नेपाली साहित्यको सम्पूर्ण पत्रिका

म्याङलुङ बजारका ती सुनौला दिनहरु

विक्रम सम्बत् २०२० सालमा हामी बजार भित्रको घरबाट अर्को नयाँ घरमा सर्यौं । नयाँ घर कति सालमा बनाएको याद भएन । तर हामी त्यस घरमा सर्नुअघि श्रीसिंहबाहिनी हाई स्कुलमा अमेरिकी स्वयम् सेवक मास्टरहरु बस्ने गर्थे । नयाँ घर बुबाले आफैँ डिजाइन गर्नु भएको थियो । आधुनिक ढंगले बनाइएको नयाँ घरमा भित्रै स्नान घर, पाइखाना, टेबल मेच सहितको खाना खाने कोठा, अध्ययन कोठा र उठेर पकाउन मिल्ने चुलो थियो । बुबा अध्ययन र व्यापारको सिलसिलामा देशबाहिर भ्रमण गरिरहने भएको कारणले देश विदेशको अनुभवले नै होला घरको डिजाइन आधुनिक तौरतरिकाले बनाउनु भएको । अमेरिकी स्वयं सेवक पिटर हापाक र स्टिफेन अदाल्फस आफ्नो कार्यकाल सकेर अमेरिका फर्केपछि हामी सो घरमा सरेका थियौं । घरको पसल कवलमा टेबल टेनिस बोर्ड थियो । उभिएर पकाउन मिल्ने अग्लो चुला थियो । तर हामी सर्ने भएपछि आमाले ठूलो चुलो भत्काएर सानै बनाउन लाउनु भो, उभिएर खान पकाउन गाह्रो हुन्छ भनेर । अनि अर्को घरभित्र पाइखाना राख्न हुँदैन भनेर बाहिरपट्टि बगैंचातर्फ पानीको संग्रह हुने खाले स्नान घर र पाइखाना बनाउ

वसन्त श्रेष्ठ

न लाउनु भो ।

हाम्रो घर बजारको पुच्छरमा टुँडिखेल मुन्तिर अवस्थित थियो । त्यतिबेला बाँस झ्याङ काटेर जानुपर्ने लाँकुरीको रुखैरुख मुन्तिरको घर एकलासको लाग्थ्यो । घर अगाडिको टुँडिखेलमा खेलकुद, सभा समारोह र शुक्रबारे हाट लाग्ने गर्दथ्यो । हाम्रो घरको अगाडि टुँडिखेलको अर्कोपट्टि प्रहरी कार्यालय र छात्राबास थियो भने दायाँपट्टि अलिक पर जेल थियो । बजारदेखि पुच्छरमा जगदीश फोटो स्टुडियोदेखि उता कुनै घर थिएन । अलिकति तल हाम्रो घर । घरको दायाँपट्टि बगैँचा र घरको बायाँ फलफूल, तरकारी रोप्ने ठूलो जग्गा थियो । स्याउ, लिच्ची, मेहेल, अनार, आलुचा, भोगटे, सुन्तला, हलुवाबेद, चक्सी, चाकु पाउँ र नासपातीका टन्नै बोट थिए र थियो माथि बजारपट्टि बाँसको झ्याङ ।

हलुवाबेद पाकेपछि भुइँमा झर्ने र चराचुरुङ्गीले खाएर झारिदिने भएको कारणले बुबाले काँचैमा टिपेर घरभित्रै राख्न लाउनु हुन्थ्यो । फलफूल खाएर सकिंदैन थियो । हामी छिमेकीहरुलाई बाँडेर दिने गर्थ्यौ । ठूल्ठूलो अनार पाकेर फुटेको सम्झँदा अझै मुख रसाएर आउँछ । मेहेल्को बोट निकै अग्लो र ठूलो थियो । घरको पछाडिपट्टि बाटोको छेउमै नासपातीको बोट भएकोले स्कुल लागेको बेला भिड हुने गर्थ्यो ।

बुबा मिहिनेती हुनुहुन्थ्यो । घर र सामाजिक सेवामा उत्तिकै व्यस्त रहने गर्नु हुन्थ्यो । स्कुलबाट अवकाश लिनु भएपछि स्कुलको सहयोग समितिको अध्यक्ष हुनु भो । बजारको हरेक सामाजिक कार्यमा आफ्नो तर्फबाट योगदान दिनु भो । घरको पछाडिपट्टि तल सूर्यनारायण ढुंगानाको घरमाथि खालि जग्गामा मकै, भटमासको बाली लाग्ने गर्थ्यो । तर बुबाले धान फलाउने योजना गर्नु भो । खेती लाउने भनेर एक वर्ष बुबाले पानी जोहो गरी खेत बनाई छाड्नु भो । तर खाने पानीको धाराबाट संकलित पानीले कति धान फल्थ्यो र ? पानीकै अभावमा अर्को वर्ष खेत बनाउन सक्नु भएन । सुर्के मुहानबाट ल्याएको खानेपानीको जोगाडले त्यत्रो खेत कसी सिञ्चित हुन् सक्थ्यो र ?

दस क्लासको टेस्टमा राम्रै नतिजा आएपछि म एसएलसी परीक्षाको तयारीमा थिएँ । सहपाठी मित्रसँग आले टारमा पिकनिक जाने सल्लाह भो । सहपाठी मित्रहरु तुलसी सुब्बा, रुद्र तुम्बाहाङ्ग्फ़े, राम नारायण ढुंगाना, हरेराम अमात्य, रामेश्वर श्रेष्ठ र म जाने भयौँ । साथमा हरेरामको भाइ नारायण र रामेश्वरको भाइ कृष्ण गोपाल पनि । मैले घरमा भएको रेडियो बोकेँ । दिनभर खाना पकाउने, नाच्ने गाउने गरेर रमाइलो गरेको याद पनि नबिर्सनुको हुँदोरहेछ ।

टुँडिखेल मुन्तिरको घर भएपछि टुँडिखेलमा भएका हरेक खेलमा दर्शक या त सहभागी नै भइन्थ्यो । फुटबलमा म धेरैजसो अघिल्लो पंक्तिमा फरवार्डमै खेल्थेँ । भलिबलमा मेरो त्यति उचाइ नभएको कारण “लिंडे” भएर खेल्थें । “लिंडे” भनेको पास दिएर सर्ट हान्ने व्यक्तिको पछाडि बसेर खेल्नेलाई भनिन्थ्यो । प्राय: जसो ऋतुवर्ण दाइ सर्टमा र म उनको पछाडिपट्टि हुन्थेँ । दुर्गा श्रेष्ठ, जगन्नाथ श्रेष्ठ, नारायण सुबेदी, सिद्धि सुब्बा, नेत्र तुम्बहाङ्ग्फ़े, रामलाल रसाइली आदि त्यस समयमा खेलमा गनिएका नाम थिए ।

बजारमा पानीको स्रोत सुर्केबाट ल्याएर पानी टंकीमा जम्मा हुन्थ्यो । बजारको लागि बिहान र बेलुकी निश्चित समयमा मात्र सबैको सार्वजनिक धारामा पानी छोड्ने गरिन्थ्यो । बुबाले खाने पानि वितरण गर्न खोल्ने र बन्द गर्ने कामको जिम्मा मलाई दिनु भएको थियो । घरबाट दश मिनेट जति हिँडेर खाने पानी ट्यांकी भएको स्थलमा पुग्न सकिन्थ्यो । तर कहिलेकाहीँ पानी वितरणमा ढिला भए बजारका सबैले गाली गर्ने गर्थे । कहिलेकाहीँ चैँ खेलकुदमा मस्त भइरहेको बेला पानी वितरण बन्द गर्ने बेला घर्की सकेको हुन्थ्यो अनि बुबाले गाली गर्नु हुन्थ्यो ।

हाम्रो घरअगाडि सिंहवाहिनी स्कुलको छात्राबास थियो । त्यस बेला नारायण भट्टराई, तोयानाथ भट्टराई, पिताम्बर आम्बुहाङ, भवानी भट्टराई अनि पुष्प गौतम बस्ने गर्थे । गफगाफ मिल्ने भएको कारणले म त्यतै हुने गर्थें धेरै जसो ।

चौबीस सालको एसएलसी परीक्षामा सिंहबाहिनी हाइस्कुलबाट पूर्व बडाहाकिम देवेन्द्रबहादुर तुम्बहाम्फेको छोरा वसन्त तुम्बहाम्फे प्रथम श्रेणीमा एसएलसी पास भएको थियो । अर्को दिन उनी सिंहबाहिनी हाई स्कुलमा गएर दश कक्षालाई पढ़ाउन गएछन् । त्यसको विरोधमा विद्यार्थीहरुले कक्षा वहिष्कार गरे । अर्को दिन बडाहाकिम पेस्तोल बोकेर विद्यार्थीहरुलाई धम्काउन आइपुगे । बजारभर तनाव र सनसनी फैलियो । विद्यार्थीहरु संघर्ष गर्न उद्धत देखिए । धड्पकड़को डरले छात्राबास खाली भयो । यसै बीचमा थुप्रै समस्या बढ्न थाल्यो । हड्तालमा उत्रिए विद्यार्थी । संघर्ष कसरी गर्ने भनेर विद्यार्थी लुकेर भेला गर्न थाले । त्यस्तो भेलाबाट म अलिक साँझमा घर पुगेको थिएँ । बुबाले मलाई केरकार गर्न थाल्नु भयो । बुबाले भर्खर प्रशासकीय भवनको ठेक्का प्राप्त गर्नु भएको र निर्माण कार्य गर्न शुरु गर्न थाल्नु भएको मात्र थियो । म विद्यार्थीसँग लाग्दा बुबाको व्यवसायमा केही अनिष्ट हुनसक्छ भनी मलाई चेतावनी दिनु भयो । केही दिन दुवै तिरबाट घमासान वाक युद्ध चर्कियो । तर पछि दुवै तिरबाट आआफ्नो गल्ती स्वीकारी सम्झौता भएको थियो ।

दशैं तिहारमा रमझम र चमकदमक अचम्मै रमाइलो हुन्थ्यो । गाउँगाउँबाट सबै बजारमा रमाइलो गर्न आउँथे । साबलाबाट अभि सुवेदी, सूर्य सुवेदी, पुरुषोत्तम सुवेदीको समूह बनेर आउँथे । पिप्लेबाट पदमप्रसाद गड्तौला, कृष्ण निरौला, खडानन्द गड्तौला अनि रामप्रसाद बजगाईंको समूह बजार भित्रिन्थ्यो । नजिकका तम्फुला, नागदहबाट अनि ढुंगाना परिवार र तुम्बाहाम्फे सबै बजारभित्र भएकाले उनीहरु पनि भेला हुने भै हाले । आफ्ना सहपाठी र मिल्ने मित्रहरुसँग भेटी मिलजुल गरी भेला भई बजार एक चक्कर मारेर “रमाइलो मेला” घुम्न गइन्थ्यो ।

श्रीसिंहवाहिनी हाई स्कुलको सहयोगार्थ स्कुलको प्राङ्गणमा दशैं सकिएपछि तिहारसम्म नै रमाइलो मेला लाग्ने गर्थ्यो । दिनभर प्राङ्गणमा विभिन्न रमाइला खेल हुन्थे । साँझमा रमाइलो सांस्कृतिक कार्यक्रम हुन्थे । बुबा मेन्डोलिन बजाउन मन पराउनु हुन्थ्यो । हुन त घरमै हार्मोनियम, गितार, मादल, मेन्डोलिन, चाँप थिए । बुबा हार्मोनियम र मेन्डोलिन राम्रैसँग बजाउनु हुन्थ्यो । भाइ शिशिर सानैदेखि मादल र गितार बजाउँथ्यो । नाच्नको लागि चाँप प्रशस्तै थियो घरमा । सांस्कृतिक कार्यक्रममा बुबाको मन पर्ने नेवारी गीत “व छु गल्ली थो छु गल्ली मखन त्वा या गल्ली रे” मेन्डोलिनमा बजाएर सुनाउने गर्नुहुन्थ्यो । भाइ शिशिर सानै उमेरमै मादलको ताल ठोकेर दर्शक समुदायलाई भरपूर मनोरञ्जन गर्ने गर्थ्यो । कुन्जिनी दिदी र सुजनी दिदी नाच्नु हुन्थ्यो । सिंहवाहिनी हाई स्कुलको प्रध्यानाध्यापक टीकाराज जोशीले कार्यक्रमको लागि आवश्यक सल्लाह र सुझाव दिने गर्नुहुन्थ्यो । एक पटक एउटा नाटकको मञ्चन गरेको पनि याद छ । नाटकको नाम याद भएन तर त्यस नाटकमा मैले अभिनय गरेको थिएँ । दिलिप सिंले केटाको र मैले केटीको भूमिका गरेका थियौं । रेलको सिन थियो । त्यसमा केटा र केटीको गीतमा नाच्ने सिन थियो । थुप्रै दिन लगाएर ठूल्ठूलो कागजको बोर्ड बनाएर रेलको चित्र तयार पार्यौं । नाटकको लागि टीकाराज सर र बीएस्सी सर गणेश गौतमको निर्देशन र सहयोग भएको म सम्झन्छु । नाटक सबैले मन पराए । हाम्रो अभिनय पनि खुबै रूचाए ।

आमाको मन पर्ने गीत थियो बच्चु कैलाशको “सपना भुलेर र सारा आँशु पिएर जाऊ” । जति पटक रेडियोमा सुने पनि एक पटक फेरि त्यही गीत बजा त भन्नु हुन्थ्यो । टेपरेकर्डर भए पो दोहोर्याउनु हुन्थ्यो, रेडियोमा कहाँ दोहोर्याउन मिल्थ्यो र गीत । अनि आमा नियास्रिनु हुन्थ्यो ।

एकदिन हाम्रो घर अगाडिको टुँडिखेलमा थुप्रै मान्छे जम्मा भए । ठूलो पर्दा टांगिए खेलमैदानको बीच भागमा । पछि थाहा भो, सिनेमा देखाउने भन्ने कुरा । आमाले साँझको खाना चाँडै तयार गर्नु भो । हतार हतार खाना खाएर बस्ने गुन्द्री बोकेर सिनेमा हेर्न गइयो । भिडभाड त हुने नै भो । गाउँघरमा सिनेमा हेर्ने कुरा जो थियो ! घर नजिक भएको फाइदा भो । अगाडि नै बस्ने ठाउँ पाईयो । “आमा” सिनेमा थियो त्यो । धेरै रमाइलो भो । आगाडि नै बसेर होला अलिक घांटी तन्काएर हेर्नु पर्यो र पर्दामा तस्वीर ठुलठुलो देखिन्थ्यो । अहिले थाहा भो धेरै नजिक बसेर हेरिएको रहेछ । प्रोजेक्टरले उज्यालो फालेर पर्दामा मान्छे नाचेको, गाएको, सम्बाद बोलेको चलचित्र हाम्रो बजारमा प्रदर्शन गरेको पहिलो त्यही “आमा” चलचित्र नै थियो । पछि “माइतीघर” पनि हेरियो त्यसरी नै जसरी पहिले “आमा” हेरिएको थियो । खुब रमाइलो लागेको थियो ।

एकपटक सांस्कृतिक कार्यक्रममा भारतमा सिनेमामा खेल्ने नेपाली आएका छन् र उनको नाच हेर्न जाने बजारमा हल्ला भो । साथीभाइ मिलेर हेर्न गइयो । उनी तेर्हथुम सुदाप बस्ने झमकबहादुर निरौला रहेछन् । भारत बसेर चलचित्रमा काम गरेको भन्थे । उनले सो कार्यक्रममा देवानन्दको ट्वीस्ट डान्स देखाएका थिए । दुई चार वटा चलचित्रका सम्बाद पनि बोलेका थिए । उनको सो कार्यक्रम हेर्न बजारका मात्र नभएर गाउँका पनि दर्शक झुम्मिएका थिए । बुझेर पनि नबुझेर पनि हाउभाउ र उनको सम्वादले हामीले खुब रमाइलो मानेर ताली बजाएका थियौं । यी सबै व्यवस्था मिलाउने काम स्कुलका लोकप्रिय प्रध्यानाध्यापक टीकाराज जोशी थिए ।

प्रत्येक हप्ता शुक्रबारका दिन हटिया लाग्दथ्यो घर अगाडिको टुँडिखेल मैदानमा । त्यसदिन स्कुल बिहानको दश बजेसम्म मात्र लाग्ने गर्थ्यो । स्कुल छुटेपछि दौडिंदै “कुरौनी” किन्न जान्थेँ म । त्यो खपाखप खाएपछि मात्र घर जाने गर्थें । एक पटक त्यो हटियाको छेउमा थुप्रो मान्छे जम्मा भएको देखियो । के भएको रहेछ भनेर हेर्न गएँ । भिडभाड भए पनि सानो मान्छे अगाडि पुगिहालें । एउटा दार्ही भएको जवान मान्छेले टेपरेकर्डर अगाडि राखेर दुई चार जना मान्छेलाई गीत गाउन लाउँदै रहेछन् । मैले निकैबेर त्यो गीत सुनिरहेँ । ती मान्छेले गाउँगाउँ गएर गीतहरु संकलन गर्ने गर्दा रहेछन् । पछि उनी हाम्रा घरमा पनि आए । दाह्री पालेका अग्ला खाइलग्दा जिउडाल भएका काँधमा रेडियो बाजा टेपरेकर्डर भिरेका । बुबासँग निकै बेरसम्म चिया पिएर गफ गाफ गरेर गए । पछि बुबाले भन्नु भो उनी धनकुटाका हुन् र उनको नाम तुलसी दिवस हो । हो, आजका चर्चित कवि तुलसी दिवसलाई मैले पहिलो पटक त्यसरी तेह्रथुम बजारको शुक्रबारे हटियामा देखेको रहेछु ।

भर्जिनिया, अमेरिका

प्रतिक्रिया
Loading...