नेपाली साहित्यको सम्पूर्ण पत्रिका

एन्टोन चेखभः शत्रु

आन्तोन चेखभ

सेप्टेम्बरको अँध्यारो रात । जेम्सवोका डाक्टर किरिलोभको एउटै छ वर्षे छोरो आन्द्रेई डिप्थिरियाले मर्‍यो । डाक्टरकी पत्नी गहिरो शोकमा परेकी थिइन् । मृत बालकको पलङमुनि उनी बसेकी थिइन् । यति नै बेला ढोकाको घण्टी जोरले बज्यो ।

डिप्थिरिया सर्ने डरले घरका नोकरहरूलाई बिहानै बाहिर पठाएका थिए । किरिलोभ शोकले व्यग्र थिए । अनुहार भिजेको थियो । अहिले ढोका खोल्न गए । छेउको कोठामा अन्धकार थियो । डाक्टरले आगन्तुकलाई हेरे । उसको चेहरा पहेँलो थियो ।
डाक्टर घरमै छन् ? उसले हतारोमा सोध्यो ।
ज्यू, म नै डाक्टर हुँ, किरिलोभले भन्यो, ‘भन्नुस् न, के काम थियो ?’
अहो, तपाईंलाई भेटेर खुसी लाग्यो, त्यस व्यक्तिले प्रशन्न भएर डाक्टरको हात समात्दै भन्यो, खूबै खुसी लाग्यो । तपाईंसित पहिले नै भेट भएको हो । मेरो नाम अबोगिन… । तपाईंलाई घरमै भेटेर खुसी लाग्यो… ईश्वरको लागि मसँग झट्ट जाऊँ… म बिन्ती गर्छु । मेरी पत्नी साह्रै बिरामी छ… मैले गाडी ल्याएको छु ।’

आगन्तुकको हाउभाउ र आवाजबाट ऊ खूबै व्याकुल भएको बुझिन्थ्यो । ऊ जोरले सास फेर्दै थियो । कामेको स्वरमा बोल्दैथ्यो मानौँ ऊ कुनै पागल कुकुर वा आगोबाट बचेर आएको होस् । उसको बोलीमा इमानदारीको स्वर थियो ।

तपाईंलाई घरमा भेट्दिनँ भन्ने मलाई डर थियो, उसले फेरि भन्न थाल्यो, ‘बाटोमा म पीर र व्यथाले व्याकुल भएँ… ईश्वरको निम्ति तपाईं कोट लगाउनुहोस् र मसँग हिँड्नुस् । … पापचिन्स्की मलाई भेट्न आएको थियो । म ऊसित कुरा गर्दै थिएँ । फेरि हामीले चिया पियौँ । अचानक मेरी पत्नीले चित्कार गरी र मुटुमा हात राखेर कुर्सीमा ढली । मैले उसलाई उठाएर पलङमा राखेँ… मैले उसको मुखमा पानी छम्केँ… तर ऊ मरेको जस्तै स्तब्ध थिई । मलाई डर लाग्दैछ, उसलाई मुटुको बिमार पो भयो कि… यस कारण तपाईं झट्ट हिँड्नुहोस्… उसको बाबु पनि मुटुकै बिमारले मरेको थियो… ।’

किरिलोभ चुपचाप सुनिरहेका थिए मानौँ उसले त्यो भाषा नै बुझेका छैनन् । केही बेरपछि तिनले शिर उठाए अनि उदासीको भावमा भने-

‘मलाई खेद छ, म तपाईंको घर जान सक्दिनँ… पाँच मिनेटअघि मेरो छोरा… मर्‍यो ।’

‘ओहो.. ‘, पछि हट्दै अबोगिन बडबडायो, ‘हे ईश्वर, म कस्तो गलत समयमा आएछु । कस्तो अभागी दिन हो यो… कस्तो संयोग हो यो… ।’

उसले ढोकाको साङ्लो समायो, उसको शिर झुकेको थियो मानौँ ऊ चिन्तामग्न छ । फर्केर जानु वा डाक्टरलाई अझै बिन्ती गर्नु उसले निश्चय गर्न सकेको थिएन ।

किरिलोभको हात समातेर उसले भन्यो, ‘म तपाईंको हालत बुझ्छु । भगवान् जान्दछन्, म तपाईंलाई दुःख दिन आएको होइन । तर म के गरूँ ? तपाईं भन्नुहोस् म कहाँ जाऊँ ? यस ठाउँमा तपाईंबाहेक अर्को डाक्टर छैन । तपाईं हिँड्नुस्, ईश्वरका लागि हिँड्नुहोस् ।’

शान्ति छायो । किरिलोभ पिठ्यूँ फर्काएर दुई मिनेट त्यहीँ उभिइरहे । त्यहाँबाट बिस्तारै बैठक कोठामा गए । यहाँ मृत्युजस्तो सन्नाटा थियत्र । मानौँ भर्खर तूफान आएर सबैथोक सखाप पारेर गएको छ । एउटा मोमबत्तीले सम्पूर्ण कोठामा रोशनी दिइरहेको थियो । झ्यालकै छेउको पलङमा एउटा बालक सुतेको थियो, जसका आँखा खुला थिए अनि अनुहारमा आश्चर्यको भाव थियो । तर ऊ निश्चल र निस्तब्ध थियो । उसको शरीरमा हात राखेर आमाचाहिँ पलङमै झुकेर बसेकी थिइन् । त्यहाँको हरेक थोक- कम्बल, लुगाफाटा, पानीको बोतल- सबै गम्भीर शान्तिमा लीन थियो ।

डाक्टर आफ्नी पत्नीको छेउमा आएर उभिए । पतलूनको गोजीमा हात हालेर, शिर यसो निहुर्‍याएर उनले छोरालाई हेरे । उनको अनुहारबाट उदासिनता टप्कदै थियो अनि दाह्रीमा खसेका आँशुका थोपाबाट यही कुरा थाहा भयो कि उनी अहिले रोएका थिए । किरिलोभ र उनकी पत्नीले केही बोलेनन् । उनिहरू चुपचाप शोकलाई सहन गरिरहेका थिए । डाक्टरको उमेर चालीस नाघिसकेको थियो र उनको केश सेतो भएको थियो । अनि उनी बूढोजस्ता देखिन्थे । उनकी रूग्ण, ओइलाइसकेकी पत्नी सैंतीस वर्षकी थिइन् । आन्द्रेई उनीहरूको एक मात्र होइन, अन्तिम सन्तान पनि थियो ।

डाक्टर आफ्नी पत्नीको छेउमा आएर उभिए । पतलूनको गोजीमा हात हालेर, शिर यसो निहुर्‍याएर उनले छोरालाई हेरे । उनको अनुहारबाट उदासिनता टप्कँदै थियो । दाह्रीमा खसेका आँशुका थोपाबाट यही कुरा थाहा भयो कि उनी अहिले रोएका थिए । किरिलोभ र उनकी पत्नीले केही बोलेनन् । उनीहरू चुपचाप शोकलाई सहन गरिरहेका थिए । डाक्टरको उमेर चालीस नाघिसकेको थियो र उनको केश सेतो भएको थियो । उनी बूढोजस्ता देखिन्थे । उनकी रूग्ण, ओइलाइसकेकी पत्नी पैँतीस वर्षकी थिइन् । आन्द्रेई उनीहरूको एक मात्र होइन, अन्तिम सन्तान पनि थियो ।

डाक्टर पत्नीको छेउमा एक छिन उभिएर त्यहाँबाट बिस्तारै निस्के । त्यसपछि भान्साकोठाबाट बाहिरको कोठामा आए । त्यहाँ उनको उही पहेँलो अनुहार भएको व्यक्तिसित मुठभेड भयो ।

अबोगिननले लामो सास फेरेर भन्यो, ‘डाक्टर, हिँड्नुहोस् । दया गरेर मसँग हिँड्नुहोस् ।’

डाक्टर झसङ्ग भए अनि उनलाई अघिको कुरा याद आयो… ‘तर मैले अघि नै भनेँ त म जान सक्तिनँ भनेर,’ उनले झस्केको स्वरमा भने, ‘कस्तो अचम्मको कुरा !’

अबोगिनले फेरि अनुनयको स्वरमा भन्यो, ‘डाक्टर ! म ढुंगाको मूर्ति त होइन । म पनि तपाईंको हालत राम्ररी बुझ्छु- तपाईंप्रति मेरो सहानुभूति छ । तर मैले मेरो निम्ति बिन्ती गरेको होइन । मेरी पत्नी मरिरहेकी छ । उसको हालत देखनुभएको भए तपाईंले मेरो हठ बुझ्नुहुन्थ्यो । हे भगवान्, मैले सोचेको थिएँ तपाईं लुगा फेर्न जानु भएको होला । डाक्टर, समय कति मूल्यवान् छ अहिले । मसँग हिँड्नुहोस्, म हात जोड्छु ।’

बैठकतिर बढ्दै डाक्टरले एक एक शब्द स्पष्ट उच्चारण गर्दै भने, ‘म तपाईंसित जान सक्दिनँ ।’

अबोगिन उसको पछिपछि गयो र उसको हात समात्यो ।

‘तपाईं साह्रै दुःखी हुनुहुन्छ । म बुझ्छु । तर म साधारण बिरामीका लागि यहाँ आएको होइन । एउटा स्वास्नी मानिसको जिन्दगी बचाउनका निम्ति म तपाईंलाई बिन्ती गर्दैछु । मानवताको नाममा तपाईं मसँग हिँड्नुहोस् ।’

‘मानवता !’ किरिलोभले भने, ‘यही मानवताको नाममा म तपाईंलाई भन्दैछु मलाई नलैजानुहोस् । म यहाँ उभिन पनि सकेको छैन, तपाईं मलाई मानवताको नामले नतर्साउनुस् । अहिले म कुनै काम गर्न पनि समर्थ छैन… म जान सक्तिनँ । मेरी पत्नीसित बसिदिने यहाँ कोही छैन ! अँहँ, म जान सक्दिनँ ।’

‘किरिलोभ एक कदम पछि हटे र अबोगिनको हात समातेर भने, ‘मलाई माफ गर्नुहोस्… हुन त म डाक्टर हुँ । म तपाईंसित जान बाध्य छु अनि मेरो कोटको गलामा समातेर घिस्याउँदै लैजाने तपाईंको हक छ… ठीक छ, तपाईं त्यसै गर्नुहोस्… तर म केही गर्न सक्दिनँ… म राम्ररी बोल्न पनि सक्तिनँ… मलाई माफ गर्नुहोस् ।’

‘डाक्टर, तपाईं यसो नभन्नुहोस्,’ अबोगिनले उनको हातमा टाँसिएर भन्यो, ‘तपाईंलाई जबरजस्ती लाने मेरो के हक छ र ? तपाईं जान राजी हुनुहुन्छ भने ठीकै छ । म एउटी युवतीको निम्ति याचना गर्न आएको हुँ… ।’

अबोगिनको आवाज काम्दै थियो । किरिलोभ चुपचाप उभिएका थिए । निकैबेर शान्ति छायो । अन्त्यमा डाक्टरले रूखो स्वरमा सोधे-

के निकै टाढा जानुपर्छ ?

खालि दुई अढाई माइल टाढा छ । मेरो घोडा एकदमै तेज छ, डाक्टर । कसम खाएर भन्छु तपाईं एक घण्टाभित्र नै फर्कन सक्नुहुन्छ । मात्र एक घण्टामा ।’

यी अन्तिम शब्दहरूले डाक्टरलाई असर गरे । एक छिन सोचेर उनले लामो सास तानेर भने, ‘ठीक छ, हिँड्नुहोस् ।’

डाक्टर भित्र पसे अनि एक छिनमा कोट लगाएर बाहिर निस्के ।

बाहिर अन्धकार थियो । लामो नाक, लामो दाह्री भएका डाक्टरको आकृति अन्धकारको पृष्ठभूमिमा पनि साकार थियो ।

‘तपाईं विश्वास गर्नुहोस्, तपाईंको उदारताको कदर गर्न मैले जानेको छु,’ गाडीमा डाक्टरलाई बसाएर अबोगिन बडबडायो, ‘हामी तुरून्तै पुगिहाल्छौँ । प्यारो लुका ! जतिसक्दो चाँडो हाँकेर लैजाऊ ।’

कोचवानले घोडा दौडायो । खुला मैदानमा गाडी दौडन थाल्यो । बाटामा किरिलोभ र अबोगिन चुपचाप बसे ।

गाडी निष्पट्ट अन्धकारमा एकसुरमा हिँडिरहेको थियो । पैयाँको आवाजले जागेर हाँगाहरूबाट कागहरू शोकाकुल आवाजमा कराइरहेका थिए, मानौँ उनीहरूलाई डाक्टरको छोरा मरेको छ र अबोगिनकी पत्नी सिकिस्त बिरामी छ भन्ने थाहा भएको होस् । फेरि गाडी जंगलको बाटो हिँड्न थाल्यो ।

सम्पूर्ण प्रकृतिमा निराशा छाएको भान हुन्थ्यो । जता हेरे पनि अन्धकार थियो । गाडी जसै गन्तव्य स्थानतिर बढ्यो, अबोगिन उति नै धैर्यहीन हुँदै जान्थ्यो । अन्त्यमा गाडी एउटा घरको अगाडि आएर उभियो । उसले गहिरो सास फेर्दै दुई तलाको झ्यालतिर हेर्‍यो जहाँबाट उज्यालो आउँदैथ्यो ।

‘यदि केही भयो भने… म सहन सक्दिनँ,’ हलतिर डाक्टरसित जाँदै उसले हात मल्दै भन्यो, ‘तर कुनै वेदनाको आवाज सुनिदैन, यसैले सबैथोक ठीकै होला ।’

घरमा कोही बोलेको वा हिँडेको आवाज थिएन । सम्पूर्ण घर तेज प्रकाशमा सुतिरहेको भान हुन्थ्यो । अहिले उज्यालोमा किरिलोभ र अबोगिनले एकअर्कालाई हेर्न सक्थे ।

सिँढीमा चढ्दै अबोगिनले भन्यो, ‘खै कहीँ कतै केही आवाज छैन । हे ईश्वर…।’

अबोगिनले डाक्टरलाई हलतिर लगे जहाँ पियानोको कालो आकृति देखिन्थ्यो ।

‘डाक्टर ! तपाईं यहाँ बस्नुहोस्,’ अबोगिनले भन्यो, ‘म एकै मिनेटमा आउँछु । म गएर तपाईं आएको खबर गर्छु ।’

किरिलोभ एक्लो भए । उनी एउटा आराम-कुर्सीमा बसे र चारैतिर हल्का नजरले हेर्न थाले ।

सबैतिर शान्ति थियो… टाढा एउटा कोठामा कसैले वेदनाको लामो सास फेरेको सुनियो । कसैले आलमारी चलाएको सुनियो, फेरि शान्ति छायो । पाँच मिनेटपछि किरिलोभले अबोगिन गएतिर हेरे ।

अबोगिन ढोकामा आएर उभियो, तर ऊ अघिजस्तो अबोगिन थिएन । उसको चेहरा, हात र मुद्रामा विरक्तिको भाव अंकित थियो । उसको नाक, मुख, सबै फिक्का थियो र उसका आँखामा पीडाको चमक थियो…

‘त्यसले मलाई धोका दिई,’ धोकामा विशेष जोड दिँदै ऊ बडबडायो, ‘मलाई धोका दिई ! मलाई छोडेर भागी ! बिमार भएर मलाई डाक्टर बोलाउन पठाई । यसैले कि ऊ त्यो बाँदर पापचिन्स्कीसित भाग्न सकोस् । हे भगवान् !’

अबोगिन डाक्टरको छेउमा आएर भन्न थाल्यो, ‘मलाई छोडेर गई ! मलाई धोका दिई ! हे भगवान्, यो चालबाजी किन ? मैले त्यसको बे बिगार गरेँ ? किन मलाई छोडेर भागी ?’

उसका गालामा आँशु छल्किए । डाक्टरको उदासीन मुद्रामा जिज्ञासाको झलक थियो । उनी उठे र अबोगिनतिर हेर्दै भने, ‘तर बिरामी कहाँ छ ?’

‘बिरामी ! बिरामी !’ हाँस्दै र रूँदै मुठ्ठी हल्लाउँदै अबोगिन करायो, ‘त्यो बिरामी होइन । अधम दुष्टा हो । कस्तो कलुषता ! त्यो बाँदरसित त्यो भागी । हे भगवान् ! त्यो मरेको भए बरू राम्रो हुन्थ्यो । म यो सहन सक्दिनँ ।’

डाक्टरका आँखामा आश्चर्य र पीडाको भाव थियो–

‘माफ गर्नुहोस् तर मैले तपाईंको मतलब बुझिनँ । मेरो छोरा मरेको छ, मेरी पत्नी शोकले व्याकुल छ, घरमा ऊ एक्ली छ… म आफू मुस्किलले उभिरहेको छु, तीन रातदेखि सुतेको पनि छैन… यहाँ मलाई यस्तो स्थितिमा उभ्याइरहेको छ । … यो त कुनै मानिसले गर्ने काम होइन । मानिसको दुःख र वेदनाको हाँसो उडाउनु मात्र हो… ।’

अबोगिन केही नबुझेजस्तो एक्लै बडबडाइरहेको थियो, ‘म कसम खान्छु । मैले त्यस आइमाईलाई माया गरेको थिएँ, पूजा गरेको थिएँ । उसको निम्ति मैले सबथोक बलिदान गरेँ । आमा-बाबुसँग बाझेँ, संगीतको शौक छोडेँ । मैले उसको केहि बिगार गरेको थिइनँ… ।’

आँखाभरि आँशु पारेर अबोगिनले इमान्दारीका साथ आफ्नो हृदय डाक्टरको सामु खोलेर राखिदियो । ऊ आवेगमा बोलिरहेको थियो । डाक्टरको अनुहारमा एउटा परिवर्तन आयो । उसको अनुहारमा जुन उदासीनता र स्तब्धताको भाव थियो, त्यो अहिले हराएको थियो । अहिले हराएको थियो । अहिले त्यहाँ क्रोध र घोर अपमानको भाव थियो । अबोगिनले एउटी सुन्दर नवयुवतीको फोटो देखाउँदै भन्यो, ‘यस्तो अनुहार भएकी आइमाईले मलाई धोका दिन सक्छे भन्ने कुरामा मलाई विश्वासै लाग्दैन ।’

एक्कासि डाक्टर रिसाए अनि उनले भने, ‘तपाईं यी सबै कुरा मलाई किन सुनाइरहनु भएको छ ? यो सब सुन्न त म यहाँ आएको होइन होला ! यी सबै सुनाउने हिम्मत तपाईंलाई कसरी आयो ? तपाईंले मेरो अपमान गरिरहनु भएको छ भन्ने लागिरहेको छैन ? के तपाईंले मलाई आफ्नो नोकर सम्झनु भएको हो ? जति अपमान गरे पनि हुन्छ कि क्या हो ?’

अबोगिन किरिलोभको नजिकबाट पछि हट्यो र स्तम्भित भएर उसलाई हेर्न थाल्यो ।

डाक्टरले फेरि भन्न थाल्यो, ‘तपाईंलाई मेरो अपमान गर्ने के अधिकार ? एउटा मानिसलाई सम्मान गर्न सक्नुहुन्न भने अलग्गै बस्नुस् ।’

अबोगिनको अनुहार रातो भयो ।

‘यसको मतलब ?’

‘यसको मतलब, मानिससित यस्तो खेलवाड नगर्नोस् । म डाक्टर हुँ अनि मलाई अपमान गर्ने तपाईंलाई कुनै अधिकार छैन ।’

अबोगिनको अनुहार रिसले रातो भयो, ‘मसित यस्तो कुरा गर्ने तपाईंलाई कसरी हिम्मत भयो ?’

टेबुलमा मुड्की बजार्दै डाक्टर कराए, ‘मेरो दुःख जान्दाजान्दै यो सब थोत्रो कुरा सुनाउने हिम्मत तपाईंलाई कसरी भयत्र ? अर्काको दुःखको खिल्ली उडाउने हक तपाईंलाई कसले दियो ?’

अबोगिन करायो, ‘तपाईं पागल हुनुभयो ! कस्तो संकीर्णता ! म स्वयं कति दुःखी छु ।’

अबोगिनले टेबलमा दुइटा नोट फाल्दै भन्यो, ‘लिनुहोस्, यो तपाईंको फिस ।’

नोट जमिनमा फ्याँक्दै डाक्टर कराए, ‘मलाई रूपियाँ दिने आँट नगर्नोस् । अपमान रूपियाँले धुन सकिँदैन ।’

अबोगिन र डाक्टरले रिसको झोंकमा एकअर्कालाई धेरै अपमानजनक कुरा भने जुन अनुचित थियो । दुवैले जीवनमा शायद यस्तो अनुचित, निर्दयतापूर्ण कुरा भनेको थिएनन् । दुवैमा वेदनाजन्य अहं जागेको थियो ।’

डाक्टर कराए, ‘दया गरेर मलाई घर पुर्‍याइदिनुहोस् ।’

अबोगिनले जोरसित घण्टी बजायो । जब उसको पुकार सुनेर कोही पनि आएन । अनि, उसले भुइँमा घण्टी फ्याँकिदियो । त्यसपछि एउटा नोकर आयो ।

अबोगिन करायो, ‘तिमीहरू कहाँ लुकेका थियौ ? तिमीहरूको सत्यानाश होस् ! तँ अहिले कहाँ थिइस् ? जा, यस भलाद्मीको लागि गाडी लिएर आइज र बग्गी पनि ठीक पार् ।’

नोकर जान लागेको थियो, अबोगिन फेरि करायो, ‘पर्खी ! भोलिदेखि यहाँ कुनै धोकेबाज बस्दैन । सब निक्लेर जानू । म नयाँ नोकर राख्छु ।’

गाडीको प्रतीक्षामा बस्दा डाक्टर र अबोगिन चूप थिए । अबोगिन शिर हल्लाउँदै यताउता घुम्न थाल्यत्र । उसको क्रोध शान्त भएको थिएन । डाक्टर उभिएर एक हातले कुर्सीलाई समातेर अबोगिनलाई हेरिरहेका थिए ।

केहीबेरपछि जब डाक्टर गाडीमा बसेर घर जान लागेका थिए, उनका आँखा घृणाको त्यही भावना कायम थियो । बाहिर डरलाग्दो अन्धकार थियो । चाँदनी पहाडपछि लुकेको थियो र उसको रखवारी गर्ने बादल सिताराहरूका छेउछाउमा कालो धब्बाजस्तो थियो । सडकमा पछिल्तिर पहियाको आवाज सुनियो अनि बग्गीको रातो रङको लालटिनको चमक डाक्टरको गाडी अघि आयो । यो उही अबोगिन थियो, जो प्रतिवाद गर्न, झगडा गर्नमा उतारू…।

बाटाभरि डाक्टर आफ्नो पत्नी वा पुत्र आन्द्रेईको बारेमा होइन तर अबोगिन र उसका घरमा बस्नेहरूका बारेमा सोचिरहेका थिए । उनले अबोगिन, उसकी स्वास्नी, पापचिन्स्की, सुगन्धपूर्ण गुलाबी उषामा रहने सबैका विरूद्ध क्षोभ प्रकट गरे ।

समय बित्नेछ र किरिलोभको दुःख पनि हटेर जानेछ तर यो अन्यायपूर्ण दृष्टिकोण कहिल्यै भुलिने छैन ।

अनुवादः राजनारायण प्रधान

(नयाँ कथैकथा भाग तीनबाट)

प्रतिक्रिया
Loading...