नेपाली साहित्यको सम्पूर्ण पत्रिका

क्रिसमसको उपहार

एक डलर र सतारी सेन्ट । त्यत्ति थियो । उसले यो पैसा एक-एक सेन्ट गर्दै बचाएकी थिई । चिजबिज किन्दा दोकानदारहरूसित मोलतोल गरेर यो पैसा बचाएकी थिई । डेलाले तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट अनि भोलिपल्ट क्रिसमस थियो ।

ओछ्यानमा पल्टेर रूनुबाहेक अरू केही उपाय थिएन । अनि डेलाले त्यसै गरी । उसले सोची जीवन रूवाइ, आँसु र हाँसोले बनेको छ र यिनमा रूवाइकै मात्रा अधिक छ ।

घरकी श्रीमती शान्त हुँदै जाँदा हामी उसको घरको घरलाई हेरौँ । हप्ताको आठ डलरको भाडामा लिइएको यो घरमा कुर्सी, टेबुलहरू थिए । घरको अवस्था त्यति राम्रो होइन ।

घरको ढोकामा एउटा चिठ्ठी हाल्ने सानो बाकस थियो, जसमा चिठ्ठी थिएन । बाहिर एउटा बिजुलीको घण्टी थियो तर त्यसबाट कुनै आवाज आएन । त्यसैको छेउमा ‘जेम्स डिलिङघाम यङ’ लेखिएको पट्टी थियो ।

हप्तामा तीस डलर कमाउँदा श्रीमान् जेम्स डलिङघाम यङले यो नामको पट्टी त्यहाँ झुण्ड्याएको थियो तर अहिले आय घटेर बीस डलर हुँदा त्यो नाम अचाक्ली लामो र धमिलो लाग्यो । श्रीमती जेम्स डिलिङघाम त्यो टेबल, कुर्सी भएको घरमा पसेपछि उसको नाम खुबै छोटो भयो । श्रीमती जेम्स डिलिङघाम यङले उसलाई अँगालो हाली र ‘जीम’ भनेर बोलाई । उसलाई तपाईंले अघि नै भेटाउनु भएको हो । ऊ डेला हो ।

डेला रून छाडी र गलामा आँशुका दाग मेटाउन पाउडर दली । ऊ झ्यालनेर आएर उभिई अनि बाहिर आँगनमा हिँडिरहेको खैरो बिरालोलाई शून्य दृष्टिले हेरी । भोलि क्रिसमस हो र जीमको निम्ति उपहार किन्न ऊसित पैसा यत्ति हो । हप्ताको बीस डलरले के पुग्थ्यो र ! उसले सोचेको भन्दा खर्च ज्यादै हुन्थ्यो र सधैँ यस्तै हुन्थ्यो ।

जीमका लागि उपहार किन्नलाई त्यत्ति थियो- एक डलर र सतासी सेन्ट । उसको प्यारो जीम । उसलाई कुनै राम्रो चिज दिने विषयमा ऊ धेरै घण्टासम्म सोचिरही । चिज खुबै राम्रो होस् । चिज जुन जीमलाई सुहाउने होस् । कोठाको झ्यालहरूका माझमा एउटा ऐना थियो । आठ डलरको भाडाको घरमा तपाईंले यस्तो ऐना देख्नु भएको होला । यो खुबै सानो थियो र मान्छेले आफ्नो अनुहारको सानो भाग मात्र देख्न सक्थ्यो । तर मान्छे दुब्लो र हात छिटो चलाउने भए मात्र उसले आफ्नो अनुहारको राम्रो भेउ पाउन सक्थ्यो । डेला पातली थिई र यस कलामा सिपालु थिई ।

एक्कासि ऊ झ्यालबाट फर्की र ऐनाको अघि उभिई । उसका आँखाहरू चम्किरहेका थिए तर लगत्तै उसको अनुहारको रङ उड्यो । उसले छिटोछिटो आफ्नो केश फुकाई र त्यसलाई पूर्ण रूपले फैलिन दिई ।

जेम्स डिलिङघाम यङहरूसित गर्व गर्न लायकका दुइटै कुरा थिए । एउटा कुरा थियो, जीमको सुनको घडी जुन उसका बाबुबाजेको पालादेखिको थियो र अर्को कुरा थियो डेलाको केश ।

उनीहरूको घरनेर एउटी रानी बसेकी भए डेलाले आफ्नो केश धोएर रानीले देख्ने गरी सुकाउने थिई । डेलालाई थाहा थियो, उसको केश रानीका हीरामोतीभन्दा पनि सुन्दर थियो ।

अनि त्यही घरमा आफ्ना सारा सम्पत्ति थुपारेर एउटा राजा बसेको भए जीमले त्यताबाट जाँदा प्रत्येकचोटि आफ्नो घडीलाई हेर्ने थियो । जीमलाई थाहा थियो, कुनै राजासित यस्तो बहुमूल्य चिज थिएन ।

अहिले खैरो पानीको झरनाजस्तै चम्कँदै डेलाको सुन्दर केशराशि आङमा फैलियो । उसको केश घुँडासम्म पुग्यो र यो उसको पोशाकजस्तै थियो ।

अनि फेरि उसले हत्तपत्त केश बाँधी । एक छिन ऊ नहल्ली उभिइरही । उसका आँखाबाट दुई थोपा आँशु गलैँचामा खसे ।

उसको आफ्नो पुरानो खैरो कोट लगाई । उसले आफ्नो पुरानो खैरो टोपी लगाई । आँखामा चमक लिएर ऊ घरदेखि फटाफट निस्की अनि बाटोमा आइपुगी ।

जहाँ पुगेर ऊ उभिई, त्यहाँ एउटा साइनबोर्ड थियो– श्रीमती सफ्रोनी- सबै किसिमका केशका सामानहरू ।

ऊ एकै सासमा दगुरेर माथि पुगी अनि एकछिन उभिएर सास फेरी ।

ठूलो जीउकी, एकदमै गोरी अनि हृदयहीन श्रीमती सफ्रोनीले उसलाई हेरिन् ।

‘मेरो केश किन्नुहुन्छ ?’ डेलाले सोधी । श्रीमती सफ्रोनीले भनिन्, ‘हो, म केश किन्छु । टोपी निकाल्नुस् त कस्तो छ हेरूँ ?’

अनि खैरो झरना तलतिर झर्यो । केशको ओजन छाम्दै श्रीमती सफ्रोनीले भनिन्, ‘बीस डलर दिन्छु ।’

‘उसो भए छिटो दिनुस्,’ डेलाले भनी । अहो ! त्यसपछि दुई घण्टा त्यसै बितेको जस्तो भयो । जीमको निम्ति उपहार किन्न ऊ एउटा दोकानदेखि अर्को दोकान चहार्दै हिँडी ।

बल्ल उसले भनेजस्तो चिज पाई । यत्र जीमकै निम्ति बनेको थियो । अरू कसैको लागि होइन । यस्तो चिज अरू कुनै दोकानमा थिएन अनि शहरका सबै दोकान उसले चहारिसकेकी थिई ।

यो घडीको चेन थियो– खुबै सुन्दर प्रकारले बनेको । यसको शुद्ध सुन्दर सामग्रीमा नै यसको मूल्य थियो । यो सादा र अकृत्रिम थियो । हेर्दा एकदमै मूल्यवान् देखिने । राम्रा चिजहरू यस्तै हुन्छन् नि ! होइन र ?

यो जीमको घडीलाई एकदमै सुहाउँदो थियो ।

यो देख्नेबित्तिकै उसलाई लाग्यो, यो जीमकै निम्ति हुनुपर्छ । यत्र ऊजस्तै थियो । शान्त र सानदार- जीम र त्यो चेन दुवैमा यी गुण थिए । यसका लागि उसले एक्काइस डलर तिरी । अनि ऊ त्यो चेन र सतासी सेन्ट लिएर हतार हतार घरतिर हिँडी ।

घडीमा त्यो चेन लाएर जीम कुनै पनि ठाउँमा समय हेर्न उत्सुक हुनेछ । घडी त्यस्तो शानदार भए तापनि चेन राम्रो थिएन । यसैले कोही बेला ऊ अरूका आँखा बचाएर घडी हेर्थ्यो ।

घर पुगेपछि डेलाको मन अलि शान्त भयो । उसले अलि विवेकसित सोच्न थाली । केश काट्दा बसेको दाग छोप्ने कोसिसमा लागी । माया र उदारता दुवै मिलेपछि गहिरा खाटाहरू बनाइछोड्छन् । यी खाटाहरू छोप्न सजिलो छैन, साथी हो, सजिलो छैन ।

चालीस मिनेटभित्रै उसको कपाल अलिक राम्रो देखियो । उसको छोटो केशले गर्दा ऊ एउटा स्कुले केटाजस्तो देखिन्थ्यो । धेरै बेरसम्म एउटा ऐनाअघि ऊ उभिइरही ।

उसले मनमनै भनी, ‘जीमले मलाई मानेन भने, दोस्रो पल्ट हेरेर उसले भन्नेछ म त्यो केटीजस्ती देखिन्छु जो पैसाका निम्ति गाउँछे र नाच्छे । तर म के गरूँ- अहो ! एक डलर र सतासी सेन्टले म के गर्न सक्थेँ ?’

सात बजे जीमको खाना तयार भयो ।

जीम कहिल्यै ढिलो आउँदैनथ्यो । डेला हातमा घडीको चेन लिएर ऊ सधैँ पस्ने ढोकाकै छेउनेर उभिइरही । अनि उसले सिँढीमा जीम हिँडेको आवाज सुनी । एकै छिनको निम्ति उसको अनुहारको रङ उड्यो । प्रतिदिनका साधारण कुरामा ऊ मौन प्रार्थना गर्थी र अहिले उसले भनी, ‘हे भगवान्, जीमको निम्ति म अझै राम्री नै होऊँ ।’

ढोका खुल्यो अनि जीम भित्र पस्यो । ऊ दुब्लो र गम्भीर देखिन्थ्यो । विचरा जीम बाइस वर्ष त पुगेको थियत्र अनि एउटा परिवारको भार थियो उसमाथि । उसले एउटा नयाँ कोट किन्न सकेको थिएन अनि हातमा पञ्जा पनि त थिएन ।

भित्र पसेर ऊ उभियो । चराको छेउमा पुगेर चुप भएको शिकारी कुकुरजस्तै ऊ मौन थियो । उसले डेलालाई अनौठो प्रकारले हेर्यो । त्यो हेराइको अर्थ डेलाले बुझ्न सकिन । त्यो न रिस थियो, न आश्चर्य थियत्र न कुनै यस्तो भाव थियो, जसको सामना गर्न ऊ तयार थिई । अनुहारमा त्यही अनौठो भाव लिएर उसले डेलालाई हेरिरह्यो ।

डेला ऊकहाँ गई ।

‘मेरो प्यारो जीम,’ उसले कराएर भनी, ‘मलाई त्यसरी नहेर । मैले आफ्नो केश कटाएँ र बेचेँ । तिमीलाई क्रिसमसको उपहार नदिई बस्न सकिनँ । मेरो केश त उम्रिहाल्छ । के तिमी रिसायौ ? मेरो केश त एकदम छिटो उम्रन्छ । जीम, यो त क्रिसमस हो । हामी खुसी हौँ न ! तिमीलाई थाहा छैन मैले कति राम्रो उपहार तिम्रो निम्ति ल्याएकी छु ।’

जीमले बिस्तारै सोध्यो, ‘तिमीले केश काट्यौ ?’ उसले यो के भएको हो बुझ्ने कोसिस गरेकोजस्तो गर्यो अनि उसलाई यो बुझेको हो जस्तो लागेन ।

‘काटेर बेचेँ,’ डेलाले भनी, ‘के अब म तिमीलाई मन पर्दिनँ ? म त उही त हुँ नि जीम ! म त्यही डेला हुँ, मेरो केश मात्र त छैन !’

जीमले कोठाको चारैतिर हेर्यो । ‘तिमीले केश छैन भन्यौ है ?’ उसले सोध्यो ।

डेलाले भनी, ‘तिमीले मेरो केश अब नखोजे पनि हुन्छ । त्यो त मैले बेचेँ । म भन्दैछु त्यो त बिक्री भएर कहाँ पुग्यो । आज त जीम, क्रिसमसको अघिल्लो रात हो । मसित नरिसाऊ किनभने तिम्रै निम्ति मैले केश बेचेकी हुँ ।’ उसले फेरि भनी, ‘शायद मेरो टाउकोको केश गन्न सकिएला तर तिमीप्रति मेरो माया कसैले तौलन सक्ने होइन । जीम, के अब हामी खाना जाऔँ ?’

जीमले आफ्नी डेलालाई अँगालो हाल्यो । केही छिनपछि जीमले कोट भित्रबाट कागजमा बेह्रेको एउटा पोका निकाल्यो । उसले त्यसलाई टेबुलमा राख्यो ।

‘मलाई नराम्रो नसम्झ डेला,’ उसले भन्यो, ‘केश काट्यौ भनेर मैले तिमीलाई माया नगरेको होयन तर तिमीले त्यो पोका खोलेर हेर्यौ भने तिमीलाई थाहा हुन्छ, यहाँभित्र पस्दा मलाई कस्तो लाग्यो !’

सेता औँलाहरूले पोकाको कागज च्याते । अनि हर्षको चित्कार भयो, फेरि हाँसो आँशुमा परिणत भयो ।

त्यहाँ थिए ती क्लिपहरू, क्लिपहरू जुन डेलाले एउटा दोकानमा देखेको थिई र धेरै अघिदेखि लोभिएर हेर्दै आइरहेकी थिई । हीराले जडेका सुन्दर क्लिपहरू । उसको सुन्दर केशलाई एकदमै सुहाउने । उसले ती दामी क्लिपहरू किन्न सक्ने होइन भन्ने कुरा उसलाई थाहा थियो । त्यसलाई पाउने आशा पनि नराखी उसले ती क्लिपहरू हेरेकी थिई । अनि अहिले ती क्लिपहरू उसले पाएकी थिई तर उसको केश भने अहिले थिएन ।

तर उसले ती क्लिपहरू छातीमा टाँसी र आखिरमा भन्न सकी, ‘जीम तिमीलाई थाहा छ, मेरो केश एकदमै छिन बढ्छ नि !’

अनि डेला उफ्रिदै कराई, ‘अहो ! अहो !!’

जीमले अझै आफ्नोनिम्ति ल्याइएको उपहार देखेको थिएन । डेलाले त्यो चिज खुला हत्केलामा राखेर जीमलाई देखाई । सुन्दर र शानदार घडीको चेन । डेलाको प्रेमपूर्ण व्यवहारमा त्यो चेन अझ चहकिलो भएझैँ भयो ।

‘जीम, के यो सुन्दर छैन र ? यो पाउनलाई मैले शहरभरि खोजेँ । अब तिमी दिनमा सयौँपल्ट घडी हेर्छौ होला । खै, तिम्रो घडी देऊ त ! त्यसमा यो चेन कस्तो सुहाउँदो रहेछ, म हेर्छु ।’

जीम थचक्क बस्यो अनि मुसुक्क हाँस्यो ।

‘डेला,’ उसले भन्यो, ‘हामीले क्रिसमसका उपहारहरू एकछिनको निम्ति परै राखौँ । ती चिजहरू यति सुन्दर छन् कि अहिले तिनलाई प्रयोग गर्नु हुँदैन । मैले तिम्रो लागि क्लिप किन्न आफ्नो घडी बेचेँ । लौ, अब खाना खाऔँ कि ?’

प्रतिक्रिया
Loading...