नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नगरकोटी इन हिज “घाटमाण्डु”

उनी प्रायः फ्यान्टसी र सर्रियल विषयवस्तुमा लेख्न रूचाउँछन् । प्रायः उनी डार्क थिममा लेख्छन् । डार्क थिम जस्तै मृत्यु, घाट, लास, सपना, भ्रम आदि।

भर्खर कुमार नगरकोटीको ‘घाटमाण्डु’ पढेर सिध्याएँ । समग्रमा किताब निकै रमाइलो लाग्यो । नगरकोटीका फुटकर रचनाहरू त विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा पढे-सुनेकै हो, तर ‘घाटमाण्डु’ चाहिँ मैले पढेको उनको पहिलो किताब हो। यसलाई पढिसकेपछि पछिलाई काम लाग्ला भनेर पठनका दौरान मनमा लागेका कुराहरूलाई समेटेर एउटा छोटो पाठकानुभूति लेख्ने दुस्साहस गरेको छु।

सबैलाई थाहा भएकै कुरा हो, कुमार नगरकोटी नेपाली साहित्यमा पछिल्लो समय निकै पढिने र चर्चामा रहने लेखक हुन्। उनको लेखनीसँगसँगै उनको पहिरन, जीवनशैली र उनको सार्वजनिक कार्यक्रमहरूमा प्रस्तुत हुने शैली आदि पनि बेलाबेलामा चर्चामा आइरहन्छन् । केही समयअघि उनीद्वारा लिखित नाटक “बाथटब”ले पनि निकै चर्चा बटुलेको थियो।

‘घाटमाण्डु’ फिक्सन, ननफिक्सन र अदर एडिक्सन्स् गरी साहित्यका तीन विधाका विविध रचनाहरू समेटेर लेखिएको संग्रह रहेछ। लेखनीको विषयमा कुरा गर्नुपर्दा नगरकोटी भाषासँग निकै कलात्मक र काव्यिक पारामा खेल्न रूचाउँछन्। एक भाषा र अर्को भाषाबीचमा बारम्बारको स्वीच निकै सुन्दर लाग्छ। यसलाई अझ यसरी बुझौं, नगरकोटी नेपाली, हिन्दी, उर्दू, नेवारी आदी भाषाहरू बीचमा गज्जबले स्वीच गर्दै वा मिसाउँदै लेख्छन्। उनको लेख पढ्दै जाँदा कुनै पनि स्वीच अमिल्दो वा असुहाउँदो लाग्दैन। यसलाई नगरकोटीको खुबी नै मान्नुपर्छ । एउटै वाक्यामा केही नेपाली शब्द र केही हिन्दी/उर्दू/अंग्रेजी शब्द मिसाएर गज्जबसँग लेख्न सक्छन् नगरकोटी।

सान्दर्भिक पोस्ट
मनोज रेग्मी

यो किताबको पहिलो भाग—अर्थात् फिक्सन—सेक्सनमा उनले ५ वटा कथाहरू राखेका छन्। ‘आयु चोर’ शिर्षकको पहिलो कथा निकै लामो छ। त्यति लामो कथा मैले आजसम्म पढेकै थिइनॅं। ६० पेजको उक्त कथामा उनले एउटा थिम माथी एक्सपेरिमेन्ट गर्दै लेखेका छन्। चार-पाँच बर्षअघि मैले एउटा अंग्रेजी सिनेमा “इन टाइम” हेरेको थिएँ। उक्त फिल्ममा पैसाको सट्टा आयुको प्रयोग गरिएको देखाइएको थियो। त्यो कन्सेप्ट मलाई निकै मन परेको थियो। अहिले नगरकोटीको ” आयुचोर” शीर्षकको कथा पढ्दा त्यही कन्सेप्ट दोहोरिएको भान हुन्छ। त्यसैले पनि मलाई यो कथा कुनै नौलो भने लागेन। थाहा छैन, यी दुई बिच केही सम्बन्ध छ कि छैन, तर मैले दुबै इन्जोय गरेँ। नगरकोटीको खासियत नै यस्तै छ, उनि सर्रियल कुराहरू पनि कति ब्युटिफुल्ली लेख्छन्। एक्सप्रेस गर्छन्। मजा आउॅंछ पढ्न। अनि यो कथा पढ्ने क्रममा उनले गरेको पात्रहरूको नामाकरणको अन्दाज मलाई युनिक लाग्यो।

यो किताब पढिसकेपछि नगरकोटीको ज्ञानको आयतनको बारेमा पनि धेरथोर थाहा लाग्छ। उनले यसै किताबको दोस्रो सेक्सन—ननफिक्सन—मा केही यस्ता किताबका संस्मरणहरू समावेश गरेका छन्, जसबाट उनको पठनी र लेखनीबीचको तारतम्य केही हदसम्म बुझिन्छ/बुझ्न सकिन्छ। उनी किताबका पात्र र किताबहरूलाई कति प्रेम गर्छन् र कति नजिकबाट नियाल्छन् भन्ने कुरा पनि उनको संस्मरण पढ्दा बुझ्न सकिन्छ।

उनी प्रायः फ्यान्टसी र सर्रियल विषयवस्तुमा लेख्न रूचाउँछन् । प्रायः उनी डार्क थिममा लेख्छन् । डार्क थिम जस्तै मृत्यु, घाट, लास, सपना, भ्रम आदि। उनी आफ्नो लेखनशैली मार्फत् पाठकलाई आफ्नो छुट्टै दुनियाँमा सयर गर्न लैजान सक्छन्। यद्यपि यस्ता विषय मन नपर्ने पाठकलाई भने उनको यो किताब झुर लाग्न सक्छ। पट्यारलाग्दो लाग्न सक्छ। एब्सट्रयाक्ट र सर्रियल विषयवस्तुमा धेरैबेर तैरिरहनु सजिलो काम पनि त होइन। एब्स्ट्रयाक्ट थिम आफैंमा अमूर्त हुने हुँदा त्यसलाई कतै रिलेट गरेर बुझ्न गाह्रो त अवश्य पनि हुन्छ नै । यसकारण पनि उनका रचना अलि सुस्त र अस्पष्ट लाग्न सक्छन्।

उत्तरआधुनिक र एक्सपेरिमेन्टल लिटरेचर कस्तो हुन्छ भनेर कसैले सोध्यो भने ‘घाटमाण्डु’को नाम गज्जबले लिन सकिन्छ । भाषा, विषयवस्तु, पात्रहरूको नाम, लेखनीको तैरतरिका, न्यारेसन आदि कुरामा उनले मजाले प्रयोग गरेर लेखेका छन् । यति धेरै प्रयोग गरेर वा भनौं जोखिम मोलेर नेपाली साहित्यमा कमै किताब लेखिएका छन्। यो कुरामा नगरकोटीको प्रशंसा गर्नैपर्छ।

किताबको अन्त्यतिर—अदर एडिक्सन्स् सेक्सनमा—नगरकोटीले केही सायरी, कविता, नाटक र विभिन्न प्रयोग गरी लेखिएका केही लेख, डायरी, सर्ट फिक्सन, संस्मरण, न्युजपेपर कटिंग्स, बिहेको कार्ड आदिहरू पनि समाबेश गरेका छन्। यी सबैलाई एकैठाँउमा राखेर हेर्दा उनको बहुआयामीक क्षमतालाई पनि केही हदसम्म जान्न सकिन्छ। यसमा भएका उनका केही सायरीहरू पनि गज्जबका छन्। ती सायरीहरू पढ्दै गर्दा उनको नेपाली भाषासॅंगै हिन्दी र उर्दू भाषाको पकडको पनि प्रशंसा गर्न मन लाग्छ। त्यस्तै उनको एउटा कंक्रिट पोयम पनि यो किताबमा समावेश छ। र, उनको निकै चर्चित कविता ‘औंलाहरू’ सँगै यो किताबको अन्त्य भएको छ । यो कविता युट्यूबमा नगरकोटीको आवाजमा सुनेको भएकाले पनि निकै सुन्दर लाग्छ । त्यसैगरी अदर एडिक्सन्स सेक्सनमा नगरकोटीको एउटा नाटक पनि समावेश गरिएको छ।

अलि झिंजो लाग्दो पक्ष भनेको उनी धेरै कुराहरू बारम्बार दोहोर्याउँछन्। उनले प्रायः दोहोर्याउने कुराहरू भनेका- घाटको प्रसंग, सिंगार र धुआँका प्रसंगहरू, आफ्नो नाम, बैजनी/पर्पल रंगको प्रयोग आदि हुन् । जुन लगभग सबैमा पढ्न/देख्न सकिन्छ।

किताबलाई बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य नेरू—नेहरू हैन— ३९९ रहेको छ । यसमा नगरकोटीले फिक्सन, ननफिक्सन र अदर एडिक्सनस् गरी तीन भागमा छुट्याएर विविध विधाका आफ्ना रचनाहरू समावेश गरेका छन्।

प्रतिक्रिया
Loading...