नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नबनेको सिनेमाकाे हिरो

जीवनमा ठूलो इच्छा थियो, सिनेमाको हिरो बन्ने । यसो ऐना हेर्दा पनि आफूलाई कुनै समकालीन नायकभन्दा कम राम्रो लाग्थेन । यो कुरा अर्कै हो कि यो संसारमा मलाई राम्रो देख्ने एउटै मात्र मान्छे मेरी आमा थिइन् । आमाको पनि अल्पायुमै निधन भएपछि मेरो औसत अर्थात् कुरुप अनुहारलाई तारिफ गर्ने कोही भएन तर सिनेमाको नायक बन्ने रहर भने यथावतै थियो । मलाई मन नपराउनेहरु यस्तो अनुहार न दनुवारको मान्छे सिनेमाको हिरो हुन्छु भनेर खिसी गर्थे भने मलाई सहानुभूति राख्नेहरु हिन्दी सिनेमामा पनि ऒम पुरी सफल कलाकार भएको उदहारण दिन्थे । यद्यपि उनीहरूको इशारा पनि मेरो औसत अनुहार नै हो भन्ने हुन्थ्यो ।

फ़ाट्ट्फ़ुट्ट सिनेमा बन्ने समयमा नेपाली सिनेमाको क्रेज थामी नसक्नुको थियो । कलाकारहरुको एक झल्को हेर्न पाए भाग्यमानी ठान्ने दर्शकहरुको कुनै कमी थिएन । माथि नै उल्लेख गरिसकेको छु कि मलाई पनि सिनेमामा अभिनय गरेर हिरो हुने ठूलो इच्छा थियो । इच्छा मात्र भएर हुँदैन कसरी हिरो बन्ने थाहा थिएन । त्यसै समयमा मेरो सम्पर्क भयो, नेपाली सिनेमामा लगानी गर्ने अर्थात सहनिर्माता सुन्दर चित्रकारसँग । उनीसँगको सङ्गत गाढा भएपछि मैले सिनेमामा अभिनय गर्ने आफ्नो इच्छा व्यक्त गरे । “जन्म जन्म”, “आन्दोलन” लगायतका सिनेमा निर्माण गरिसकेका चित्रकारले त्यो समय “निष्ठुरी” नामको सिनेमा निर्माण गर्दै थिए । सबैलाई “राजा” भनेर सम्बोध

नवीन रायमाझी
सान्दर्भिक पोस्ट

न गर्ने चित्रकारको नयाँ सिनेमाका निर्देशक थिए, सम्भु प्रधान र कलाकार थिए भुवन केसी र करिश्मा के सी (हाल: मानन्धर) । सुटिङको दिन म घरमा पिकनिक जाने बहानामा निस्केँ र सिधै सुटिङ स्थल जोरपाटीभन्दा केही पर पैयाँटार पुगेँ । कथाअनुसार केही समय पहिले लन्डनबाट घुम्न आएकी नायिकालाई खलनायकका टट्टुहरुले जिस्काएर हैरान गर्दा नायकले बचाएको हुन्छ तर त्यो बेला हतारमा उनले नायकलाई धन्यवाद भन्न पाएकी हुन्नन् । अहिले नायकलाई धन्यवाद भन्न उनलाई खोज्दै आउँदा एक व्यक्तिसँग उनको घर कता हो भनेर सोध्ने र ऊ त्यो सेतो घर भनेर देखाउने पात्रको अभिनय मैले गर्नु पर्ने थियो । चित्रकारले मलाई तपाईंले नायकको घर देखाएपछि नै कथा सुरु हुने र मेरो रोल हिन्दी सिनेमाको दिलिप कुमारको जस्तो हुने बताएका थिए । कथाअनुसार सुटिङ भयो र मैले त्यो दिन प्राप्त गरेको पारिश्रमिक एक सय २५ रुपियाँ पनि चित्रकार आफैँले लिए तर म भने सिनेमामा मुख देखाउन पाएको खुसीमा त्यो रकम त्याग गर्न बाध्य थिएँ । सिनेमा रिलिज भएपछि हेर्न जाँदा त मेरो जम्मा २० सेकेन्डको रोल, आफ्नो अभिनय देखाउन आफैँले टिकट काटेर लागेका साथीहरु त खुशी भए तर जब घरमा रहस्य खुल्यो र बुवाको हातबाट दुई चड्कन खाएपछि मेरो जुन हबिगत भयो त्यसपछि मैले कलाकार बन्ने सपनालाई विष्णुमती नदीमा बगाई दिएँ ।

घरमा कान समातेर माफी मागे पनि कलाकार बन्ने भुत झरिसकेको थिएन । यसैबीच फेरि अभिनय गर्ने मौका मिल्यो । यो मौका म कुनै उत्कृष्ट कलाकार भएर होइन कि नायक र खलनायक साथी भएर पाएको हो । उक्त सिनेमाको नायक थिए नेपाल प्रहरीका पूर्व डिआइजी तथा श्री समूह नामक नाट्य समूहका कलाकार पवन खरेल र खलनायक थिए राजेश तिमिल्सिना, साथै उक्त सिनेमाका निर्देशक थिए, राजेशका पिता तथा भारतीय फिल्म तथा टेलिभिजन इन्स्टिच्युट (एफटीटीआई) बाट अभिनय मा स्नातक जगन्नाथ तिमिल्सिना । जगन्नाथ पुरानो नेपाली सिनेमा “मनको बाँध” का नायक हुन् ।

एक दिन सरस्वती क्याम्पसमा भएको सुटिङ्गपछि मैले फेरि अभिनय गर्ने मौका पाइनँ अर्थात् मलाई कसैले बोलाएन । निर्देशक यति रक्सी पिउँथे कि सुटिङको समय क्यामेरा र साउण्ड रोल भएपछि एक्सन भन्दा उनी आफूलाई सम्हाल्न नसकेर भुइँमा पछारिन्थे । दुर्भाग्यवश मलाई यो सिनेमाको नाम याद भएन र निर्माताहरुको आपसी कलहका कारण रिलिज पनि हुन् पाएन । धेरैपछि पवनले त्यो सिनेमाका केही तस्बीरहरु देखाएको थियो. तस्बिरमा ऊ झ्याप्प दारी पालेको र कम्बल ओढेको असफल प्रेमीजस्तो देखिन्थ्यो । यसरी नै एउटा कलाकारको कला जीवन वयस्क हुन् नपाएर नै मर्न पुग्यो ।

सिने कलाकार बन्ने सपना अनायास तुहिएपछि सुरु भयो स्क्रिप्ट लेखन अर्थात कथा, पटकथा र सम्वाद लेखनको काम । मैले लेखेको सिनेमाको नाम थियो, जिन्दगी बिक्रीमा (लाइफ फर सेल) । थानकोट नजिक बलम्बुको २४ आना जग्गा ३२ लाखमा बेचेर सिनेमामा लगानी गरेका थिए भाइराजा महर्जनले । उनलाई सिनेमा बनाएर त्यसको प्रदर्शन गर्ने र नाफा कमाउने भन्दा पनि नायिकासँग वाहियात कुरा गर्नमा बढी रुचि थियो । हामीसँग कामको कुरा गर्नु पर्यो भने अड्कीअड्की बोल्ने महर्जन सिनेमाका महिला कलाकारहरु सँग “जता फुल गयो त्यता भमरा जान्छ” र “पानी बिना माछा छ्ट्पटिएको जस्तो तिमी नभए म त्यस्तै हुन्छु” जस्ता अर्थ न बर्थ का मुक्तक सुनाएर बस्थ्यो । ती महिला देख्नासाथ त्यस्तो रोमान्टिक मुक्तक कसरी आएको होला मैले आजसम्म बुझ्न सकेको छैन र खलनायकको भूमिका आफैँ गर्ने शर्तमा निर्माता भएका महर्जनको साथ नायक सुजन कार्की र नायिका गुड्डी सिजापती थिइन् । जसोतसो सिनेमा बन्यो तर त्यो सिनेमा बडो “डिजास्टर” भयो अर्थात् सुपर फ्लप भयो । पोस्टर टाँसेको पैसासमेत नउठे पछि सिनेमामा लगाउन पाकिस्तानबाट १२ हजारमा मगाएको छालाको ज्याकेट बोकेर महर्जन फेरि आफ्नो पुरानो पेशा कृषिकार्यतर्फ फर्के । निर्देशक प्रेम बानियाँले बागबजारको एउटा लजमा विष सेवन गरेर आत्महत्या गरे र म लेखक त्यसपछि अर्को सिनेमा लेख्ने मौका नै पाइनँ अर्थात् कसैले लेख्ने प्रस्ताव नै गरेन । त्यो सिनेमा लेखेको बापत पाउनुपर्ने ३५ हजार रुपियाँमध्ये पहिले पाएको पाँच हजार रुपियाँबाहेक बाँकी ३० हजार लिन मैले ३० हजार पटक नै फोन गरेँ हुँला तर त्यो रकम प्राप्त भएन । नायिका सिजापतीलाई त्यसपछि केही टेली सिरियलहरुमा अभिनय गरेको देखे पनि हाल उनी सक्रिय भएको देखेको छैन । नायक कार्की हाल न्युयोर्कमा छन् । यसरी मेरो नेपाली सिनेमाको “सलिम-जाबेद” बन्ने प्रयास पनि खेर गयो ।

यसरी कतैबाट पनि उचित हौसला नपाएपछि मेरो सिनेमाको कलाकार वा लेखक बन्ने सपना हुर्किन नपाउँदै मर्यो. मैले आफ्नो यात्रालाई सजिलोसँग अगाडि बढाउन पाएको भए आज कुनै अवार्ड समारोहमा एउटा हातले अवार्डलाई उचालेर र अर्को हातले दर्शक दीर्घामा चुम्बन फाल्दै गरेको हुन्थेँ । सायद हलिउडमा ओस्कार अवार्ड लिने र “बुद्ध वाज बर्न इन नेपाल” वा “यु नो माउण्ट एभरेस्ट” भनेर भाषण गर्दै रहेको पनि हुन सक्थेँ । यसरी एउटा कुशल कलाकार फक्रिन नपाउँदै मर्न गएकोमा देशको मात्र होइन समग्र सिनेमा क्षेत्रकै हानि भएको पंक्तिकारको ठहर छ ।

 

प्रतिक्रिया
Loading...