नेपाली साहित्यको सम्पूर्ण पत्रिका

चर्चित साहित्यकार काफ्कासँग सानी नानीकाे प्रेरक घटना

विख्यात साहित्यकार फ्रान्ज काफ्का (१८८३-१९२४) ले जीवनमा कहिल्यै बिहे गरेनन् । बिहे नगरे पनि त सन्तान जन्मन्छन् भन्ने सोच्नु हुन्छ भने उनीबाट कुनै सन्तान पनि जन्मिएनन् । तर उनलाई बालबालिका असाध्य मन पर्थ्यो ।

एक दिन उनी जर्मनीको बर्लिनस्थित एउटा पार्कमा टहलिइरहेका थिए । त्यहाँ उनले एउटी बालिका रोइरहेको देखे । उनले सोधे, ‘किन रोएकी नानी ?’

बालिकाले भनी, ‘मलाई मन पर्ने खेलौना हरायो ।’

त्यसपछि काफ्का र बालिका दुवै जना मिलेर खेलौना खोज्न थाले । धुइँपाताल खोज्दा पनि खेलौना फेला पर्न सकेन ।

काफ्काले बालिकालाई भने, ‘यत्रो खोज्दा पनि कहीँकतै फेला परेन । बरू भोलि तिमी यहीँ आऊ । म पनि आउँछु । अनि दुवै जना फेरि मिलेर खोजूँला । हुन्न ?’

काफ्काको प्रस्ताव बालिकालाई मन पर्यो । उसले खुसी हुँदै काफ्काको प्रस्तावलाई स्वीकार गरी ।

भोलिपल्ट ठीक समयमा काफ्का त्यही पार्कमा पुगे । बालिका पनि त्यहीँ आइपुगिसकेकी थिई । काफ्कालाई परैबाट देखेर बालिका खुसी भई । काफ्का पनि मुस्कुराए ।

‘थाहा छ, तिम्रो खेलौना त विश्वभ्रमणमा गएकी रहिछ नि ?’ काफ्काले बालिकालाई सुनाए, ‘आज बिहान मात्र तिम्रो खेलौनाले मलाई चिठ्ठी पठाएकी थिई । मैले त्यो चिठ्ठी खोलेर हेरेँ र त्यही कुरा लेखिएको रहेछ ।’

‘के रहेछ ?’ बालिकाले उत्सुकतापूर्वक सोधी ।

काफ्काले घाँटी सफा गर्दै गरेको अभिनयसहित सुनाए, ‘प्रिय साथी, म विश्व भ्रमणमा निस्किएकी छु । मेरो अनुपस्थितिमा तिमी नरूनू । म संसार भ्रमणका अनेकन् किस्सा तिमीलाई अवश्य सुनाउनेछु । उही तिम्री प्यारी खेलौना ।’

यसपछिका कयौँ साता काफ्का र ती बालिकाबीच भेट भए र हरेक भेटमा खेलौनाले संसार भ्रमण गरेका अनेकन् किस्सा चिठ्ठीका रूपमा सुनाइरहे । ती किस्सालाई बालिकाले खुबै रूचिका साथ सुनी ।

एक दिन खेलौनाले लेखी, ‘अब मेरो यात्रा पूरा भएको छ । तिमीसँग भेट्न म आतुर छु ।’

यो पत्र पट्याउँदै काफ्काले बालिकालाई दिए । बालिकाले जतनका साथ पत्रलाई आफ्नो गोजीमा हाली ।

त्यसको भोलिपल्ट, काफ्काले नयाँ खेलौना लिएर सोही पार्कमा आए । तर यो खेलौना देखेर बालिका खुसी भइन, भनी, ‘यो त मेरो खेलौना जस्तै छैन ।’

खेलौनाको गोजीबाट एउटा चिठ्ठी निकाल्दै काफ्काले खोले अनि पढे, ‘यात्राले मलाई परिवर्तन गरिदियो, त्यसैले म पहिलेजस्ती छैन ।’

यसपछि बालिकाले खेलौनालाई अँगाली, धेरैबेर माया गरिरही । उसले घण्टौँ खेलौनासँग यात्राका बारेमा उसले लेखेका बारे अनेक कुरा गरिरही । छेउमा बसेर काफ्का रमाइलो मानेर बालिकालाई हेरिरहे । बालिकाले सहर्ष खेलौनालाई घर लिएर गई ।

यसको ठीक एक वर्षपछि काफ्काको निधन भयो ।

यसको वर्षौंपछि बालिका ठूली भई । खेलौना चलाउँदै गर्दा त्यसभित्र एउटा सानो कागज देखियो । त्यो बालिका, जो अब युवती भइसकेकी थिई, उसले कागज निकाली र छक्क परी । त्यहाँ तिनै प्रख्यात साहित्यकारको हस्ताक्षर थियो, जसका बारेमा उसले स्कुल र कलेजमा पढेकी थिई । कागजमा लेखिएको थियो- जिन्दगीमा तिमीले जे चिजलाई असाध्य प्रेम गर्छौ, अन्त्यमा त्यो चिज हराएर जानेछ । प्रेम मात्र बाँकी रहन्छ र त्यो अन्य रूपमा तिमीसम्म फर्केर आउनेछ ।’

प्रतिक्रिया
Loading...