नेपाली साहित्यको सम्पूर्ण पत्रिका

गाउन सकेसम्म गाउने, हात चलुन्जेल लेख्ने !

साहित्य निर्माता (वार्ता-४)

नेपाली साहित्यको कविता, कथा र संस्मरणात्मक गद्यका प्रखर हस्ताक्षर हुन् हिरण्य भोजपुरे । लेकाली संगीत समूहका एक स्तम्भ, “वाइरोडको बाटोमा धूलो उडाउँदै”, “रातो भाले क्वाएँ क्वाएँ सुत्केरीलाई ख्वाएँ” जस्ता गीतले एउटा कालखण्डलाई सर्लक्कै छोपेको थियो, जनप्रिय र कर्णप्रिय बनेका थिए ती गीत । हाल अवकाशप्राप्त जीवन अमेरिकाको कोलोराडोमा बिताइरहेका यस्ता हस्ताक्षर र प्रतिभासँग उनी काठमाडौं छँदाखेरि लिइएको यो अन्तरवार्ता प्रस्तुत छ ।

………………

गायन र संगीतमा भन्दा बढी अहिले लेखनमा सक्रिय हुनुभएको छ । कतै संगीत, गायनको क्षेत्रवाट टाढिन लाग्नु भएको त होइन ?

होइन । पुराना नाम चलेका गीतहरूको पुनः रिकर्डिंगतिर लागिसकेका छौं । दुइटा नाउमा खुट्टा टेक्न खोज्दैछु । हेरुँ के हुन्छ ।

गीत लेखन, कथा लेखन, उपन्यास लेखनमध्ये कुन क्षेत्र जेठो हो ? कसरी विस्तारित हुँदै जानु भयो ?

लेखनमा गीत लेखन । प्रकाशनको हिसाबले कथा लेखन । वि.सं २०१९, २०२१ करिब दुई वर्ष मैले हेटौंडामा बिताएँ । त्यहाँ हामी उत्साही साथीभाइ मिलेर नवकलाकुञ्ज भन्ने एउटा सांस्कृतिक संस्थाको स्थापना गर्यौं । त्यहाँ गाउने कम थिए, संगीत भर्ने कम थिए, गीतकार कम थिए । यसरी तीनै क्षेत्रमा मैले पनि हात हाल्नु पर्ने भयो । नवकलामा म गीतकार थिएँ, संगीतकार थिएँ, र गायक थिएँ । २०२१ सालको उत्तरार्धतिर फेरि काठमाडौं पसें । उर्मिला श्रेष्ठसँग भेट भयो । दुवै सँगसँगै रेडियो जान थाल्यौं र हामीलाई रेडियो नेपालले विस्तार दिँदै गयो ।

‘छिटेन’ उपन्यास लेख्ने प्रेरणा र पृष्ठभूमि कस्तो थियो ?

हिरण्य भोजपुरे

वि.सं २०३२ सालतिर कार्यालयको काम बोकेर मनाँग उक्लें । त्यहाँ मनाँग सुन्दरी छिटेन भेटें । तिहारको बिदामा सदर मुकाम चामेबाट मनाँग गाउँ र घ्यारु गाउँ घुम्न गयौं । घ्यारुमा बस्दा छिटेनसित निकै झ्याम्मिएछु । घ्यारु छिटेनको घर गाउँ- घ्यारु सुन्दरी छिटेन दख्खिनतिर सर्लक्क उभिएकी अन्नपूर्ण हिमाल झैं सुन्दरी थिइन् । सुन्दरी मैले छिटेनमा बखान गरे झैं । काठमाडौं फिरेपछि पनि त्यो रूपले मलाई च्याइरहन्थ्यो । त्यसको एक डेड वर्षपछि एक जना भाइ (अहिले उहाँको नाउँ बिर्सें । सायद नेपाल प्रहरीमा काम गर्नुहुन्थ्यो) आई फिल्मका लागि कथा कोरिदिन अनुरोध गरे । छिटेनलाई जीवन्तता दिन मन लाग्यो । मनाँगको सेरोफेरोलाई समेत समेटेर छिटेन लेखें ।

त्यो उपन्यासको आधारमा त चलचित्र पनि बन्यो हैन ठूलो पर्दाको ? मूल कृतिमा कस्तो परिवर्तन हुँदोरहेछ ?

उनीहरूले छिटेनलाई झुमा बनाइदिएछन्, जब कि छिटेन कहिल्यै झुमा बन्न सक्दिनन् न झूमा नै छिटेन बन्न सक्दछे । फिल्म हेर्ने मौका मिलेको छैन । तर नाम परिवर्तनले नै कथाको टुप्पी पनि बाँकी छैन कि भन्ने संकेत दिन्छ ।

‘गोरी’ उपन्यासको पनि पृष्ठभूमि थाहा पाउँन ?

हिरण्य भोजपुरेका साथ गाेविन्द गिरी प्रेरणा

गोरीलाई मेरी श्रीमती, छोराछोरी सबले चिन्दछन् । उपन्यासमा बखान गरे झैं सिमभञ्ज्याङको चिया पसलमा गोरी चिया पकाउने गर्दथी । घर हेटौंडा भएकोले हामी सपरिवार सिमभञ्ज्याङको बाटो हिँडिरहनु पर्थ्यो । गोरीकहाँ चिया खान कहिल्यै चुक्दैनथ्यौं । चिया खाने प्रसङ्गमा म गोरीलाई खुब जिस्क्याउँथें पनि । ‘ए गोरी, मसित बिहे गर्ने हो ?’ सम्म भन्थें । उर्मिला पनि ‘बिहे गर्ने भए गर न त’ भनेर गोरीलाई प्रेरित गर्थिन् । गोरी लाजले भुतुक्कै हुन्थी । हामी रमाइलो मान्थ्यौं । साँच्चै नै गोरीलाई लगें भने के हुनसक्ला भनेर गरिएको कल्पना हो गोरी उपन्यास । गोरीको खास नाम भने थाहा छैन । गोरी काल्पनिक नाम हो ।

एकताक लेखन क्षेत्रमा राम्ररी सुस्ताउनु भएको थियो । त्यो सुस्ताइको कारण के थियो ? कतै पदीय दायित्वको कारण त होइन ?

हो, दिनभरि खुब खटेर काम गर्नु पर्थ्यो । बेलुकी टाउको गम्म भइरहने । शनिबार एकदिन छुट्टी, यसो र उसो गर्दै बित्ने । राम्ररी समय दिन सकिएन । तैपनि फाटफूट कविता र कथा लेखिरहेको थिएँ ।

स्वदेशका भ्रमणको आधारले त छिटेन र गोरी जस्ता कृतिहरू जन्मायो । विदेश भ्रमण पनि गर्नुभएको छ, त्यसले केही जन्माएको देखिएको छैन नि ?

गुम्सिएर बसेको बादललाई बाफ बनाउन बाँकी छ ।

तपाईं भोजपुरबाट आउनुभएकै कारणले उपनाम भोजपुरे राख्नुभएको हैन ? त्यसको आवश्यकता किन पर्यो ?

मकवानपुरमा बस्दा पहिलो पूर्ण कविता लेखें, त्यसमा आफ्नो नाम दिनु पर्यो । छस्स मलाई जन्मथलोले छोयो । हिरण्यमा भोजपुरे थपें ।

तपाईं गायनको क्षेत्रमा ‘वाइरोडको बाटोमा धूलो उडाउँदै’, ‘रातो भाले क्वाएँ क्वाएँ’ जति लोकप्रिय भएर जनजनमा परिचित हुनुभयो, साहित्यबाट त्यस्तो लोकप्रियता नहुने कुरामा के सोच्नुहुन्छ ?

खासमा लोकप्रियताको लागि मात्र भनेर म लेख्दिनँ । लेखकीय स्खलन सुख मेरो अभिष्ट हो । र लेखन बढी दीर्घजीवी हुन्छ । त्यो लोभले पनि लेख्दो हुँ ।

तपाईंले पछिल्ला चरणमा देखिएका संस्मरणत्मक निबन्धहरू निकै रोचक देखिए । निबन्ध र संस्मरणहरू कत्तिको लेख्नु हुँदैछ ?

धमाधम छ । ४७ वर्षपछि यसपाली भोजपुर गएँ । संस्मरण लेख्ने तरखरमा छु ।

साहित्यमा गीतकार एवम् कवि, कथाकार र उपन्यासकारका तीन क्षेत्र विशेषमा परिचित हुनुहुन्छ । कुन विधाका माध्यमले आफू बढी चिनिने इच्छा राख्नुहुन्छ ?

विशेष गरेर कथा मेरो मन परेको विधा हो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका गतिविधिहरूप्रति तपाईंको कस्तो प्रतिकृया छ ?

त्यो ज्यादै ठूलो निकाय हो । त्यता म सोच्दै सोच्दिनँ ।

अनि यी विभिन्न साहित्यिक पुरस्कारका संगठनहरूप्रति नि ?

तीबारे पनि सोच्दिनँ ।

लामो समयसम्म रेडियो नेपालका कार्यक्रमहरूमा तपाईं सम्बद्ध हुनुभयो । त्यसले तपाईंको व्यक्तित्व र लेखनका लागि कस्तो किसिमको सहयोग पुर्यायो ?

हाम्रो संस्कृति कार्यक्रमका लागि खुब मेहेनत गरें । परिचय संगीतलाई भनेर एउटा गीत कथेंः

थरिथरिका फूल हौं हामी सुन्दर हाम्रो संस्कृति
एउटै आँखा एउटै भाखा एउटै हाम्रो संस्कृति

मैले कार्यक्रम चलाएसम्म हाम्रो संस्कृति कार्यक्रममा परिचय संगीतको रूप लियो यो गीतले । म निक्लिएपछि बेपत्ता । यसबाहेक पनि अरु थुप्रै कार्यक्रममा सहभागी थिएँ म । रेडियोमा व्यक्तित्व भनेको त्यहाँ बसुन्जेलसम्मका लागि मात्रै हो । त्यहाँका लागि लेखिएका लेखनीहरू पनि त्यहीं बिलाए ।

तपाईंहरूले ‘लेकाली’लाई जन्म दिनु भयो । अहिले त्यो लेकाली कुन स्थितिमा छ ?

लेकालीको संगीत यात्रा निकालेपछि अहिले लेकाली सुस्ताउँदैछ ।

लेखनको क्षेत्रमा अहिले के के योजनाहरू छन् ?

दुई चारोटा गतिलो उपन्यास लेख्ने इच्छा छ ।

एउटा लेखक विपन्न हुँदा जति भिजेर लेख्न सक्छ, सम्पन्न हुँदै गएपछि उसमा त्यो गम्भीर्य रहन्न भन्नेहरू पनि छन् । तपाईंलाई कस्तो लाग्छ ?

विपन्नता र सम्पन्नता दुवै भोगेको स्रष्टाको लेखनीमा बढी अनुभवजन्य गम्भीर्य थपिएको हुन्छ जस्तो लाग्छ मलाई । दुई पाटोलाई छुट्ट्याउने हो भने चाहिँ पहिलोमा बेग्लै उर्जा होला र दोश्रोमा बेग्लै लालपूर्जा ।

‘बगर’मा प्रकाशित नेपाली लोकगीतका पक्षहरू लामो लेख निकै चर्चित भयो । त्यसखाले पुस्तक नेपालमा छैनन् । त्यसलाई पुस्तकको रूप दिनेबारे के सोच्नु भएको छ ?

बगरमा प्रकाशित सो लेख पूर्ण लेखको आधा अंश मात्र हो । आधा अंश प्रकाशित हुन बाँकी छ । पूरै पारे पनि पुस्तकलाई भने पुग्दैन । त्यसैले सो लेखलाई पनि समेटेर मेरा अन्य संगीत सम्बन्धी लेखको बिटो बनाएर संगीतका केही सन्दर्भहरू निकाल्ने तर्खरमा छु । पैसाको जोहो भने भैसकेको छैन ।

तपाईंकी श्रीमती उर्मिला भोजपुरे र तपाईं गायनमा त सँगसँगै मञ्चमा उत्रनु भयो । लेखनप्रति उहाँको चासो नभएर कि सल्लाहले नै तपाईंमात्रै लेखनमा आउनु भएको हो ?

उर्मिलाको पनि लेखनी राम्रो छ । तर जागिरको व्यस्तताले उनलाई यता लाग्न दिएन । अब उनीले अवकाश पाएकी छन् । फुर्सद छ । आफ्नो जीवनी आफैं लेख्ने रे ! हेरुँ, कहिले लेखिसक्ने हुन् ।

तपाईंहरूको गीति एल्बम देखिएनन्, पुराना गीतहरू असुरक्षित हुने अवस्था त छैन ? त्यसले त नेपाली संगीत क्षेत्रलाई ठूलै हानि हुन्छ नि ?

असुरक्षित मात्र होइन, बेपत्ता छन् । भएकाहरूको पनि प्राविधिक स्तर छैन । नेपाली संगीत क्षेत्रलाई त थाहा छैन, हामीलाई भने रुनु न हाँस्नु भइरहेको छ । त्यत्रो मिहिनत ! र पनि पुराना निकै बजेर तत्कालीन श्रोताका कानसम्म पुगेका केही गीतहरूको पुनर्गायन गर्न लागेका छौं भनेर अघि नै भनिसकें ।

साहित्य कला संस्कृतिमा यति लामो उमेर खर्च गर्नुभएको तपाईंले अवकाशपछिको जीवनलाई कुन क्षेत्रमा समर्पण गर्ने सोचाइ राख्नुभएको छ ?

गाउन सकेसम्म गाउने । हात चलुन्जेल लेख्ने ।

प्रतिक्रिया
Loading...