नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् शृङ्खला २३

 

 

 

 

 

 

 

 

 

कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो बीसाैँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन्ः

उषा शेरचन, तस्बिरः कुमार आले

१. प्रश्नै प्रश्नहरू

(उषा शेरचन)

मच्चिरहेछन् स्वरहरू
जताततै कोलाहल बोकेर,
तर, सबै फोस्रा स्वरहरू हुन्
नुनका लागि डराएका आत्माहरूका !

सल्किरहेछन् आक्रोशहरू
जताततै आतङ्क बोकेर,
तर, सबै फोस्रा फिलिङ्गा हुन्
मुखुण्डो ओढेका दानवहरूका !

उठिरहेछन् प्रश्नै प्रश्नहरू
ठडिइरहेछन् प्रश्नै प्रश्नहरू
केवल प्रश्नहरू …
जताततै भोलिको डर बोकेर
आज बाँचिरहेका
चिच्याइरहेका
सुरुवालमाथि सारी बेह्रेका
नौटङ्की हुलहरूको … !!

 

२. भाग्य

(इन्द्र गिरी)

तिम्रो आँखाबाट खसेको
आँसुको थोपा
सिपीमा परेर— मोती बनेछ !

तर मेरो आँसु
खसेछ मरुको तप्त बालुवामा
जो सुकेर गयो !

हृदय वेदनाका
तिम्रा स्वरहरू
सारङ्गीका तारमा ठोकिएर
मर्मस्पर्शी गीत बनेछन् !

तर मेरो
व्यथित मनको लामो सुस्केरा
केवल बतास बनेर
विलीन भयो शून्यमा !

सायद यसैलाई नै
भनिदो रहेछ—
भाग्य !

 

राम विनय

३. छट्टु स्यालहरू

(राम विनय)

दलदलमा भासिएर
मक्किएका
निरीह मादलका स्वरहरू,
विश्वास गुमाएर
नदी किनारको बगर बनछन्,
प्रवाहको धारको स्वरमा
जोड नपुगेर
बचेखुचेको इज्जतको
भ्वाङ टाल्न नसकेर
ट्युबको हावा खुस्किएर
अल्मलिन्छन्
छट्टु स्यालहरू !

 

४. सार्वजनिक शौचालय

(विश्व सिग्देल)

लज्जावती झारको आत्मा दिएथ्यो सभ्यताले
तर, तिमी बिलकुलै लजाउने छैनौ

आफूलाई हल्का बनाउँदा बनाउँदै
शेयर बजार, छिमेकीको नयाँ कार
कलेज पढ्दाको देशप्रेम
बाबुको जलिरहेको लास
आमाको बुढेसकालको आँसु
र सहकर्मीको नितम्बको भरिलोपना
सप्पै सप्पै निर्विकार सोचिभ्याउनेछौ
तिमीलाई कुनै हतार हुनेछैन
मात्र तिम्रो भागमा
जिपर खोल्ने र बन्द गर्ने दायित्व
बाँकी अन्तै तय भएको हुनेछ ।

अघिल्लो दिनजस्तै आज पनि
तिमी बुद्ध बनेर निस्किनेछौ
संसद भवनबाट !!

 

प्रकाश सिलवाल

५. समयको सङ्गत

(प्रकाश सिलवाल)

हात छ
पाखुरा छ
घडी छ
तर समय छैन !

घडी छ
सुईहरू छन्
फित्ता छ
तर समय अचेत छ !

हिजोदेखि आजदेखि
हामी छौँ,
तर स्थिर र मुक्त छैनौँ
असुरक्षित छौँ निरन्तर
मुक्त छैनौँ—
त्रासद र मिचाहा छिमेकीबाट !

 

प्रतिक्रिया
Loading...