नेपाली साहित्यको सम्पूर्ण पत्रिका

डुवर्स पीडा

जब कुनै बेरोजगार युवक कमाउनलाई बंगलोरतिर जाँदै गरेका हुन्छन्। र ट्रेनबाट झरेर मर्छन्। म त्यो बेला सब भन्दा धैर मौन हुन्छु। जब बगानका स्कूलहरूका छानाबाट पानी चुहुन्छ।

म डुवर्समा जन्मिनँ। न त त्यहाँ हुर्के।

तैपनि जब डुवर्स दुख्छ। म पीड़ा अनुभव गर्छु। जब चिया बगान बन्द हुन्छ। म सपना देख्दिनँ। जब त्यहाँ कोही भोकै मर्छ। मलाई निन्द्रा लाग्दैन।

जब कुनै बेरोजगार युवक कमाउनलाई बंगलोरतिर जाँदै गरेका हुन्छन्। र ट्रेनबाट झरेर मर्छन्। म त्यो बेला सब भन्दा धैर मौन हुन्छु। जब बगानका स्कूलहरूका छानाबाट पानी चुहुन्छ। नानीहरूले बस्नलाई बेन्ची पाउँदैनन्। आधा खातामा र आधा हातमा होमवर्क लेखेर स्कूल आइपुग्छन्। त्योबेला सब भन्दा धेर म पीड़ित बन्छु।

किन कि, जब म केही थिइनँ । तब म त्यही डुवर्समा थिएँ। जहाँका चिया उमार्ने अनुहारहरूसंग मैले जीवनको सुन्दर समय बिताएको छु। त्यही चियापत्ती त हो। जसलाई बेचेर आपाले मलाई पढाए, हुर्काए। र यी दिन देख्ने बनाए।

मैले डुवर्सको चिया मात्रै होइन। चियासंगै नून पनि खाएको छु।

……………….

मेरो गाउँको कथा गजबको छ। जो नक्सामा कालिम्पोङमा त पर्छ। तर बाँच्नलाई डुवर्ससंगै सास फेर्नुपर्छ। त्यसैले त मैले जन्मिएर कालिम्पोङ होइन, पहिलोचोटि  डुवर्स देखेँ। मैले सब भन्दा पहिले देखेको बजार नै ओदलाबाड़ी हो। जहाँ आपा कहिले अदुवा बोकेर आइपुग्थे। कहिले डोकोमा खोर्सानी लिएर पुग्थे।

मैले सुनेको पहिलो शहरको नाम हो माल-मटेली। जहाँ आपा घिऊ लिएर जान्थे। फर्किँदा चियापत्ती लिएर आउँथे। त्यही बेच्थे। मेरो स्कूल खर्च हुन्थ्यो।

जब म कक्षा दसमा पुगेँ। तब खर्चनलाई  घरमा  केही बाँकी थिएन। गाई, गोरू अर्काको पाल्ने भइसकेका थियौं। आपा भन्थे, ‘फेल भयो भने चै नपढ है अब।’

पास हुनलाई त सिलिबस पूरा हुनु पर्थ्यो। तर गाउँको स्कूलमा पढाइ चिलिम थियो। माध्यमिक तहको मेरो गाउँको पुरानो स्कूलको अर्कै कथा छ। जहाँ सर मातेर आइपुग्थे। हेडमास्टर बर्षमा एकचोटि झुल्किन्थे। सेन्टअप आइपुग्न लाग्दा पनि सिलेबस अधकल्चो थियो। गणितको मिडलट्रम मात्रै पढाएको थियो। लाइफ साइन्स त फोटोसेन्थिसमा नै अड़ेको थियो। फिजिकल साइन्सको म्याटर-सम्म पुगेका थिइनौं।

मलाई ट्यूसन नलिइ धर थिएन। हरिचन्द्र मामा छन् गाउँमा । आपाले उनकैबाट पैसा काड़थे। यसचोटि पनि उनैलाई मागे। म गाउँबाट पहिलोचोटि माध्यमिक लेख्दै  थिएँ। उनले म-मा  ठूलो आशा देखे । ऋणमा पैसा दिए। र म बाग्राकोट आए। कुरा 2004 तिरको हो।

हामी बरगाछमा बस्यौं। मसंग रोहित र विनय थिए। हामीले मिलेर रेन्टमा रूम लियौं।

चामल पालैपिलो किन्थ्यौं। मेरो पालोमा आपा ओदलाबाड़ीमा खोर्सानी बेचेको पैसा लिएर आइपुग्थे। रोहितको भेनाले धेर खर्च गर्थ्यो। विनयको परिवार हाम्रो भन्दा अलि राम्रो थियो।

हामीले रामचन्द्र सरकहाँ ट्यूसन लियौं। जहाँ हुलका हुल ट्यूसन हुन्थ्यो। लासाङ सरले गणित पढाउँथ्यो। दुई वर्षमा पूरा नगरेको सिलबस, तीन महीनामा सक्नु थियो।

घरबाट बाहिर बसेपछि केटाहरूमा हावा लाग्दो रहेछ। त्यस्तै भयो।विनय लभमा परेछ।त्यो पनि एकोहोरो लभमा। अब मैले उसको लभ लेटर लेखिदिनु पर्थ्यो।  म नेपालीमा निकै अघि थिए। लभलेटरमा साहित्यिक छाँट्थे।

म विनयको लेटर लेखिदिन्थेँ। बदलामा विनयले सिंगड़ा किनिदिन्थ्यो। म त्यही खाएर दिउँसोको खाजा टार्थे।

त्यही बेला भेट भो लीलाबहादुर छेत्रीसंग। उ रामचन्द्र सरसंगै बस्थ्यो। हाम्रो कोठादेखि अलिकति परतिर। उनी गजल लेख्थे। मलाई पनि लेख्न कर लगाउन थाले।

आएको 15 दिन भएको थियो होला। उनले पहिलोचोटि संगै रहने निम्तो दिए। खासमा उ पनि लभमा पर्दै थिएछ। पछि थाहा भो। मनको कुरा सुनिदिने साथी चाहिएको थिएछ।

हामी बगान पसेर पढ्थ्यौं। कोहीबेला त दिनभरि पढिन्थ्यो। बेलुका मात्र फर्किन्थौं। विनय एकोहोरो लभले गर्दा प्रायः कोठामै बस्थ्यो। रोहितलाई पढ्ने त्यति मन थिएन। साइकल सिकि बस्थ्यो।

म चाहिँ निकै भावुक प्राणी थिएँ। एकक्षण किताब नहेरे तनाव लाग्थ्यो। आपाको अनुहार सम्झिन्थेँ। उनले बोकेको डोको सम्झिन्थेँ। रून मन लाग्थ्यो। सोँच्थे, ‘मैले चै पढ्नै पर्छ।’ त्यसपछि चियाको गाँछमा पसेर पढिरहन्थेँ। मसंग लीला नै हुन्थ्यो साथी।

एउटा आइतबार।

त्यो आइतबार आपा आएनन्। किनकि योपाली विनयको चामल किन्ने पालो थियो। हामी पढेर बेलुकी फर्क्यौं।

घरमा आउँदा भोकले ललाकलुलुक थियौं। खाना पकायो होला, सम्झेको त केही गरेको छैन रहेछ। विनय त ओछ्यानमा पो लड़ि रहेको रैछ।

‘औ खाना पकाउन मोरा’, रोहितले छिर्नसाथ भन्यो, ‘भोक लागेर मर्ने बेला भा,को छ।’

हाम्रो अनुहारमा राम्ररी हेरेपछि विनयले बिस्तारै भन्यो, ‘चामल नै छैन यार।’

‘अन्त तिम्रो पालो होइन किन्ने ?’, म चड़्किए। रोहितले त बन्द कोपीको झोलालाई एक लात हानिहान्यो।

त्यसपछि पो विनय तर्सियो। र अनकनिन्दै भन्यो, ‘होइन पैसा त थियो। तर औंठी किनेँ। नरिसा न हौ ल।’

‘के को औठी ?’, हाम्रो स्वर एकैचोटि निस्कियो।

‘एउटा पण्डित आ’ को थियो। त्यसले हात हेर्नसाथ मेरो लभबारे थाहा पायो नि’, विनयले डराउँदै कुरा थप्यो, ‘नराम्रो ग्रहले गर्दा एक्सेप्ट नभएको रहेछ। ग्रहको औंठी लगायो भने ठीक भइहाल्छ रे । औठीको दाम अड़ाई सय थियो । मैले डेड़ सयमा मिलाएर लगाए। चामलको पैसा त्यता गो। नरिसा न हौ ल।’

अब हामीसंग अरू उपाय थिएन। चुपचाप बस्यौं। धन्न लीलाले थाहा पाएछन्। हामीलाई पैँचो चामल ल्याइदियो। त्यैसेले छाक टार्यौं।

अहिले रोहित हामीसंग छैनन्। फेल भएपछि बेंगलोरतिर लागेको थियो। त्यतै आत्महत्या गरेछन्। लासाङ सरको केही सालअघि हार्ट एटेक भयो। जसले विज्ञान पढाउँद मुटुको नक्सा चिपफार गरेर हामीलाई देखाउँथ्यो, उनै सरलाई आफ्नै मुटुले साथ दिएनन्।

मैले भनि रहनु नपर्ला।

विनयको औँठीले काम गरेन। उसले अहिले अर्कै बिहे गरिसकेको छ।

……….

माध्यमिक सकेपछि म गाउँ फर्के। नानीहरूलाई केही दिन ट्यूसन पढाएँ। त्यसपछि फेरि बाग्राकोट झरे। मैले क्लास इलिभेन त्यहीँ जोइन गरे।

अब लीला र म जिग्री दोस्त भयौं। सब ठीकठाक थियो। मैले ट्यूसन शुरू गरे। यसले आपालाई धेरै सहयोग पुग्थ्यो।

लीला र म संगै बस्न थाल्यौं। बीडीआरमा प्रविन दाजुको थोत्रो घर छ। त्यही हाम्रो स्थायी डेरा बन्यो।त्यो घरलाई आज पनि म आफ्नो सम्झन्छु।

हामी बिहान पकाएको खाना बलजफ्ती थोरै उबार्थ्यौं। स्कूलबाट आएपछि त्यसैमा पानी हालेर फेरि उमाल्थ्यौं।  थोरै त्यही खान्थ्यौं र भोक मरेको नक्कल गर्थ्यौं।

त्यही पीड़ाले होला, मैले पहिलोचोटि एउटा गजल फुराए । जो सुनचरीमा छापियो।

पत्रिकामा आफ्नो नाम छापिएपछि मान्छे हावामा उड़िँदो रहेछ। म पनि उड़ेर माथि कतै पुगेँ। आफ्नो नाम दोहोर्याइ दोहोर्याइ पढे। यतिले मात्रै चित्त बुझेनँ। फेरि नयाँ कथा लेख्न थाले। त्यो कथामा एउटा गायिकासंग लेखकको प्रेम हुन्छ। जो अन्तमा विफल बन्छ। गायिका काठमाण्डो पसेर हराइदिन्छ नि ता।

हिमालय दर्पण-मा छापिएको त्यो कथाले मलाई अचानक हिट बनायो। स्कूलमा साहित्यिक चहलपहल राम्रै थियो। गंगा गुरूमा, सितम सर, विष्णु सर, डीबी सर जस्ता साहित्यिकहरू थिए। त्यसमा लीलाको जोश थियो।  म उसंगै हुन्थे। त्यसैले होला। हामीसंग सरहरू पनि साहित्यक चर्चा गर्न आइपुग्थे।

कथा छापिएपछि अच्चम्भ भो, साहित्य कहिले नलेख्ने सागर सरले मेरो कथा पडेछन्। उनी हाम्रा क्लास टिचर थिए। अंग्रेजी पढाउँथे। अहिले त स्कूलको हेडमास्टर नै भइसकेका छन्। उनले त्यो कथा पढे मात्रै होइनन्, उनी त पढेर हैरान नै बनेछन्। शायद उनको पनि लभ टुटेको थियो कि ! मेरो कथालाई उनले क्लासमा नै पढेर नै सुनाइ दिए।

म गद गद भएँ। सरले फुर्काएर मलाई अझ माथि उचालिदियो। म त्यो दिन दोस्रोचोटि हावामा उड़ेँ। लाग्यो, ‘साँच्चै। लेख्नुको आनन्द यही त रहेछ नि !’

 

हो, ठीक त्यही बेला हो।

स्कूलमा एउटा पत्रिका निकाल्ने भयौं। गंगा गुरूमाले यसको अगुवाइ गरिन्। पत्रिकाको नाम विद्यार्थीहरूबाटै छानिने भयो। गुरूमाले भनिन्, ‘भोली सबैले सोचेर एउटा- एउटा नाम लेखेर ल्याउने। त्यहीँबाट पत्रिकाको नाम छान्ने हो।’

लीलासंग मेरा जम्मै कुरा साँझा हुन्थ्यो। यो कुरा पनि व्यक्तिगत बन्न सकेन। बेलुकी चर्चा गर्यौं। र दुईवटा नाम तयार गर्यौं। अलिक राम्रो नाम उसले राख्यो। अर्को मलाइ दियो।

भोलिपल्ट नाम जम्मा गर्यौं। गुरूमाले छान्न थालिन्। अन्तमा मैले बुझाएको नाम पो छानिएछ।

‘जमरा- कसले लेखेको हो ?’ गुरूमाले सोधिन्।

लीलाले मलाई हेरे। मैले हात उठाएँ। गुरूमाले फेरि एकचोटि फुर्काइन्। पत्रिकाको नाम ‘जमरा’ भयो।

पत्रिका गजबको बन्यो। सर गुरूमाको आर्टिकल पनि हाल्यौं। डीबी सरले प्रेमिल कविता लेखे, ‘हेप्पी न्यू इयर भागी जानेलाई । ’

त्योबेला छैटौं अनुसूचीको विरोध चरममा थियो। हामी डा. हर्कबहादुर छेत्रीको लेख खोजी खोजी पढ्थ्यौं । मलाई पनि झोक चल्यो। विरोधमा एउटा व्याग्य लेखिदिएँ। जहाँ अनपढ पार्षद्को खूब धुलाइ भएको थियो।

पत्रिका गाउँतिर पनि पठायौं। चर्चा ज्वरोमा पुगेथ्यो।

स्कूल छुट्टी भयो। म घर पुगेँ।

‘पार्षदले मेरो नाम सोध्यो अरे। धम्की दिएको छ हरे,’ अचानक हल्ला सुनेर म लुकलुक काँपे। मेरो लेख पार्षदकोमा पुगेछ। लेखसंगै कहिले नसुनेको नाम पनि उनीकहाँ पुगेछन्। गाउँका प्रधानले चाप्लुसी लाउनलाई लेख पुर्याइदिएका रहेछन्।

मेरो मुटुको ढ्याङ्ग्रो बज्न शुरू भयो। खबर आएपछि मेरो जम्मै जोश हरायो। त्यसै पनि पार्षदहरूको इतिहास ठीक थिए। हामीले जान्ने भएदेखि मान्छे काटेको र मारेको कथा मात्रै सुनेका थियौं। म लुकलुक काँपे।

‘केही हुँदैन होला हौं। नडरा।’, आमाले दोस्रो दिन भनिन्, ‘बोलाइ हाल्यो भने माफ माग्न त अन्त। अब लेख्दिन भन।’

म केही ठीक भए। भाग्यवस मलाई बोलाइएन। मैले माफ माग्नु परेन।

डुवर्समा बसेर मैले पहिलो गजल मात्रै लेखिनँ। पहिलो कथा मात्रै लेखिनँ। लेखेकै कारण पहिलोचोटि धम्की पनि सुनेँ।

…….

बाग्राकोटमा रहँदा रूपेश शर्मा, अजय खड़का, अमिर सुन्दासहरूको सम्बन्धमा त्यति धेरै रहन सकिनँ। जति पछिबाट  म कालिम्पोङ छिरेपछि हामी नजिकियौं। किनकि, म  त्यो बेला निकै सानो थिएँ।

पत्रकारितामा छिरेपछि सुखमन मोक्तानहरूलाई त म जहिल्ये भेटिरहेन्थे। ब्रुनो सरसंग आज पनि घरि घरि बाटोमा ठोकिन्छु। उनी स्कूलमा  मलाई लेप्चा भाषा बोलेर हेरैन पार्थे। त्यो बेला म अहिले जस्तो लेप्चा भाषा बुझ्न सक्दिन थिएँ। उनी क्लासमै धाराप्रवाह लेप्चा बोल्थे। म ट्वाल्ल पर्थे।

अहिले म डुवर्सदेखि टाड़ा छु। तैपनि लाग्छ, डुवर्सको झन धेरै नजिक छु।

जब अबीर खालिङहरूको आदिवासी माथिको कविता पढ्छु। म फर्केर फेरि ओदलाबाड़ीतिरै आइपुग्छु। नारयण काफ्ले, ज्योत्सना घतानी र रोशनी भूजेलहरूको जब नयाँ अक्षर हेर्छु, म फेरि त्यही चियाको बुट्टा नजिक हुन्छु, जहाँ उभिएर म कुनै समय रूख भन्दा अग्ला सपना देख्न चाहन्थे।

जनार्दन थापा सर र रविन खवास दाजुसंगको कथा त अलगै छ। डुवर्सको त्यो कुना कुना घुमेको कथा जब पनि म सम्झिन्छु, तब त जहिल्ये मलाई लागिहाल्छ,

‘यो जीवन त गाउँकै घिस खोला बनिदिनु नि बरू।जो जहिले चुपचाप बगिरहन्छ। तर जता बगे नि। जुनै रूपमा बगेनि, डुवर्सलाई नभेटी कत्तै कहिले बग्नै सक्दैन।

उ मेरो गाउँको पीड़ामा, डुवर्सको पीड़ा पनि थपेर बगिरहन्छ।’

 कालिम्पोङ

प्रतिक्रिया
Loading...