नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नौनीको डल्लो र कालामष्ट

घर आइपुगेपछि सिम्पानीका पोखरेल दाजुभाइहरूले ती दुई चेलीले अन्यत्र एक रात बास बसेकाले जातिच्युत गर्न र घरमा प्रवेश गर्न नदिन जोड दिए रे ।

झण्डै साढे तीन बिस हिउँद खाने क्रममा म अचेल अमेरिकामा छु, र अरू हिउँदको पर्खाइमा छु । कति हिउँद नसिबमा छ, के थाहा र ! त्यसैले त बाचुञ्जेल घुमिरहने दिमागीय कसरतको उपक्रममा छु । खासमा दिमाग नै त जिन्दगीको स्रोत रहेछ । दिमाग सकिएपछि त शरीर मुढ बनिहाल्छ । शरीर मर्नु पनि पर्दैन, दिमागले काम गर्न छोड्यो भने वा स्मृति विस्मृति हुँदै गयो भने श्वास फेरेको शरीर पनि एकप्रकारले मृत्युवरण गरे सरह नै हो । यो चिन्तनको वुँदामा आइपुग्दा मेरा जीवनमा मेरा हजुरबाको चिन्तनीय प्रभाव पर्दै गरेको अनुभूत गर्दैछु । धर्म÷अधर्म, दया, माया, काया, वरत्र, परत्र, देश, दुनियाँ, धन, सम्पत्ति, आफ्ना, पराया, ज्ञान, विज्ञान, जन्म तथा मृत्युका आहानहरू सुनेर, बुझेर वा पढेर म हजुरबाको गोता जाँदैछु जस्तो मलाई लागिरहेको छ ।

यो संस्मरणमा म विशुद्ध हजुरबालाई सम्झन्छु । १९५४ सालमा खोटाङ जिल्लाको सिम्पानीमा जन्मनु भएका मेरा हजुरवा २०४८ सालको पुसमा स्वर्गे हुनुभएको हो । उहाँ आफ्नो एकदम प्रारम्भिक जीवनमा नै सप्तरीको हालको चर्खिया÷बस्तीपुरमा बसाईँ सर्नु भएको रहेछ । सामान्यतया त्यतिबेला पहाडका मान्छे आम रूपमा मधेस बसाइँ सर्ने प्रक्रिया सुरु भएकै थिएन । तर मेरो हजुरबा बसाइँ सर्नु भएको थियो । यसको एउटा कारण थियो रे । हाम्रा आफ्नै घरका एक छोरी र एक बुहारी घर सिम्पानीबाट भागे रे । केही घण्टाको बाटो परतिर मझुवा भन्ने ठाउँमा बास बस्न पुगे रे । बास बस्ने ठाउँका मान्छे आफन्त र निकै पौरखशाली थिए रे । उनले सोधखोज गरेर उनीहरूलाई ‘तिमीहरू यसरी दुइटा नानी एक्लै हिँड्न हुन्छ ? फर्क घर । म तिमीहरूलाई पुर्याएर आउँछु’ भनेर सिम्पानी ल्याइदिए रे । घर आइपुगेपछि सिम्पानीका पोखरेल दाजुभाइहरूले ती दुई चेलीले अन्यत्र एक रात बास बसेकाले जातिच्युत गर्न र घरमा प्रवेश गर्न नदिन जोड दिए रे । तर हाम्रो परिवारले त्यसो गर्न नमानेको हुनाले हाम्रै परिवारलाई काढे रे । अनि यस्ता दुष्ट दाजुभाइ भएको ठाउँमा नबसौँ भनेर बसाइँ सर्नु भएको हो रे ।

जे कारणले भए पनि बसाइँ सरेर त्यहीँ आफूले जङ्गल फँडानी गरेर कमाएको जग्गामा प्राण विसर्जन गर्ने अवसर पाउनु भयो । मैले २०१३ सालदेखि २०४८ सालसम्म हजुरबुवाको सानिध्य भेटेँ । अहिले हजुरबुवाका यादहरू प्रवल भएर आउँछन् । मलाई व्यतिरेक बनाइरहन्छन् ।

सान्दर्भिक पोस्ट
खेमराज पोखरेल

शारीरिक बुनौटका हिसाबले मझ्यौला कदको हुनुहुन्थ्यो मेरा हजुरबा । एकदम गोरो हुनुहुन्थ्यो । म प्रायः हजुरबाका गोडामा चिल्लो लगाउँथेँ । गोडा एकदम पिउरीझैँ नरम थिए । खेती किसानी गर्ने मान्छेको त्यस्तो नरम गोडा बारे सोद्धा उहाँले भन्नु भएथ्यो कि बालखकालदेखि नै छालाका जुत्ता सार्कीलाई मोर्न लगाएर लगाउनु हुन्थ्यो रे । उहाँ जहिले पनि छालाका अररा जुत्ता लगाउनु हुन्थ्यो । जबकि हामीले जुत्ता चप्पल नलगाएरै बाल्यकाल बितायौँ ।

हजुरवासँग ज्यादै धेरै तमन्नाहरू थिएनन् । जीवनसँग त्यस्तो असन्तुष्ट पनि हुनुहुन्थेन । जीवनलाई भगवानको कृपा भन्नुहन्थ्यो । त्यति पढेलेखेको पनि होइन । साउँअक्षर चिन्नु हुन्थ्यो । गीता मार्गी हुनुहुन्थ्यो । सधैँ एक अध्याय गीता पाठ नगरी खाने कुरा हुँदैनथ्यो । परिश्रम अति गर्नु पर्छ भन्नु हुन्थ्यो । जीवनका उत्तरार्धमा पनि घाँस काट्ने गर्नु हुन्थ्यो । खलखली पसिना चुहाउँदै आउनु हुन्थ्यो । घरका अरू मान्छेले ‘यसरी काम नगर्नू’ भने भनेँ उहाँ भन्नु हुन्थ्यो – ‘कस्ता नाथुहरू र‘छन्, पसिना न काढी कसरी हुन्छ, मान्छे कुँजो भइहाल्छ नि ।’
यही पाराले उहाँ ९५ वर्ष बाँच्नु भयो । तर उहाँलाई जीवनका उत्तरार्धमा ‘कति वर्षको हुनुभयो ?’ भनी सोध्यो भने २÷४ वर्ष बढाएरै भन्नु हुन्थ्यो । भन्छन् नि मान्छेले जीवनका पूर्वाधमा आफ्नो उमेर घटाउँछन् रे । अनि उत्तरार्धमा पुगेपछि बढाउँछन् रे ।

हजुरबुवा मलाई ज्ञानी बनाउन चाहनु हुन्थ्यो । बिहे नगरोस् भन्ने चाहनु हुन्थ्यो । यसो भनिनुमा गीताको भक्तिमार्गको प्रभाव भएको थियो होलाझैँ लाग्छ मलाई । यो पारिवारिक विषयबन्धनबाट मलाई मुक्त भएको हेर्न चाहनु हुन्थ्यो । हजुरबा र म तोरी उखेल्न, गहत उखेल्न बारीमा जान्थ्यौँ । यो काम गरिरहँदा पनि उहाँ मलाई गीताका श्लोकहरू वाचन गरेर अथ्र्याउनु हुन्थ्यो कि जीवन नासवान छ, र भगवान भक्ति नै सर्वोपरि उपाय हो । विषय बन्धन हो । उहाँलाई गीताका श्लोक कण्ठ थियो । वैराग्यवाद थियो । सम्पत्तिमा कुनै लालसा थिएन । गीतामा पाइने कर्ममार्ग, ज्ञानमार्ग र भक्तिमार्गको सुन्दर अनुयायी हुनुहुन्थ्यो । बूढेशकालसम्म एक लगनी काम गरिरहनु हुन्थ्यो । ज्ञानका कुरा गर्न खुब रमाइलो मान्नु हुन्थ्यो । भगवानसँग सोझै सम्पर्कमा भएको र त्यसको प्रमुख साधन भगवानको विश्वाससहितको भक्ति हो भन्ने कुरा व्याख्या गर्नु हुन्थ्यो । घर परिवारका सुखका र दुखका दिनमा पनि उहाँका एकै खाले सोच, व्यवहार र दृष्टिकोण हुन्थे ।

हुन पनि मेरो हजुर्बा आफ्ना जीवनका आधा समय व्यतीत गरेपछि देखि नै सामाजिक, पारिवारिक तथा व्यैयक्तिक समस्यालाई खासै ध्यान दिनु हुन्थेन । पिर पनि गर्नु हुन्थ्ोन । कठैवरी भन्ने त सबालै थिएन । कोही मर्यो–बाँच्यो, बिहे भा¬े–भएन, जे भए पनि भगवानको मर्जी भन्नु हुन्थ्यो । पुरा दिन गीताका श्लोक हालेर बिताउनु हुन्थ्यो । यो सुन्न गाउँबाट बुढाबुढीहरू आउनु हुन्थ्यो । गीता मार्गीहरूले कहिले कहिले रातभर बिम्ब बस्थे । राग गाइन्थ्यो । ती रागहरू राजा राम शाह र गुरु गोरखनाथसँग पनि जोडिन्थे । तुलसीदाससँग पनि जोडिन्थे । एउटा मजाको कुरो यहाँ के थियो भने बिम्ब बस्दा चारकुना पारेर काम्लो ओछ्याउने र महिला र पुरुष बराबरीको हैसियतमा बस्थे । सानो ठूलो जात भन्ने थिएन । क्षेत्री पनि गुरु हुन्थे । त्यसबेलाको त्यो धार्मिक मार्गमा प्रगतिशील थियो ।

२०२८सालमा जस्तो लाग्छ, मेरो पिताजी र हजुरआमा केही आफन्तका साथमा काठमाडौँ जानु भएको थियो । बुवा काठमाडौँतिर हिँडेपछि दुहान दुहुने समस्या आयो । हजुरबाले जीतबहादुरलाई नै दुहुन लगाउनु भयो । जीत बहादुर जातले कामी भएकाले पानी नचल्नेले दूध दुहेको खाने चलन त्यसबेला थिएन । तर हुजुर्वाले दूध दुहुन लगाएको कुरालाई मेरा कान्छा हजुर्बा हरिप्रसाद पोखरेलले पनि सहमति दिनु भयो । त्यो बेला उहाँको घर खोटाङ जिल्लाको बाराहाबाट हाम्रै घरमा आउनु भएको थियो । उहाँ गीताकै विधिवत गुरु हुनुहुन्थ्यो । यसरी कामीले छोएको पानीले पखालेको ढुङ्ग्रोमा दुहेको दूध खायो भनेर बाहुन समाजले धेरै दिनसम्म कुरा काटिरहे । हजुरबाले गुदान्नु भएन । यस अर्थमा अलि प्रगतिशील हुनुहुन्थ्यो । यसै क्रममा जितबहादुर र मैले दुवैले गाई भैँसी दुहुन सिकेको हो ।

एकपल्टको घटना सम्झन्छु कि मेरो कान्छा हजुरबाकी बुहारी मेरी काकी बित्नु भएछ । तिनताका फोन थिएन । मान्छे जुठो बार्नु पर्ने समाचार लिएर हाम्रो घर आएछन् । उनले हजुरवालाई समाचार सुनाए छन् । तर हजुरबाले त्यो कुरा घरमा सुनाउनु भएनछ । त्यसैबेला म राजविराज गएको थिएँ र मैले शुभद्रा फुपूकोमा थाहा पाएँ कि काकी त खस्नु भएछ । त्यो दिन १० दिन भएको रहेछ । मेरो टाउको मुण्डन गरियो । म घरमा आएर सबैलाई भनेँ । सबै जना छक्क पर्नु भयो । अनि मैले हजुरबालाई सोधेथेँ ः ‘हजुरबा, किन तपाईँले काकी मरेको खवर नसुनाउनु भएको ?’

हजुरवाले जवाफ दिनु भएको थियो ः ‘नाथु, मर्ने मरेर गइहाले, सुनाए पनि नसुनाए पनि फेरि बाँच्ने होइन ।’

यसो भनिरहँदा उहाँको चेत खुस्किएको थियो कि भन्ने कुरा पनि कठमूल्ला समाजले भन्न सक्छ । तर उहाँ आफ्नो मृत्युसम्म कहिल्यै पनि अचेत वा बेसुर हुनुभएन । यो कृत्य वैराग्यको द्दोतक थियो ।

म हजुरबुवाको अति प्यारो थिएँ । म सानो छँदा हजुरबुवा मोही पार्नु हुन्थ्यो । अनि मलाई काखमा राखेर मेरो हात समातेर मदानीको घुर्रो तान्नु हुन्थ्यो । मदानीको लेती वर र पर गरेर मोही पारिन्थ्यो । घार्रघुर्र मोही पारिसकेपछि नौनी घिउ निस्कन्थ्यो । कुल पितृलाई नौनी ध्यूको धूप हाल्नु हुन्थ्यो कोइलामा । आगोको फिलुङ्गामा आलो नौनी ध्यूको धुँवागन्ध नाकभरि सुवाशित भएर जान्थो । अनि मलाई एउटा डल्लो नौनी घिउ खान दिनु हुन्थ्यो । यसरी नौनी घिउको डल्ला त कति खाएँ कति भनेर नै साध्य छैन । हजुरबा निकै कडा र एकोहोरो सोझो हुनुहुन्थ्यो । मैले कहिल्यै पनि उहाँको गाली वा कुटाइ खाएको सम्झना छैन ।

हजुरबुवा कुलको धामी हुनुहुनुहुन्थ्यो । कुलको धामी भनेपछि देवालीमा गिँडिएका बोकाको घाँटी चुस्ने चलन छ । त्यो उहाँले गर्नु नै भयो होला । मैले उहाँ धामी बसेको त देखिनँ । उहाँ धामी बस्न सिम्पानी जानुहुन्थ्यो रे । पछिपछि त उहाँलाई देउता नै आउन छोडेको थियो रे । तर पनि फुकफाक भने गरिरहनु हुन्थ्यो । आँखा पाकेको, गलफुल्लो, लागोभागो आदिको फुकफाक गर्नु हुन्थ्यो । मेरी आमाले मलाई सुनाउनु हुन्थ्यो कि एकपल्ट म विरामी परेको बेला थियो रे । हजुरबा त पूजा चौकामा मलाई लगेर ‘हेर हेर म कालामष्ट हुँ, छोड् छोड्’ भनेर बक्न थाल्नु भयो रे । हजुरबाले फुकेपछि बिमार निको हुन्थ्यो भन्थे मान्छे । सायद एउटा विश्वास नै त थियो होला त्यो ।

गोठको धूप धुमधामसँग हुन्थ्यो । कालामष्ट पानी पोखरेलका कुल देवता । खासगरी घरमा सेलरोटी पकाएका बखत हजुरबाले पहिले कुललाई चढाउनु हुन्थ्यो । तीनवटा सेललाई जोडेर कालामष्ट, बहिनी मण्डल्नी, भाञ्जो आदिवारा भनेर चढाइन्थ्यो । एक भाग सेल रोटी अलग्गै राखिन्थ्यो र माधव जैसी भनिन्थ्यो । हजुरबा भन्नु हुन्थ्यो कि पश्चिमबाट हाम्रा पूर्खा पूर्व लाग्दा एकजना शुभेच्छुक जैसी पनि सँगै आएकाले र हाम्रो कुलको भलो गर्ने भएकाले पूजिएको हो । यसरी आफूले नसके कालामष्ट लगाएर नै भएपनि मेरो बिमार निको पार्नु हुन्थ्यो ।

यो कुरा सामान्य र अन्धविश्वास नै भए पनि सामाजिक÷मानवीय मनोविज्ञानमा महत्वपूर्ण थियो । अहिले वर्तमानमा पनि कुल देवताको पूजा अर्चना गर्ने, देवाली गर्ने परम्परा झन बढेर गएको छ । कुल देवतामा नै उपाध्याय र जैसी हुनुले जातिप्रथाको प्रबल अस्तित्वको पनि यसले पुष्टि गर्छ ।

खासमा हजुरबाले मासु खान छोड्नु भयो । त्यसपछि देवालीमा धामी काम पनि छोड्नु भयो । दशैँमा वली दिनुपर्छ भनेर जमरा पनि राख्न छोड्नु भयो । मासु खान छोडे पनि वैष्णव भने हुनुहुन्थेन । सनातनीय धर्मको कट्टर समर्थक हुनुहुन्थ्यो । वैराग्य उहाँको विचार थियो । उहाँको यो सबैकुराको आधार गीतादर्शन थियो ।

म केटाकेटी नै थिएँ होला सायद । हजुरबा गोठमा बस्नु हुन्थ्यो । म हजुरबुवालाई सामल पुर्याउन सिवाइ गएको सम्झना छ । सप्तरी जिल्ला र उदयपुर जिल्लाको बिचमा चुरे पहाड छ । त्यो चुरे पहाड कटेर पारी पुगेपछि सिवाइ पुगिन्थ्यो । तिनताक हाम्रो घरमा ३० भन्दा बढी गाई थिए । ती गाई लोकल गाई थिए । एकआध दुहुनोलाई छोडेर अरू गाईलाई गोठ लाने चलन थियो । त्यो पल्ट सिबाइको जङ्गलमा गोठ लगिएको रहेछ । गाउँभरिका बस्तुभाउ गोठ लगिन्थ्यो । गोठ लानु भनेको जङ्गलमा वा कुनै धनाढ्यकोमा पराल ख्वाउन र उसको बारी मलिदिन गाई लगेर महिनौँ बाँध्नु हुन्थ्यो । म एउटा पोको चामल बोकेर सिवाइ गएको थिएँ । जुत्ता चप्पल लगाउने चलन, चेत वा हैसियत थिएन सायद । बेलुका बाहुन भएकाले मेरो हजुर्बाले भात पकाउनु भयो । अनि आफूले लिएर अरूलाई भान्सा छोडिदिनु भयो । ब्राह्मणको नियमअनुसार त भान्सा छोड्न नहुने हो । तर हजुरवा यति कुराको मतलब राख्नु हुन्थेन ।

मेरा पिताजी १८ वर्षको हुँदादेखि नै हजुरबाले घर तथा व्यवहारको जिम्मा हजुरआमा र मेरा पिताजीलाई दिएर आफू आफ्नो घरमै वानप्रस्थ जीवन यापन गर्न थाल्नु भएको थियो । वानप्रस्थ भन्दा पनि गृहस्थी सन्यासी हुनुहुन्थ्यो । लेनदेन गर्नु हुन्थेन, हाटबजार जानु हुन्थेन, मेलामन्दिर जानु हुन्थेन । मन्दिर किन नगएको हजुरबा भनेर सोध्यो भने उहाँ आफ्नै हृदयतिर देखाएर भन्नु हुन्थ्यो – मन चङ्गा तो कठौतीमे गङ्गा । कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार !, देवता यहाँभित्र छन्, भौँतारिएर कहाँ जानु हौ केटा । नबुझ्नेले जाने हो मन्दिर ।

खानलाई मीठो मसिनो याद गर्नु हुन्थेन । जे भेट्यो त्यही खानु हुन्थ्यो । मोही उहाँको प्रिय खान्गी थियो । उहाँको जीवन छउञ्जेल दूध, दही र मोहीको कहिल्यै कमी भएन । राम्रा र कीमति लुगामा उहाँको कहिल्यै ध्यान गएन । जे किनेर ल्याइदियो त्यही लाउनु हुन्थ्यो ।

कोही घरायसी कारणले आएको छ भने पनि उसले गीताको अर्थ नसुनी जान पाउन्न थियो । कसैलाई पनि उसको सञ्चोविसञ्चो, ऋण धन सोध्नु हुन्थेन । समाजमा घट्ने राम्रा र नराम्रा सबै घटनामा उहाँ निरपेक्ष हुनुहुन्थ्यो । साँच्ची गृहस्थमा बसेको जोगी हुनुहुन्थ्यो । सुख दुख तथा जन्म र मरणलाई समान ठान्न थाल्नु भएको थियो । मान्छे यो सांसारिक माया मोहमा लेपासिएको देखेर अचम्म मान्नु हुन्थ्यो । त्यस्ता मान्छेलाई अज्ञानी ठान्नु हुन्थ्यो ।

हामीले समाजलाई नियालेर हेर्यौँ भने अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सत्ता हस्तान्तरण नगर्ने प्रवृत्ति देखिन्छ । यो विषय राजनीतिमा मात्र होइन, सामाजिक तथा पारिवारिक हिसाबमा पनि दुई पुस्ता बिच सत्ता सङ्घर्ष बग्रेल्ती पाइन्छन् । तर हजुरबाले आफ्नो ५४ वर्षको उमेरमा १८ वर्षे छोरालाई सजिलै सत्ता हस्तान्तरण गरिदिनु भयो र त्यसपछि पनि ५० वर्ष बाँच्नु भयो । उहाँले जीवनका असङ्ख्य भड्खालाहरूसँग कहिल्यै गुनासो गर्नु भएन । जीवनलाई भगवानको लीला मान्ने भक्ति मार्गको बाटोमा हुनुहुन्थ्यो । सुख दुख सबै भगवानका थाप्लामा राखिदिनुहुन्थ्यो र आफू शान्त बस्नु हुन्थ्यो । उहाँले एकआध सिटामोल कहिलेकाहिँ दिएको बाहेक कुनै खास एलोपेथिक औषधी खानु परेन । केही रोग थियो कि थिएन, थाहै भएन । किनकि ओछ्यानमा लम्पसार नपरी डाक्टरकोमा गएर देखाउने चलन नै थिएन । हजुरआमाको मृत्युलाई पनि उहाँले स्वाभाविक तरिकाले पचाउनु भएको थियो । तर कहिलेकाहिँ बर्बराउनु हुन्थ्यो – नानीकी आमा, तिमी निर्मोही रहिछौ, तिमीले मलाई एक्लै छोडेर जानु हुन्थ्यो त !

मैले बिहे गरेर मैतालु लिएर आएको थिएँ । मैतालु ढोग भेट भयो । अनि मलाई हजुरबाले भन्नु भएको थियो – ‘मान्छे हुन्छस् किझैँ लागेको थियो । परमार्थ बुझ्छस् किझैँ लागेको थियो । विषयबन्धनमा भुलिँदैनस् किझैँ ठानेथेँ । तर तँ पनि गइस् खोलै खोला । जा अब भवसागरमा डुब् ।’

हजुरबुवा आफ्नो आयु बाँचेर परमधाम जानु भयो । तर पनि सम्झनाका तरेलीमा सिनेमाको रिल जस्तै सललल आइरहन्छ र लाग्छ कि हजुर्बा हजुरआमाको लामो माया ममता, निर्देशन सानिध्य पाएर हुर्कने थोरै भाग्यमानीमा म परेको छु । बुझेको छु कि मान्छेले जन्मेपछि मर्नै पर्छ । यो शाश्वत सत्य हो । यो मैले सिर्जेको संसारलाई यहीँ छोडेर जानु पर्छ । त्यसकारणले ममा यसका प्रति वैराग्य भाव आइरहेछ । अहिले जीवनका उत्तरार्धमा पुगेर आउने पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक समस्याहरूले मलाई कम असर गर्न थालेका छन् । अचेल लाग्न थालेको छ कि यो परिवार, समाज, आफन्त भन्ने कुरा पनि खास केही होइन । एउटा नाटकको पात्र हुँ म भनेजस्तै लाग्न खोज्छ । यसले गर्दा सुख र दुख दुवैलाई इग्नोर वा सामान्यीकरण गर्ने प्रवृति ममा बढ्दै आएको छ । अचेल सुखले मत्याउने र दुखले अत्याउने क्रम घटेको छ । मान्छेका ईश्र्या, डाह, तथा तडपनले पर्याप्त पोल्न छोडेका छन् । परिवारभित्रका सम्वन्धहरूलाई पनि म त्यसैगरी बुझ्दैछु अचेल । पानीको फोका जस्तो लाग्दैछ । यो पढाइ, जागिर, सम्बन्ध, धन, मान सबै नासवान हुन् भन्ने किनकिन लागिहाल्छ । किनभने भौतिक रूपले पनि मैले जीवनमा जे गर्न सकेँ, सकेँ । अब म त्यसलाई सुधार गर्न सक्दिनँ । बितेका दिनका बारेमा कल्पिनुको केही अर्थ छैन । वर्तमान पनि मेरा अधीनमा छैन । सबै मान्छेका वर्तमानहरू परिवेशीय हुन्छन् । भविष्य भवितव्य हो, कसैले जान्न सक्दैन । अनि म किन व्यर्थमा आफ्नै जीवनका अबडेखबडेमा दुखी होऊँ !

तर म कीमार्थ प्यासिभ हुन खोजेको छुइनँ । मलाई मेरो परिवन्दले जुराइदिएको काम गरिरहेको छु । गरि नै रहन्छु । किनकि एउटा अङ्ग्रेजी आहान छ ‘घुमिरहेको ढुङ्गामा काइ लाग्दैन’ । तर जब म यसरी भौतिक तथा आध्यात्मिक तत्त्वलाई जीवनका कसीमा राखेर अनुभूत गर्न थाल्छु, मलाई अप्ठ्यारो हुन्छ । बाटो प्रष्ट देखिँदैन । परिवेश मलाई बेगलकाँटे भन्न थाल्छ । यस्तो विपर्याश परिस्थितिले मलाई विपनामा त कम प्रभाव पर्छ तर सपनामा भने ऐंठन गराउँछ । त्यो बेला सपनामै मेरा हजुर्बा मेरै अगाडि आएर उभिनु हुन्छ र नौनी घिउको डल्ला आगाको फिलुङ्गोमा हाल्दै, काम्दै बक्न थाल्नु हुन्छ – छोड् छोड्, हेर हेर म कालामष्ट हुँ ।

सान एण्टोनियो, अमेरिका

प्रतिक्रिया
Loading...