नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘कविता/सोच’को एउटा अनाैठो प्रयोग

के हो 'कविता/सोच' ?

२०४९ सालको एक दिन श्यामल लगायतका केही कविहरूसँग चिया गफ हुँदै गर्दा समकालीन नेपाली कविले लेखिरहेको कविता, तिनको कविताले बोक्ने विचार र खासमा उनीहरू स्वयं किन कविता लेख्छन् भन्ने धारणा समेटिएको एउटा छलफल कार्यक्रम चलाउने निधो भयो । सो कार्यक्रममा कविहरू आउँछन्, आफ्नो सर्वोत्कृष्ट कविता यो हो भनी घोषणा गर्छन् र सुनाउँछन् । त्यसको संयोजनको जिम्मेवारी साहित्यकार राजेन्द्र पराजुलीले पाए । यसपछि कविहरूको एउटा सूची बनाइयो । यसका लागि १८ जना कवि छानिए र गरियो, एउटा भव्यतम् कार्यक्रम ।

राजेन्द्र पराजुली

यस कार्यक्रमको भव्य सफलतापछि एउटा पुस्तक नै निकाल्ने सोच बन्यो र तयार भयो, ‘कविता/सोच’ कृति । जसलाई नेपाल साहित्य गुठीले २०५० सालमा प्रकाशन गरेको थियो ।

पुस्तक र अभियानहरूको खातमा कतै हराइसकेको सो अभियानको पुनीत उद्देश्य त्यसै नबिलाई जाओस् भन्ने उद्देश्यका साथ साहित्यपोस्टले अबका केही साता नियमित रूपमा यसलाई उत्खनन गर्ने भएको छ ।

यस उत्खननलाई साथ दिनुहुने ‘कविता/सोच’का सम्पादक राजेन्द्र पराजुलीप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।

 

समकालीन नेपाली कविता र कविता/सोचका कविहरू

ललिजन रावल

ललिजन रावल

नेपाली कविताको पद्य परम्परालाई तोडेर गोपालप्रसाद रिमालले गद्य कविताको श्रीगणेश गरे र त्यही बिन्दुबाट नेपाली कविताले आधुनिकताको स्पर्श पाएको देखिन्छ । त्यसपछि महाकवि देवकोटा र सिद्धिचरण श्रेष्ठजस्ता त्यस कालका सुविख्यात कविहरू पनि कवितालाई आधुनिकता प्रदान गर्न गद्य कवितामा आफ्नो विशिष्ट योगदान दिँदै गए । यसरी नेपाली कविता आधुनिकतातिर क्रमशः उन्मुख हुँदै गयो र परम्परागत छन्द र पद्य संरचनाको बन्धनबाट पनि मुक्त हुँदै गद्य कविताका रूपमा विकसित हुँदै मौलाएको देखिन्छ ।

गोपालप्रसाद रिमालपछि आधुनिक कवितामा देखापरेका सबैभन्दा सशक्त कवि भूपी शेरचन हुन् । अत्यन्तै संवेदनशीलताका साथ कवितालाई सरल, सहज र सम्प्रेषणीय बनाउनुका साथै युगबोधलाई काव्यात्मक अभिव्यक्ति दिने प्रयोजन भूपीका कवितामा पाइन्छ । दुरूह र जटिल बन्ने अभिनय भूपीले कहिल्यै गरेनन् । बरू सहज रूपमा यथार्थलाई व्यंग्यका माध्यमद्वारा उद्घाटित गर्नु उनको कविताको लक्ष्य हो । मीठत्र लयको उपस्थिति भएका उनका अनुप्रासयुक्त सुन्दर कविताहरू प्रगतिशील चेतनाद्वारा अनुप्राणित छन् । बिम्ब र प्रतीकको विशिष्ट प्रयोग र काव्य प्रभावका दृष्टिले भूपी नेपाली आधुनिक कविताका शिखर व्यक्तित्व हुन् भन्दा फरक नपर्ला ।

भूपीकै कालका मोहन कोइराला, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, ईश्वर बल्लभ, वैरागी काइँला, विजय मल्ल, कृष्णचन्द्र सिंह प्रधान, मोहन हिमांशु थापा, पारिजात, हरिभक्त कटुवाल, वासु शशी, उपेन्द्र श्रेष्ठ, आनन्ददेव भट्ट, तुलसी दिवस, गोविन्द भट्ट आदि कविहरूमध्ये कोही दुरूहतम संरचनातिर अग्रसर भएर चर्चित रहेका छन् भझने कोही हार्दिक र सरल कविताका स्रष्टाका रूपमा लोकप्रिय भएका छन् । यहाँ उल्लेख गरिएका कविहरूका अन्य समकालीन कवि र त्यसपछिका सबै कविहरूले आआफ्नो ठाउँबाट आधुनिक कवितालाई ठोस योगदान दिएका छन् । यसले गर्दा नै आजको नेपाली कविता यति सम्पन्न र समृद्ध हुँदै गएको छ ।

नेपाली आधुनिक कविता २०३० को दशकपछि झनै स्पष्ट रूपमा आफ्नो यात्रामा संलग्न देखिन्छ । यसअघिको समयमा कविता विभिन्न वाद र प्रयोगमा अल्झिएको थियो भने यस समयमा आएर विशेषतः शाब्दिक चमत्कार र दुरूहतालाई त्याग्दै आफ्नो सरल र सहज रूप देखाउन नेपाली कविता समर्थ हुँदै आएको छ । २०२० देखि यताको समयका समसामयिक कविहरूमा विमल निभा, मञ्जुल, कृष्णभूषण बल, विमल कोइराला, मीनबहादुर बिस्ट, दिनेश अधिकारी, मञ्जु काँचुली, वेञ्जु शर्मा, विष्णुविभु घिमिरे, श्यामल, अशेष मल्ल, सरूभक्त, पूर्णविराम, कणाद महर्षि, विश्वविमोहन श्रेष्ठ, गगन श्रेष्ठ (विरही), स्व. जीवन आचार्य, नकुल सिलवाल, राजव, प्रमोद प्रधान, गोविन्द गिरी प्रेरणा, फणिन्द्र नेपाल, गोविन्द वर्तमान, ललिजन रावल आदि कविहरू कविता रचनामासक्रिय रहँदै आएका छन् । यसै समयको पछिल्लो कालमा राजकुमार केसी, स्व. लोकेन्द्र शाह, पुरूषोत्तम सुवेदी, विप्लव ढकाल, उदय निरौला, श्रवण मुकारूङ, नरेन्द्रबहादुर श्रेष्ठ आदि कविहरू आफ्नो पहिचान बनाउन सफलतातिर उन्मुख देखिन्छन् ।

२०३० को दशकपछि निरन्तर काव्य साधनामा संलग्न कविहरू जो ‘कविता/सोच’मा संकलित छन्, तिनकै बारेमा सामान्य चर्चा गर्ने प्रयास यहाँ गरिएको छ । हुन त यसमा संकलित कविहरूमध्ये केही २०२० को दशकदेखि नै काव्ययात्रामा संलगन हुँदै आएका छन् र केही २०४० को दशकसँगसँगै काव्य जगतमा देखापरेका हुन् । ‘कविता/सोच’ ग्रन्थ प्रकाशित गर्नुको उद्देश्य समसामयिक कविता मात्र प्रकाशन गर्नु नभएर प्रत्येक कविका आफ्ना काव्यगत मान्यताहरू पनि प्रस्तुत गर्नु रहेको छ । नेपाली कविताका संकलन प्रकाशित गर्ने परम्परामा यत्र एउटा नौलो शुरूवात हो । आलोचक वा चिन्तकहरूले कविताको परिभाषा र व्याखया प्रस्तुत गर्दै आएका छन् तर स्वयं कविले आफ्नो कविताबारे के भन्छन् ? अर्थात् कवि स्वयंलाई एकछिन आफ्नै समीक्षा गर्न लगाइएको यस पुस्तकले सर्वथा नौलो कार्यको थालनी गरेको छ । कविहरू स्वयं आफ्नो संरचनागत प्रक्रिया र सोचका प्रवक्ता बनेर यहाँ बोलिरहेका छन् ।

समसामयिक नेपाली कविता सरलता साथ प्रस्तुत हुनु प्रमुख विशेषता हो । जीवनका जटिलताहरू सहज रूपमा व्यक्त भएकाले कविताको सम्प्रेषणीयता बढेको छ । र, मानव मनसँग यसले तादात्म्यता स्थापित गर्न सकेको छ । आजका प्रायःजसो कविहरू यस कुराप्रति सचेत छन् । बौद्धिकताको नाममा विचारहीन कुरा प्रस्तुत गरेर जटिलता र अमूर्तताको पछाडि कविहरू दौडेका छैनन् । यसर्थ आजका कविता जीवनका सम्पूर्ण भोगाई र अनुभूतिहरूलाई सरलतम् रूपमा अभिव्यक्त गरिरहेको छ । यसको अर्थ सरलताको नाममा कविहरू काव्यात्मक सौन्दर्यलाई लत्याएका छन् भन्न खोजिएको होइन । सौन्दर्य र भावको सघनता नभइकन पनि सरल र सहज रूपमा कविता प्रस्तुत हुनु भनेको अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यस्ता कविताले काव्यात्मक आस्वाद प्रशस्त प्रदान गर्छन् र ती कविता लोकप्रियताको माथिल्लो स्तरसम्म पुग्न सफल पनि हुन्छन् । साथै यस्ता कवितालाई पाठकले पनि सहज रूपमा ग्रहण गर्छन् । ‘कविता/सोच’का कविताहरू पढ्दा यही कुरा पुष्टि हुन्छ ।

आजको नेपाली कवितालाई लामो समयदेखि आफ्नो लेखनीद्वारा समृद्ध पार्दै आएका कवि विमल निभा कवितामा व्यंग्यको पुट भर्न अत्यन्तै निपुण छन् । ज्यादै सहज रूपमा अभिव्यक्ति दिने कवि निभा बिम्ब र प्रतीकको अत्यधिक प्रयोग गर्दागर्दै पनि सरल छन् । उनका कविता व्यंग्योक्तिसहित प्रभावपूर्ण र चोटिला बन्न पुगेका छन् । प्रगतिवादी चेतनाद्वारा उनका कविताहरू आफ्नो लक्ष्यतर्फ अघि बढेका छन् । ‘आगोनेर उभिएको मानिस’ कविता संग्रहमा कवि निभाका कविता संकलित छन्, जसले उनको कवि व्यक्तित्वलाई निजीपन र वैशिष्ट्य प्रदान गरेका छन् । प्रगतिवादी कविताका अर्का प्रमुख हस्ताक्षर कवि मञ्जुल तीन दशकदेखि साधरत प्रतिभा हुन् । अत्यधिक चर्चित र लोकप्रिय भइसकेका मञ्जुलका कविताहरू दुई किसिमले प्रस्तुत भएको अनुभव गर्न सकिन्छ । पहिलो किसिमका कवितामा उनी विचारलाई प्रवल रूपमा राख्छन् भने दोस्रोमा सौन्दर्यलाई प्रधानता दिन्छन् । यसले के देखिन्छ भने एउटामा सौन्दर्यको मात्रा न्यून देखिन्छ भने अर्कोमा विचारप्रति उदासिनता । ‘गायक यात्री’ र ‘मञ्जुलका नयाँ कविता’ यी दुई संग्रहले यही कुरालाई पुष्ट्याउँछन् तर मञ्जुल यो नाम उहिलेदेखि नै चर्चाको शिखरमा रहेकाले उनलाई यही नामले अझै लामो समयसम्म धान्ने सामर्थ्य राख्छ ।

समसामयिक कविताका क्षेत्रमा कणाद महर्षि परिचित नाउँ हो । कुनै समय कवितामा प्रयोग गर्न रूचाउने महर्षि पछिल्लो समयमा कवितालाई सामाजिक प्रयोजनका निम्ति बढी स्वीकार्न थालेका छन् । काव्य-सौन्दर्यप्रति सचेत कवि महर्षिको ‘पग्लेका लाभाहरू’ प्रकाशित कविता संग्रह हो ।

यसैगरी मूलतः नाटककारका रूपमा स्थापित अशेष मल्ल शुरूमा कविका रूपमा पनि त्यत्तिकै चर्चित प्रतिभा हुन् । नाटक लेखनको व्यस्तताले उनीभित्रको कवि यता केही वर्षहरूमा पन्छिएको देखिए तापनि अशेष मल्ल युवा पुस्ताका एक सक्षम कवि हुन् ।

नेपाली कथामा आफ्नो विशिष्ट पहिचान राख्ने राजव कविता विधामा पनि गम्भीरतापूर्वक लागेको देखिएका छन् । समय, पात्र वा स्थल विशेषको झिनो कथानक टिपेर त्यसको सुन्दर काव्य-अभिव्यक्ति दिँदै राजव कविताका क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल देखिँदैछन् ।

कवितामा नवीन भाषााको खोज गर्दै काव्य रचनामा लागेका श्यामल एक गम्भीर कवि हुन् । शाब्दिक चयनदेखि लिएर लय व्यवस्थामा समेत सचेततापूर्वक ध्यान पुर्याउने श्यामलका कविताहरूमा सोच र सौन्दर्यको विशिष्ट समीकरण भएको पाइन्छ । गद्य लेखनमा समेत प्रखर शैली भएका श्यामलको ‘तपाईंहरू मार्तफ्’ नामक कविता संग्रह प्रकाशित छ । साहित्य लेखन र चिन्तनमा आफूलाई पूर्णतः समर्पित गरेका युवा प्रतिभा सरूभक्त आजका चर्चित साहित्यकार हुन् । कविताका साथै नाटक र उपन्यास विधामा समेत सफल रहेका सरूभक्त मूलतः प्रयोगधर्मी लेखक हुन् । ‘बोक्सीको आह्वान र घोषणापत्र’ उनको प्रकाशित कविता संग्रह हो । युवा पुस्ताका कविहरूमा लेखन र साहित्यिक गतिविधिहरूमा अत्यधिक सक्रिय कविको नाम हो, नकुल सिलवाल । उपन्यास र कथा विधालाई समेत अँगाल्ने सिलवालका कविताहरूमा विशेष गरी ग्रामीण परिवेश र ग्राम्य पात्रहरूको बाहुल्य हुन्छ । समसामयिक विसंगतिप्रति आफ्ना कवितामा व्यंग्यको प्रयोगसमेत तीक्ष्ण रूपमा गर्ने सिलवालका ‘सूर्य उदाएपछि’, ‘पहिरोले उतारेको मानचित्र’ र ‘नकुल सिलवालका कविताहरू’ नामक तीन कविता संग्रह प्रकाशित छन् ।

पूर्वाञ्चल क्षेत्रबाट युवापुस्ताको प्रतिनिधत्व गर्ने प्रमुख कविहरूमा प्रमोद प्रधान एक हुन् । कविता लेखनमा निरन्तर सक्रिय कवि प्रधान अनुभूतिलाई सरल रूपमा पाठकसामु राख्दछन् । समीक्षा लेखनमा समेत रचि राख्ने प्रधानका ‘रातभरिका सुस्केराहरू’ र ‘विभाजित मान्छे’ नामक दुई कविता संग्रह प्रकाशित छन् । आजका धेरैजसो कविहरूका भन्दा अलिकति फरक शिल्प-विधान लिएर देखापरेका कवि पुरूषोत्तम सुवेदी कवितालाई सपाटपनबाट टाढा राख्न खोज्छन् । यसो गर्नाले कविताको बाटो अलि घुमाउरो रूपमा प्रस्तुत हुन पुग्छ तर उनको सुल्झिएको र स्पष्ट विचारले कवितालाई अल्मलिन भने दिँदैन । कवि सुवेदीको ‘आतंक गन्ध’ कविता संग्रह प्रकाशित कृति हो ।

संख्यात्मक रूपमा कम कविता देखिए पनि कवि गोविन्द वर्तमानसँग काव्य-तत्त्वको राम्रो समझ भएको कुरा उनका कविताले पुष्टि गर्छन् । फुटकर रूपमा प्रकाशित उनका कविताले अभिव्यक्ति सौन्दर्य र विचारको गम्भीरता दुवैलाई समानुपातिक रूपमा आत्मसात गरेको पाइन्छ ।

कवि दिनेश अधिकारी आजका एक चर्चित कवि हुन् । र, पछिल्लो समयमा आएर उनले गीतिविधामा पनि हात हालेका छन् । प्रचलित शैलीमा राम्रा कविता लेख्ने अधिकारीले संखयामा जोड दिएकाले गुणात्मकतामा केही ह्रास आएको अनुभव हुन्छ, कविता र गीत दुवै विधामा । तर उनले चर्चामा आउने त्यो सौभाग्य पाएका छन्, जुन उनका समकालीन कविहरूले थोरै मात्रामा मात्र पाएका छन् । ‘अन्तरका छिटाहरू’, ‘आदिम आवाज’ र ‘धरतीको गीत’ कवि अधिकारीका प्रकाशित कविताकृति हुन् ।

यस्तै गोविन्द गिरी प्रेरणा आजका अर्का चर्चामा आएका लेखक हुन् । उपन्यास र कविताका साथै विविध विधामा कलम चलाउने प्रेरणाको ‘स्वप्नकथा जारी छ’ नामक कविता संग्रह प्रकाशित छ । कवितामा चमत्कारपूर्ण अभिव्यक्तिप्रति कुनै मोह नदेखाएर भावनालाई सहज रूपमा अभिव्यक्त गर्न कवि प्रेरणा रूचाउँछन् ।

आवरण शिल्पीका रूपमा यता केही समयदेखि चर्चित नरेन्द्रबहादुर श्रेष्ठ क्रियाशील कवि हुन् । ‘ऊ भएर मेरो अभिव्यक्ति’ कविता संग्रहका कृतिकार श्रेष्ठ कविता लेखनका साथै साहित्यिक गतिविधिमामा पनि त्यत्तिकै सक्रिय रूपमा लागिपरेका छन् ।

नेपाली साहित्यमा नारी हस्ताक्षरको एक प्रकारले खडेरी नै परेको अनुभव हुन्छ । यस्तो स्थितिमा लामो समयदेखि साहित्य सिर्जनामा साधनारत प्रतिभा बेञ्जु शर्मा र मञ्जु काँचुली चर्चित साहित्यकार हुन् । हरेकजसो साहित्यिक समारोह र प्रकाशनहरूमा प्रतिनिधित्व गर्ने शर्मा र काँचुली कविताका साथै कथा विधामा पनि उत्तिकै परिचित स्रष्टा हुन् ।

पछिल्लो समयका चर्चित कविहरूमा राजकुमार केसी गम्भीर कवि हुन् । गद्य कवितालाई पनि मीठो लयमा बाँधेर शब्दहरूलाई चेसका गोटीझैँ सजगतापूर्वक प्रयोग गर्न रूचाउने कवि केसीका ‘भूगोलका रेखाहरूबाट’ र ‘निहत्था मेरो सडक’ दुई कविता संग्रह प्रकाशित छन् ।

यस संकलनमा परेका कविहरूमा उमेरले पनि र लेखनले पनि सबैभन्दा कान्छा कवि विप्लव ढकाल प्रतिभाशाली कविका रूपमा देखापरेका छन् । कवितालाई आकर्षक बनाउन उनी शैली पक्षमा विशेष ध्यान पुर्याउँछन् र मिथकको प्रयोग पनि विशिष्ट किसिमले गर्छन् । कविताबाहेक अन्य विधाहरूमा पनि प्रशस्त सम्भावना बोकेका कवि ढकालको ‘हिउँको यात्रा’ नामक छोटा कविताहरूको संकलन प्रकाशित छ ।

यसरी ‘कविता/सोच’मा संग्रहित कविताहरू पढ्दा स्पष्ट रूपमा समलकालीन नेपाली कविता प्रस्तुतिका सम्पूर्ण किसिमका स्वाङहरूलाई लत्याउँदै र सरलतालाई अँगाल्दै आफ्नो सहज रूपसहित उपस्थित भएको देखिन्छ । समग्रमा भन्नु पर्दा आजको नेपाली कवितालाई सरलतालाई अँगाल्दै अघि बढेको छ र कविहरू स्वयं पनि आफ्ना धारणाहरूद्वारा यही कुरा व्यक्त गरिरहेका छन् । वास्तवमा यही नै आजको कविताको सबैभन्दा महत्त्वपूर्ण पक्ष पनि बन्न पुगेको छ ।

२०५० असोज २
बबर महल, काठमाडौँ

(अर्को सातादेखि हामी कवि र ‘कविता/सोच’ प्रस्तुत गर्नेछौँ ।)

प्रतिक्रिया
Loading...