नेपाली साहित्यको सम्पूर्ण पत्रिका

प्रत्येक मान्छे लेखक बन्नु पर्छ तर किन ?

एम्बर टकर

जिन्दगी दोहोर्याएर बाँच्न मन छ भने डायरी लेख्नू तर डायरी लेख्न त्यति सहज छैन । यसका लागि लामो अभ्यास गर्नैपर्छ । केही न केही लेखिरहनु पर्छ । तपाईंसँग विषय नै छैन भने केही न केही केरमेट गरिरहनै पर्छ । तपाईंले त्यसरी केरमेट गरेको टिपोट कुनै समयका लागि समृद्ध इतिहास हुनसक्छ । भोलिका लागि त्यो निकै रोचक विषय बन्न सक्छ ।

२० औँ शताब्दीकी डायरी लेखिका अनाइस निन भन्थिन्, डायरी लेखनीले जीवनप्रतिको सचेतना ह्वात्तै बढाइदिन्छ… जीवनलाई दोहोर्याएर स्वाद दिन्छ, दोहोर्याएर त्यस घटनालाई बुझ्ने अवसर दिन्छ, जसले तपाईंलाई हँसाएको छ, तपाईंलाई रूवाएको छ ।

सान्दर्भिक पोस्ट

दैनिकी लेख्नु बानी नपरूञ्जेल गाह्रो हो तर बानी परेपछि साह्रै सहज, सस्तो, सचेतना बढाउने गतिविधि बन्न पुग्छ । यसले हाम्रो सोच, भाव, दृष्टिकोण र दैनिक घटिरहेका घटनालाई एउटा अर्को कोणबाट सोच्ने अवसर दिन्छ । यसले आफ्नो तीव्र गतिलाई सुस्त बनाउन, केहीबेर लामो श्वास फेर्न, नयाँ पृष्ठ पल्टाउन र हाम्रा भाव र सोचमा ‘वास्तविक धरातलमा’ ल्याउन भूमिका खेल्छ । तपाईंको लेखनी जति अभिव्यक्तिपूर्ण बन्न जान्छ, त्यति नै यसले थेरापीको भूमिका खेल्छ ।

पश्चिमा समाजमा त जर्नलिङ वा दैनिकी वा डायरी लेखनलाई रोचक बनाउन भिजुअल जर्नलको सुझाव दिइन थालेको छ। डिजिटल एक्सेस बढ्दै जाँदा यो सम्भव पनि हुन थालेको छ । जसमा तपाईंले स्केच, डुडल, खेस्रा, कला, तस्बिर तपाईंलाई जे जे मन पर्छ, त्यही घुसाउन सक्नुहुन्छ ।

अभिव्यक्तिमूलक लेखनीले तपाईंलाई अभिव्यक्त गर्ने अवसर दिन्छ र त्यो अरूका लागि होइन, तपाईंकै लागि त्यस्तो अवसर जुराइदिन्छ ।

सञ्चो हुन लेख्नुस्
वैज्ञानिक शोधकर्ताहरूले विगत दुई दशकयता गरेको एउटा अध्ययनले भाव अभिव्यक्तिको लेखनीले मानसिक र भावनात्मक स्वास्थ्यलाई फाइदा तुल्याउने गरेको देखाएको छ । दैनिकी लेख्दा तनाव घट्छ, तीव्र गतिमा चढ्दो घट्दो तनाव, भावलाई घटाउँछ । कृतज्ञता र आशावादी भावनालाई यसले बढाउँछ ।

सन् २००१ मा कलेजका विद्यार्थीहरूमाझ गरिएको अध्ययनले (https://pubmed.ncbi.nlm.nih.gov/11561925/) यस्तो परिणाम देखाएको हो । कलेजमा जो विद्यार्थी अभिव्यक्ति लेखनीमा जोड दिन्थे, जसले दैनिकी लेख्थे र डायरी राख्थे र त्यसमा आफ्ना तनाव, कठिनाईजस्ता कुरालाई बढी महत्त्व दिई लेख्थे, उनीहरूमा क्लेशको भाव कम थियो । उनीहरूमा तनाव कम देखिन्थ्यो । यस्ता विद्यार्थीको स्मरणशक्ति पनि तुलनात्मक रूपमा बढी नै थियो । अप्ठेरो अनुभूतिमा चिन्तन गर्ने प्रवृत्ति विकास गर्दा त्यसले मस्तिष्कको समीक्षा गर्ने भागलाई सशक्त बनाउने र मानसिक दवावलाई खुकुल्याउने काम गरेको पाइएको थियो ।

डायरी लेखनले चिन्ता र दुश्चिन्ताजस्ता समस्यामा पनि समाधानका लागि सहयोग गर्ने देखिएको छ । सन् २००८ मा भएको एउटा अध्ययन (https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC6305886/) भएको थियो । सो अध्ययनमा दुश्चिन्ता र तनावले ग्रस्त मानिसहरूलाई आफ्नाबारेमा लेख्ने अभ्यास दिइएको थियो । हरेक दिन १५ मिनेटसम्म उनीहरूले विस्तारमा लेख्नु पर्थ्यो । १२ हप्ता लगातार साताको तीन दिन १५ मिनेटसम्म लेख्दा उनीहरूमा अन्य समूहभन्दा कम तनाव र दृश्चिन्ता देखिएको थियो । उनीहरूको मानसिक दबाब पनि कम थियो । त्यस्तै तनाव पनि उनीहरूले कम नै लिने गरेको पाइयो । उनीहरूमा धैर्य र समाजमा घुलमिल हुने प्रतिशत पनि बढेर गएको थियो । चिन्ता, दुश्चिन्ता र तनावका कारण उनीहरूको सामाजिक गतिविधि ह्वात्तै घटेको, सहज गतिविधि घटाएको देखिएको थियो । लेख्न थालेपछि भने देखिएका कतिपय समस्याहरू क्रमशः घट्दै जान थालेको अर्को एक अध्ययन (https://www.cambridge.org/core/journals/advances-in-psychiatric-treatment/article/emotional-and-physical-health-benefits-of-expressive-writing/ED2976A61F5DE56B46F07A1CE9EA9F9F/core-reader)ले देखाएको थियो । केहीले त यही अध्ययनअनुसार रोग प्रतिरोधक स्वास्थ्य, रक्तचाप, पीडा र तीव्र चोट खप्ने शक्तिसमेत बढाएको देखिएको बताएका छन् ।

उसो भए जाबो डायरी लेखन वा जर्नलिङले यस्तो फाइदा किन हुन्छ त ? यस पछाडिका कारण के हुन् त ? विशेषज्ञ काउन्सिलर तथा टोरन्टो विश्वविद्यालयका साइकोलजी प्राध्यापक जिन्डेल सिगल भन्छन्, ‘दैनिकी वा जर्नल लेखनीले आफ्नो तीव्र प्रतिक्रियात्मक निर्णयलाई पुनः सोच्ने मौका दिन्छ । आफ्ना कमजोरी के हुन् भनी घोत्लिने अवसर दिन्छ । लेखनीले हाम्रा डर, चिन्ता र सारा कमजोरीहरूलाई समग्र रूपमा बुझ्न सघाउँछ । ती सबै कुरा एकमुष्ठ डायरीमा पोखिन्छन् । ती टाउकोबाट पोखिएर कागजमा जम्न पुग्छन् । टाउको हलुंगो हुन पुग्छ ।’

मुड डिसअर्डरका विज्ञसमेत रहेका सिगल माइन्डफुलनेस-बेस्ड कग्निटिभ थेरापी र माइन्डफुलनेस स्ट्रेस रिडक्सनजस्ता कार्यक्रम चलाउने गरेका छन् । आफ्नो सेवा लिन आएका रोगीहरूलाई जर्नल लेखनीबाटै आफूले निको बनाएको दाबी गर्छन् । ‘तपाईंले आफ्ना चिन्ता र समस्या चाहे कागजमा उतार्नुस्, चाहे डिजिटलमा, त्यसले तपाईंलाई समस्यासँग जुझ्न, ती समस्याका बारेमा सोच्न, नडराउन र सामना गर्न सिकाउँछ । यसले तपाईंलाई आफ्ना समस्या स्पष्ट रूपमा देखाइदिन्छ र तपाईंलाई एक किसिमको जिज्ञासु पनि बनाउँछ,’ सिगल बताउँछन् ।

आफू नाङ्गै बन्नु लेख्नुस्
हामी जीवनमा यति धेरै मुकुण्डो बोकेर हिँडेका हुन्छौँ कि कहिलेकाहीँ आफैँलाई आफू के हुँ भनेर चिन्न सक्दैनौँ । जब तपाईंले आफूसँगको सारा मुकुण्डो उतारेर आफूलाई चिन्ने प्रयास गर्न थाल्नुहुन्छ, यसले तपाईंलाई नै हलुंगो बनाउँछ । अमेरिकाको लस एञ्जल्सकी ध्यानमुद्रा सिकाइरहेकी एमी स्पाइस भन्छिन्, ‘माइन्डफुलनेस र भावपूर्ण लेखनी दुवैको सम्मिश्रणले तपाईंलाई आफ्नो आलोचना गर्ने र आफैँप्रतिको शंका बढाउने कुरालाई ठ्याक्कै रोक लगाउँछन् । यसको साटो आफू नराम्रो छु भने पनि त्यसलाई स्वीकार गर्ने र नकारात्मक भावलाई ध्यानका माध्यमबाट रोक्ने मात्र होइन, वर्तमानमा बाँच्ने अभ्यास बढाउँछ ।’

स्पाइस त केसम्म सुझाव दिन्छिन् भने, ‘जब तपाईं ध्यानमा बस्नुहुन्छ, त्यसभन्दा अगाडि जर्नल लेख्ने वा डायरी लेख्ने गर्नुस् । लेखिसकेपछि मन हलुंगो भएर तपाईंको ध्यान अझ गहिरिन्छ र तपाईंको हृदय कडाबाट कोमल हुन थाल्छ ।’

यस्तो अभ्यास दिनदिनै बढ्दै जाँदा लेखनी र चित्त दुवै सफा हुँदै जाने उनको भनाइ छ ।

तपाईंले लेख्दै जाँदा आफैँलाई लाज लाग्ने, आफ्नो सोचप्रति डर लाग्ने पनि हुनसक्छ तर लेख्न छाड्न नहुने सुझाव विज्ञको छ किनभने यो तपाईंले तपाईंका लागि गरेको निजी काम हो । यो अरूले पढ्ने पनि होइन, अरूलाई देखाउन पनि लेखिएको होइन । यस्तो लेखनी डररहित अभिव्यक्ति भएकाले यसले तपाईंलाई आफैँप्रति करूणाको भावमा तानेर लैजान्छ । यसले तपाईंका अनेकन् भावलाई अध्ययन गर्ने अवसर दिन्छ । तपाईंमा भएका तुष्टिका भाव, चिन्ता, भोक, हर्ष र जीवन्तता मात्र होइन दिक्कलाग्दो विरक्तिका भाव पनि लेखनीले प्रकट गराइदिन्छ । रोचक त के छ भने तपाईंले ती भावलाई केही समयसम्म आइरहन दिने र त्यसलाई निर्भाव भएर हेर्नुपर्छ । यसले तपाईंमा कृतज्ञताको भाव बढाउँछ ।

रोचक लेखनी बनाउन के गर्ने ?
सधैँभरि उही भाव, उस्तै कुरा लेख्नुपर्दा तपाईंलाई दिक्क लाग्न सक्छ । नयाँ कुरा नहुन सक्छ । यस्तोमा तपाईंलाई लेख्न नै पूर्णविराम दिन मन लाग्ला । लेखनी भने नत्याग्नुस् । त्यसका लागि बरू नयाँ उपाय लगाउनुस् । हरेक पटक एउटा सानो डायरी छान्नुस् र केही दिनभित्रै लेखेर सकिने डायरी छान्दा तपाईंले अर्को डायरी चाँडै किन्नु परोस् । त्यो नयाँ डायरी वा जर्नल पेपर विभिन्न आकार प्रकार, रङ आदिको होस् । यसो हुँदा तपाईंलाई लेख्ने कार्य रोचक लागिरहन्छ ।

बजारमा ट्राभल जर्नल, प्यारेन्टिङ जर्नल लगायतका अनेकन् विषयअनुरूपका जर्नल र डायरी पाइन सक्छ । रूचिअनुसारको जर्नल र डायरी लिनु भयो भने लेखनीमा जाँगर थपिन सक्छ ।

लेख्दालेख्दै तपाईं बहकिन सक्नुहुन्छ । त्यसमा नआत्तिनुस् । द न्युयोर्क टाइम्स दैनिक पत्रिकामा पत्रकार हेली फेलन लेख्छिन्, ‘निजी जर्नलमा लेख्नु के बारेमा लेख्दैछु भन्ने जान्नु पनि हो ।’ यदि लेख्दै गर्दा तपाईं बहकिनु भयो या हराउनु भयो भने पुनः लामो सास फेर्नुस्, आफैँप्रति इमान्दार बन्नुस्, तपाईंले जसरी भए पनि लेख्नु नै छ, लेखेर आफ्नो मन हलुंगो बनाउनु नै छ भनेर आफैँलाई मनाउनुस् । आफैँप्रति दयालु बन्नुस् । तपाईंसँग जे छ, त्यसप्रति कृतज्ञ हुनुस्, लेखिरहने कुरामा अडिग रहनुस् ।

यति गरेपछि तपाईंमा भएका क्लेशहरू हराउँदै जानेछन् । तपाईंले आफ्नो लेखनी मन पराउँदै जानु हुनेछ । क्रमशः सुधार देखिने छन्, लेखनीमा । र, लेख्ने सपना एउटा नियमितता बन्न पुग्नेछ ।

उसो भए ह्याप्पी राइटिङ, हैन त !

प्रतिक्रिया
Loading...