्कलन छ त्यहाँ ।

लेखनको हिसाबले अहिले के मा व्यस्त हुनुहुन्छ ?

इतिहासका पुस्तकहरू लेख्न व्यस्त थिएँ । त्यो निस्किसक्यो । पहिला राणाहरूको जीवनी लेखें । सबभन्दा पहिले जुद्ध समसेरको लेखें, त्यसपछि चन्द्र समसेर, भीम शम्शेरको लेखें । पछि जङ्गबहादुरको लेखें । जङ्गबहादुरदेखि मोहनसमसेरसम्म सबैको लेखें । त्यसपछि विपिको पनि लेखें । पछि एक जना प्रकाशक भेट्टाएँ । डिल्ली बजारमा त्यसको अफिस छ । मकालु प्रकाशन । उनीहरूले के भन्यो भने, यो बेग्लाबेग्लै किन गर्नुहुन्छ, हामी एउटैमा निकालिदिन्छौं । अनि त्यो सप्पैलाई एउटा सङ्कलनमा राखेर निकाले । त्यसपछि मैले जनआन्दोलनको बारेमा पनि लेखें । दरवार काण्डको बारेमा पनि लेखेँ ।

दरवार काण्डको त तपाईंले सीधै अङ्ग्रेजीमा लेख्नुभएको हैन ?

हो, “रोयल मासाक्यार इन नेपाल” भन्ने । त्योचाहिँ दिल्लीबाट रुपा भन्ने प्रकाशनले निकाल्यो । जनआन्दोलनको रूपाले पनि निकाल्यो । पछि के भो भने लोन्ली प्लानेटको निम्ति मैले नेपालको गाइड लेखें, इण्डियाको गाइड लेखें । अनि लोन्ली प्लानेटको किताब अमेरिकामा वितरण गर्ने एउटा प्रकाशक रहेछ, न्यूयोर्कको पब्लिसर हिप्पोक्रिनी बुक्स । त्यसले चाहिँ मलाई सोध्यो, ‘नेपालको बारेमा डिक्सनरी लेख्छौ ?’ मैले लेख्छु भनें । त्यसपछि त्यो डिक्सनरी नेपालीमा लेखें, देवनागरी नराखेर रोमन लिपीमा लेखें । अनि पछि के भन्यो भने, ‘अलि ठूलो निकालौं, ७ हजार शब्द नेपाली अङ्ग्रेजी, ८ हजार अङ्ग्रेजी नेपालीमा ।’ त्यसरी नै निकाल्यो उसले । मलाई लाग्छ, कुनै नेपालीले लेखेको यस्तो डिक्सनरी नेपालबाहिर निस्क्या छैन । पहिलो म नै हुँला कि।

कतै त होला, तर अमेरिकाबाट छैन !

छैन, छैन । अमेरिकाबाट छैन । अनि फेरि र्को त्यसले के निकाल्यो भने, डिक्सनरी एण्ड फ्रेज बुक । त्यो चाहिँ असाध्यै सफल भयो । मलाई अचम्म लाग्यो । त्यो मैले अस्ति भनें नि, हरेक लेखकको पुस्तक कुन कुन लाइब्रेरीमा छ भन्ने वर्ल्ड क्याट लाइब्रेरी । मेरो त्योचाहिँ तीन सय लाइब्रेरीमा रहेछ । अचम्म लाग्यो । तीन सय भनेको धेरै हो नि ! मलाई कस्तो लाग्यो भने, अमेरिकामा धेरै भएको कारण के हो भने त्यो भुटानी शरणार्थी गए नि, उनीहरूलाई युज गराए त्यो ।

अनि यो विदेशमा जाँदाखेरि तपाईंले एकदम इण्टिमेसी को को विश्वबिख्यात लेखकसँग भयो ?

नोवेल प्राइज विजेताहरुसँग भेट्न पाएँ मैले । पेनको कङ्ग्रेसमा जाँदाखेरि । कस्तो भो भने, नाइजेरियाको वोल सोयन्का भन्ने सँगभेट भो । अनि त्यो फ्रान्सको त्यो क्लेजी भन्ने, मरिससमा पनि बसेको रहेछ, त्योसँग भयो । अनि साउथ अफ्रिकाकीएक जनासँग पनि भेट भो । भेट हुँदा के हुन्छ भने इण्टरनेशनल पेन भनेको पार्लियामेण्ट जस्तो हो । संसारभरिका १०० भन्दा बढी देशका लेखकहरू हुन्छन् । उनीहरूसँग पनि धेरै जनासँग भेट भो । कैयौंपटक त मान्छेहरू एकचोटि दुईचोटि आउँछन् , त्यसपछि आउँदै आउँदैनन् । तर म चाहिँ धेरैचोटि जान पाएँ । र कस्तो भने, अघि मैले भनें नि, काजाकिस्तान पेनको मान्छेले एकपटक युएनमा काम गरेको रहेछ । डेटो लेवलमा काम गर्या रहेछ । बस्नलाई अमेरिकामा बस्छ, न्यूयोर्क सिटीको उत्तरतिर । पेनमा आउँदाखेरि काजाकिस्तान पेनको तर्फबाट आउन पाउँछ । पेन अमेरिकाबाट त ऊ आउनै पाउन्न । बाहिरबाट आउँछ । अमेरिकन सिटिजन हो। त्यस्तो मान्छेहरूसँग भेट भो । आफैं प्रकाशक पनि रहेछ, जीवनीहरु पनि निकाल्छु भन्छ ।

पेन कङ्ग्रेस नेपालतिर हुने सम्भावना त देख्नुहुन्न ?

एकपल्ट कुरा भाथ्यो । मैले के सोचें भने, हामीकहाँ पनि त प्रशस्त छ कन्भेन्सन गर्ने ठाउँ । यहाँ गर्न सकिन्छ होला भनेर सोध्दा उनीहरू के भन्यो भने, ‘कति फण्ड रेज गर्न सकिन्छ, पाँच लाख डलर ? कि कति लाग्छ ?’

हामीले सकिंदैन होला, तर नसकिने भन्ने पनि त होइन, निरन्तर लाग्नु पर्छ । सकिन्छ, नसकिने होइन, यसपाली पूनामा हुँदैछ । इण्टरनेशनल पेनका मान्छेलाई भनेको छु, नेपाल पनि घुमौंन त्यहाँ आइसकेपछि भनेको छु । पेन नेपालको तर्फबाट कार्यक्रम गरौं, के के फ्यासालिटी छ । कोही कोहीले यहाँ घुम्न पनि चासो लिएका छन् ।

अब अलिकति पारिवारिक कुरा पनि गरौं, कस्तो रह्यो तपाईंको पारिवारिक जीवन ?

पारिवारिकमा दुइटा विवाह भएको, पहिले एउटा श्रीमती बितेपछि । पहिलोबाट दुइटा छोरा भएको थियो । दुवै जना अमेरिकामै बस्छन् । एक जना आयोवामा बस्छ, अर्को न्यूयोर्कमा । अनि अरू दुइटा चाहिँ सानै छन्, एउटाले भर्खर प्लस टू गर्यो । उन्नाइस वर्षको भयो । अर्को चाहिँ १६ वर्षको भयो ।

अनि जेठी श्रीमती कसरी बित्नु भएको ?

एक्सिडेण्ट हो कि के हो, त्यस्तो भाथ्यो ।

कहाँ ?

जावलाखेलमा बस्दाखेरि । वीपीसँग रिलेसन भएको भनेको उसैको हो । मैले लेखेको छु नि वीपीको बारेमा, उसैको ।

२००० सालमा जन्मिनुभाको, अहिले २०७५ साल ७५ वर्षको उमेर, यो उमेरमा आएर तपाईं आफ्नो जीवनलाई फर्केर हेर्दा कस्तो देख्नुहुन्छ ?

म के देख्छु भने, मैले धेरै ठाउँमा घुम्ने मौका पाएँ । धेरै ठाउँ देखें । अनि आफूले जे लेख्याछु, डायरी लेख्या भएर पनि सजिलो भो होला, धेरै पत्रपत्रिकामा लेखें, धेरै भाषाहरू सिकें । फ्रेञ्च पनि फ्रिक्वेण्टली बोल्छु । अङ्ग्रेजी त बोल्ने भैहालें । जर्मन पनि बोल्छु । स्प्यानिस पनि बोल्छु । धेरै भाषाहरू बोलें । ती भाषाहरू बोल्ने ठाउँमा घुम्न पनि पाएँ । यसलाई आफ्नो उपलब्धीजस्तै ठान्या छु । धेरै विषयमा किताबहरू लेखें । पुस्तकहरू लेखेर के फाइदा भो भने यहाँ नेपालमा त सस्तो छ नि, छापेर प्रकाशन गर्न पनि सस्तो छ । तर मेरो गाइड बुक लेखेको कारणले अरू प्रकाशकहरू पनि मप्रति आकर्षित भए । जस्तो इण्डियामा रूपाले पनि त्यसै छाप्दैन नि । अब युरोप अमेरिमामा बसेर पनि आफ्नो लेखेको पुस्तक छाप्न असाध्यै गाह्रो छ । तपाईं अमेरिकामा बस्नुभाको छ, थाहै छ । त्यसै भएर मेरा पुस्तकहरू आफैं पनि प्रकाशित गरेको छु, बाहिरको प्रकाशकहरूले पनि धेरै गरेका छन्, यो मामलामा म आफूलाई भाग्यमानी नै भन्ठान्छु ।

भन्नाले लाइफलाई इन्जोय गरिराख्नुभाको छ, लेखकको रूपमा ?

हो, अहिलेसम्म धेरै ठाउँमा घुम्न पाएको छु । धेरै कम मान्छेले त्यस्तो मौका पाउँछन् । हुन त सम्पन्नै परिवारमा जन्मेको थिएँ, तर जन्मदैमा सबैले यस्तो मौका पाउँदैनन् । भए पनि त्यसको फाइदा लिँदैनन् । मैले चाहीं लिएछु जस्तो लाग्छ । मैले ३० जनाको बारेमा लेखेको छु, तत्कालीन नेपालका धेरै मान्छेहरूलाई मैले चिनेको रहेछु । दरवारमा पनि काम गरें जाँचबुझ केन्द्रमा । अनि राजालाई पनि चिनें । वीरेन्द्र, ज्ञानेन्द्र दुबैलाई चिनें । फोटो पनि छ । महेन्द्रलाई चाहिँ त्यति चिनेको थिइनँ । अनि प्रबुद्ध परिवारमा जन्में । त्यही अनुसार अध्ययन पनि गर्न पाएँ । पुस्तकहरू पनि धेरै अध्ययन गरें, पढें, धेरै कुरा लेखें । त्यो मामलामा आफूलाई भाग्यशाली नै भन्ठानेको छु अहिलेसम्म । सोच्दैछु ।

अर्को कुरा, मूलत: हामी नेपाली भाषी हौं । नेपाली भाषाका लागि हामी काम गरिराख्या छौं । तर विस्तारै नयाँ पुस्तामा नेपाली भाषा कमजोर हुँदै गएको, नेपाली भाषाको पढाइमा ध्यान दिन छोडिएको अवस्था छ, नेपाली भाषा साहित्यको भविष्यको बारेमा चिन्ता लाग्दैन ?

लाग्छ । त्यो चाहिँ कस्तो लाग्छ मलाई भने, म अमेरिकामा पहिलोचोटि जाँदाखेरि साँढे सत्र वर्षको उमेर थियो । म न्यूयोर्क टाइम्स साँढे सत्र वर्षको उमेरमा किनेर पढ्थें । नेपालीको सन्दर्भमा मात्र भनेको होइन, कुनै पनि पत्रिकाहरू पढ्थें, अहिले म कहाँ आउँछ न्यूयोर्क टाइम्स हेर्नूस् । मेरो छोरा १९ वर्षको भैसक्यो त्यो पनि पढ्दैन ।

अहिले संसारमा के भइरहेको छ भन्ने विषयमा अवेरनेस, उसले इण्टरनेट खूब हेर्छ । इण्टरनेट हेरेर लिन्छ कि के हो मैले बुझ्न सकेको छैन । मैले डायरी लेख्न उसलाई पनि सिकाएँ । यहाँ बस्ने दुइटै छोराहरूलाई । अमेरिकामा बस्नेहरूलाई पनि सिकाएँ, उनीहरु त लेख्दैनन् नेपालीमा । यिनीहरूलाई पनि लेखाएँ । एउटाले त मुनामा पनि लेखहरू लेखेको छ । त्यसलाई चाहिँ इण्टरेष्ट छ जस्तो लाग्छ । अहिलेको पुस्तालाई इण्टरनेटले छोपेको छ, हाम्रो पालोमा थिएन नि त ! अब धेरै कुराहरू गर्न पाइने भो । नेपालीमा पनि हेर्न नमिल्ने होइन, तर अङ्ग्रेजीमा नै धेरै हेर्ने हुनाले इण्टरेष्ट कम भएर गाको हो । पत्रिकाहरू पढ्छन्, पुस्तकहरु अलि अलि नपढ्ने होइन । तर पहिले हाम्रो टाइममा जति पढ्थ्यौं, त्यति छैन । सोर्स अफ इण्टरनेनमेण्ट धेरै भयो के । त्यो बेलामा थिएन।

जस्तो अब तपाईंको पालामा त नेपालका धेरै मूर्धन्य साहित्यकारहरू एकदमै हाइटमा थिए, जस्तो महाकवि देवकोटा, सिद्धिचरण, सूर्यविक्रम ज्ञवाली अथवा लेखनाथहरू – उहाँहरूसँग बस-उठ भयो तपाईंको ?

मेरो बसउठ भाथ्यो, सोमनाथ सिग्देलसँग । अनि महाकवि देवकोटाको बारेमा चाहिँ वासुदेव लुइँटेल एकदमै नजिक हुनुहुन्थ्यो । उहाँको कुरा गर्नुहुन्थ्यो । मेरो उमेर धेरै कम थियो । म १६ वर्षको हुँदा उहाँ बित्नुभो । हाम्रो क्लासमा एक जना हुनुहुन्थ्यो रमेशनाथ पाण्डे, उहाँसँग परिचय थियो । अनि हाम्रो क्लासमा पढ्दाखेरि अर्को कर्ण शाक्य थिए । कर्ण शाक्य हाम्रो क्लासफेलो । उहाँले पनि इण्टरेष्ट लिनुभा हो । तर अरूहरूसँग ….. मेरो हजुरबाकहाँ धेरै आउँथे संस्कृतका पण्डितहरू । तर पछि २०१० सालमा हजुरबा बित्नु भएपछि त्यति मौका आएन, जेपी स्कूलमा पढ्दा साधारण विद्यार्थी थिएँ । त्यस्तो मौका आएन हजुरबा छँदाखेरि आउँथ्यो । पछि त्यति पाइनँ ।

तपाईं नेपाली साहित्यिक जगतमा भन्दा विदेशमा बढी परिचित हो ?

खोइ, आई एम नट अ राटर अफ फिक्सन । अङ्ग्रेजीमा मैले फिक्सन लेख्ने कोशिस गरें तर सफल भइनँ । नितान्त लेखकको रूपमा गाइड बुकले गर्दाखेरि म प्रसिद्ध भएँ, त्यो बेलामा । कुनै जमानामा यहाँ आउने हरेक विदेशीमध्ये पचास प्रतिशतले नेपालको मेरो गाइड बुक पढ्थे । इण्डियाको गाइड बुक पनि पढ्थे । इण्डियाको गाइड बुक पनि त्यति प्रसिद्ध भयो। लोन्ली प्लानेट संसारकै नम्बर वान गाइडबुक पब्लिसर हो । त्यसई हेर्ने हो भने, हो । किनभने त्यसको संसारभरि वितरण छ । तर फिक्सनमा म त्यति सफल हुन सकिनँ । अलिअलि नेपालीमा लेखें , नेपालीमा लेखेको आफैं अनुवाद गरें ।

लेखन क्षेत्रमा यो लेख्छु भन्ने कुनै एम्बिसन छ तपाईंको ?

अब एम्बिसन त छ । पत्रपत्रिकाहरू धेरै पढ्छु। अब नेपालमा संविधान आयो, नयाँ संविधान बनाउने सिलसिलामा धेरै मागहरू भए । त्यो विषयमा पनि मैले धेरै लेखें पत्रिकाहरूमा । अङ्ग्रेजीमा नेपालीमा दुवै लेखें । पहिलेको जस्तो, स्वास्थ त अझ ठीकै छ । लेख्न सकिन्छ । यही नै लेख्छु भनेर अहिले त्यस्तो निधो चाहिँ गरेको छैन । के लेख्न बाँकी छ र के लेख्ने भन्ने ! नियात्रा हो, बाहिर घुमेको बेलामा लेखिहाल्या छु । त्यो त छुट्दैन । त्यसको पनि संकलन छ । अझ लेख्दैछु । पुनेमा जाँदैछु, त्यसको बारेमा पनि लेख्छु ।

अब तपाईंलाई अन्तिममा के सोध्छु भन्देखिन्, तपाईंलाई पछि, शेषपछि, मान्छेहरूले कसरी चिनून्, कस्तो परिचय रहोस् भन्ने लाग्छ ?

एटाटा चाहीं यात्रा लेखकको रुपमा, गाइडबुक लेखकको रुपमा, जुन चाहिँ पायोनियरिङ नै वर्क (काम ) गरें मैले । अरु कसैले पनि सफलतापूर्वक गर्न सकेका थिएनन् । अब मैले डिक्सनरी पनि लेखें, डिक्सनरी कति राम्रो छ, त्यो आफ्नो ठाउँमा छ, तर बाहिरबाट पब्लिस भाको हो । नेपालबाहिरबाट पब्लिस भाको लेखक, त्यसको पनि आफ्नो महत्व होला । अनि नेपालको समसामयिक इतिहासको बारेमा पनि लेखें । जनआन्दोलनको बारेमा लेखें, दरवार हत्या काण्डको बारेमा पनि लेखें । त्यसमा चाहिँ आइ वाज लक्की , किनभने मैले राम्रो पब्लिसर भेट्टाएँ, नेपालबाहिरको पब्लिसर भेट्टाएँ, राम्रो पब्लिसर भेट्टाएन भने जति राम्रो लेखे पनि एप्रिसिएसन हुँदैन । त्यो लेखेर समसामयिक लेखेको लेखको रूपमा र इतिहासको बारेमा । त्यो त मैले नेपालीमा मात्रै लेखें । नेपालीमा पनि नयाँ कुराहरू छन् इतिहासको बारेमा । प्रकाशितै नभएका कैयन् कुराहरु छन्, त्यो लेख्या छु । इतिहास लेखकको रूपमा केही, पछि सम्झिइन्छ कि जस्तो लाग्छ ।

प्रतिक्रिया
Loading...