नेपाली साहित्यको सम्पूर्ण पत्रिका

वस्तु (निबन्ध)

वस्तुको अवधारणा (कन्सेप्शन) बुझाइमा निर्भर हुन्छ भने यसको प्रत्यक्षणचाहिँ संवेदनशीलतामा। दुईमा एक मात्र नभए वस्तुज्ञान सम्भव हुँदैन।

संवेदनशीलता (सेन्सिबिलिटी) वस्तुमा होइन तर मानिसमा हुन्छ, अनि कसरी बौद्धिक (शुद्ध) अवधारणाहरू (कन्सेप्टहरू) मात्र वस्तु पुष्टिको निम्ति पर्याप्त छैनन्। जब हाम्रा ज्ञानेन्द्रियहरूको सम्पर्क वस्तुसित (बोधगम्य) हुँदछन् तब हामी अनुभवजन्य ज्ञान प्राप्त गर्दछौँ। यसले के बुझाउँछ भने अनुभवजन्य ज्ञान वस्तुहरूको अनुभवमा आश्रित हुन्छ। त्यसरी नै वस्तुहरूद्वारा नै घटना सम्भव हुन्छ। वस्तु अनि घटनाको अनुभव नै ज्ञानका स्रोतहरू हुन् तर तिनीहरूको ज्ञान पूर्ण तयार (रेडी-मेड) भएर हामीमा आउँदैनन्। अनुभवद्वारा प्राप्त गरेका संवेद तथ्याङ्कहरू (सेन्ज-डेटा) काँचा पदार्थहरू समान हुन्। ती पदार्थहरूलाई बुझाइद्वारा बौद्धिक अवधारणाहरूको प्रयोग गरी मानव ज्ञानमा परिणत गर्न सकिन्छ। त्यसैले प्रत्यक्षणको समय र अवधारणा प्रयोगको समय मस्तिष्क सक्रिय रहन्छ। यस भनाइबाट के बुझिन्छ भने अनुभववादीहरूको ‘अनुभवको समय मस्तिष्क निष्क्रिय रहन्छ’ भन्ने पुष्टिलाई अस्वीकार गर्दछ। इमानुएल कान्टअनुसार दुवै अनुभववादीहरू र बुद्धिवादीहरू आ-आफ्ना ठाउँमा उत्तिकै सही छन् तर जब उनीहरू एक-अर्काको बारेमा खण्डन गर्न थाल्दछन् तब समस्याहरू उत्पन्न हुँदछन्। तर ज्ञानार्जनमा दुवैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। कान्टले यही विचारधारालाई अघि बढाउँदै एउटा नयाँ थ्योरी जोडेका छन्, जसलाई हामी ज्ञानमीमांसामा (ज्ञानवादमा) ‘ज्ञानको समीक्षात्मक सिद्धान्त’ भनेर जान्दछौँ।

जब हाम्रो सम्पर्क कुनै पनि एउटा वस्तुसित हुन्छ तब हामीलाई त्यसको तत्काल (इमिडीएट) अनुभूति हुन्छ। सम्पर्कमा आएको अथवा दिइएको वस्तुको पुष्टि जहिल्यै पनि अनुभवजन्य (इम्पिरिकल) अनि संश्लिष्ट उत्तरानुभव (सिन्थेटिक अपोस्टरियोराइ) हुन्छ। वस्तुको अवधारणा (कन्सेप्शन) बुझाइमा निर्भर हुन्छ भने यसको प्रत्यक्षचाहिँ संवेदनशीलतामा। दुईमा एक मात्र नभए वस्तुज्ञान सम्भव हुँदैन। शुद्ध विवेकका (प्यूर रिजनका) प्रागानुभव सिद्धान्तहरूले हामीलाई बुझाउँछ कि कुनै पनि वस्तु अनुभवमा हुन्छ अनि अनुभवले बुझाइलाई सङ्लग्न गराउँछ। बुझाइका नियमहरू हुन्छन् अनि नियमहरू वस्तुका अनुभवभन्दा अघि आउँछन्। बुझाइ अनि शुद्ध विवेकका सिद्धान्तहरूका सारा अवधारणाहरू अनि वस्तुहरू अनुभवजन्य बोधिसित सम्बन्धित हुन्छन् अनि वास्तविक वस्तुहरूचाहिँ अनुभवको समयमा। सारा अनुभवजन्य पुष्टिहरू संश्लिष्ट हुन्छन्। यस्ता वस्तुहरूका निर्णायहरू (पुष्टिहरू) अनुभवाश्रित हुन्छन्। कान्टको पुष्टिअनुसार  भौतिक विज्ञानका सारा सिद्धान्तहरू अनि वस्तुका प्रतिनिधित्वहरू (रेप्रेजेन्टेशन्स) पूर्वानुभव (प्रागानुभव) उत्पन्न भएका हुन्छन्। तिनीहरूको कुनै अर्थै रहँदैन जबसम्म हामी तिनीहरूलाई वस्तु अनि घटनासित वास्तविकतामा (बोधिसित) प्रयोग गर्दैनौँ। एउटा बौद्धिक अवधारणाले कुनै पनि एउटा निर्धारित प्रतिनिधित वस्तुको बोधिलाई प्रस्तुत वा प्रदान गरेकै हुनुपर्छ नत्र यसले आफ्नो अर्थ नै गुमाई पठाउँछ।

ईगम खालिङ
सान्दर्भिक पोस्ट

कान्टका अनुसार, म एउटा वस्तुलाई यस्तै ‘म सोच्छु’ बाट जान्न सकिँदैन जबसम्म म त्यस वस्तुको बोधिबाट सम्बन्धित चेतनाको एकाइलाई (एकत्वलाई) सारा चिन्तनहरूमा निर्धिष्ट गर्दिनँ। यसो किन गर्न परेको भन्दा किनकि स्वचेतना आफैँमा वस्तुको अवधारणा (वर्ग) होइन अनि वस्तु निर्धिष्ट सङ्कल्पित आत्माको सचेतना होइन, त्यो त मेरो अन्तर बोधि (इनर इन्टूसन) मात्र हो। वस्तु ज्ञान वस्तुको पुष्टिमा निर्भर गर्दछ। वस्तुको बारेमा निर्णय वचनहरूद्वारा गरिन्छ, अनि त्यस्ता वचनहरू नै ज्ञानका उदाहरणहरू हुन्। तात्कालिक अनुभवद्वारा गरिका वस्तुका सारा निर्णायहरू उत्तरानुभवजन्य हुन्छन्। ती सारा उत्तरानुभवजन्य निर्णायहरू संश्लेषणात्मक हुन्छन् (क्रिटिक अफ् प्योर रिजन, बी० १२, प० ४५) ।

मानिसले विज्ञानका सिद्धान्तहरूलगायत साहित्यका सिद्धान्तहरू मानिसभित्र र बाहिरका वस्तुहरू, विषयहरू अनि कुराहरूलाई अक्षर, शब्द, वाक्य अनि अनुच्छेदहरूमा लेख्दछन्। यसर्थ मानव ज्ञान अक्षरहरूबाट बनिएका शब्द र वाक्यहरूका अनुच्छेदीय महा सङ्कलनजस्तो मात्र देखिन्छ। कुनै पनि सिद्धान्तको साहित्यले मानव ज्ञानको विषयलाई पूर्वसङ्केत गर्दछ। त्यसैले थ्योरीहरूले अवधारणाहरूमा ज्ञानमीमांसालाई पूर्वसङ्केत गरिरहेका हुन्छन्। बर्ट्रेन्ड रसेल अनि लुडविग विट्गेन्सटाइन जस्ता दार्शनिकहरूले वस्तुहरूलाई वस्तुवाचक संज्ञा (प्रपर नउन्) मात्र मानेका छन्। त्यति मात्र होइन नोआम चोम्स्कीले झन् जगतका वस्तुहरूलाई वक्तृत्वगतसमेत (रिटोरिकल) मानेका छन्। चोम्स्कीको मतानुसार भाषामा व्याकरणको समावेशी भए तापनि कति कुराहरू हामीलाई जन्मैबाट प्राप्त हुँदछ। त्यसको विकासमा हाम्रो संस्कार, संस्कृति अनि जीनबाट पनि हुँदछ। हुन त हामी वस्तुलाई वैज्ञानिक परिभाषाद्वारा पनि जान्दछौँ तर वैज्ञानिक परिभाषा (आदर्श भाषामा लेखिए तापनि) भाषाद्वारा नै लेखिन्छ अनि बुझिन्छ। हामीले जानेका संसार अनि ब्रह्माण्ड वास्तवमा हाम्रो मानव ज्ञान मात्र हुन्। वस्तुसित मानिसकको सम्पर्कबाट आएको ज्ञानलाई हामी वस्तुज्ञान भन्दछौँ। वस्तुबिना वस्तुज्ञान सम्भव छैन। वस्तुज्ञान हामीसित रहे तापनि वस्तुचाहिँ सधैँ स्वतन्त्र रहन्छ। वस्तु हामीबाहिर रहन्छ तर त्यही वस्तु कसरी हाम्रो मस्तिष्कलाई दिइन्छ त्यो जान्न अनिवार्य हुन्छ। यही सन्दर्भमा कान्टले लिएको प्रश्न “कसरी हाम्रो मस्तिष्कले (बुद्धि अथवा विवेकले) ज्ञानेन्द्रहरूद्वारा वस्तुलाई ग्रहण गर्दछ?”—लाई सरलीकरण गरी देखाउने प्रयास गरिएको छ।

कान्ट वस्तुको ज्ञान सम्भवनाको साथसाथै वस्तुको यथार्थसित पनि पूर्ण सचेत थिए। अनुभवद्वारा जानिने वस्तुहरू हामीदेखि बाहिर हुन्छन्। जुन हामीलाई प्रस्तुत गरिएको हुन्छ त्यो न त वस्तु हो न त वस्तु आफैँआफमा हो, तर त्यसको प्रतिनिधित्वहरू हाम्रो संवेदनशीलताद्वारा हो। जुन हाम्रो चेतनालाई दिइन्छ त्यो वास्तवमा वस्तुका संवेद तथ्याङ्कहरू अथवा ‘सेन्ज डेटा” मात्र हुन्। यही अनुभवजन्य प्रतिनिधित्वलाई संवेदनशीलताद्वारा प्राप्त अनुभवजन्य प्रतिनिधित्व मानिन्छ। कान्टले यही अनुभवजन्य प्रतिनिधित्वलाई अनुभवजन्य अवधारणा मानेका छन्। यही अवधारणालाई बौद्धिक अवधारणासित संश्लिष्ट प्रक्रियाद्वारा मस्तिष्कमा स्वीकृत गरिन्छ। हामी वस्तुलाई जान्दछौँ एउटै कारणले गर्दा कि वस्तु हाम्रो संवेदनशीलतालाई दिनुसकिन्छ तर वस्तु आफैँआफलाई दिनुसकिँदैन। कसैले हामीलाई कलम दिइहालेमा हामी यो भन्दैनौँ कि हामीलाई कलम दियो अनि कलम आफैँआफमा पनि दियो। तर हामी वस्तु यथार्थमा अनि वस्तु आफैँआफमा के हो त्यसको बारेमा प्रश्नहरू गर्न सक्छौँ। हाम्रो व्यावहारिक जीवनमा प्राप्त वस्तुहरू सबै हाम्रा संवेदनशीलतालाई दिइका वस्तुहरू हुन्। जसरी वस्तु आफैँआफमा जान्न सकिँदैन त्यसरी नै हामीभित्रका अन्तर्वस्तुहरूको बारेमा पनि पूर्ण रूपमा जान्न सकिँदैन। चेतनाभित्रका सारा वस्तुहरूलाई पूर्ण रूपमा जान्न सकिँदैन। हामी वस्तुका ‘अप्सुल्यूट अफ् थिङ’ सम्पूर्णतामा जान्न सक्दैनौँ। हामीसित परब्रह्म (एब्सोल्युट) ज्ञान सम्भव छैन। फेरि, सोच्नुलाई जान्नु मान्न सकिँदैन किनकि बुझाइका दुई विशेष्ताहरू हुन्छन्: ‘शुद्ध बुझाइ’ शुद्ध अवधारणाहरूको अर्थमा अनि ‘बुझाइ’ संवेदनाजन्य तथ्याङ्कहरूको (डेटा) अर्थमा म सोच्छु कहिल्यै वस्तु होइन किनकि सोचेर मात्र वस्तु जान्न सकिँदैन।

‘थ्योरी’ अनि ‘साहित्य’ दुवै भाषाद्वारा लेखिन्छ। साधरण, साहित्यिक, वैज्ञानिक अनि प्रध्योगिक भाषाहरूमा मात्रा केही फरक भए तापनि तिनीहरू आ-आफ्ना ठाउँमा भाषा नै हुन्। कुनै रचनालाई अन्तिम रचना मान्न सकिँदैन कारण कुनै पनि रचना अन्तिम रचना हुँदैन कारण मानव संसार प्रगतिशील छ अनि रचना प्रक्रिया निरन्तर चलिरहन्छ। त्यसरी नै कुनै एउटा थ्योरीलाई  अन्तिम थ्योरी मान्न सकिँदैन किनकि मानव ज्ञान प्रगतिशील (गतिशील) छ। कुनै पनि एउटा थ्योरीलाई प्रयोगमा ल्याएर रचना गर्न सकिन्छ तर रचना प्रक्रियाचाहिँ सधैँ थ्योरीमुक्त हुन्छ। थ्योरीचाहिँ हामीलाई केही कुराहरू एउटा सन्दर्भित साँचाभित्र (फ्रेम अर फ्रेम अफ् रेफरेन्स) हालेर बुझ्नलाई चाहिन्छ अनि सिद्धान्तहरू बुझ्नलाई हामीले अलिकति बौद्धिक मेहनत गर्नुपर्छ। ‘म सोच्छु’, ‘म बुझ्छु’, अनि ‘म जान्दछु’ यी सबैलाई हामी आफैँले सम्बन्धित साँचाहरूभित्र हाल्नुपर्छ। “सोच्न, बुझ्न र जान्नलाई हामीलाई के के कुराहरू चाहिन्छ?” अनि “हामी कसरी सोच्छौँ, बुच्छौँ अनि जान्दछौँ ?”—जस्ता प्रश्नहरूको व्याख्या दिनलाई हामीले अरू थुप्प्रै कुराहरू बुझ्नुपर्ने हुन्छ (जसको विषयमा म अर्कै लेखमा कुरा गर्नेछु) ।

मानव ज्ञान भन्नले मानवद्वारा अर्जित ज्ञान बुझिन्छ। त्यसरी नै मानवद्वारा अर्जित वस्तुज्ञान पनि बुझिन्छ। मानव ज्ञान मानवीय बुझाइ अनि संवेदनाजन्यद्वारा उत्पादन गरिएका ज्ञान बुझिन्छ। यसरी बुझाइ अनि संवेदनाजन्यबिना मानव ज्ञान सम्भव छैन । फिलिप बलले ‘रियलटी ? इट्स वट् ह्यू मेक इट्’ (न्यू साइन्टिस्, २०१७, पृ० २९-३२) , भन्ने आफ्नो लेखमा भन्नुहुन्छ कि यथार्थ भन्नले वस्तुहरू अनि प्राकृतिक घटनाहरूको यथार्थ होइन कारण उनीहरू हामीबाट स्वतन्त्र छन्। हामी तिनीहरूलाई मात्र ‘इन्टर्पेट, वर्णन अनि व्याख्या गर्दछौँ। ‘यथार्थ’ भन्नाले हाम्रो निम्ति यथार्थ हो तर वस्तुहरूको निम्ति होइन कारण वस्तुहरू हामीदेखि बाहिर हुन्छन्। त्यसरी नै सैद्धान्तिक भौतिक विज्ञानका वैज्ञानिक अनि दार्शनिकहरू के मान्छन् भने जब हामी वस्तुको यथार्थलाई हाम्रा विश्व र ब्रह्माण्डको यथार्थसित जोडेर वैज्ञानिक व्याख्याहरू दिँदछौँ त्यतिबेला हामी थाहा नपाई भ्रमको सिर्जनातिर लम्किरहेका हुन्छौँ। ब्रह्माण्डका सम्पूर्ण वस्तु अनि घटनाहरूको प्रत्यक्ष मात्र होइन जानकारी लिनसम्म सम्भव हुँदैन कारण ब्रह्माण्ड एउटा ‘आदर्श समाग्रता’ मात्र हो ।

वास्तवमा वस्तुज्ञान नै अनुभवजन्य ज्ञान हो। अनुभवजन्य ज्ञान प्रागानुभव (पूर्वानुभव) ज्ञानबिना सम्भाव हुँदैन। संवेदनशीलता र बुझाइको सम्मिश्रणबाट वस्तुज्ञानको उत्पन्न हुँदछ। हामीले जानेको वस्तु हाम्रा इन्द्रियहरू र विवेकद्वारा मात्र हो, त्यहाँदेखि उता ‘त्यो आफैँआफमा के हो’ जान्न सकिँदैन। त्यो वस्तुको यथार्थ पनि हो। वस्तु आफैँआफमा के हो भन्ने जान्न सक्यौँ भने वस्तुका परमसत्ता र तत्त्वलाई जान्न सकिन्छ, अनि संसारका सारा वैज्ञानिक अनि दार्शनिक सिद्धान्तहरू परिवर्तन हुनेछन् साथै मानिस जिउने जीवनशैली नै परिवर्तन भएर जाने छ। त्यसैकारण वस्तुज्ञान मानव ज्ञानको विषय हो।

प्रतिक्रिया
Loading...