नेपाली साहित्यको सम्पूर्ण पत्रिका

विश्वप्रशिद्ध कथा : बिदाको सत्यनाश

गुस्ताभ मुरिन

बालापनदेखि नै मेरो परिवारमा आइतबारहरू विशेष महत्त्व हुन्थ्यो । त्यो दिनको बेग्लै रौनक हुन्थ्यो किनभने हामीकहाँ काम यति धेरै हुन्थ्यो कि बिदा पाउनु एउटा उत्सव बराबर हुन्थ्यो । त्यो दिन घरका सदस्यहरू शयन कक्षबाट स्नान कक्ष, स्नान कक्षबाट भान्सा, भान्साबाट बैठक, बैठकबाट भान्साका बीच यस्तो पंक्तिबद्ध हिँडाइमा हुन्थे कि मानौँ रेलका डिब्बा हुन् उनीहरू ! यसरी बिदाको दिन पनि उनीहरूलाई फुर्सद र विश्राम भन्ने तत्त्व भागमा पर्दैनथ्यो । कहिलेकाहीँ त अवस्था कतिसम्म गएगुज्रेको हुन्थ्यो भने शनिबारका दिन खेलकुद र प्रतियोगिताजस्ता कुरामा भाग लिइसकेका हुन्थे र भोलिपल्ट बिदा भन्नु मात्र हुन्थ्यो ! दुखेको जिउ सहलाउने फुर्सदसम्म पाइँदैनथ्यो । खासमा यस्तो अवस्था चाहिँ मेरै भागमा पर्थ्यो ।

एउटा शनिबार मैले टेनिस खेल्न जानु पर्यो । अब यसका लागि बैंकका एक जना मित्र पिटरसँग पनि बिदा लिनुपर्ने हुन्थ्यो । समाजवादी व्यवस्थाका बेलामा पिटर बैंक विशेषज्ञका रूपमा अमेरिका पुगेका उनी उतै लुके । निकैपछि उनी स्वदेश अर्थात् स्लोभाकिया फर्किए । केही वर्ष स्वदेश बासपछि उनी यस पटक पुनः विदेश जाँदैथिए । तर पटक उनी टाढाको देश जाँदै थिएनन् । छिमेकी मुलुक चेक गणराज्य त हो ! भोलिपल्ट आइतबार हुनाले सबै जनाले जिउज्यान छाडेर टेनिस खेले । खेलपछि बियर पार्टी भयो र त्यसपछि सबै आ-आफ्नो घरतर्फ लागे ।

भोलिपल्ट मेरो पाँच वर्षीया छोरी लुसी सबेरै उठी र मछेउ आएर खेल्न थाली । लुसीकी बहिनी अर्थात् मेरी कान्छी छोरी भेरोनिका दिदीको कल्याङमल्याङका कारण उठेर रून थाली । ऊ रोएको देखेपछि मेरी पत्नीले दूधको बोतल दिएर चुप गराई र भान्सातिर दौडिई ।

शारीरिक थकान अझै मेटिएको थिएन र मलाई ओछ्यान छोड्ने गरी थकान अझै मेटिएको थिएन । यस्तो अवस्थामा म ओछ्यान छोड्ने मन गरिरहेको थिइनँ । लुसीले यही बेला मलाई उसको खेलौनासँग खेलिदिन र ओछ्यानबाट उठ्न आग्रह गर्न थाली । उसको बालहठका अघिल्तिर मेरो केही लागेन र उसको खेलौनाहरूसँग म खेल्न थालेँ । केहीबेरपछि छोरी लुसी आफैँ खेलमा मग्न भएको मलाई महसुस भएपछि म अध्ययनकक्षतिर गालेँ । अध्ययनकक्षको प्रयोग पढाइ-लेखाइका साथसाथै अनुसन्धान, ध्यान , योग, संग्रहालय तथा गोदामका रूपमा पनि गरिन्छ । म त्यहाँ बसेर एउटा योजनाको खाका बनाउन थालेँ तर त्यो पूरा हुन सकेन । त्यसैले मैले त्यो कागजलाई त्यहीँ छाडिदिएँ ताकि समय र फुर्सद पाए पछि पूरा गरूँला !

अस्तव्यस्त रहेका दुई तीन किताबलाई मिलाउँदै थिएँ, फोनको घण्टी बज्यो । त्यही फोन उता लुसी बसेभन्दा केही पर पनि थियो । मैले यता फोन उठाउँदा नउठाउँदै उता लुसीले पनि प्यारालल लाइनको फोन उठाई । उसलाई फोनप्रति बडो लगाव छ । ऊ प्रायः फोनसँग खेलिरहेकी हुन्छे, कहिलेकाहीँ ट्वाकट्वाक हानिरहेकी हुन्छे, कहिले के त कहिले के गरिरहेकी हुन्छे । साथै ऊ त्यो उमेरमा पनि टेलिफोन अपरेटर बन्न चाहनालाई भरपूर सम्भावना पनि देखाइरहेकी हुन्छे । उता पत्नीले पनि भान्साबाट सोही फोन उठाई । हुन त फोन मेरो थियो, तर उनीहरूले पनि फोन उठाएकाले उनीहरूले नै हेलो भनेर आवाज दिए ।

मैले अध्ययन कक्षमा फोन उठाएँ । कुराकानीबाट पत्तो लाग्यो, फोन गर्ने महाशय बशकिम शाह थिए । उनी लामो समयपछि बुढापेस्टबाट अल्बानिया बसाइँ सरेका थिए । उनीसँग दुई साता पहिले नै बुढापेस्टम उनीसँग एउटा साहित्यसम्मेलनमा भेटघाट तथा परिचय भएको थियो । ब्रास्टिस्लाभा आएका कारण भेट्न चाहन्थे । अतिथिसत्कारका लागि स्लोभाकियालीहरू पनि के कम ! उनीहरू त संसारमै अग्रपंक्तिमा पर्छन् ! अतिथिसत्कारका मामिलामा कसैले पनि आफ्नो देशमाथि शायदै खेलवाड गर्ला !

यात्राका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा समय र साहस हो । बशकिमसँग यी दुवैको कुनै कमी थिएन । त्यसैले पनि दिउँसो दुई बजे भोजनपछि भेट्ने टुंगो भयो ।

म अध्ययन कक्षमा रहेको मेच सफा गरिरहेको थिएँ । यत्तिकैमा ढोकामा घण्टी बज्यो । लुसी खुरूर्र दौडेर ढोका खोल्न पुगी । किनभने ठीक यही बेला उसका हजूरबा उसलाई भेट्न आउँथे । सफा गर्दै ग्दा मैले मेचमा एउटा कागजको टुक्रा फेला पारेँ । त्यो पढेपछि भने मेरो जीवनमै भुइँचालो गयो । कागजको टुक्रामा सन्देश लेख्नु र त्यसलाई विष्मयाधिबोधक चिह्न लगाउनु मेरो शोकको विषय थियो । अझै छ । यो चिह्न कुनै पनि कामको महत्त्व कस्तो छ, त्यसमा भर पर्थ्यो । यस सन्देशमा पनि मैले ६ वटा विष्मयाधिबोधक चिह्न प्रयोग गरेको थियो किनभने सन्देश अन्त्यन्तै महत्त्वपूर्ण थियो । मैले आजै २ बजे बस बिसौनी पुग्नु थियो, जहाँ एक जना नेपाली अनुसन्धान सहयोगीलाई लिन जानु थियो । मनमोहनलाई लिन जाने कुरा मैले बिर्सिरहेको रहेछु । उनी हाम्रो विश्विवद्यालयको अनुसन्धान केन्द्रमा अध्ययन गर्न आउँदै थिए । अब के भनूँ, उनलाई पनि आइतबारै आउनु परेको !

मनमोहन र बशकिम शाहलाई मैले नै दुई बजे भेट्छु भनेर वचन दिइसकेँ । बशकिम हाम्रो शहर आइपुगेको त थाहा भयो तर उनी कुन होटलमा बसिरहेका छन्, सोध्नै बिर्सिएछ । त्यसैले मैले उनीसँग भेट्ने कुरालाई स्थगन गर्न शहरका नामी होटलमा फोन गरी खोजेँ तर फेला पार्न सकिनँ । यसबीच लुसी हजूरबासँग जान तयार भई । मैले उसको हजूरबा र लुसी दुवैलाई आफ्नै कोठाबाट बिदाबारी गरेँ ।

लुसीका हजूरबा अर्थात् मेरा ससूरा बा ! उनले मेरो व्यस्तता बुझेर बाहिरैबाट ठीक समयमा खाना खान आउनू है भनी सम्झाए । प्रायः आइतबार हामी एक छाक यस्तै गरी बाहिरै खान्थ्यौँ । तसर्थ बूढाको प्रस्ताव पनि स्वाभाविक नै हो तर मेरो मनमा के हलचल मच्चिरहेको छ भन्ने बूढालाई के थाहा ! ‘आज बूढाकहाँ हुने दिउँसोको भोजनका बेला म हुँला कि नहुँला !’ मेरो मुखबाट अनायाशै शब्दहरू निस्किए ।

भाग्य के भने कान्छी छोरी भेरोनिका अझै सानी छे, अर्थात् चार महिनाकी ! नत्र त उसको पनि इच्छाहरू हुन्थे भने यो आइतबारे बिदाका बेला के मात्र सास्ती थपिन्थ्यो होला !

अब म दुई जना पाहुनाका बीच चेप्टिएँ भन्ने लागेपछि मैले याना अर्थात् मेरी पत्नीसँग सहयोग मागेँ । उनलाई त्यो बस बिसौनीको ठेगाना बताएँ, जहाँ मैले बशकिम शाहलाई भेट्नु थियो । उसले बशकिम शाहलाई ल्याइदिई भने त हल्कै होला भन्ने लाग्यो । त्यसपछि यानाले पहिल्यै तयार पारेको सुपलाई हतारमा सुरूपसुरूप पारेँ र मनमोहनलाई लिनका लागि ट्याक्सी लिएर निस्किएँ ।

अब मनमोहनको बस्ने व्यवस्था स्लोभाक एकेडेमीको कामदारले मिलाउनु पर्ने भएकाले उनलाई लिएर म ती कामदारलाई भेट्न पनि जानु थियो । त्यसो त ती कामदारले हप्तैभरि मनमोहन कहिले आउँछन् भनेर सोधिरहेकै थिए । तर मलाई के उचित लाग्यो भने ती कामदार लिएर मनमोहनलाई भेट्न जाऊँ । त्यसपछि मनमोहनलाई जिम्मा लगाऊँ । अनि, बल्ल म बशकिमकहाँ जानुपर्ने अवस्था थियो । कामदार मलाई देख्नेबित्तिकै खुसी भयो र किन भेट भयो भन्ने उसले बुझिहाल्यो ।

त्यसपछि ट्याक्सीमै मनमोहनलाई लिन कामदार र म बस बिसौनी पुग्यौँ । मनमोहन प्रागबाट ब्राटिस्लाभा आउनु थियो । बसभरिमा ऊ नै एक्लो नेपाली थियो । त्यसैले उसलाई चिन्नु स्वाभाविक र सहज पनि थियो । स्वागतपछि क्लर्कले मनमोहनलाई एउटा खाम दियो । खाममा केही अत्यावश्यक कागजात र केही स्थानीय मुद्रा थिए । मनमोहन छक्क पर्यो र उसको विस्मयलाई मैले स्वाभाविक बनाउँदै भनेँ, ‘तिम्रोतिर त सरकारी कर्मचारी बिदाका दिन के गर्छन् मलाई थाहा छैन तर हाम्रो देशमा चाहिँ जिम्मेवारी आइतबारकै दिन भए पनि पूरा गर्नुपर्छ !’

मनमोहन मुस्कुरायो । मैले कामदार तथा उसलाई विश्वविद्यालयले व्यवस्था गरिदिएको ठाउँमा छाडेँ । ऊसँग बिदा हुनै लाग्दा मनमोहनले सोध्यो, ‘अब तपाईं चाहिँ के गर्नु हुन्छ ?’

ट्याक्सीमै रहँदाका बेला एकादुई पटक आजको दिन के गर्नुहुन्छ भनेर मनमोहनले नसोधेको होइन तर मैले अन्तै कुरा घुमाइरहेको थिएँ । अब मनमोहनको चाहना सुन्न थाल्यो भने त मेरो दिन पूरै ध्वस्त हुन्छ भन्ने बुझेपछि उनलाई भनेको थिएँ, ‘तिमी टाढाबाट आएका छौ । थाक्यौ होला । आराम गर । भोलि भेटौँला ।’

तर आराम गर्ने कुरामा ऊ सहमत भएन । मैले चाहिँ उसलाई छोरीलाई सर्कस घुमाउनु छ, त्यसैले उसलाई साथ दिन नसक्ने बताएँ । ऊ त सर्कस घुमाउने कुरामा खुसी पो देखियो, भन्यो, ‘यहाँको सर्कस त मलाई पनि हेरूँ लाग्यो । बरू म पनि जान्छु ।’

मेरो आनाकानीले उसलाई केही फरक परिरहेको थिएन । सानो जिद्दी बालकझैँ ऊ पनि मसँगै झुण्डिउँलाझैँ पो गर्न थाल्यो !

समयाभावका कारण मैले ससूरा बालाई फोन गरेँ र लुसीलाई सर्कसमा ल्याइदिन आग्रह गरेँ । यसका लागि ससूरा बा तुरून्त तयार भए । मैले एउटा लामो श्वास फेरेँ, ‘ओहो ! एउटा समस्या त समाधान भयो कम्तीमा !’

स्लोभाकियाको राजधानी ब्राटिस्लाभा

आइतबार ब्राटिस्लाभामा ट्रामको टिकट निकै गाह्रोगरी फेला पर्छ । त्यसमाथि अब यो मनमोहन पनि थपिएको छ ! आइतबार प्रायः पसल (दोकान) हरू पनि बन्द हुन्छन् । त्यसैले स्वचालित मेसिनबाट टिकट किन्ने कुरा पनि गाह्रो छ किनभने एकादुई ठाउँमा मात्र ती फेला पर्छन् ।

ट्राममा कसैलाई सोध्नेबित्तिकै टिकट फेला पर्ने ठाउँ त पत्ता लाग्यो, एउटा समस्या समाधान त भइगयो । टिकट पन्च गरेर हामी ट्राममा बस्यौँ । मनमोहनलाई बाहिरी परिवेश र वातावरण रूचिकर लागिरहेको बुझ्न सक्थेँ । ऊ यताउति मुन्टो बटारीकन दृश्यावलोकन गरिरहेको थियो ।

हामी सर्कस छेउ पुग्दा लुसी निकै व्यग्रताका साथ मलाई नै कुरिरहेकी थिई । मलाई देख्नेबित्तिकै लुसी झ्याम्मिई हाली । उसले उसका हजूरबालाई बिर्सिदिई । प्रायः हजूरबाहरू यसमा अभ्यस्त हुन्छन् । आफ्ना नातिनातिनाको यस्तो भावमा सधैँ त्याग गर्न उनीहरू तम्तयार हुन्छन् । मैले ससूराबासँग मनमोहनको परिचय गराइदिएँ । बूढा अब भने नातिनी र हामीलाई छाडेर आफ्नो बाटो लागे ।

लुसीलाई मैले मिठाई किनिदिएँ । मनमोहनले एक ग्लास बियर पिउने इच्छा गर्यो । यसपछि हामी सर्कसभित्र छिर्यौं । यहाँ बस्नका लागि काठको सामान्य बेन्च थियो । मलाई लाग्यो, मनमोहनले पक्कै केही नकारात्मक सोच्यत्र होला । पहिलो भेटमा नै यस्तो बोझिल वातावरण !

मनमोहनले सर्कसमा बोलिइएका भाषा बुझिरहेको थिएन । कतिपय कुरा मैले अनुवाद गरिदिन्थेँ अंग्रेजीमा । अनुवाद प्रक्रियाका बेला मनमोहनको मनमा एउटा कुरा उठ्यो र सोध्यो, ‘चेक र स्लोभाक भाषामा के फरक छ ?’

मैले उसलाई बुझाउने प्रयास गरेँ । मलाई एक जना प्रोफेसरको सम्झना भइरहेको थियो, त्यो बेला । जो प्रायः भन्थे, ‘जब चेकहरूले बढी रक्सी पिए भने उनीहरू स्लोभाकका गीत गाउन थाल्छन् ।’

एउटै इतिहास र भाषाा भएका यी दुई देशका बीच फरक छुट्याउनु वास्तवमा मेरा लागि अलि अप्ठेरै कुरा थियो ।

हुन त मेरा साथीसंगाति र आफन्त दुवै देशमा उत्तिकै थिए । बालपनमा मैले आफ्नो पढाइ चेक भाषामा नै गरेको थिएँ र त्यस विषयमा मैले राम्रो नम्बर ल्याउँथे । म सपना पनि चेक भाषामा नै देख्थेँ र चेकका लागि भनेर म सैन्य सेवामा पनि भर्ती भएको थिएँ । ती सबै उदाहरणबाट मैले मनमोहनलाई बुझाने प्रयास गरिरहेको थिएँ ।

मनमोहनले प्याच्च भन्यो, ‘खासमा तपाईं चेक हो कि स्लोभाक हो, यो चाहिँ खासै फरक छुट्याउन सकिँदैन रहेछ । विश्व मानचित्र हेर्यो भने तपाईंहरूलाई त्यस रूपमा कसैले पनि चिन्दैन । खालि मध्य युरोपेली मान्छे रैछ मात्र भन्छन् ।’

त्यसपछि ऊ आफैँमा मग्न भयो, भन्यो, ‘मेरा घरका मानिस म मध्य युरोपमा बस्छु र बसिरहेको छु भन्दा गर्वले कति तनक्क हुन्छन् होला !’

हामी यस्तैयस्तै गफमा व्यस्त थियौँ । लुसीलाई भने सर्कस मन परेन । त्यसैले ऊ घर जाने जिद्दी गर्न थाली । मलाई मेरी छोरीको बुद्धिमानीप्रति गर्व लाग्यो । ठीक छ, राहत त पाइने भो !

घर जानलाई ट्याक्सी खोज्दै गर्दा मनमोहनले सोध्यो, ‘धेरै टाढा छैन भने हामी हिँडेरै जाऊँ न !’

उसको कुरा मलाई चित्त बुझ्यो । हामी हिँडेरै घरतिर लाग्यौँ । घर पुग्दा यानाले भेरोनिकालाई नुहाइरहेकी थिई । लुसीले बाथरूमको ढोका खोलेर उसकी आमालाई सर्कसको कर्तब सुनाउन थाली । लुसीले हतारोमा मनमोहनलाई बाथरूमकै अगाडिको कोठामा बसाली । केहीबेरपछि याना सानीलाई नुहाइदिएर कोठामा आई र कपडा लगाइदिएर त्यहीँ कोक्रोमा बसालिदिई ।

यानाले भनी, बशकिम शाह आएका थिए । कफी पिएपछि उनी गए । यानाले लुसीलाई नुहाइदिन्छु भन्दै फेरि बाथरूम छिरी । यसपछि भेरोनिका रन थाली । मनमोहनले पनि यसबीच केही सोचेर होला बिदा माग्यत्र । मैले उसलाई बस्न भनेँ ।

लुसीलाई नुहाइदिँदै गर्दा बाथरूमबाटै भनी, पाहुना आउनाले उसले केही खानेकुरा बनाउन पाइन । त्यसैले मनमोहनलाई कफी र ब्रेडमै चित्त बुझाउनु पर्ला !

मैले त्यसै गरेँ र उसलाई बस बिसौनीसम्म छाडिदिन गएँ । मनमोहनलाई अब तिमी विश्वविद्यालयसम्म एक्लै जाऊ भनेर कसरी भनूँ भन्ने सोच्दै थिएँ । तर भन्नु त पर्यो । त्यसैले भनेँ, ‘तपाईंले अन्यथा नलिनु होला । विश्वविद्यालय यहाँबाट निकै टाढा छ । म तपाईंसँग त्यति टाढा जान गाह्रो छ । आउन-जानै मलाई दुई घण्टाभन्दा बढी लाग्छ । तपाईं यहाँबाट ट्राम लिएर जानु भयो भने अन्तिम बिसौनी जहाँ छ, त्यहीँ ओर्लिंदा हुन्छ । खासै गाह्रो छैन ।’

मेरो बाध्यता बुझेर मनमोहन एक्लै जान तयार भयो । ट्राम आउँदा मैले ड्राइभरसँग मनमोहनले भाषा नबुझ्ने हुनाले उनलाई अन्तिम बिसौनीमा झारिदिन आग्रह गरेँ । छात्रावासमा उसलाई बस्ने व्यवस्था पहिले नै मिलाइएको छँदैथियो । ड्राइभरले मेरो कुरामा स्वीकृति जनायो । मनमोहनलाई ट्राममा बसालेर आँखाबाट ओझेल नहुञ्जेलसम्म हात हल्लाएर बिदा गरेँ ।

घर आउँदा हेर्छु त निकै शान्तिको वातावरणा छ । छोरीहरू निदाइसकेका थिए । पत्नीले टेलिभिजन कम्पनीबाट फोन आएको बताइन् । म झसंग भएँ । मैले टेलिभिजनका लागि पटकथा तयार पार्नु थियो र त्यो भोलि बिहानै दिनु थियो । यत्तिका दिन व्यस्त भएकाले मैले आइतबारे बिदाका दिन घरैमा मज्जाले बसेर लेखूँला भन्ने सोचेको थिएँ तर दिनभरको व्यस्तताले गर्दा अन्य दिनझैँ यो दिन पनि मैले पटकथाको कुरा बिर्सिरहेको थिएँ ।

अब यो काम पनि हातबाट फुत्क्यो भन्ने मलाई लाग्यो ।

यसपछि दिक्दारीमा मैले टेलिभिजनका च्यानलहरू घुमाएँ तर केहीमा मन अडिएन । यत्तिकैमा यानाले खाना खान मन भए केही खाऊ भनेर एकादुई पटक भनिसकेकी थिइन् । मलाई खान मन थिएन । त्यसैले उनलाई नखाने भनी जनाउ दिएँ । यत्तिकैमा सुत्ने बेला भइहाल्यो । मन त गएर अध्ययन कक्षमा बसूँ र केही लेखूँ नलागेको होइन तर खै किन हो, मनलाई नियन्त्रणमा राख्न सकिनँ ।

यसपछि ब्रस गरेँ र ओछ्यानमा पल्टिएँ र मनमनै भनेँ, ‘आजको आइतबार अविष्मरणीय रहनेछ ।’ तर ईश्वरलाई थाहा छ, हरेक हप्ता यस्तै अनेकन् झ्याउलो र व्यस्तताका कारण अविष्मरणीय आइतबार बनाउने कुरामा भने चूक भइरहेको हुन्छ । कहिलेकाहीँ सोच्छु… आनन्दको आइतरबार जीवनमा मैले कहिले पाउँला !

लेखक परिचयः
गुस्ताभ मुरिनको जन्म ९ अप्रिल १९५९ मा बास्टिस्लाभामा भएको थियो । त्यहीँ उनले विश्वविद्यालयीय शिक्षा पूरा गरे । हिजोआज उनी जीवन विज्ञान संस्थानमा कार्यरत छन् । १९७८ यता उनका अनेक रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् भने उनलाई देशविदेशका अनेकन् ख्यातिप्राप्त पुरस्कार प्राप्त भइसकेका छन् ।

उनका स्मल वर्ल्ड, एनिमल्स, मि एन्ड अदर्स, अटुमन सिजन, फर लभर्स लगायतका कृति प्रकाशित छन् ।

अनुवादः अच्युत कोइराला

प्रतिक्रिया
Loading...