नेपाली साहित्यको सम्पूर्ण पत्रिका

खै, अब कहिले जान पाउने हो नेपाल !

बर्मादेखि नेपालसम्म (अन्तिम भाग)

बेलुकीतिर धर्मशालामा खाना खाँदै थियौं, मणिपुर बस्ने अर्जुन गुरूजीका मित्र अनिलजी आउनुभयो; हौरी र कोरोनाले दुवै कारण इन्डियन इमिग्रेसन अफिस भोलिबाटै बन्द हुने र कहिले खुल्ने भन्ने टुङ्गो नभएको बताउनु भयो ।

१२/०३/२०२० को बिहान बर्माको भूमिमा थियो हाम्रो टोली, आफ्नो माटोमा । कोलकत्ताबाट रातको एघार बजेतिर हामीलाई बोकेर उडेको फ्लाइडले दुई घण्टामै रङगुनको इन्टरनेसनल एयर्पोटमा ल्याइपुर्यायो । सायद बिहीबारको दिन थियो । रातीको दुई बज्दा हामी चिम्यीट्याइ नगरको खाइस्वेवा होटेलमा ढुक्कसँग निश्चिन्त भएर बसेका थियौं । अँ, निद्रा भने पटकै लागेको थिएन मलाई । छेउमा सरगम पनि निदाउन सकेकी थिइनन् । पक्कै पनि मधूदी, सीमादी , राजन र भागवत सरको पनि यही अवस्था थियो ।

काठमडौंबाट छुटेको पाँच दिनपश्चात बल्लतल्ल पुगेका हौं बर्मा । नेपाल जादाँभन्दा धेरै गुना बढी बर्मा फर्कदाँ बाटाभरि नै जसो हण्डर खाएर हो कि, दु:ख र चिन्ता एकैचोटि बेहोर्नु परेर हो, आफ्नो जन्मभूमी टेक्न पाउँदा मन धेरै नै हर्षित थियो । हामी कति खुसी थियौं त्यसलाई मैले शब्दमार्फत् व्यक्त गर्न सक्दिनँ । जति नै प्रयास गरे पनि ती हर्षोल्लासले भरिएको अनुभूति पोख्न म असफल छु।

“जननी जन्म भूमीश्च:स्वर्गादपी घरायसी” बल्ल यस भनाइको भावपूर्ण अर्थबाट साक्षात भएकी थिएँ। आफ्नै माटोको सुगन्ध,आफ्नै हावा, पानी सबै वरिपरि पाउँदा साँच्चै स्वर्गमा छु कि जस्तै हुने । केही समय अगाडिसम्म डर र अत्यासले स्वास लिँदा भित्र कताकताबाट बेसरी चर्किएर दु:ख्ने मुटु पनि आमाको काखमा आएपछि आनन्द र शान्त बनेको थियो।

यी सबै अनुभूति हुनुको एउटैमात्र कारण थियो, फर्कंदा यात्राले दिएको सास्ती । म त यसो भन्छु कि, हामीले दिँदै आएको परीक्षा । झन्नै त्यस परीक्षामा उत्तीर्ण भयौं, फेल भएको भए के हुने थियो ? त्यसको कल्पनासमेत गर्न सक्दिनँ म ।

त्यो रातको केही समय रङ्गुनमा बितायौं र बिहान हुनेबित्तिकै मान्डलेतिर लम्की गयौं, नेपालबाट फर्कंदाँ यात्रालाई सम्झदै।

पाँच तारिख बिहान अन्धकारमै विद्यापीठबाट बिदा भएर झापातिर लागेका थियौं । पाठशालामा कति धेरै माया र आफ्नोपन विष्णु सर, सुमन सर, कल्याणी मेम, सुमित्रा मेमहरूले दिनुभएको थियो । त्योभन्दा ठूलो कोसेली अरू केही पनि थिएन । हिंड्ने बेला पनि ज्ञान सर र विष्णु सरहरूबाट थुप्रै आशीर्वाद र यात्राको शुभकामना पनि साथमा लिएर गन्तव्यतिर लागेका थियौं।

कक्षा दशको पाठ्यपुस्तक तयारी जारी रहेकाले ज्ञान सर अझै एक हप्तापछि मात्र फर्किने हुनु भयो । त्यसो हुनाले पुन: भीमजीकै अभिभावकत्वमा आउँदा जसरी नै फर्कंदा पनि उहाँकै योजनानुसार पाइला बढ्दै गए।

मलाई लाग्छ, मिर्मिरे उज्यालोमा हाम्रो बस निकै उकालो फालहानी सकेको थियो । काठमाडौं खाल्टो त अघि नै पछि छुटिसकेछ । सायद मन पनि । पाठशालामा पाएको न्यायो मायाले मन लोभिएर उतै उतै मात्र कुदेजस्तो लाग्थ्यो ।

पहिला पहिला कोही नेपाल घुमेर आएका, नेपाल देखेर आएकाहरूसँग भेटे भने मैले जहिले एउटै प्रश्न गर्ने गर्थें, “नेपाल कस्तो छ ?”

इष्टमित्रको साथ पाएकाहरूबाट जवाफ सुन्दा उडेर भर्खरै गइजाम् हुन्थ्यो तर कोही भने “त्यहाँ बस्न, खान, आउन, जान, बिल्कुलै सुविधा छैन । त्यसमाथि घरिघरि नेपाल बन्द हुने । हामीले नेपालबाट आउनु भएका भनी जुन किसिमको खुसी र सम्मान दिन्छौं नि, उनीहरूलाई भने जातासुकैको नेपाली होस् कुनै पनि प्रवाह छैन । एउटा पर्यटकलाई भन्दा बढी व्यवहार गर्दैनन् । कुनै ठाउँमा त त्यति पनि छैन र पो !”, यो सुन्दा भने मन दु:खी हुन्थ्यो । एकदम नरमाइलो लाग्थ्यो ।

तर अब भने म सबै बर्मेली नेपालीहरूलाई भन्न सक्छु, “नेपालले पनि हामीलाई उति नै माया गर्छ जति हामी गर्छौं । कोसौं पर रहेका आफ्ना पुर्खाहरूलाई धेरै सम्मान गर्छ । नेपाललाई पनि हामीलाई झैं आफ्नो भाषा, साहित्य, संस्कृति, परम्परा चिरकालसम्म बाँचोस्, बर्माभित्र कतै गाभिएर नजाओस् भनी चिन्ता छ !” हो, म निसङ्कोच भन्न सक्छु।

आफ्नो पितृभूमी प्यारो । सुन्दर नेपालका सम्झना, बिर्सना, कल्पना र परिकल्पाको ठूलो मान चित्र नै बनिसकेको थियो मेरो मनभित्र । म बसभित्र थिएँ तर मभित्रको म भने आफैंले बनाएको मानचित्रमा डुबुल्की मार्न तल्लीन थियो । बाटोभरि न केही हर्ष थियो न कुनै विस्मात । त्यसैले कहाँबाट कहाँ जादैछौं र कहाँ पुगिसक्यौं त्यसको केही पत्तो भएन । बाटामा एउटा सप्तकोसी नदीबाहेक सबैजसो पानीविनाको बगरैबगर भने मैले ख्याल गरें । अहिले बल्ल थाहा पाउँदै छु, त्यतिखेरको पानीविनाको पूल मनसुनमा पानी बढेर खोलो कट्नै हम्मेहम्मे पर्दो रहेछ ।

काठमाडौं जादाँ रात्रीबसमा गएको हुनाले इटहरी, दमक, बिर्तामोड यी़ सब रातको कालो छायाले छोपेर देख्न पाइएन । तर फर्कंदा भने यी दृश्य पनि हेर्न छुटाइनँ । फेरि अघिल्लो दिनै हजुरआम़ालाई भेट्न जानुभएका भागवत सरलाई पनि विराटनगरबाटै सँगै लिएर झापातिर लागेका थियौं । यसको परिबन्द सबै भीमजीले नै मिलाउनु भयो । एकछिन भए नि विराटनगरलाई हेर्ने धोको चाहिँ पूरा भयो।

साँझ पर्न लागेको थियो बिर्तामोड पुग्दा । काँकरभिट्टामा होटल व्यवस्तित नहुने हो कि भनी भीमजीकै योजनानुसार बिर्तामोडको होटल हिकोलामा रूक्यौं ।

म नेपालमा छु भन्ने कुरा झापास्थित दिदीलाई थाहा भइसकेछ । बुबा र काकाहरूले पनि बर्माबाटै भेटेर आउने परिबन्द बनाइदिएकाले त्यहाँबाट म उहाँलाई भेट्न गएँ । खुसी त थिएँ नै आफ्नी दिदी हुनुहुन्छ भन्दा, साथै आश्चर्यचकित पनि थिएँ ।

बिहेपछि बर्माको शाषककालमा सासु ससुरासँगै नेपाल आउनुभाको रहेछ । माइतीबाट दूर झापा बस्नुभएको उहाँसँग म पहिलोपटक भेट्दै थिएँ । “केही वर्ष अगाडि म पुगेकी हुम् । तेरा’मा’नि गाथें…. तँ पढ्दैथिस् होला, त्यै भर तँलाई था’भ’न ।” कुराकानीका बीचमा उहाँले भन्नुभएको थियो ।

माइतीबाट कोही भेट्न आउनु, उनीहरूलाई देख्न पाउनु चेलीको लागि खुसीको कुरा हो । माइतीको माया र सञ्चो-बिसञ्चोको चासो सबै चेलीलाई हुन्छ, चाहे जुनसुकै उमेरकै किन नहोस् । वृद्धवस्थातिर पाइला चाल्दै गरेकी दिदीमा पनि त्यही भाव स्वत: झल्केको थियो । त्यो रात म उहाँहरूको परिवारमा सामेल भएँ । दिदी, भिनाजू, भतिजी, भतिजा, बुहारी सबैलाई चिनेँ । दुःख सुखका कुरा उहाँहरूबाट सुन्दा “झण्डै यो मीठो अनुभूति मबाट छुटेन” भन्ने लाग्यो।

भोलिपल्ट बिहानै चियानास्ता गरेर हाम्रो टोली काँकरभिट्टातिर लाग्यो । भीमजीले एउटा बस रिजब गर्नुभयो, ताकि त्यसैमा दार्जिलिङ हेर्दै सिलिगुडीसम्म पुगियोस् ।

वातावरण पनि हामी झैं चिन्तित देखिन्थ्यो । पीरले मन रमाएको नहुँदो हो, हाम्रो बिदाइमा । अध्यागमन विभागको काम सकेर हामी नेपालबाट बिदा भयौं । हाम्रो मन पनि वातावरणले छोडेको दिशातिरै ढल्केको थियो । नेपालबाट बिदा हुँदाको पीर र अब कहिले आउन पाउने हो त्यो चिन्तामा । जीवनले यति सुनौलो मौका फेरि दिने हो कि हैन ! तर के गर्नु, घर त आखिर फर्कनु नै थियो । आउँदा हर्षले मन भरिएको काँकरभिट्टा अहिले फर्कदा यही चिन्ताले आँखा टिलपिलाएका थिए मेरा । मित्रहरू पनि स्तब्ध हुनुभाको थियो।

यस्ता कति इच्छा र आकाङ्क्षाहरूलाई मनमै राखेर पुनः बर्मा फर्कनु भएका सरगम, सीमादी, मधूदी र राजन बढी नै भावुक हुनुभाथ्यो।

सीमादीले भन्नुभयो,”गुरूमा, तपाईंहरू त जे भए नि आफन्तलाई पनि भेट्नु भो, उहाँहरूबाट पाएको अपनत्व छँदैछ । हामी भने त्यही पनि अनुभव गर्न पाएनौं । तेह्रथुम कस्तो होला ?, हाम्रो बोजू, बाजे कस्तो ठाउँमा बस्नु भाथ्यो होला ? त्यो हेर्नै पाइएन ।”

भीमजीलाई यो अनुभव सायद सामान्य लाग्ला, भागवत सर र मेरा निम्ति अतुलनीय थियो । यस्ता कति इच्छा र आकाङ्क्षाहरूलाई मनमै राखेर पुनः बर्मा फर्कनु भएका सरगम, सीमादी, मधूदी र राजन बढी नै भावुक हुनुभाथ्यो।

चारैतिर नेपाली नै नेपाली, स-साना झ्यालढोका भएका माटोका दुईतले घर, पिँढीमा ढिकी जाँतो, आँगनमा माटाकै अग्लो तुलसीको मैरो, केही तल कलकल बग्ने नदी, अम्खोरामा पानी, भुइँमा पलेंटी मारेर अँगेनाको वरिपरि बसी कोदोको, मैकोको ढिँडो गुन्द्रुको झोलसँग यिनै गाउँको हाम्रो नेपालीहरूको मौलिक परिवेशको अनुभव गर्न मन लागेको थियो । यी सबैको अनुभव गर्न भने छुट्यो जसले नेपालबाट अतृप्त फर्के झैं बनाइरह्यो ।

तैपनि अगाडि लम्किदै गयौं।

दार्जिलिङको चिया, दार्जिंलिङको रेल विश्वभरि नै प्रख्यात छ । तर मन भने किन हो किन… खिन्न भइरहेको थियो । फेरि दार्जिलिङसँग बर्माको पुरानो साहित्यिक नाता पनि छ । डेढ दशक अगाडि यहीँबाट सम्पादन भएका थिए हाम्रा पाठ्यपुस्तक, जो हाम्रो अघिल्लो पुस्ताले वरिष्ठ साहित्यकार पारसमणि प्रधानहरूका लेख रचनाबाट पनि नेपाली साहित्यलाई चिन्ने अवसर पाएको थियो । खुसी त थियो तर नेपालमा झैं हुने उत्साहित र आकर्षित भाव उतै छुटेपछि केही खल्लो लाग्नु स्वाभाविकै हो । त्यसैले लामो समय नलगाइकन झटपट घुम्यौं र सिलिगुडीतिर लागि गयौं ।

पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला, सिलिगुडी सहरको विमानस्थल भएको ठाउँ रहेछ बागडोगरा । फर्कदा फ्लाइबाटै फर्कौं भन्ने सबैको सल्लाहानुसार बागडोगरा बस्यौं । भीमजीले नै समयतालिकानुसार टिकटको बन्दोबस्त गर्नुभएको थियो । त्यहाँबाट कोलकत्ता र कोलकत्ताबाट इम्फाल हुँदै बर्मा बस्ने योजनाकासाथ । तर अनुहारमा खुशी कत्ति पनि नहुनुका साथै मन पनि अलिअलि डराए जस्तो भाथ्यो। आखिर त्यो, सङ्कट आउनु अगाडि मनले गरेको पुर्वानुमान रहेछ जसलाई हामीले ठम्याउन सकेनौं ।

मान्डले हिँडेको बसले रङ्गुरबाट एक सय पाँच माइलको दूरीमा रहेको ठाउँमा खाना खान रोक्यो । रूचे नरूचे पनि खायौं । आखिर पाँच दिनपछिको सुखको मानो भनेकै यही थियो ।

खाना खेलाउँदै एकोहोरो भएर मधूदीले भन्नुभयो, “कोलकत्ताको बारेमा सोच्दा पनि मन सिरिङ्ग हुन्छ यार, शरीरैभरि काढाँ उम्रिए जस्तै ।”

हालत सबैको उही थियो । हामी छ जानै सोच्न चाहदैनौं तर त्यो समय मनसपटलमा यसरी गडेको छ कि छिनछिनमा आएर तर्साइरहन्छ । जसबाट भाग्न किञ्चित सक्दैनौं अनि त्यसैको बारे कुरा गर्न बाध्य भइजान्छौं।

“७ तारिखबाट ११ तारिखसम्मको यात्रामा भोगेका दु:ख, पीर, चिन्ता, धोका र लापर्वाहहरूलाई लेख्ने हो भने पनि एउटा उपन्यास बन्छ होला है !” सरगमको भनाइले भावुक हुँदै गएको माहोललाई थोरै हलुको बनाउँदै भागतव सरले भन्नुभयो, “सुर्ता किन लिने ? जसोतसो भानी आइपुगि गइयो । भोलि बिहानसम्म त आफ्नै परिवारसँग आफ्नो घर आँगनमा हुन्छौ क्यार !”

सिलिगडीमा एक रात बसेर भोलिपल्ट बिहान बागडोगराबाट कोलकत्ताको लागि फ्लाइट चढेका थियौं । यस्तै बाह्र बज्न लागेको थियो लेन्ड गर्दा । भीमजी त्यहाँबाट मायापुरतिर जाने हुनुभएको थियो तर पनि हाम्रो लागि इम्फालसम्मको फ्लाइट टिकटका साथै त्यहाँबाट मोरे हुँदै कसरी बर्मा पस्ने, कसकसलाई कन्टेक गर्दै जाने, ती सबै कुराको तालिका बताएर मायापुरतिर लाग्नुभो।

एक घण्टाभित्र एउटा फ्लाइडबाट उत्रेर अर्कोमा चढ्ने टिकट मिलाउनु आफ्नो खुट्टामा आफै बञ्चारो हान्नु बराबर रहेछ । फेरि दुईवटा अगल अलग फ्लाइट ।

हामी छ जना उहाँले भने झैं छिटछिटो चेकिंग काउन्टर गयौं इम्फालको लागि । त्यहाँ पुगेपछि पो खङ्ग्रङै भयौं । चेकिंग अघि नै बन्द भइसकेछ र केही मिनेटमै उड्ने तयारीमा रहेछ जहाज । काउन्टर नम्बर चौधमा गएर बुझ्दा पो थाहा भयो, राम्ररी विचारै नगरी टिकट काटिएको रहेछ । एक घण्टाभित्र एउटा फ्लाइडबाट उत्रेर अर्कोमा चढ्ने टिकट मिलाउनु आफ्नो खुट्टामा आफै बञ्चारो हान्नु बराबर रहेछ । फेरि दुईवटा अगल अलग फ्लाइट ।

“त्यसैले पो चेकिंग काउन्टरसम्म छिटोभन्दा छिटो जान भन्नु भएको रहेछ । समय नभएको र हामीले फ्लाइड मिस हुने पूर्वानुमान भएको थियो, सायद ! केही समयको फरकमा उड्ने अरू फ्लाइड हुँदाहुँदै किन त्यतापट्टि विचार पुर्याउनु भएन भीमजीले !”, यही सोचाइ बारबार आइरह्यो । भारतीय सिम त थिएन नै, केही समयपछि बर्मा भित्रिने प्लानले भारू पनि मिठाइ खर्चबाहेर बाँकी थिएन।

आफू टेक्नु न समात्नु भएको कुरा भागवत सरले त्यहाँ वाचमेनसँग फोन मागेर बताएपछि फर्केर आई भारू पन्ध्र हजार दिनु भएछ भीमजीले । उहाँको त्यो सहयोगी भावनालाई कदर गरे पनि त्यहाँबाट झेल्नु परेको दु:खको जिम्मेदार सिर्फ उहाँ नै हुनुहुन्थ्यो, जसलाई बिर्सन हामी कसैले सकेनौं ।

बर्मा च्याट त थियो, के गर्नु पैसा हुँदाहुँदै पनि कङ्गाल भए जस्तो अनुभव भएको थियो । रेलबाटै फर्कने निधो गरेर त्यहाँका ट्याक्सीवालाले बताएअनुसार हाउडा स्टेसनतिर लाग्यौं । म, सीमादी र राजनलाई बोकेको ट्याक्सी अगाडि लागिगो, भागवत सर, मधूदी र सरगमहरू पछि नै छोडिए ।

हाउडा स्टेसन भारतकै सबैभन्दा ठूलो स्टेसन रहेछ । मान्छेको उस्तै भीड । हामीलाई वल्ला छेउमा उतारे छ र उहाँहरूलाई पल्ला छेउमा । यति धेरै मान्छेको जीवनमै पहिलोपटक देखेजस्तो लाग्यो । त्यस भीडमा हामी अलपत्र भयौं । प्लेन छुटोस्, ट्रेन पनि छुटोस् तर साथ नछुटोस् । हामीलाई उहाँहरूको चिन्ता उहाँहरूलाई हाम्रो । त्यहाँको बाटो, घाटो, मान्छे र त्यो परिवेश देख्दा यति धेरै दु:खित बनाएको थियो, त्यसमाथि सावधान इन्डिया र क्राइमपेट्रोल जस्ता सिरियलको छाप परेर होला मनमा जथाभावी कुरा खेलेर उब्जिएको डर ! त्यो समय त लेखी साध्य छैन । यस्तो लाग्छ, हामी ती मानिसहरूको भीडमा चेतना खुस्केर विनागन्तव्य हिँडिरहने बेवारिस जस्ता भएका थियौं । उहाँहरूसँग सम्पर्क गर्न सक्ने एउटै मार्ग रहेको थियो, इन्टनेट ।

“जहाँबाट भए नि सिम किनेर लेरआउ राजन, हामी यही पर्खन्छौं !”, भनी राजनलाई पठायौं म र सीमादीले । आधा घण्टापछि सिम त हैन भागवतसरलाई सँगै लिएर आए ।

अब हाम्रो अभिभावक भनेकै भागवत सर हुनुहुन्थ्यो । उहाँलाई देखेपछि खुसीको ठेगानै रहेको थिएन । सीमादीको आँखाबाट आँसुका धारा बगेका थिए । मलाई भने अब त जस्तो सुकै समस्या आए पनि सामना गर्न सक्छु भन्ने लागेको थियो।

मान्छेलाई संगतले मात्र चिन्न सकिन्छ । बाहिरबाट हृष्टपुष्ट भए नि भित्रबाट कोही खोक्रा हुन्छन् । एकअर्काको चिन्ताले व्याकुल भएका हामी जब भेटौं त्यहाँबाट एकछिन पनि छुटेनौं । तातो चीसो, तीतो मीठो सबैमा सँगै । त्यो दिन कोलकत्तामै बस्यौं । डर त लागेको थियो, तर हिम्मत थियो मित्रहरूको साथ जो थियो ।

भोलिपल्ट त्यस्तै बेलुकाको पाँच बजेबाट हाउडाको कामरूप एस्प्रेसमा चढेका हामी करिब बत्तीस घण्टाको लामो यात्रापछि डिमापुर आइपुग्यौं । त्यो यात्रामा आफ्ना त आफ्नै थिए, पराई पनि आफ्ना भएका थिए।

कोलकत्तामा टिकट बेच्ने दिनेशजी धन्यवादका पात्र हुन् । कोलकत्ताको त्यो डरलाग्दो ठाउँमा मान्छे मान्छेसँग डराउनुपर्ने, जोगिनुपर्ने परिस्थितिमा हाम्रो दयनीय अवस्था देखेर धैर्य रहन र निश्चिन्त हुन मात्रै लगाएनन्, उनैले टिकटको बन्दोबस्त, होटलको बन्दोबस्त मात्रै नभएर दुई छाक खाना पनि खुवाएर पठाए । उहाँसँग हस्पट मागेर ज्ञान सरलाई सम्पूर्णस्थिति अवगत गरायौं । दुई दाजुभाइ त थिए नै साथमा हामी चार दिदीबहिनी, के गर्नु जति नै हिम्मत भए नि नारी हो, आफ्नो सुरक्षाको चिन्ता लागि हाल्छ । तर ज्ञान सरलाइ यी सबै कुराकाे जानकारी गराइसकेपछि भने डर हराएर गयाे । जस्तो सुकै परिस्थिति आए पनि उहाँले हामीलाइ सधैँ टाढाबाट पनि हाैसला दिइरहनु भयाे । साथमा भागवत सर, राजनजीहरूकाे साथले थप अाँट बढेकाे थियाे ।

ट्रेनमा हाम्रै अगाडिको सिटमा बस्नु हुने मुम्बईबाट आफ्नो घर सिक्किम फर्कदै गर्नु भएका पासाङ अङ्कल र रितिक आन्टीमा आमाबुबाकै छाया पाएजस्तो भयो । नेपालीले नेपाली भेट्टाएका थियौं ।आमाबुबाले छोराछोरी, छोराछोरीले आमाबुबा !

सुरूमा त आफूमा धोका भएको भन्ने लागेर मनमा बज्र नै प्रहार भएजस्तै भएको थियो । उहाँमाथि सङ्का गर्ने एउटै कारण थिएन । जाँदा जसरी सकुशल लानुभएको थियो टिम लिडरजीले फर्कदा पनि त्यस्तै होला भनेर आँखा बन्द गरेर विश्वास गरेका थियौं । त्यसलाई उहाँले कुन रूपमा लिनुहुन्छ, त्यो मलाई थाहा छैन । तर विश्वासको घरमा प्वाल पारिदिनु भयो भनी उहाँलाई सम्झदा पनि आँखा टिलपिलाउँथे । तर जति जति यात्रा लम्बिदै गयो उति नै बढी सोच्ने समझ्ने समय मिल्दै गयो । पछि पछि त ठिक विपरित महसुस हुँदै गयो । अब भने उहाँ (भीमजी) पनि धन्यवादको पात्र हुनुभयो ।

यात्रा गर्नु भनेकै सिक्नु, पुस्तक बाहिरको वास्तविकताको अध्ययन गर्नु हो । एउटा मानिसमाथि अन्धाधुन्ध विश्वास गर्नु कत्रो वज्रपातको आह्वान गर्नु रहेछ भन्ने ज्ञान दिनुभयो। कठिनाइसँग डट्ने हिम्मत दिनुभयो । एक झलक त्यो टिकटमा आँखा लाएर पनि नहेरेको आफ्नो पनि लापर्वाहीकै कारण भएको भन्ने महसुस गराउनु मात्रै भएन, आजको शिक्षित युवावर्ग भन्नसमेत अप्ठ्यारो लाग्ने गरी स्थितिबोध गराउनु भएका भीमजीप्रति म आभारी छु।

डिमापुर पुगेपछि धर्मसेवक संघका मुख्य शिक्षक अर्जुन गुरूजीको साथ बनिरह्यो । उहाँको निर्देशन र मित्रहरूको सहयोगमा हामी सकुशल मणिपुर पनि पुग्यौं । ज्ञान सर पनि पर रहेर पनि हाम्रो साथ र हौसला बढाए रहेकै हुनुहुन्थ्यो ।

बेलुकीतिर धर्मशालामा खाना खाँदै थियौं, मणिपुर बस्ने अर्जुन गुरूजीका मित्र अनिलजी आउनुभयो; हौरी र कोरोनाले दुवै कारण इन्डियन इमिग्रेसन अफिस भोलिबाटै बन्द हुने र कहिले खुल्ने भन्ने टुङ्गो नभएको बताउनु भयो ।

दश ताखिरको दिउँसो दुई तीन बजेको थियो, मणिपुर पुग्दा । त्यो समय होली पूर्णिमाको थियो । हामीले पनि डिमापुर आउँदा रेलमा टिकासिका लाएर होलीपर्वको स्वागत गर्यौं । मणिपूर भने धेरै रङ्गिन देखिन्थ्यो । बर्मा पस्न समय नमिल्नेजस्तो लागेर त्यो दिन त्यहीँ बसेर भोलि ढुक्कसँग बर्मा पसौंला भनी त्यहीँ एउटा धर्मशालामा थकाइ मार्यौं ।

त्योबेला चीनबाट फैलिएरो कोरोनाले इटली, अमरिकन र पेरिसतिर छ्याप्छ्याप्ती पाइला चालेको न्यूज चारैतिर बढ्दै गएको थियो । केही देशहरूले सतर्कता अपनाइसकेका थिए ।

बेलुकीतिर धर्मशालामा खाना खाँदै थियौं, मणिपुर बस्ने अर्जुन गुरूजीका मित्र अनिलजी आउनुभयो; हौरी र कोरोनाले दुवै कारण इन्डियन इमिग्रेसन अफिस भोलिबाटै बन्द हुने र कहिले खुल्ने भन्ने टुङ्गो नभएको बताउनु भयो । बताएपछि ज्ञान सर र अजुर्न गुरूजीको योजनानुसार केन्द्रीय कोषाध्यक्ष गनेश बानियाँजीको सहयोगमा भोलिपल्टै इन्फालबाट पुन: कोलकत्ता र कोलकत्ताबाट रङ्गुन उडेर आइपुग्यौं । केन्द्रीय कोषाध्यक्ष गनेश बानियाँ सर, अर्जुन गुरूजी र उहाँका मित्रहरूमा पनि हार्दिक आभार प्रकट गर्दछु।

मान्डले पनि आइपुग्नै लागेको थियो । अमरपुर त पाँच नबज्दै पुगिसकेका थियौं । त्यहाँ आइपुग्दा मेरो मनले सबैलाई सम्झदै गयो । नेपाल सुदुर पश्चिम धनगढी, कैलालीमा आयोजित विश्व नेपाली साहित्य महोत्सव कार्यक्रमा सहभागी हुने अमूल्य अवसर प्रदान गर्नुहुने विश्व नेपाली साहित्य महोत्सवका अध्यक्ष, मदन पुरस्कार विजेता रामलाल जोशी सरलगायत आयोजक समितिप्रति बर्मेली टोलीको तर्फबाट पुनः आभार प्रकट गरें । साथै यातायातका लागि सबै प्रबन्ध मिलाइदिनु हुने यादव गौतम सर, अश्विनी कोइराला सर , बसोवासको व्यवस्था मिलादिनु हुने हिन्दू विद्यापीठका माननीय सर चिन्तामणी योगीज्यू एवं विष्णु डांगीज्यूहरूको शीतल आश्रय सदाका लागि अविष्मरणीय रहनेछ।

मेरो आँखाबाट नेपाल हेर्न चाहनुभएका आमा, बुबाहरूमा मेरो नमन छ । र कामको बोझ आफैं सहेर नेपाल पठाउन साथ दिने दिदी र बहिनीप्रति पनि म आभारी छु।

सबैभन्दा महत्वपूर्ण भूमिका केन्द्रीय शिक्षा विभागको छ । उहाँहरूले यो अवसर नदिनु भएको भए अझै पनि “नेपाल कस्तो छ ?” भन्ने प्रश्नमा अट्की रहने थिएँ । साहित्यको विशाल सागरको बारे कहिले पनि जान्न सक्दिन थिएँ । त्यसैले ज्ञान सरलगायत केन्द्रीय शिक्षा विभागहरूमा मेरो कोटीकोटी नमन !

च्वेसेकेन् बसपार्कबाट भागवत सर, मधूदी , सरगम र राजन प्यींउल्वीन्को बाटो हुँदै मोगोकतिर लाग्नुभयो । सीमादी पनि उहाँ केही काम सिध्याउनु छ भन्दै होटलतिर बस्नु भयो । म आफ्नो घरतिर लागें।

पच्चीस दिन अगाडि नेपाल जाँदै गरेकी ममा र आज पच्चीस दिन पछि घर फर्कदै गरेकी ममा केही अन्तर भएजस्तो लागेको थियो । साहित्यको मायासँगै धेरै अनुभवहरूले भिन्नै बनाएको थियो मलाई । साहित्यप्रतिको रूची अझै प्रगाढ बनाएको थियो । अब त केवल एउटै प्रश्न आउँछ मनमा, “खै,अब कैले जान पाउने हो नेपाल !”

प्रतिक्रिया
Loading...