नेपाली साहित्यको सम्पूर्ण पत्रिका

वस्तु, घटना र यथार्थ

हामी यथार्थका वस्तु र घटनाहरूका बुझाइहरूमा एकरूपता ल्याउनलाई तिनीहरूका बुझाइहरूलाई सामान्यीकरण अनि सार्वभौमीकरण गर्ने गर्दछौँ, तर तिनीहरूलाई त्यसरी नै बुझिनुपर्छ भन्ने कुनै अनिवार्य छैन।

फिलिप बल (१९६२) बेलायतका एक विज्ञान लेखक हुन। उनले बीस वर्ष अघिदेखि विज्ञान विषयको जर्नल ‘नेचर’ को सम्पादन गर्दै आइरहेका छन्। उनले विज्ञानका अरू थुप्रै जर्नलहरूमा आफ्ना लेखहरू प्रकाशित गरेका छन्।

बलले आफ्नो ‘रियलिटी? इट्स ह्यू मेक इट’ भन्ने सैद्धान्तिक विज्ञान सम्बन्धित लेखमा (न्यू साइन्टिस्ट , अङ्क २३६, सङ्ख्या ३१५१, वर्ष २०१७) मानवज्ञानको सीमितता अनि यथार्थको ज्ञानमा पर्यवेक्षक अथवा अवलोकनकर्ताको रूपमा मानव भूमिकालाई स्पष्ट रूपमा देखाउने कोसिस गरेका छन्। तर यस लेखमा चाहिँ उनका यथार्थ र क्वान्टम सिद्धान्तका विचारहरूसित इमानुएल कान्टका ज्ञानमीमांसामा पाइने मानवज्ञान विषयका विचारहरू र समीक्षात्कम दर्शनका अनिर्धारणवाद (इन्डेटरमिनिजम), वस्तु आफैँआफमा र स्पेश र टाइमका विचारहरू कति प्रासङ्गिक छन् भन्ने विचार संक्षिप्तमा देखाउने प्रयास गरिएको छ।

कान्टका अनुसार वस्तुज्ञान सम्भव छ, तर त्यो मानवज्ञान हो । किनकि त्यो हाम्रा शुद्ध आवधारणा अनि वस्तु प्रत्यक्षको परिणाम हो। त्यसरी नै प्रकृतिको ज्ञान पनि मानव मस्तिष्क र प्रकृतिमाझको एकरूपताको परिणाम हो तर मानव ज्ञानको आफ्नै सीमितता छ।  संश्लेषणको एकता मात्र मानव मस्तिष्कको एकरूपताद्वारा सम्भव हुँदैछ, अनि त्यही मस्तिष्कको एकरूपताले गर्दा नै मस्तिष्क र प्रकृतिबीचको एकता सम्भव हुँदैछ। मानिसले वस्तुलाई आफ्नै प्रकारले जाने तापनि वस्तु आफैँआफमा के हो त्योचाहिँ जान्न सक्दैन। मानव विश्व र ब्रह्माण्डको ज्ञान वस्तुको ज्ञानजस्तो नभएर सारा अवस्थित वस्तुहरूको एक आदर्श समुच्चय मात्र हो।

सान्दर्भिक पोस्ट

जीवनको बचाइ

जीवनको परिभाषा

भाइरस, भय अनि बचाइ

ईगम खालिङ

बलको निम्ति यथार्थ (वास्तविकता) हामीदेखि बाहिरका वस्तु र घटनाहरूको यथार्थ होइन। हामी मानव आफैँले पनि यसमा योगदान पुराइरहेका हुन्छौँ। हामी यथार्थका वस्तु र घटनाहरूका बुझाइहरूमा एकरूपता ल्याउनलाई तिनीहरूका बुझाइहरूलाई सामान्यीकरण अनि सार्वभौमीकरण गर्ने गर्दछौँ तर तिनीहरूलाई त्यसरी नै बुझिनुपर्छ भन्ने कुनै अनिवार्य छैन। त्यसको मुख्य कारण मानव मस्तिष्कको व्यक्तिपरक प्रकृति अनि विश्वका वस्तुहरूको स्वतन्त्रत अस्तित्वले गर्दा पनि हो। त्यसरी यथार्थका वस्तु र घटनाहरूको पर्यवेक्षक (अवलोकनकर्ता) र प्रकृतिमाझ मौलिक रूपमा एउटा घनिष्ठ सम्बन्ध हुन्छ। वस्तु र घटनाहरूको यथार्थ नै (वास्तविकता) सम्पूर्ण रूपमा यथार्थ होइन किनभने तिनीरहरू हामीबाट स्वतन्त्र छन् ।

उदाहरणहरूका निम्ति:

१. म मरेर बिलाए तापनि हाम्रो पृथ्वी र आकाशगङ्गा रहिरहन्छन्। यसको मतलब यो होइन कि म मर्छु अनि मसितै सम्पूर्ण विश्व र ब्रह्माण्ड पनि मर्नेछन्।

२. म यो भन्न सक्दिनँ कि सुनामी घटेन किनकि मलाई त्यसको महसुसै (प्रत्यक्ष) भएन । मैले भूकम्प आएको चालै पाइनँको अर्थ यो होइन कि भूकम्भ आउँदै आएन।

हामी ती घटनाहरूको विषयमा हाम्रो योग्यता र क्षमता अनुसार कुरा गर्दछौँ। तसर्थ हामी यथार्थमा जसको विषयमा बात गरिरहेका छौँ त्यो मात्र वस्तु र घटनाहरूको यथार्थ हो तर तिनीहरूको आफ्नै यथार्थचाहिँ होइन।

यथार्थका वास्तविक वर्णन र स्पष्टीकरणहरू सम्भव छैनन् । किनकि हामी ती कार्यहरू आ-आफ्ना योग्यता र क्षमतानुसार गर्दछौँ। यसकारण ती विवरण र व्याख्याहरूमा हाम्रा ‘बुझाइ र संवेदनशीलता’ समावेश हुन पुग्दछन् । यथार्थको पर्यवेक्षक (प्रक्षेक) र संसारका तथ्यहरू बीचमा एउटा मौलिक सम्बन्ध हुन्छ । यस्ता मौलिक सम्बन्ध (अरिजनल रिलेसन्स) लाई कसैले नमान्न सक्दैन।

बलले यथार्थको कुरालाई क्वान्टम फिजिक्सको सिद्धान्तसित सम्बन्धित पर्यवेक्षकको भूमिकाको प्रश्नलाई जोडेका छन् । किनकि यसका सिद्धान्तहरूले विश्व र यथार्थलाई अरू अन्य सिद्धान्तहरूले भन्दा भिन्नै प्रकारले वर्णन गर्दछ। यसले सांसारको प्रत्येक विषयहरूलाई समेटेर उत्तर दिने कोसिस गर्दछ। हामीलाई भनिएको छ कि यथार्थ हामीले सामान्य ज्ञानद्वारा जानिएको अनि सोचेको भन्दा भिन्नै छ। हामी यथार्थको प्रकृतिमा डुबुल्की लगाउन रुचाउँछौँ। हामी मानव चेतनाबाट उपकणहरूको स्तरमा मौलिक आवधारणहरूबाट सिद्धान्तसम्म एउटा महत्त्वमा यात्रा हिँड्दछौँ। यद्पि मानव मस्तिष्कको प्रकृति अनि वस्तुहरूको स्वतन्त्रताको कारणले केही स्पष्टीकारणहरूको माझमा समस्याहरू उत्पन्न हुँदछन्। बलका अनुसार यस विषयमा वैज्ञानिक र दार्शनिकहरूले केही व्यावहारिक उत्तरहरू फेला पार्ने प्रयास गरिरहेका छन्। समस्या के हो भने एउटा घटनालाई दुई पर्यवेक्षकहरूले (अवलोकनकर्ताहरूले) दुई फरक ठाउँहरूबाट महसुस (प्रत्यक्ष) गर्दा त्यस घटनाहरूको भिन्नभिन्नै वर्णन हुन पुग्दछ। हामीले ती दुई पर्यवेक्षकहरूलाई (व्यक्तिहरूलाई) जोडेर जति नै सह-संचालन गरे तापनि त्यहाँ तिनीहरूको बीचमा एउटा अन्तराल (ग्याप) रही नै रहन्छ।

हामी उच्च बुद्धि भएका मानिसहरू यथार्थको बारेमा कुरा गर्दछौँ, त्यसैकारण यथार्थले मानव यथार्थ जनाउँदछ तर स्वतन्त्र वस्तुहरूको आफ्नै यथार्थलाई होइन।

एकतर्फबाट मात्रै हेरेर भन्यौँ भने यथार्थको ज्ञान सम्भव छैन तर त्यसो भन्नु भनेको अहंब्रह्मास्मिवादमा (वस्तुज्ञानको असम्भववादमा) खस्नु समान हो। हामी वस्तु, घटना, र प्रकृतिका अन्य घटनाहरूलाई जान्दछौँ जसले सामूहिक रूपमा हाम्रो यथार्थलाई निर्माण गरेका हुन्छन्।

प्रकृतिको ज्ञान भन्नु नै समयभित्र हाम्रा प्रकृतिका वस्तुहरूका ज्ञान हो। पर्यवेक्षकहरू र प्रकृतिको बीचमा एउटा स्वाभाविक सम्बन्ध हुन्छ। यथार्थ प्रकृतिका वस्तु र घटनाहरूको यथार्थ होइन । किनभने तिनीहरू हामीबाट स्वतन्त्र छन्। हामी तिनीहरूलाई मात्र हाम्रा योग्यता र क्षमतानुसार व्याख्या गर्न सक्दछौँ। यथार्थको कुरा वास्तवमा हाम्रो वास्तविकताको बारेमा हो तर संसारका वस्तुहरू आफैँको बारेमा होइन। हामी उच्च बुद्धि भएका मानिसहरू यथार्थको बारेमा कुरा गर्दछौँ, त्यसैकारण यथार्थले मानव यथार्थ जनाउँदछ तर स्वतन्त्र वस्तुहरूको आफ्नै यथार्थलाई होइन। यसको मतलब यो पनि हुन्छ कि हामी यथार्थ र प्रकृतिलाई आफ्नै प्रयासले (प्रकारले) जान्दछौँ। हामीभन्दा तल्लो तहका प्राणीहरूले अनि हामीदेखि दूर अर्कै ग्रहका सम्भवत: हामीभन्दा पनि उच्च बुद्धि भएका प्राणीहरूले कसरी बुझ्नेछन्, त्यो हामी भन्न सक्दैनौँ।

हामी एक अवलोकनकर्ताविना (पर्यवक्षकविना) हाम्रो यथार्थको बारेमा सोच्न सक्दैनौँ। पर्यवेक्षक र संसारका वस्तुहरू (तथ्यहरू) माझमा एउटा घनिष्ठ सम्बन्ध हुन्छ। हामीले देखिरहेको यथार्थ पर्यवेक्षकले वर्णन र व्याख्या गरिरहेको जस्तै हुन सक्छ, नहुन पनि सक्छ । तर जब हामी यथार्थको बारेमा कुरा गरिरहेका हुन्छौँ तब हामी त्यही यथार्थको बारेमा कुराहरू गरिरहेका हुन्छौँ, जसलाई हामी आफैँले निर्माण गरिरहेका हुन्छौँ।

क्वान्टम सिद्धान्तले हामीलाई वैकल्पिक तथ्यहरूको अथवा प्रकृतिका तथ्यहरूको वैकल्पिक मान्यताको सुझाव दिँदैछ। पर्यवक्षकसित मौलिक रूपमा बाँधिएको हाम्रो यथार्थमा हामीले आजसम्म हाम्रो चेतना आफैँआफमा कुन वस्तुहरूले बनिएको छ त्यो सम्पूर्ण रूपमा जान्न सकिरहेका छैनौँ।  जे जति जान्दछौँ त्यो मानव मस्तिष्कको एकरूपता र प्रकृतिको एकरूपताको संश्लेषणको एकताद्वारा हो। वस्तुत: हामीले कुरा गरिरहेका वस्तु, घटना अनि यथार्थको ज्ञान स्वाभाविक रूपमा मात्र मानवज्ञान हो।

दार्जीलिङ

प्रतिक्रिया
Loading...