नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अनेसासमा मेराे उपस्थिति मेराे इच्छा र साथीभाइकाे चाहानाकाे उपज हाे – सर्वज्ञ वाग्ले

सर्वज्ञ वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव तथा एनआरएन अमेरिकाका उपाध्यक्ष हुन् । यी दुबै संस्थाकाे मुख्य उद्धेश्य नै नेपाली जाति, भाषा, साहित्य र नेपालका विषयमा विशेष चिन्ता लिँदै त्यसकाे सुधारमा निरन्तर प्रयास  गर्ने हाे ।  नेपाली भाषा र साहित्य प्रति विशेष लगावकै कारण अमेरिकाकाे व्यस्ततम जीवनबाट महत्वपूर्ण समय निकालेर  वाग्ले यी दुबै संस्थामा अहाेरात्र खटिरहेका छन् ।  अमेरिकामा रहेर पनि उनी निरन्तर पत्रकारिता पनि गरिरहेका छन् । गएकाे ५ वर्षयता जुम जस्ता प्लेटफर्मकाे व्यवस्था नहुँदादेखि आजसम्म वाग्लेले  “ साहित्य संवाद “ जस्तो चर्चित साहित्यिक कार्यक्रम चलाएर देश विदेशमा छरिएर रहेका साहित्यकारहरूलाइ जाेड्ने काम पनि गरिरहेका छन् ।

गएकाे वर्ष मात्र उनकाे पाँचौं कृति ‘पुनर्वास’ बजारमा आएको थियो । भारतीय सीमामा बस्ने जनताकाे पीडा उठाइएकाे याे कृति  सामायिक राजनीतिक एवं विषयका कारण चर्चामा आएको थियाे। जुवाघर, युधिष्ठिर जुवासँग सम्बन्धित कृतिका लेखक  वाग्ले जुवा खेलेर उठिबास हुनेहरूलाइ नजिकबाट चिन्ने स्रष्टा हुन् । भाेगेका कुरा लेख्ने र समाजिक जीवन बाच्ने वाग्लेसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको अन्तरंग कुराकानीकाे सम्पादित अंश :

तपाईंको बुबाले कुनै समय नेपाली काँग्रेसबाट सक्रिय राजनीति गर्नुभएको रहेछ, कोइराला निकट । तर बुबाले कतै राजनैतिक लाभ लिएको वा पाएको त देखिएन नि ?

हो, बुबाले लामो समय काँग्रेसबाट सक्रिय राजनीति गर्नु भयो । पुनर्वासमार्फत् कञ्चनपुर पुगेपछि त्यहाँको पहिलो नगरप्रमुख (अध्यक्ष) को भूमिकामा पनि काम गर्नु भयो । तर त्योभन्दा अघि बढ्न सक्नु भएन । त्योसँग हाम्रो अर्थिक पाटो जोडिएको थियो । काँग्रेसको नेतृत्वले व्यक्ति चिनेन, इमान्दारी र सिद्धान्तमा हिँड्ने व्यक्तिलाई छोड्याे । बरु त्यहीको ठाउँमा आर्थिकरुपमा सक्षम भएका, पार्टीका लागि जति पनि पैसा खर्च गर्न सक्नेहरुले ठाउँ पाए । सायद, मेरो बुबा पनि पार्टीको यस किसिमको प्रवृतिकै सिकार हुनुभयो ।

नेता तथा मन्त्रीहरुका लागि पजेँरो आउँदाखेरी विदुर पौडेलले त्योबेला विरोध गर्नुभयो । उहाँ त्यो बेलाको काँग्रेसका सक्रिय नेता हुनुहुन्थ्यो । आफ्नो सुखभोगका लागि कर छलेर, जनताको करलाई त्यस किसिमले खर्च गर्नु नहुने उहाँको मत थियो । तर त्यसपछि काँग्रेसमा लगभग उहाँको भूमिका नै देखिन छोड्यो । उहाँको राजनैतिक व्यक्तित्व नै समाप्त पारियो । विदुर पौडेल त एक उदाहरण मात्र हुन्, उहाँ जस्ता नियति ब्यहोर्ने धेरै छन् पार्टीमा ।ती मध्ये एकजना मेरो बुबा पनि हुनु भयो ।

पार्टीहरुमा, संगठनहरुमा विदुर पौडेल जस्ता आर्दश र सिद्धान्तवादी नेताहरुलाई स्थापित हुन नदिएको वा नगराइएकै कारण नेपालको राजनीति अहिलेसम्म पनि विकसित र देश समृद्ध हुन नसकेको हो ? तपाईंलाई के लाग्छ ?

एकदम । त्यही हो नि । आर्दश र सिद्धान्तलाई बोकेर हिँड्ने व्यक्तिहरुलाई संगठनले चिन्नै सकेन । काँग्रेसका मूल खम्बामध्येका एक कृष्णप्रसाद भट्टराई जीवनको उत्तारार्धमा आएर संगठनकै कारण विक्षिप्त हुनु पर्यो । गणेशमान जस्ता महान नेतालाई यही संगठनबाट उपेक्षित रहे । यी दुई नाम त ठूला नाम भए, तह तह र तप्कामा यस्ता व्यक्ति कति थिए कति, जसले क्षमता हुँदाहुँदै पनि मौका पाएनन् । देशले समृद्धि र विकासको ठूलो सम्भावनावाहक दूतहरु घुमाउनु पर्यो । पार्टीले वीपीको समाजवाद बिर्सयो । समाजवाद केवल मागिखाने भाँडाे मात्र भयो ।

सर्वज्ञ वाग्ले

अलिकति तपाईंकै बुबातर्फ फर्कौँ, एक राजनैतिक व्यक्तित्वका रुपमा आफ्नो बुबालाई कसरी सम्झनु हुन्छ ?

पहिलो कुरो, हामी राम्रै परिवारको भए पनि पुनर्वासमा जानुपर्यो । दमौलीमा हाम्रो पसल थियो, त्यो नि सिधियो । अझ संगठनकै खातिर बुबाले नै त्यो सिध्याउनु भयो । भएको खेतबारी बगरमा परिणत भएपछि पुनर्वास कञ्चनपुर पुग्नु पर्यो ।

त्याे बेला के खाऊँ, के लाऊँ भन्ने  अवस्था हुँदा पनि उहाँकाे मनमा लाेभ पलाएकाे कहिल्यै देखिँन । बरू मनकाे धनी बनेर पार्टीकाे काममा इमान्दारिताका साथ लाग्नुभयाे । उहाँमा लोभ, लालच, घृणा र घमण्ड मैले कहिल्यै देखिँन  । राजनीतिमा निष्ठा निरन्तरता आदर्श र प्रतिवद्धताको कडी मैले उहाॅमा सधैँ एकनास पाएँ । उहाँ कुनै पदका लागि प्रयास गरेकाे र त्यसका लागि मरिहत्ते गरेकाे पनि देखिएन । उहाँका साथीहरू मन्त्री प्रधानमन्त्री भए तर  कमिसन तथा भष्ट्रचार  गराैँ, भनसुन गराैँ भन्ने उहाँको ध्यान कहिलै गएन । सम्पति जम्मा गर्नु त समाजवादी विचारधारा विपरित हुने भैहाल्याे । सधैँ संगठनका बारेमा सोच्नु भयो, सिद्धान्तले पार्टीलाई र आदर्शले व्यक्तिलाई बलियो बनाउँछ भन्ने उहाँको मान्यता थियो । तर नेतृत्वले पछि धनाड्यहरुलाई पकड्यो । पार्टीमा पूँजीपतिहरुको हालिमुहाली भयाे । समाजवादीहरु विस्थापित हुनुपर्यो । त्यसमै मेरो बुबा पनि पर्नु भयो । पहिले बुबालाई थुनाउन भूमिका खेल्नेहरू नै पैसाका कारण पार्टीमा ठूला नेता भए ।

अँ, एक राजनैतिक व्यक्तित्वको रुपमा उहाँ अहिले पनि सिद्धान्तनिष्ठ, आदर्शवादी तथा समाजवादी नेता हुनुहुन्छ ।

तपाईं आफैं पनि धनगढीमा विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय रहनुभयो । तर के कारण सबै छोडेर काठमाडौं हानिनु भयो ?

धनगढीमा एक किसिमले मेरो पनि राजनैतिक व्यक्तित्व बनिसकेको थियो । मेरो भाषण कलादेखि लिएर राजनैतिक चेतलाई केहीहदसम्म आदर्शकै रुपमा हेरिन्थ्यो । त्यो समय माओवादीले सशस्त्र जनआन्दोलको सुरु गरिसकेको थियो । उनीहरुको नजरमा म पनि परिरहेको रहेछु । धनगढी मसँगै पढेका साथीहरु माओवादीमा अास्था राख्दा रहेछन् । उनीहरूले मलाइ उनीहरूकाे शिविरमा भाषण गर्ने तालिम दिनुपर्ने जस्ता आशयका कुराहरु मसँग गर्थे । अब त्यो ठाउँमा बुबा पनि चिनिएको, मेरो पनि राम्रै पहिचान बन्दै गरेको । त्यो हुँदा माओवादीको तार्गेटमा परिने सम्भावना उच्च भयो । जसले काठमाडौँ जानुपर्ने अवस्था देखायाे । मास्टर डिग्री पढ्न पनि काठमाडाैँ जानुपर्ने बाध्यता पनि थियाे ।

काठमाडौं आएपछि तपाईंले क्यासिनोमा काम गर्नु भयो, जुन समय क्यासिनोमा काम गर्नु भनेको ठूलो कुरा मानिन्थ्यो । राजनैतिक पहुँचकै कारण क्यासिनोमा जागिर पाउनु भएको हो ?

राजनीतिक पहुँच त भन्न मिल्दैन तर एकजना साथीले सिफारिस गरेकाे चाहिँ हाे । साथी बेराेजगार भएपछि काठमाडाैँमा भएकाे साथीले यति सिफारिस गर्नु सायद ठिकै हाेला ।  शेरबहादुर देउवा गृहमन्त्री रहँदा पनि कञ्चनपुर जाँदा बस्ने घर हाम्रै हुन्थ्यो । तर  मन्त्रीले नै पनि आफ्नो सन्तानलाइ क्यासिनोमा जागिर खुवाउने पहुँच राख्दैन थियो । त्योबेलाका एक मन्त्रीले नै पनि आफ्नो छोरालाई चाहेर पनि क्यासिनोको जागिर लगाउन  नसकेकाे मैले देखेकाे थिएँ । यस्ताे अवस्थामा म क्यासिनाेकाे जागीरे हुँदा सायद सरकारकाे साेर्स लगायाे भन्ने पर्याे हाेला ।

तपाईं डीभी परेर अमेरिका पुग्नु भयो । यदि डीभी नपरेको भए देशमा अहिले तपाईंलाई राजनीतिमा देख्न पाइन्थ्यो कि साहित्यमा ?

मैले अमेरिका आएपछि लेख्न थालेको हैन । म धनगढी हुँदै पनि लेख्थे । काठमाडौं आएपछि भने थप रुचि र उर्जाका साथ लेख्न थालें । धनगढी हुँदैखेरी मैले कथा तथा कविताहरु लेखेको थिएँ । उपन्यासै लेख्न पनि तम्सिएको थिएँ । तर ती कथा तथा कविताहरु संकलन गर्न सकिनँ, हराए । क्यासिनोमा काम गर्न थालेपछि मैले दैनिकी लेख्न थालेँ । विशेषतः जुवाडेहरू कसरी क्यासिनाेमा अाफ्नाे जीवन सकिरहेका छन्, मेले के के देखेँ भनेर डायरीमा टिप्ने गर्थेँ । याे बेला मेराे साहित्यिक अध्ययनको आयतन पनि वृहत भयो ।  किताब  भने निकाल्ने हिम्मत गर्न सकिँन । तर विदेशमा आएपछि चाहिँ  अब ढिला गर्नु हुन्न भन्ने लागेर लेखिएका पृष्ठहरूलाइ आख्यानका रूप दिन थालेकाे हुँ ।

यसरी हेर्दा नेपालमा बसेकाे भए मेरो उपस्थिति राजनीतिमा पनि रहन्थ्यो होला । तर साहित्यमा पनि मेरो यात्रा निरन्तर रहन्थ्यो ।

अघिल्लो वर्ष तपाईंको कृति पुनर्वास बजारमा आयो । यसले चर्चा पनि पायाे । नयाँ किताबकाे तयारी कस्तो छ ?

अहिले चाल्स सोभराजलाई जुवाडेको रुपमा चित्रित गरेर उपन्यास लेख्ने तयारी  गर्दैछु । त्यस्तै कोराना (कोभिड १९) लाई नै मुख्य विषय बनाएर अर्को उपन्यासको तयारी पनि गरिरहेको छु । त्यस्तै क्यासिनोमा काम गरेको भएर पनि होला, मसँग लेख्नु पर्ने जुवाका विषयहरु पनि धेरै छन् । सीमाका मुद्धाहरु छन् । यिनै विषयहरुमा धेरै लेख्नुछ ।

तपाईंको लेखनले जुवा र जुवाडेप्रति धेरै नै झुकाव राखेको पाइन्छ । यस्तो किन ? अन्य विषय नपाएर कि, यसैमा लेख्न सहज भएर ?

साहित्य भनेको जुनसुकै विषयमा लेख्न सकिन्छ । साहित्यले निर्जीव वस्तुलाई पनि सजीव बनाएर उभ्याइदिन्छ । अब कुरा रह्यो मेरो लेखनको, मैले चाहिँ अरुले लेखिरहेकै विषयमा आफूले पनि लेख्न आवश्यक ठानिनँ । जसको जुन विषयमा विशेषज्ञता छ त्यही विषयमा लेख्ने हो । म क्यासिनोमा काम गरेको हुनाले यस विषयमा मेरो विशेषज्ञता छ । अनेक किसिमका जुवाडेहरु मैले देखेको छु । त्यसैगगरि सीमामा बसेका कारणले त्यहीका मुद्धा तथा सीमासँग जोडिएका समवेदनाहरु मलाई थाहा छ । त्यो विषयमा म विशेषज्ञताका साथ लेख्ने सक्छु ।
जुवाका कारणले धेरैका जीवन तथा परिवारको विजोग भएको मैले देखेको छु । मलाई लाग्छ, मेरो लेखनका कारण कोही एक व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन आयो भने त्यो मेरो सफलता हो । यसर्थ आफ्नो विशेषज्ञता भएकै विषयको अनेक आयमहरुमा म लेख्ने गर्छु ।

तपाईं एनआरएन अमेरिकाको उपाध्यक्ष, अनेसासको महासचिव । संगठनको हिसाबले अनेसासभन्दा एनआरएन ठूलो हो । तर तपाईंको झुकाव अनेसासतिर किन ?

हो, एनआरएन अनेसासभन्दा संरचनाको हिसाबले ठूलो संस्था हो । तर साहित्यका लागि अनेसास पनि सानो संस्था हैन । मैले पुनर्वास विमोचनको बेला अनुभव गरे, अनेसासमा म आबद्ध भएकै कारण त्यहाँको उपस्थिति उत्साहजनक थियो । फेरि एनआरएनमै पनि मैले भाषा साहित्यकै बिट समाएको छु । अनेसास त विल्कुल साहित्यिक संस्था भइहाल्यो । यसरी हेर्दा मेरो लागि दुवै समानान्तर छन् । अझ मैले त दुवैलाई पुरकका रुपमा लिएको छु । राजनीतिक पृष्ठभूमिका कारण मलाइ सामाजिक काम गर्न मन लाग्छ । तर पदको लाभ लिन्छु भनेर कुनै संस्थामा आबद्ध भएको चाहिँ  होइन । साथी भाइहरूले तपाइँ याे पदमा अाइदिनु पर्याे भन्नुहुन्छ, नाइँ भन्न सकिँदैन । तर मेरो उदेश्य भाषा र साहित्यको क्षेत्रमा निस्वार्थ योगदान पुर्याउनु नै हो । त्यसैले पनि मैले कुन ठूलो र कुन सानो भन्ने हिसाबले सोचेको छैन ।

महासचिवका रुपमा अनेसासलाई तपाईंले दिने योगदान के हो ? के चाहिँ गर्छु भनेर पछिल्लो समयमा आएर महासचिवमा उम्मेद्वारी दिनुभएको थियो र जित्नु पनि भयो ?

अघि पनि भनेँ, पद ओगट्नका लागि मात्र म अनेसासमा आएको होइन । महासचिवमा उम्मेद्वारी दिएको होइन । मैले महासचिवमा उम्मेद्वारी अन्तिम समयमा आएर दिएको हुँ, तर त्यो मेरो इच्छाका साथै संगठनका साथीभाइको पनि चाहानाको उपज थियो । मलाई जस्तै उहाँहरुलाई पनि विश्वास हुनुपर्छ, अनेसासलाई सर्बज्ञ जस्तो व्यक्तिको आवश्यकता छ । पछिल्लो समय एनआरएन, अनेसास र ट्रष्ट्री र च्याप्टरहरुको समन्वयनकारी भूमिकाले पनि मेरो महासचिवमा उम्मेद्वारी र जितलाई पुष्ठि गरिरहेको छ भन्ने मलाई लाग्छ ।

अमेरिका बस्नु हुन्छ, यसर्थ आफ्नो कामकाज त छँदैछ । पछिल्लो समय लेखनमा पनि सक्रिय हुनुहुन्छ । काम र लेखनको बीच कसरी अनेसास तथा एनआरएनका लागि समय झिकिरहनुभएको छ ?

समय भन्ने कुरा जति भए पनि नपुग्ने रहेछ । तर सबै कुरालाई समय त दिनु नै छ । एनआरएनमा पनि मैले भाषा साहित्यकै बिट समाएको छु, यसकारणले अनेसास र एनआरएनको कार्य क्षेत्र पुरक बनेका छन् ।

साथीहरु प्रायः मलाई सोध्नु हुन्छ– बिदा कहिले लिनुहुन्छ । तर खासमा म बिदा भनेर कहिल्यै बस्दिनँ । मेरो बिदा भनेकै अनेसास र एनआरएनलाई दिनुपर्ने समय हो । म मेरो बिदालाई त्यहीँ खर्च गर्छु । लेख्ने काम भने प्रायः साँझ सुत्नुअघि र विहान उठ्न साथ गर्ने गर्छु । यसर्थ, सम्पूर्ण पाटो सन्तुलित छ, आवश्यक समय कामबाट छुटाएर संस्था तथा लेखनमा खर्च गर्न भ्याइरहेको छु ।

प्रतिक्रिया
Loading...