नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कोरोनाबाट मुक्त भएँ, अनुज पुस्तालाई माया गर्नुको कारण त्यो होइन – प्रकाश पौडेल

अन्तरङ्ग, प्रकाश पौडेल ‘माइला’सँग

प्रकाश पौडेल ‘माइला’ बहुविधामा कलम चलाउने स्रष्टा भए पनि उनको नाम हाइकु कविका रूपमा स्थापित छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्ष हुन् । त्यति मात्र होइन, पौडेल वर्ल्ड हाइकु एसोसिएसनका पहिलो नेपाली कार्यकारी सदस्य समेत हुन् । अनेसासमा निर्विरोध निर्वाचित भएका माइलाले साहित्यकारकारहरूको अन्तर्राष्ट्रिय संस्थामा यअसघि पनि वरिष्ठ उपाध्यक्ष र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएर फरक खालको इतिहास बनाइसकेका छन् ।

नेपाली भाषा र साहित्यका माध्यमबाट पनि नेपालमा जापानी पर्यटक भित्राउन सकिन्छ भनेर उनले सन् २०२० को पर्यटन वर्ष लक्षित कार्यक्रम गरिरहेका थिए । तर कोरोनाका कारण धेरै योजना केहीपछि धकेलिएका छन् । यद्यपि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमार्फत भने उनको अध्यक्षतामा साहित्यका महत्त्वपूर्ण गतिविधि भइरहेका छन् । प्रस्तुत छ, उनै जापान योकोहामामा रहेका पौडेलसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको अन्तरङ्ग कुराकानीको सम्पादित अंश:

कोरोनाकालमा छौं, सुरु त्यहीँबाट गरौं । तपाईंको कोरोना अनुभव कस्तो रह्यो ?

सचेत हुँदा हुँदै पनि म कोभिड १९ को शिकार भएँ तर भाग्यवश म ठूलो चपेटामा परिनँ । कोरोनामुक्त भएको आइतबार एक हप्तामात्र भयो । आफूलाई नलागुन्जेल मलाई केही हुँदैन भन्ने ओभर कफिडेन्टचाहिँ हुँदोरहेछ । सायद मान्छेको स्वाभाव भित्रकै कुरो होला यो । तर भई नै सकेपछि त्यसलाई सहर्ष सहज रुपमा स्वीकार गरी त्यसलाई परास्त गर्नतर्फ ध्यान केन्द्रित गर्नुको विकल्प नहुँदो रहेछ । औषधीमुलो भन्दा पनि यस रोगलाई परास्त गर्न आत्मबल, खानपान र जीवनशैलीमा एकरुपता आवश्यक रहेछ । जापानी डाक्टरहरु पनि यही कुरामा ध्यान दिन्छन् ।

यसमा भन्नै पर्ने कुरा चाहिँ के भने जापान सरकारले आफ्नो नागरिक मात्र होइन, बाहिरबाट आएकाहरुको स्वास्थ्यका लागि पनि संवेदनशील रहेर रोगमुक्त बनाउन कोसिस गर्दो रहेछ । मानव जीवनका विषयमा उसको संवेदनशीलताले भने मलाई भावुक बनायो । यस्तो अवस्थामा आफ्नो देशको अवस्थाको ज्ञात हुँदोरहेछ । नेपालमा मेरा आफन्त एवं साथीभाइहरू पनि यो रोगको शिकार भएका छन् तर नेपाल सरकारले आफ्नो क्षमताअनुसार रोगविरुद्धको लडाइँ लड्न नसकेकोमा दुःख लाग्दो रहेछ ।

नेपालबाट विविध उद्देश्यले जापान पुगेका अनुज पुस्तालाई तपाईंले गर्ने माया र सहयोगको ठूलो चर्चा हुने गरेको छ । अनुज पुस्ताप्रतिको यो झुकाव कस्तो हो ?
अहिले जापान आउने अनुजपुस्तालाई चाहिँ मेरो जापान आउँदाको अवस्थासँग तुलन गरेर हेरिँदो रहेछ । सायद त्यो मेरो नेपाल छँदैबाट बनेको स्वभाव पनि होला ! सुरुताका नेपालबाट आउँदा भाषाकै कारणले धेरै समस्या भोग्नुपर्छ । एकदम साना साना कुरामा यहाँ दुःख हुन्छ । दुःख हुनेबित्तिकै जो मसँग जोडिनु हुन्छ, उहाँहरूलाई सामान्य सहयोग गर्छु । गर्नु पनि पर्छ । किनभने मलाई पनि सुरुवाती दिनहरुमा यस्तै समस्या परेका थिए । सायद, मेरो मनले त्यो सम्झन्छ होला । म स्वतः अनुज पुस्तामा सामान्य कारणले धेरै दुःख नहोस् भनेर सकेको र भ्याएको सहयोग गर्न जहिल्यै तयार हुन्छु ।

पारिवारिक कुरा गर्दा कान्छो भाइको असामयिक निधनको शोकमा पनि रहेछ । यस पीडाले जन्माएको शक्ति त होइन अनुज पुस्ताप्रतिको प्रेम ?
हो । खासमा मैले यो विषय उठाउन नखोजेको मात्र हुँ । तर तपाईंले जोड्दिनु भयो । खासमा वास्तविकता यही नै हो । यसलाई म नकार्न सक्दिनँ । वैदेशिक रोजगारीमा जाँदा मेरो भाइले अचानक ज्यान गुमाउनु पर्यो । यो दश वर्षअघिको घटना हो । सामान्य ज्ञानको अभावमा त्यो दुर्घटना भयो जस्तो लाग्छ । जब-जब कोही अनुज पुस्ता पैसा कमाउन वा उन्नत भविष्यका लागि जापान आउनु हुन्छ, सामान्य भाषा वा रोजगारीका कारणले दुःख पाएको थाहा पाउनेबित्तिकै म स्वतः अघि सर्छु । मेरो स्वभाव नै त्यस्तै हो कि !

प्रकाश पौडेल ‘माइला’

आफन्तजन गुमाउनुको पीडा असह्य त हुन्छ नै, तर पनि तपाईंले त्यसलाई आफूमा प्रतिबिम्बित हुन नदिई आफ्नो काम र समाज तथा साहित्य सेवामा लागिरहनु भएको छ । यो उत्प्रेरणा कतै त्यही पीडा बिर्सन पो हो कि ?
हरेक मान्छेको जीवनमा समस्या आउँदो रहेछ । तर कोहीलाई सानो समस्या पनि ठूलो लाग्न सक्छ भने कोहीले चाहिँ ठूलो समस्यालाई पनि केही नभए जसरी सामना गर्छन् । समस्या जति ठूलो भए पनि त्यसलाई सहजरुपमा स्वीकार गर्न सक्यौं भने जीवन पनि सरल बन्दो रहेछ । मैले गरेको त्यही हो । मैले मात्र होइन, मेरो परिवारका सम्पूर्ण सदस्यहरूले नै यो पीडालाई यसरी सामना गर्नुभएको हो ।

मेरो मान्यता के छ भने प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्न सकियो भने त्यसले चाहिँ हामीले नयाँ ऊर्जा दिन्छ । परिवारिक हिसाब हामी सबै शिक्षित छौँ । भाइको देहान्तपछि शोकमा डुब्नेभन्दा पनि त्यस पीडालाई कसरी सहज र सरल रुपमा स्वीकार गर्ने भन्नेतिर नै हामीले छलफल गर्यौँ । तेह्र दिनको काम सकिँदा धेरैले सकारात्मक हुँदै हाम्रीले पीडालाई शक्तिमा परिवर्तन गरेको र त्यस शोकलाई सहज रुपमा स्वीकार गरेको कुरा व्यक्त गर्नुभएको थियो । यसमा मेरो बुबा, बुहारी र अन्य सदस्यहरूले पनि यो पीडालाई सकारात्मक काममा लगाएर समाजलाई खुसी दिएर त्यो पीडा बिर्सने प्रयास गरेका हौँ ।

तपाईंका लागि साहित्य के हो ? साहित्यकार को हो ?
स्कूल पढ्दाताका साहित्यकारहरुको नाम पत्रपत्रिका तथा किताबहरुमा देख्दा सोच्थें– यी मान्छेहरु कस्ता होलान् ? कहाँ होलान् ? यिनका परिवारहरु के गर्दै होलान् ? र आफैँमा प्रण गर्थें– भोलिका दिनमा म पनि यस्तै हुन्छ । साहित्य लेख्छु । पत्रपत्रिकामा आफ्नो नाम छापिने वा नछापिने द्वन्द्वमा पनि रुमलिन्थेँ ।

मेरा लागि चाहिँ साहित्यलाई समाज परिवर्तन संवाहक साहित्य हो र त्यसका अभियन्ताहरु साहित्यकार हुन् । कोही राम्रो लेखेर साहित्यकार बन्छन् । कसैले लेख्ने वातावरण तयार गरिदिन्छन् । कसैले पुरस्कार दिएर त्यस्ता व्यक्तिहरूलाई प्रोत्साहन दिन्छन् । मेरो विचारमा लेख्ने मात्र साहित्यकार होइनन्, साहित्यको सेवा गर्ने सबै साहित्यसेवीहरू साहित्यकार हुन् । अन्तर्राष्ट्रिय साहित्य समाजका कतिपय सदस्यहरू त्यति धेरै लेख्नुहुन्न तर रातोदिन भाषा र साहित्यका लागि काम छाडेर खटिरहनु हुन्छ । मलाई उहाँहरू अझ ठूलो साहित्यकार महसुस हुन्छ ।

तपाईं राम्रो लेख्नुहुन्छ तर आफ्नो आम्दानीको ठूलो हिस्सा साहित्य सेवामा खर्चिनु पनि हुन्छ । नेपालका केही साहित्यकारहरुलाई आफ्नै खर्चमा विदेशमा हुने साहित्य समारोहमा समावेश गराउनुसमेत भएको छ । साहित्यप्रति यस किसिमको झुकाव किन ?
जापान आएर पढ्दै र पार्ट टाइम जब गर्दैगर्दा नै मलाई लाग्थ्यो – नियमित रुपमा कलेज जाने र काम गर्ने त जसले पनि गरेकै छन् । म त लेखक, केही न केही फरक गरौँ भन्ने मनमा रहिरहन्थ्यो । फुर्सदमा रचनाहरु कोर्थें । त्यतिबेला यी सामाजिक सञ्जालहरु थिएनन् । चिठी पोस्ट गरेर नै विभिन्न पत्रपत्रिकाहरुमा रचनाहरु पठाएँ । म जापान आउनेताका एफएम तथा रेडियोहरुसँग निकटता थियो । नाम चलेका रेडियो कार्यक्रमहरुमा पनि चिठीपत्र पठाउँथेँ ।

यसर्थ, केही पृथक् बन्ने मेरो अभिप्राय सुरुबाट नै हो । यसमा गर्दै जाँदा यसले तान्दै जाने रहेछ । अर्कोचाहिँ सन्तुष्टिको माध्यम पनि रहेछ । धेरै कमाई मात्र गरेर पनि लोकले चिनेन, आफ्नो कृति स्थापित भएन भने के पो गर्ने ! बरु आफ्नो थोरै कमाइ घटेर सबैका लागि केही गर्न सकिन्छ भने त्योबाट सन्तुष्टि बढी पाइँदो रहेछ । यही सोचबाट अभिप्रेरित भएर हुनुपर्छ, साहित्यमा म आफ्नो कृति स्थापित गराउन खोजिरहेको छु । अनि के लाग्यो भने मेरो सानो सहयोगले राम्रो लेख्नेहरूलाई प्रेरणा हुँदोरहेछ । उहाँहरूले अझ राम्रो लेख्न सक्नुहुँदो रहेछ । लेख्ने काम गाह्रो हो भन्ने कुरा म आफैँ लेखक भएका कारणले महसुस गर्छु । यस्ता साहित्यकारलाई थोरै पनि हौसला दिन सकियो भने लेखकमा गुणात्मक परिवर्तन आउँदोरहेछ । यो थाहा पाएपछि आफ्नो कमाइको केही अंश साहित्य सेवामा लगाउनु पर्छ भन्ने सोच आयो । यसले अक्षरप्रति अझै प्रेम बसेको महसुस हुन्छ । सम्पूर्ण लेखक समाज नै मेरो परिवार हो भन्ने महसुस हुँदोरहेछ ।

जापानीहरुको स्वभाव उति नजिकिइहाल्ने हुँदैन भनिन्छ । तर तपाईंको जापानी साहित्यकारसँग पनि नजिकको सम्बन्ध छ भनिन्छ । यो कसरी सम्भव भयो ?
यसका लागि चाहिँ मैले धेरै मिहिनेत गर्नुपर्यो । जापानी साहित्यकारहरुसँग निकट हुनकै लागि मैले दश वर्ष खर्चिएँ । जापान पुगेको वर्ष त काम र कलेजमै सीमित भएँ । पछि अरु तीन वर्ष मलाई मूल जरो पत्ता लगाउनै लाग्यो । तावारा माची जापानको सेलिब्रेटी साहित्यकार । उनीसँग भेट्नका लागि पनि मैले ठूलो संघर्ष गर्नु पर्यो । जुन एक वर्षअघि मैले अन्नपुर्णमा लेख पनि लेखेको थिएँ । ऊसँग मैले भेटेको कुरा जापानीहरुले नै विश्वास गर्दैनन् । फोटै देखाउनु पथ्र्यो । फोटो देखिएपछि जापानीहरुले मलाई हेर्ने नजरमै परिवर्तन जाएको म अनुभव गर्थें । मैले त्यो सिलसिलामा म जन्मनुभन्दा अघि नेपाल आएका कवि तथा लेखहरुलाई समेत भेटें । उनीहरु त्योबेलाको नेपालका अनेक किस्सा सुनाउँदै हालको अवस्थाका बारेमा मसँग जिज्ञासा राख्थे ।

वर्ल्ड हाइकु एसोसिएसनलाई नेपालमा पनि हाइकु लेखिन्छ भन्ने कुरा नै थाहा रहेनछ । संगतमा पुगेपछि मैले नेपालमा हाइकु लेखिने र नेपालीमा करिब तीन सय जति हाइकु संग्रह निस्किसकेको कुरा बताउँदा उनीहरु छक्क पर्थें । हाइकु प्रतिको मेरो लगाव मात्र होइन, नेपालीले हाइकुलाई गरेको प्रेमका कारण म वर्ल्ड हाइकु एसोसिएसनसँग नजिक भएको हुँ ।

वर्ल्ड हाइकु एसोसिएसनको तपाईं पहिलो नेपाली कार्यकारी सदस्य हुनुहुन्छ । तपाईंको हाइकु लेखन र यस दुर्लभ उपलब्धिलाई कसरी बुझ्ने ?
मैले नेपालमा छँदा जति समय हाइकु लेखनमा खर्च गरेँ, त्यो समय नेपालमा गजलको बाढी आएको थियो । जहाँ गए पनि माहोल गजलको थियो । मैले गजलमा पनि हात नहालेको भने होइन, तर त्यहाँ मैले आफ्नो पहिचान नै संकटमा पर्ने देखेँ । त्यसपछि पृथक् गर्नका लागि हाइकुतिर लागेँ ।

प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दै गर्दा डा. अभि सुवेदीले अनुवाद गर्नुभएको एउटा किताब थियो, ‘जापानी हाइकुः हिजो र आज’ । त्यहाँबाट मैले हाइकुका बारेमा सौद्धान्तिक ज्ञान पाएँ र हाइकुतिरै लागेँ । ब्याचलर पढ्न काठमाडौँ आएपछि राजकुमार पाण्डे, क्षेत्रप्रताप अधिकारी, पुष्कर लोहनीहरुसँग मेरो भेट भयो । उहाँहरु नेपालमा हाइकु लेखनका अग्रज हुनुहुन्थ्यो । उहाँहरुसँग काम गर्दै जाँदा उहाँहरुले पनि मलाई रुचाउनु भयो । हाइकु लेख्दै गर्दा हाइकुको देश कसरी जान सकिन्छ भनेर बाटो खोज्न थालेँ । लोकसेवाको तयारीमा पनि थिएँ, तर मलाई हाइकुको देश जानु थियो ।

त्यो भए तपाईं हाइकु नभएर गजल लेखनतिर लाग्नु भएको भए अहिले जापान नहुन पनि सक्नुहुन्थ्यो ?
हो । मैले जापान आएर हाइकु लेखेको होइन । हाइकु लेखेका कारणले चाहिँ जापान आएको हुँ । र तपाईंले भनेको दुर्लभ उपलब्धि जापान आएकै कारण हासिल गरेको हो ।

तपाईंले लोकसेवाको तयारमा थिएँ पनि भन्नु भयो । जापान नजानु भएको भए नेपालमै सरकारी जागिरे बन्नु हुन्थ्यो ?
सायद । बुबा पनि सरकारी कर्मचारी नै हुनुभएको त्यो सम्भावना बढी थियो ।

लोकसेवा तयारी गर्दा ताकाको एउटा रमाइलो पक्ष के छ भने, म नियमित रुपमा सामान्य ज्ञान तथा लोकसेवासम्बन्धी पुस्तकहरु किन्थेँ । ती पुस्तकहरुमा भएका गल्तीहरु बनाएर फेरि पुस्तक पसलमै पुर्याएर लेखककोमा पुर्याइदिन भन्थेँ । एक जना पसले आफैँ प्रकाशक परेछन् । उनले मेरो ऊर्जा देखेर किताब लेख्न अनुरोध गरे । मैले लोकसेवा तयारी गर्दैखेरी सामान्य ज्ञानका चार वटा पुस्तक पनि लेखेँ । लोकसेवा पास गर्न नपाई जापान आएँ तर मैले लेखेका लोकसेवाका किताब पढेर धेरैले सरकारी जागिर खाए होलान् भनेर सन्तुष्ट हुन्छु ।

कुरा अनेसासको गरौं, तपाईं आफैँ पनि युवा तथा अनुज पुस्तालाई माया गर्ने भएकोले, अनुज पुस्तालाई साहित्यमा अनेसासका माध्यमबाट सम्वर्द्धन गर्ने योजनाहरु के छन् ?
यो संस्थाको स्थापना भएको तीस वर्ष भयो । सुरुमा यसको अभिप्राय प्रवासमा रहेर साहित्य लेख्ने स्रष्टालाई गोलबद्ध गर्नु थियो । अहिले यो संस्था मेरो नेतृत्वमा आइपुगेको छ । म सामूहिकतामा विश्वास गर्छु । एकैपटक सबै परिवर्तन सम्भव नहोला, तर तीस वर्षे संस्थाको आन्तरिक व्यवस्थापनका कुराहरु पहिले परिवर्तन गर्नु छ । र, हाम्रो पहिलो ध्यान पनि त्यतै छ ।

विगतमा चाहिँ संस्था स्थापनाको पाँच दश वर्षमा संस्थाको आन्तरिक व्यवस्थापन र काम गर्ने तौरतरिका जे थियो, तीस वर्षमा आइपुग्दा पनि त्यही नै रह्यो । अब हामीले ती तौरतरिकाले सुधारेर लाग्ने कुरामा सहमति गरेका छौँ । पछिल्लो पटक गठन भएका च्याप्टरहरुमा युवाहरुको उपस्थिति देखिन थालेको छ । हामी लेख्ने मात्र हैन, साहित्यको विकासमा योगदान पुर्याउन चाहने युवाहरुसँग पनि सहर्काय गर्दै अघि बढ्ने योजना बनाएका छौँ ।

अनेसासलाई विदेश भ्रमण गर्ने माध्यमका रुपमा पनि व्याख्या गरिने गरिन्छ । तपाईंको नेतृत्व यस व्याख्यालाई चिर्न सफल हुन्छ ?
एकदम सफल हुन्छ । यस्ता गुनासाहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मैले पनि सुन्दै आएको कुरा हो तर अब हामी अनेसास विदेश भम्रण गर्नकै लागि मात्र स्थापना भएको संस्था होइन भन्ने मानकचाहिँ स्थापित गराउने छौँ । यो मेरो प्रतिबद्धता छ ।

तपाईं अध्यक्षमा निर्विवाद निर्वाचित भइसकेपछि धमाधम कार्य योजना तथा त्यसलाई सम्पन्न गर्नका लागि समितिहरु बनेका छन् । ती कार्य योजनाहरु कतै घोषणामा सीमित हुने त हैनन् ?
विगतको अनुभवमा विभिन्न समिति गठनमै हामी पहिलो वर्ष बिताइदिन्थ्यौं । तर अहिले भने तीन महिनाभित्र सम्पूर्ण समिति गठन गरिसकेर योजनाअनुरुप तिनीहरुलाई काम गर्नेमा हामी अघि बढिसकेका छौँ । त्यसैले तत्काल समितिहरु गठनमा अलि बढी जोड दिइएको हो । हामीले तत्काल गर्न सकिने, एक वर्षभित्र गर्ने र दुई वर्षमा गर्ने गरी तीन तहमा कार्य योजनाहरु तर्जुमा गरेका छौँ । जहाँ गर्न नसकिने कामहरु केही पनि छैनन् । कोरोनाले गर्दा भौतिक उपस्थितिका कार्यक्रममा तलमाथि हुनसक्ला तर विगतमा जस्तो घोषणामा मात्र सीमित नहुने कुरामा चाहिँ ढुक्क हुन अनुरोध गर्छु ।

साहित्यमा धेरै खालका गुट उपगुट छन् । अनेसासमा पनि छन् । तपाईंले यी कुरालाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
नेतृत्व तहमा स्वार्थ भइदियो भने गुटको कुरा जोडिँदोरहेछ तर नेतृत्व निःस्वार्थ हुने हो भने गुट उपगुटले प्रभाव पार्न नसक्दा रहेछन् । आफैँ मत्थर भएर जाँदारहेछन् । अहिलेको हाम्रो कार्यसमितिका पदाधिकारीहरुलाई विगतका कमी कमजोरीहरु थाहा छन् । त्यसको निवारणतर्फ हामी लागेका छौँ । च्याप्टरहरुमा पनि गुटहरु हुन सक्छन्, एउटा अध्यक्षलाई अर्कोले नमान्नेजस्ता घटना देखिएको गुनासा पनि सुनिन्छन् तर नेतृत्वमा बसेका हामी व्यक्ति होइन, सम्बन्धित च्याप्टरको काम हेरेर अघि बढिरहेका छौँ । हाम्रो टिम स्वार्थबाट माथि उठ्नेबित्तिकै यी समस्या समाधान हुन थालेका छन् ।

मुख्य कुरा नेतृत्वले लिने अडान र नीतिले संस्था कता जान्छ भनेर निर्क्योल गर्छ । हाम्रो टिम संस्थाको नीतिभन्दा एक पाइला पनि यता-उता जाँदैन । यो मेरो विश्वास मात्र होइन, घोषणा नै हो ।

 

प्रतिक्रिया
Loading...