नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कविता: वर्षाैं भयो

विमल नेपाल

वर्षौं भयो नभेटेको
थाहा थिएन मलाई
तिमी हिँडेको बाटोको पनि सुगन्ध हुन्छ भनेर
तिम्रो मुटुको ढुकढुकी अझै गुन्जिन्छ भनेर

चैते घाम-पानीमा निथ्रुक्क रुझ्दै
मलाई नदेखे जस्तो गरी, मैलाई सुनाउन
तिमीले वनपाखा गुञ्जाएको कहाँ बिर्सेको छु र ?
वर्षौं भयो नसुनेको,
थाहा थिएन मलाई तिम्रा स्वर अझै यी पाखामा
घन्किरहन्छ भनेर!

शिशिरका ती चिसा रातमा
जगमग जगमग तारा जगमगाएको बेला
याद छ, त्यो हाम्रो प्रथम चुम्बन?
आजभोलि याद अझै सल्बलाउँछ
वर्षौं भयो अँगालो नहालेको
थाहा थिएन मलाई
आज भोलि चिसा रातले पनि तातो श्वास फेर्छ भनेर !

सायद वसन्तको त्यो कुनै दिन
मनोहर सूर्यास्तको बेला
बास बस्ने चराहरुको चिरबिरबीच
तिम्रो चञ्चल नयन लजाएको बेला
मैले घुम्टो हटाइदिएको?
थाहा थिएन मलाई
हरेक बासन्ती-साँझ आहिलेसम्म लजाउँछ भनेर !

जुनेली रातमा
तिमीलाई भेटेको साँझमा
हाम्रो प्रथम स्पर्शको याद आउँछ
हरेक पूर्णिमाको दिन
अझै पनि जून मुस्कुराउँछ
वर्षौं भयो नछोएको तिमीलाई
थाहा थिएन मलाई,
हरेक पूर्णिमाको दिन जून शर्माउँछ भनेर!

वर्षौं भयो नभेटेको!
थाहा थिएन मलाई
तिमी हिँडेको बाटोको पनि सुगन्ध हुन्छ भनेर
तिम्रो मुटुको ढुकढुकी अझै गुन्जिन्छ भनेर !

क्याम्ब्रिज, म्यासाच्युसेट्स

प्रतिक्रिया
Loading...