नेपाली साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भूत चित्रकला ११

यो शनिबार पनि संसारका अद्भूत चित्रकलाको नयाँ शृंखला लिएर आएका छौँ । यसअघि पनि हामीले संसारका त्यस्ता विरलाकोटीमा पर्ने अद्भूत पेन्टिङका बारेमा चर्चा गरिसक्यौँ । यस पटक हामी चर्चा गर्दैछौँ, द ग्रेट पिस अफ टर्फ (The Great Piece of Turf) चित्रका बारेमा । सन् १५०३ ताका बनाइएको यो चित्रको उचाई ४०.८ बाई ३१.५ सेमी छ । यो चित्र अस्ट्रियाको राजधानी भियनास्थित अल्बर्टिनामा राखिएको छ । यस चित्रलाई अल्ब्रेख्त डुरेरले बनाएका हुन् ।

अहिलेको नजरले यो चित्रकला हेर्नुभयो भने तपाईंले खासै नयाँ केही पाउनु हुने छैन तर ५१७ वर्षअगाडि यति मिहिनता केलाएर बनाइएका विरलै चित्रमध्ये एक हो भनेर तपाईंले हेर्न थाल्नुभयो भने यसले तपाईंलाई विस्मित तुल्याउने छ । वाटर कलर, कलम र मसीले यसलाई कागजमा उतारिएको छ । रोचक त के छ भने कागजमा उतारिएका पुराना चित्रहरूमध्ये यो पनि ज्यूँका त्यूँ बच्न सफल भएको छ । लामो समयपछि यो जस्ताको त्यस्तै फेला परेकाले पनि यसको महत्त्व बढेको हो ।

एउटा फोटो खिच्दा आउने मिहिन तत्त्व यो चित्रकारितामा आएको हुनाले पनि यसलाई अद्भूत चित्र मानिएको हो । प्रकृतिमा अनेकन् बुट्यान पाइन्छन् तर अल्ब्रेख्तले त्यो बेला यति केस्राकेस्रा केलाएर बनाइएको छ कि पाँच सय वर्षअघि यस्तो कसैले पनि कल्पना गर्न सक्दैनथ्यो । यसलाई केहीले त पहिलो महान् प्रकृति अध्ययन भनी प्रशंसासमेत गरेका छन् ।

यो चित्रमा अल्ब्रेख्तले एउटा सानो कीराको कोणबाट बनाएको हुनाले त्यस बखतमा युरोपमा पाइने जैविक विविधताको एउटा अध्ययनको विषय पनि बन्न सक्छ । एक हिसाबले यो त्यस बखतको पहिलो जैविक विविधताको अध्ययन पनि मान्न सकिन्छ । जसरी इटालीका मास्टरपिस भनेर जसरी लियोनार्दो दा भिन्सीलाई मानिन्छ, उनका कलालाई अस्ट्रियाको मास्टरपिस मान्नेहरूको पनि कमी छैन ।

उनको प्रकृतिलाई अध्ययन गर्ने जुन शैली छ, त्यो उनले यसपछिको कृति द फल अफ म्यान (१५०४) मा पनि देखिन्छ । उनले काठमा कुँदेको सो वृहद् स्तरको चित्रकला र द फिस्ट अफ द रोज गार्ल्यान्ड (१५०६) ले त उनको उम्दा शैलीलाई अझ मुखर पारिदिएको छ । यी दुवै चित्रमा उनको मिहिनेत र मिहिनता जुन देखिन्छ, त्यसको आधार भने द ग्रेट पिस अफ टर्फले नै बनाएको हो ।

उनले जलरंगमा बनाएको यस चित्रमा सेड (छायाँ)हरूको प्रयोग निकै सहज र विश्वासिलो बन्न पुगेको छ । हुन त हरेक बुटा हरिया नै हुन्छन्, ती सबैको हरियोपन फरक र भिन्न देखाउन उनको मिहिनेतको कदर गर्नै पर्छ ।

को हुन्, अल्ब्रेख्त डुरेर ?
हालको जर्मनीस्थित न्युरेम्बर्गमा जन्मिएका अल्ब्रेख्त डुरेर खानलाउन गाह्रो नभएको परिवारमा नै जन्मिएका थिए । उनका पिता-पुर्खा सुनको काम गर्थे । उनको चित्रकारितामा रूचि देखेर उनका पिताजीले उनलाई त्यसबेलाका प्रख्यात कलाकार माइकल वल्गेमुटको शिष्य बनाइदिएका थिए । माइकल त्यो बेला ठाउँठाउँमा घुम्न जान्थे र काष्ठकला र जलरंगका चित्रकला बनाइदिन्थे । उनको विशेषता देखेर इटालीसम्म उनलाई बोलाइन्थ्यो । माइकललाई पछ्याउँदै जब अल्ब्रेख्त इटाली पुगे, त्यहाँको कलामा पुनर्जागरणको अवस्था देखेर उनी बहुतै प्रभावित भए । त्यो बेला पुस्तक प्रकाशनको धुम मच्चिरहेका बेला उनले कयौँ पुस्तकका आवरण ब्लक पनि बनाएका थिए। त्यस बखत न्युड (नग्नचित्र)को पनि उत्तिकै माग भएकाले आफ्ना गुरूको सान्निध्यमा रहेर नग्नकला पनि बनाउन सिके ।

जीवनको अन्त्यताका उनी ज्यादै सफल चित्रकारका रूपमा दरिएका थिए । त्यसैले पनि होली रोमन सम्राट म्याक्सिमिलन प्रथम र पछि चार्ल्स पञ्चमको आधिकारिक र मुख्य चित्रकारका रूपमा दरबारमा काम पाएका थिए । उनको ख्याति आफ्नो चित्र बनाउने कलाकारका रूपमा समेत छ । उनले नै सेल्फ पोट्रेट अर्थात् आफ्नो चित्र आफैँ बनाउने श्रेय पाएका छन् । त्यसअघि आफ्नो चित्र बनाउने कुरामा चित्रकारहरू त्यत्ति रूचि देखाउँदैनथे ।

यो चित्रमा के हेर्ने त ?
यो चित्रमा ध्यान दिएर हेर्नुपर्ने कुरा तीन वटा मात्र छन् । विज्ञहरू भन्छन्, चित्रको मध्यभागमा विविध बुट्यानहरू देखिन्छन् । साना खिरिला पात भएका बुटा, त्यसभन्दा अलि ठूला पात भएका बुटा र तेस्रोमा चाहिँ ती बुटामा रहेका फूल । यी तीन वटा चिज हरिया नै छन् तर पनि तिनको भिन्नताअनुसार हरियोपना पनि फरक छ । नियालेर हेर्नुभयो भने फूलभन्दा मुनिको हरियो, लामा पात भएका बुट्यान र सुइराजस्ता पात भएका बुटाको फरक, तिनको छायाँले यो चित्रको विशिष्टता जनाइरहेको छ ।

मन पर्यो त ? मन पर्यो भने तल केही लेख्नुस् न है !

प्रतिक्रिया
Loading...