नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सिनेमा संस्कार: ‘हल्का रमाइलो’मात्र होइन

आजको स्थितिलाई पृष्टभूमीमा राखेर एउटा मनोमानी अनुमान गरिहेरौं–

कोरोना संकट यथावत् रहने वा अरु भयवह भएर जानेछ । त्यसो भएमा चानचुन दुई सयको संख्यामा रहेका सिनेमा घरहरु तंग्रिने छैनन् । अर्को विकल्प हो, ओभरिसज र डिजिटल मार्केट । बुझिएअनुसार नेपाली चलचित्रले यी दुवैमा आफ्नो इमान गुमाइसकेका छन् । बाँकी रह्यो, अमेजन प्राइम एवं नेटफ्लिक्सजस्ता ओटिटी प्लेटफर्म । यसमा उक्लनका लागि नेपाली सिनेमाले आफ्नो सामर्थ्य बनाइसकेको छैन ।

त्यसो भए के हुनसक्छ ?

यो प्रतिकूलताले हाम्रा सामुन्ने दुईवटा सर्त अघिसारेको छ । एक, सात दशक लामो इतिहास बनाएको नेपाली सिनेमा भेन्टिलेटरमा छाडिदिने । दुई, आफ्नै मौलिकताको आभूषणमा सजाएर सिनेमा संस्कृतिले जग हाल्दै गरेको नवीन युगमा छलाङ मार्ने ।

मानिलिऔं, दोस्रो सर्तमा राजी हुनका लागि हाम्रो तयारी, अभ्यास, साधना, सीप, लगाव र त्याग पर्याप्त छैन । आजको भोलि नै हामी त्यस्तो यात्राको आरम्भ गर्न सक्दैनौं, जहाँ आफ्नै मौलिक विरासत बोकेर हाम्रो सिनेमा विश्वभर फन्को लगाउन सकोस् ।

त्यसो भए के नेपाली सिनेमाले जुग–जुगका लागि आफ्नै अस्तित्वमाथि इन्डक्ल्याप गर्नेछ ?

आजको काइते पारा हेरेर हामीले यसै भन्न सक्छौं, ‘हो अब नेपाली सिनेमाको एउटा युगको पटाक्षेप हुनेछ ।’ आजको मितिसम्म नेपाली सिनेमाले नक्कल नै गरिरह्यो । अलिकति कोरियनको, अलिकति हलिउडको, अलिकति बलिउडको । कथा, संवाद, पात्र, पहिरन, शृंगार, धुन, रङ सबै–सबै अरुतिरबाट ल्याएर आफ्नो सिनेमालाई पोलिस गरिरह्यो । तर, यो प्रवृत्तिले हाम्रो सिनेमाको चमक बढेन । बरु अरु खुइलिँदै गयो । यसरी खुइलिँदै गयो, हामीसँग अस्थिपञ्जर मात्र बाँकी रह्यो । यस्तो हुलिया बोकेर न हामीले सिनेमा घरहरुमा रसरङ पैदा गर्न सक्यौं, न विश्वका दर्शकहरुलाई मोहनी लगाउन सक्यौं ।

साविक दिनहरुमा महिनामा औसत पाँच वटा सिनेमा प्रदर्शनमा आए । तर, वर्षभरको अंकगणितले देखाइदियो, जम्माजम्मी दुई–चार सिनेमाले मात्र लाभांश उठाए । बाँकी गोलखाडी ।

किन गोलखाडी ? किनभने दर्शकले नक्कलबमोजिम सक्कल ठीक छ भनी सदर गर्न सकेनन् । ‘फरक छुट्याऊ’ शैलीमा मनोरञ्जन लिन सकेनन् । बरु इन्टरनेटको पहुँचसँगै ओटिटी प्लेटफर्मको सोझो सम्पर्कमा रहेका घरेलु दर्शकहरु खोजीखोजी विश्वभरका दामीदामी सिनेमा हेरिदिए । यसर्थ उनीहरु नेपाली भर्सनको ‘कविर सिंह’ हेरेर आफैँलाई ‘मुर्गा’ बनाउन तयार भएनन् । बढ्दो सिनेमा चेत र अनगिन्ती छनोटको सुविधाले गर्दा नेपाली दर्शकले फगत ‘माया गरिदिन’का लागि सिनेमा हलसम्म पुग्ने पाउकष्ट गरेनन् ।

नतिजा, नेपाली सिनेमाले भएको आफ्नो बजार पनि गुमाउँदै गयो । फैलिँदै र गहिरिँदै जानुपर्ने आफ्नो प्राकृतिक स्वभावविपरीत हाम्रो सिनेमा खुम्चिँदै, साँघुरिँदै गयो । शहरी क्षेत्रमा भएका सिंगल थिएटर र मल्टिप्लेक्सलाई पनि आफ्नो मुकाम बनाउन सकेनन् । न बल्लतल्ल भएको डिटिजल र ओभरिसज मार्केटमा आफ्नो कब्जा जमाइराख्न सक्यो ।

अवस्था कस्तो रह्यो भने, हलिउड/बलिउड सिनेमाको प्रदर्शन मिति हेरेर मात्र आफ्नो सिनेमा बजारमा पठाउनुपर्ने । नत्र त नतिजा जगजाहेर नै थियो, साँढेको जुधाई बाछोको मिचाई ।

किन हाम्रो सिनेमा यति निर्धो र निरीह भइदियो ?

किनभने हामीले आफ्नो मौलिक सिनेमा बनाउनै सकेनौं, जो बाँकी दुनिया भन्दा पृथक् र आफ्नोपनले सुसज्जित हुन्थ्यो । आफ्नै लोक संस्कृति, परम्परा, मिथक, जात्रा–उत्सव, खानपान शैली, बोली–लवजको आलोकमा उभिएर नेपाली सिनेमाको रुपरङ अनि अवयव निर्माण गर्न सकेनौं । र, यसलाई सांस्कृतिक उत्पादनको रुपमा परिचित गर्न सकेनौं । बरु अरुको नक्कल गर्न तम्सियौं । किनभने हामीलाई हतार थियो, तुरुन्तै नाम कमाउने, तुरुन्तै दाम भित्र्याउने । सिनेमा जस्तो कलाको सर्वाधिक उन्नत विधामाथि हामीले खेलाँची गरिरह्यो ।

यसैको परिणाम हो, आज नेपाली सिनेमा भेन्टिलेटरमा छ । न यो आफ्नै प्राणवायु लिएर बाँच्न सकेको छ, न अरुको प्राणवायु लिएर आफूलाई तंग्राउन सकेको छ । कृत्रिम श्वासप्रश्वास क्रियाबाट अलग गर्नासाथ निर्जीव भइहाल्ने विषाद नियति बोकेर बाँचिरहेछ हाम्रो सिनेमा ।

मानौं, अब नेपाली सिनेमा कहिल्यै तंग्रिने छैनन् । सिनेमा घरहरु फेरि गुल्जार हुने छैनन् । वैश्विक स्तरका प्लेटफर्ममा हामीले आफ्नै भाषा बोल्ने, आफ्नै लुगाफाटो लगाउने, आफ्नै चालचलन अंगाल्ने कथा र पात्रहरु फेला पार्ने छैनौं । त्यसो भए के होला त ?

धेरैसँग यसको सतही जवाफ हुनसक्छ, ‘नाथे सिनेमा नहुँदैमा के हुन्छ ? यो दालभात जस्तो अनिवार्य आवश्यक्ता होइन ।’

एक हिसाबले ठीकै हो । हाम्रा अघिल्ला पुस्ताले सिनेमा हेरेनन् वा सिनेमाबाट मनोरञ्जन लिएनन् । तैपनि उनीहरुले आफ्नै ढंगको जीवन बाँचे । अहिले पनि कुल जनसंख्याको दुई प्रतिशत नेपालीले मात्र त सिनेमा हेरिरहेका छन् । बाँकी सिनेमाको मनोरञ्जनबाट विमुख छन् र उनीहरुको जीवन यथास्थितीमै चलिरहेकै छ । त्यसो भए हाम्रो सिनेमा हुनु र नहुनुमा केही फरक नहोला ?

फरक पर्छ किनभने दुनियाँले बुझेजस्तै सिनेमा ‘मनोरञ्जनको साधन’ मात्र होइन । यो त एक यस्तो बहुरंगी अस्त्र हो, जसले हामीलाई आफ्नै सांस्कृतिक सत्तामा बाँच्ने ठाउँ सुरक्षित गरिरहन्छ । लिपुलेकमा भारतले दुई पाइला माटो मिच्दा हामीभित्र स्वभिमानले राँको बल्छ । तर, आज हरेकको घर–घरमा, भान्सा–भान्सामा, चाडपर्वमा, बिहे–भोजमा विदेशी संस्कृतिले आफ्नो लाहछाप लगाइरहँदा हामी चुपचाप–चुपचाप बसिरहेका छौं ।

आज हाम्रो बालबच्चा हिन्दीमा बात मार्न सहज मान्छन्, किन ? आज हाम्रा बालबच्चाहरु डोरेमोन र निन्जा हथौडीका खेलौना माग्छन्, किन ? हाम्रा किशोरपुस्ता कोरियन फेशनमा ठाँटिन्छन्, किन ? आज हाम्रो बिहेभोजमा लेहेंगा र सेरवानीमा ठाँटिन्छन्, किन ? आज हाम्रो चाडपर्वमा बिरयानी, बर्गर खोजिन्छ किन ?

किनभने,

हिन्दी टिभी शृंखला, हलिउड/बलिउडले हाम्रो घरभित्र आफ्नो संस्कृतिक सत्ता स्थापना गरिसकेका छन् । यही स्थितिलाई चुपचाप सदर गर्दै जाने हो भने, भोलिका दिनमा हामी ठिमाहा जीवन बाँच्नुपर्ने स्थितिमा पुग्छौं । न हामीलाई आफ्नो जीवन पद्धतिअनुसार डोहोर्याउन आफ्नै संस्कृति हुनेछ, न अरुको संस्कृति नै पूर्णतः अंगाल्न सक्नेछौं । यो गोलचक्करमा फँस्नुअघि नै बुझ्नुपर्नेछ, आफ्नो संस्कृतिमाथिको हस्तक्षेप रोक्न र विश्व समुदायमा आफ्नो पहिचान दिन हामीले आफ्नो सिनेमाको शक्तिलाई भरपूर प्रयोग गर्नुपर्नेछ ।

सिनेमासँग त्यो शक्ति छ, बढ्दो सांस्कृतिक हस्तक्षेप रोक्न सक्छ । र, हामीलाई आफ्नै रङ र ढंगमा बाँच्ने उर्बर धरातल निर्माण गर्न सक्छ । यस्तो धरातल, जहाँ हामी राजीखुसी आफ्नै सांस्कृतिक विरासत लिएर गर्विलो जीवन बाँच्नेछौं । सिनेमासँग त्यो तागत छ । किनभने सिनेमा हल्का रमाइलो मात्र होइन ।

प्रतिक्रिया
Loading...