नेपाली साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भूत चित्रकला १५

लगभग एक मान्छे बराबरको यो ‘द एम्बासडर्स’ शीर्षकको चित्र संसारका अद्भूत चित्रकलामध्येमा गनिन्छ । अहिलेको नजरबाट हेर्दा यसलाई खास भनेर देखिनुपर्ने त्यस्तो केही छजस्तो तपाईंलाई नलाग्न सक्छ तर कला मर्मज्ञहरूले त्यस बखत यति बारिकीसँग कोरिएको चित्रकलाका कारण यसलाई खास मानिएको धारणा राख्छन् ।

२०७ बाई २०९.५ सेमीको यो चित्रकला हान्स होल्बेन द योङ्गरले कोरेका हुन् । यसमा दुई व्यक्ति उभिएका छन् र जहाँ, जसरी, जुन तरिकाले उभिएका छन्, त्यसले एक खास सन्देश दिएको छ ।

जस्तो कि तपाईंलाई याद होला, युद्धमा लड्नभिड्नका लागि हट्टाकट्टा, अग्ला, बलिया मान्छे चाहिन्छ, त्यसैगरी कुनै सन्देशवाहक, कुनै देशको प्रतिनिधि पनि सोहीअनुरूपको आकर्षक, हट्टाकट्टा, चनाखो, ज्ञानले भरिएको, अदब सिकेको आदि हुनुपर्छ । सोही कुराको झल्को यसमा देखिन्छ । आँखामा आँखा सिधा जुधाएको यो तस्बिरले दर्शकको ध्यानाकृष्ट तुरून्त गर्छ ।

यसको सशक्त पक्ष के छ भने उनीहरूका लुगा, वैज्ञानिक, सांगीतिक र खगोल सामग्रीहरू मिलाएर राखिएको छ । उनीहरूले लगाएको लुगाको बारिकी डिजाइन, वस्तुहरूको छनोट, तिनको आत्मविश्वास आदि सबैसबै यहाँ झल्कन्छ । यी सबैले यी दुई व्यक्ति धनी, शक्तिशाली र संसारका राम्रा कुराहरू सिक्ने उत्कट चाह बोकेको देखिन्छ । यी दुईको उमेर पनि ३० वर्षभन्दा कमै देखिन्छ ।

यो चित्र बनाउन हान्सलाई त्यस बेलाका धनीमानी व्यक्ति जाँ दि डिन्टेभाइलले जिम्मा दिएका थिए । देब्रेतिरका व्यक्ति उनै हुन् । उनी त्यसबेला बेलायतको राजदूत थिए । हेनरी आठौँको शासनकालमा कम उमेरमै फ्रान्सेली राजदूत बनेर बेलायत पुगेका थिए । उनीसँगैका व्यक्ति जर्ज डि सेल्भ हुन्, जो १५३३ मा बेलायत पुगेका थिए । त्यो बेला युरोपमा धार्मिक संकट चुलिएको थियो र १५३२ मै स्विट्जरल्यान्डबाट भागेर लन्डन पुगेका थिए । यस भ्रमणका बेला यी दुईले रोमन क्याथोलिक चर्च र बेलायतबीच सुलह गराउन खोजेका थिए तर त्यो सफल हुन सकेन ।

को हुन्, हान्स होल्बेन द योङ्गर ?
उनको जमानाका चित्रकारमध्ये उनलाई साँच्चिकै महान् चित्रकारका रूपमा जर्मनहरूले मान्छन् । उनले प्रायः पोट्रेट अर्थात् मानिसका चित्रहरू मात्र बनाए ।

जर्मनीको असबर्गमा जन्मिएका हान्सको परिवार नै चित्रकार थिए । चित्रकला बनाउँदाका शुरूवाती समयमा उनी स्विट्जरल्यान्डको बसेलमा करियर शुरू गरेका थिए । उनी त्यसबखत यति लोकप्रिय भए कि उनलाई बसेल सानो लाग्न थाल्यो । उनले शुरूवाती समयमा किताबका चित्रहरू बनाउँथे । उनले चित्र बनाएका किताबहरू त्यसबखत निकै रूचाइन्थे । यसबाहेक उनले मुरल, स्टेन ग्लासका डिजाइन र अल्टरपिस (चर्चको प्रार्थना गर्ने ठाउँ)को डिजाइन बनाएका थिए ।

पछि त उनी पोट्रेट अर्थात् व्यक्तिका चित्रहरू बनाउने कुरामा निकै चर्चित भए ।

उनको सफलताका बाबजुद पनि उनले त्यसबेला उति धेरै पैसा कमाउन सकेनन् । त्यसबेलासम्म बेलायती दरबार पैसाका मामिलामा उदार भएकाले भाग्य परीक्षण गर्न उनलाई बेलायत जान उक्साइयो ।

१५२६ मा उनी बेलायत गए तर दुई वर्षमै बसेल नै फर्किए । तर सन् १५३२ मा भने उनी बेलायतमै घरजम गरे । उनी राजा हेनरी आठौँको संरक्षणमा रहेर उनले त्यस बेलाका निकै प्रख्यात पोट्रेट बनाएका छन् ।

उनको निधन प्लेगको महामारीका कारण भएको केहीको दाबी छ । उनको निधन हुँदा उमेरमा ४५ भन्दा बढी भएका थिएनन् । उनी शक्तिमै रहँदाका बेला उनको निधन भएको केही इतिहासकार बताउँछन् ।

यो चित्रमा के हेर्ने, के बुझ्ने ?
१. तपाईंले यहाँ हेर्नुपर्ने कुरा अनुहारको भाव हो । देब्रेतर्फ जो व्यक्ति छन्, उनी जाँ डि भिन्टेभिल हुन् । उनी फ्रान्सेली राजदूत थिए । उनले कालो बाक्लो कोट लगाएका छन् । यसका भुवा टलक्क टल्केका छन् । त्यसमाथि गुलाबी सिल्क पनि उस्तै खुलेको छ । उनले लगाएको सुनको चेन, टोप, दाह्री र आँखा जीवन्त देखिन्छन् । उनले लगाएको सुनको चेन र त्यसमा अंकित चित्रले उनी निकै पहुँचवाला व्यक्ति भएको झल्को दिन्छ । ठूला ठाउँमा पहुँच पाउन यस्ता चिह्नयुक्त लकेट आवश्यक मानिन्छ ।

२. अर्कोतिर भिन्टेभिलका साथी जर्ज डि सेल्भ छन् । उनी शास्त्रीय ज्ञानका ज्ञाताका रूपमा त्यसबखत चर्चित थिए । उनी बिसप पनि हुन्, पूजारी । सन् १५३३ मा उनी लन्डन आइपुगेका थिए । रोमन साम्राज्यको राजदूतका रूपमा उनी विभिन्न देशको भ्रमणमा गइरहन्थे र त्यसबखत उनी लन्डन पुगेका थिए । उनी त्यहाँ पुगेका थिए भन्ने प्रमाणका रूपमा यो चित्र रहेको छ ।

३. भिन्टेभिलको हातमा एउटा छुरी बोकेको देखिन्छ । यसको दाप चाहिँ सुनले बनेको छ । यसमा ल्याटिन भाषामा केही कुरा लेखिएको देखिन्छ, जसको अर्थ भिन्टेभिल २९ हुन्छ र त्यसको अर्थ भिन्टेभिलको उमेर जनाइरहेको छ । यो चक्कु आलंकारिक हो, यसलाई लडाइँमा प्रयोग गरिँदैन ।

४. तल ल्याटिन भाषाको पुस्तक देखिन्छ । सम्भवतः त्यो बाइबल हुनुपर्छ ।

५. यस्तैगरी हामीले मिहिन तरिकाले हेर्नुपर्ने चिज भनेको विभिन्न मापक यन्त्रहरू पनि हुन् । यहाँ रहेका विविध सामग्रीहरू त्यसबेला ताराहरूको गणना गर्न, तिनको अवस्था अध्ययन गर्न उपयोग गरिन्थ्यो । यी सामग्री त्यहाँ राख्नुको उद्देश्य त्यसबखतको ज्ञानको खोजीको महत्त्वलाई दर्शाउन हो कि भन्नेहरू पनि छन् ।

६. त्यहाँ पृथ्वीको ग्लोब पनि देखिन्छ । त्यसबेला भिन्टभाइललाई मनपर्ने ठाउँको नक्सा देखिन्छ । नक्सामा ट्रोयज नजिककै ठाउँलाई इंगित गरिएको छ । यस्तै अर्को पृथ्वीको ग्लोब पनि छ । यो ग्लोब भने ताराहरूको गणनाका लागि उपयोग गरिन्थ्यो ।

७. त्यहाँ एउटा अर्को किताब पनि देखिन्छ । त्यसलाई केहीले जर्मनीको त्यसबखतको निकै प्रख्यात गणित पुस्तक मान्छन् । १५२७ ताका प्रकाशित यो पुस्तक त्यहाँ हुनुलाई यी दुईको रूचिको व्याख्या गरिरहेको छ ।

८. संगीतसम्बन्धी एउटा बाजा (लुत) पनि त्यहाँ देखिन्छ र लुत बजाउन र त्यसको संगीतको नोटेसनको पुस्तिका पनि सँगैमा देखिन्छ । लुटको केही तारहरू मात्र देखिएकाले बाँकी तार चुँडिएको हो कि भन्ने भान दिन्छ । बाँसुरी र अन्य चिज पनि त्यहाँ देखिन्छ ।

९. सबैभन्दा रोचक कुरा तपाईंले कत्तिको ख्याल गर्नु भएको छ, यी दुई युवाको गोडाको बीचमा एउटा टेढो चिज देखिन्छ । यसलाई सामान्य दृष्टिले हेर्दा के हो के होजस्तो लागे पनि यसलाई अलि परबाट र अलि देब्रे कुनाबाट हेर्यो भने थाहा हुन्छ- यो चाहिँ मान्छेको खोपडी रहेछ । यस किसिमको प्रयोग चाहिँ त्यसबेला दुर्लभै मान्नु पर्छ ।

यो चित्रकला त्यसबेला बनाइएको थियो, जुन बेला युरोपमा मार्टिन लुथर किङले चर्चमा शुद्धताका कुरा उठाएका थिए र क्रिश्चियन धर्मावलम्बीहरू प्रोटेस्टेन्ट र क्याथोलिक गरी दुई वर्गमा विभाजित भएका थिए । यस विभाजनले गर्दा युरोपभर धार्मिक दंगा मात्र फैलिएन, कयौँको ज्यानमाल नष्ट भयो । यस्तोमा शान्तिको कामनासहित यो तस्बिरले धर्म, विज्ञान र संगीतमार्फत् शान्तिको कामना गरिएको केहीको दाबी छ ।

फेरि यसलाई एक पटक गहिरिएर अध्ययन गर्ने पो हो कि ?

प्रतिक्रिया
Loading...