नेपाली साहित्यको सम्पूर्ण पत्रिका

गाम्नागेलाई प्रश्न– काठमाडौंका घरभेटीहरूको धुस्नु काढेर कहिलेको रिस पोख्नु भएको ?

लक्ष्मण गाम्नागेसँग पुस्तक वार्ता

साहित्य क्षेत्रमा रुचि राख्नेले लक्ष्मण गाम्नागेलाई हास्यव्याङ्ग्य कवि तथा निबन्धकारका रुपमा चिन्छन् । उनलाई हास्यव्याङ्ग्य साहित्यको क्षेत्रमा स्थापित गराउन सिस्नोपानी नेपालको भूमिका पनि छ । तर अब गाम्नागे कवि र निबन्धकारको परिधिमा मात्र सीमित नभएर उपन्यासकार बनेका छन् । उनले हालसालै पसिनाका पाइला शीर्षकको सामाजिक उपन्यास बजारमा ल्याएका छन् ।

प्रस्तुत छ, उनै गाम्नागेसँग उनको नवप्रकाशित कृति पसिनाका पाइलाहरुकै सेरोफेरोमा रहेर साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको कुराकानीको सम्पादित अंशः

तपाईँको परिवारमा दर्जन बढी लेखक हुनुहुन्छ, यसको राज के हो ?

सायद शिक्षाको प्रभाव होला । हाम्रो हजुरबा पण्डित हुनुहुन्थ्यो । उहाँका सात भाइ छोरा हाम्रा पिताजीहरू सबै शिक्षित र विद्वान् हुनुहुन्थ्यो । धेरै भाइहरू नाम चलेका पण्डितहरू हुनुभयो । शिक्षाका लागि उहाँहरू उत्प्रेरक हुनुहुन्थ्यो । उहाँहरूमध्ये मेरा पिताजी पण्डित चिदानन्द भट्टराईको त साहित्यमा पनि उत्तिकै लगाव थियो । उहाँका दुईवटा कृतिहरू प्रकाशित भएका छन् र अरु पनि हुने तरखरमा छन् । हाम्रो पुस्तामा पनि दाजु डा. तुलसी भट्टराई र डा. गोविन्दराज भट्टराईहरू नेपाली साहित्यको क्षेत्रमा स्थापित हुनुभयो । उहाँहरूका पदचापलाई पछ्याउने पनि परिवारमा हामी धेरै भयौँ । यसरी हेर्दा पारवारिक पृष्ठभूमि र वातावरणले पनि धेरैलाई लेख्न प्रेरणा दियो होला । मुख्य कुरा त बल गरेर मात्रै कोही लेखक बन्न सक्ने होइन । भित्री प्रतिभा हुनैपर्छ, संयोगले परिवारमा त्यस्ता व्यक्ति धेरै भइयो होला ।

तपाईँ हास्यव्यङ्ग्य कविता र निबन्ध लेखिरहेको मान्छे, एक्कासि उपन्यासमा किन ? उपन्यासको बजारले लोभ्याएको त होइन कतै !

हास्यव्यङ्ग्य, कवितामा नअटाउने कुराहरू लेख्ने प्लेटफर्मको रुपमा मैले उपन्यास रोजेको हुँ । मनमा रहेका अनेक संस्मरण र कथाहरू, कतिपय सत्य घटना र संस्मरणहरूलाई लेख्नु पनि छ, सोझै लेख्न अलि अप्ठ्यारो पनि छ, त्यस्ता चिजहरूलाई पोख्न आख्यानको बाटो रोजेको हुँ । यसै पनि आख्यानको बजार तुलनात्मक रुपमा अलि ठूलो छँदैछ । आफूले लेखेका कुरा धेरैभन्दा धेरैले पढून्, मन पराऊन् भन्ने जसको पनि इच्छा हुन्छ । यो पनि धेरै पढियो भने लेखक पाठक दुवैथरीलाई फाइदै होला ।

लक्ष्मण गाम्नागे

म बजारले लोभ्याएर चाहिँ लेख्ने गर्दिनँ । ‘बजारले लोभ्याउने’ भन्नाले मूल दुई कुरा त होलान्, ख्याति र पैसा । मलाई ती दुवै कुराको लोभ छैन । बजारमा चले पनि नचले पनि लेख्नुपर्ने विषयले घचघच्याएपछि म लेख्छु ।

उपन्यास पसिनाका पाइला भित्रका कथामा तपाईंको भोगाइको हिस्सा कति हो ? पापी मास्टर त तपाईंकै भोगाइबाट जन्मिएको पात्र जस्तो लाग्छ नि !

व्यक्तिगत रुपमा मैले नै भोगेका पनि धेरै कुरा छन् । प्रतिशतमै अनुमान गर्ने हो भने पनि ३० प्रतिशत त होलान् । बाँकी धेरै कथा मेरा नजिकका नातेदार, साथीभाइ र अनेक परिचितहरूले भोगेका घटनाहरूबाट साभार गरिएका छन् । जोडजाड गर्दा पचहत्तर प्रतिशतभन्दा बढी सत्य घटनासँग कथाहरू जोडिन्छन् । ‘पापी मास्टर’ म होइन, तर म त्यस्ता घटनाहरूको प्रत्यक्षदर्शी हुनसक्छु ।

उपन्यासमा कान्ती नामकी मुख्य पात्र खडा गर्नुभएको छ । कान्ती वास्तविकतासँग कति नजिक छिन् ?

मलाई कान्तिजस्ता महिलाहरू मन पर्छ । विद्रोही, आँटी, नेतृत्व क्षमता भएका । कान्ती मैले कोही एक जना वास्तविक पात्रको चरित्रबाट उतारेको हुँ, तर घटना भने अर्धवास्तविक मात्र हो ।

उपन्यासमा काठमाडौंका घरभेटीहरूको त धुस्नै काढ्नु भएको रहेछ । कहिलेको रिस पोख्नुभएको यसरी ?

धुस्नु काडेको होइन । आफूले भोगेका वास्तविक घटनाहरूलाई कथाको रुप दिएको मात्र हो । काठमाडौंमा घरभेटी र डेरावालका प्रेम र द्वन्द्वका कथा कति छन् कति । तीमध्ये केही सांकेतिक रुपमा मात्र मैले प्रस्तुत गरेको हुँ । रिस पोखेको होइन, रमाइलो पोखेको हो । ती सबै मीठामीठा संस्मरणहरू थिए र पो आज एउटा उपन्यासमा तिनीहरूले स्थान पाए ।

सहदेउ सरले त्यति विघ्न प्रेम गरेकी ईश्वरा अहिले के गर्दै होली ?

मलाई पनि केही पात्रहरूको खूब सम्झना आउँछ । ईश्वरा पनि कहिल्यै बिर्सन नसकिने एक पात्र हुन् । उनी पक्कै बूढी भइसकिन् । नातिनातिना भए होलान् । उनको गाउँको त्योबेलाको वातावरण विचार गर्दा तिनले पढाइलाई खासै अघि बढाइन् जस्तो लाग्दैन । एसएलसी दिँदा नदिँदा बिहे भयो होला, धादिङ, नुवाकोट, काभ्रे कतै । उनका छोराछोरीहरूले पढे लेखे होला । ईश्वराले सायद एक कुशल गृहिणीको रुपमा जीवन बिताइन् होली । तिनी कतै छिन् होली, तिनको सुस्वास्थ्य र दीर्घजीवनका लागि म शुभकामना दिन्छु ।

उपन्यास हास्यरसले भरिएको छ । तर शीर्षक किन गम्भीर ? उपन्यासलाई शीर्षकले न्याय गरेन कि !

होइन, ठाउँ ठाउँमा हास्यरस छ तर करुणरसको आधिक्यता छ । हास्यरसमा लामो समयदखि लेख्दैआएको भएर कतिपय ठाउँमा स्वतः हास्यरस चुहावट भएको मात्र हो । यो नितान्त सामाजिक उपन्यास हो । निम्न वर्गका पात्रहरूले बाल्यकालदेखि प्रौढ अवस्थासम्म जीवन बचाइका क्रममा बगाएको पसिनाको कथा छ यसमा । शीर्षकले न्याय गरेकै जस्तो लागेको छ मलाई ।

उपन्यासलाई “हास्यव्यङ्ग्य उपन्यास” भनेर प्रचार गर्नु भएको भए व्यापारमा फाइदै पो हुन्थ्यो कि !

यसलाई मैले हास्यव्यङ्ग्य मानेको छैन । हास्यव्यङ्ग्यमै उपन्यास लेखेर म त्यो काम गर्नेछु । फाइदा होला भन्दैमा नभएको कुरा गर्न मिलेन ।

सर्जकले आफ्नो कृति धेरैभन्दा धेरै पाठकले पढून् भन्ने नै चाहान्छ । एउटा पाठकले “पसिनाका पाइला” किन पढ्ने ?

यसको ठ्याक्कै उत्तर मसँग छैन । बजारमा दैनिक अनेकथरीका किताबहरू निस्किरहन्छन् । ती सबै पढ्नुपर्छ भन्ने केही छैन । पसिनाका पाइला पनि पढ्नैपर्छ भन्ने केही छैन । पाठकलाई कुनै कारणले तान्यो भने, जँच्यो भने पढ्ने हो ।

तैपनि प्रकाशन भएको छोटो समयमा निकै धेरै पाठकहरूले पढेर यसलाई राम्रै किताब मानेका प्रतिकृयाहरू आइरहेका छन् । उहाँहरूका प्रतिकृया अनुसार ‘किताब पढ्न थालेपछि छाड्न मन नलाग्ने’, ‘पढिसकेर पछुताउनु नपर्ने’ ‘मेरै कथा लेखिएको पाएँ’ जस्ता प्रतिकृयाहरू आइरहेको हुँदा त्यस्तो कुरा के रहेछ त यो किताबमा भनेर थाहा पाउन पढ्दा राम्रै होला ।

प्रतिक्रिया
Loading...