नेपाली साहित्यको सम्पूर्ण पत्रिका

किन मार्छ हात्तीले आफ्नै माहुत ?

ददि सापकोटा

अघिल्लो साता हात्ती चराउन लैजाँदा चितवन राष्ट्रिय निकुञ्जमा रौतहट चन्द्रनिगाहापुरका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीलाई आफ्नै हात्तीले मारिदियो । आफैंले स्याहार सुसार गर्ने हात्तीले मान्छे मार्ने गरेको यो पहिलो घटना भने थिएन । यस्ता घटना यसअघि पनि भएका हुन् । प्रश्न उठ्छ, पाल्तु हात्तीले किन आफ्नै स्याहार गर्नेकै हत्या गर्छ ? यसले यो तथ्यपनि खोल्छ, हात्ती कहिल्यै पनि पूर्ण रुपमा पाल्तु (घरेलु) हुनै सक्दैनन्, भएकै छैनन् ।

वास्तवमा हात्तीहरु पाल्तु जनावर नै होइनन् । जब हात्ती पक्रेर ल्याइन्छ, उसको शरीरमा एक खाले भय, क्रोध र तनाव पैदा हुन्छ । तालिम दिएर पाल्तु बनाइए पनि उसको शरीरबाट त्यो आक्रोश मेटिएको हुन्न । बरु प्रशिक्षणका प्रक्रियाहरुले उसको शरीरको सहनशिलतालाई झनै टुक्रा पारिदिन्छ । र, उसको भित्री तहमा झनै दमित आक्रोश सन्चित भएर बस्छ ।

शताब्दियौँदेखि हात्तीसित हाम्रो परिचितता रहे पनि धेरैलाई के थाहा छैन भने हात्ती पाल्तु जनावर नै होइन । अझ अहिलेका अधिकांश पाल्तु हात्ती त सबै जंगलबाट समातेर ल्याएपछि यातनापूर्ण तरिकाले जबर्जस्त तालिम दिएर पाल्तु बनाइएका हुन् । त्यसैले तिनको मानवसित काम गर्ने, बस्ने, रमाउने इच्छा नै हुन्न । बरु मानवसितको मोहभंगको अवस्था हुन्छ ।

सान्दर्भिक पोस्ट

हातीहरुमा प्रायः लज्जालु स्वभाव हुन्छ । जंगली अवस्थामा रमाउने हात्ती प्रायः आफ्नो जमात बाहिरको कुनै समूह, जीवलाई देखेपछि क्षणभर मै घना जंगल वा तिनको बस्तीतिर लुकिहाल्छन् । अहिले सर्कस, मन्दिर, होटेल र जात्रामा प्रयोग गरिने कुनै पनि हात्ती पूर्णरुपमा पाल्तु भएको, रत्तिएकै हुन्न ।

कुनै पनि जंगली जीव घरेलु हुनुमा मानव र यसको बन्धक बनाउने वातावरणसित जोडिएर आउँछ । कुनै पनि प्रजातिको अनुकूलतासित एक पुस्तादेखि सयौं पुस्तासम्म आनुवंशिक (जिन) परिवर्तनको माध्यमबाट मात्रै सम्भव हुन्छ ।

कुनै पनि जीव घरेलु हुनुमा त्यो जीव जंगलीभन्दा भिन्न हुनुपर्छ । उसका जंगली पुर्खाभन्दा भिन्न स्वभावको हुनुपर्छ । घरेलु जीवले प्रजननको तरिका, आनीबानी, बास र खाद्य आपूर्ति गर्ने पद्धतिनै बदलिएको हुनुपर्छ । तर हजारौं वर्षअघिको अफ्रिकाको हानीबल युद्धमा प्रयोग गरिएका हात्ती होऊन् वा अहिलेका एसियाली हात्तीको प्रयोग, ती कुनै पनि पूर्णरुपमा घरेलु भएकै छैनन् । ती घरेलु होइनन्, बरु जंगली हात्तीका केही व्यक्तित्व वा पात्र मात्रै हुन्, जसको इच्छा र स्वभावलाई जबर्जस्त तालिम दिएर मारिएको मात्रै हो ।

हात्तीहरुको लामो गर्भावस्था, कम जन्मदर, तिनको विशाल शरीर, ठूलो खाद्य आवश्यकतालाई मानिसले घरेलु बनाएर नियन्त्रण गर्न वा परिवर्तन गर्न निकै लामो समय लाग्छ । तर अहिलेका घरेलु भनिएका हात्तीहरुलाई आफ्ना यी सबै शारीरिक र वंशीय जिन बदलेर पाल्तु बनाउने समय पुगेकै छैन । त्यसैले ती पाल्तु भएकै छैनन् किनभने हात्तीहरुलाई मानवीय सम्पर्क स्वीकार्न क्रूर प्रशिक्षण चाहिन्छ । तैपनि उनीहरूले आफ्नो प्राकृतिक प्रवृत्ति राख्छन्, जुन जंगली जीवका लागि सामान्य हो । हात्तीहरु बिराला र कुकुरजस्ता पाल्तु कहिल्यै भएकै छैनन् र हुँदा पनि हुने छैनन् ।

प्रायः विज्ञहरू सहमत छन्, पाल्तु हुन जनावरहरूलाई कम्तीमा १२ पुस्तासम्म मानिसबाट छनोट गरेर प्रजनन गरिएको हुनुपर्दछ । प्रत्येक पुस्ताको सन्तानले उनीहरूको इच्छित लक्षणहरूमा आधारित थप प्रजननको लागि त्यहीअनुसार छनोट गर्छ । जस्तै उसको शक्ति, शारीरिक आकार, उपस्थिति र व्यवहार बदलिँदै वा घरेलु हुँदै जानुपर्छ ।

पाल्तु जनावरहरुको सहज ज्ञान र शरीर रचना पनि उनीहरुको जंगली समकक्षीहरु भन्दा धेरै फरक हुन्छ । हात्तीहरुमा त्यो छैन । हात्तीहरुले सम्भवतः अझै पनि प्राकृतिक आचरणहरू प्रदर्शन गर्छन् । तर छनोट प्रजननका कारण तिनीहरू समान प्रजातिका जंगली जनावरहरूभन्दा नियन्त्रण गर्न धेरै सजिलो भएको हो ।

मानिसले हात्ती प्रयोग गर्दै आएको करिब ३००० वर्षको इतिहासमा अधिकांश हात्ती जंगलबाटै समातिएका छन् । तीमध्ये केही पहिलो वा दोस्रो पुस्ताको मात्रै घरेलु रुपमा जन्माइएका होलान् । तैपनि मानव वान्छित लक्षणसहित ती जन्माइएका भने हुँदैनन् । मानिसले लामो समयदेखि घरेलु रुपमा प्रयोग गर्दैमा ती पूर्ण घरेलु हुन्छन् भन्ने भ्रम मात्रै हो ।

हात्तीहरुलाई घरपालुवा भन्नु गलत मात्रै होइन कि गलत धारणा पनि हो । तिनलाई साङ्लाले बाँधिएको हुन्छ । तिनले तोड्न नसक्ने फलामे सिक्रीले ठूलाठूला खम्बामा बाँधिनु, सानो क्षेत्रमा राख्नु, माहुतेले नियन्त्रण गर्नु ती पूर्ण पाल्तु हुनु होइन र मौका पर्नासाथ भाग्न सक्छन् भन्ने यथार्थलाई पुष्टि गर्छ ।

कहिलेदेखि शुरु भयो हात्ती रत्याउने चलन ?

हात्तीहरूलाई तालिम दिने र घरेलु बनाउने चलन लगभग चार हजार वर्ष पुरानो हो । यो एशियामा बढि विकास भएको देखिन्छ । यो क्रम एशियाबाट शुरु भएर अफ्रिका र युरोपसम्म फैलिएको विश्वास गरिन्छ । सुरुमा, उनीहरूको प्रयोग प्रायः व्यावहारिक थियो – युद्धको समयमा ट्यांक बोकाउने, शान्तिको समयमा काठका फल्याकहरु ओसार्ने । बिस्तारै तिनीहरू धार्मिक र सामाजिक प्रतिष्ठाको प्रतीक भए । बिस्तारै तालिम दिने कला विकास गरियो । त्यसपछि मिथक, दन्त्यकथा, लोककथामा वर्णन गर्न थालियो । जुन आज पर्यन्त छ ।

रोमनहरुको अभियानमा ईशापूर्व २७७ मा कार्थानियनहरुले पहिलो पटक हात्ती समातेको इतिहासमा उल्लेख छ । अफ्रिका र एसियाका मुलुकलाई उपनिवेश बनाएपछि युरोपेलीहरुले १७औं शताब्दीमा हात्तीलाई व्यापक रुपमा प्रयोग गरेका हुन् । धेरैपछि जर्मनीका हागेनबेगले १९ औं शताब्दीमा श्रीलंका लगायत एसियाका अन्य माहुतहरु ल्याएर हात्तीलाई तालिम दिन थालेका हुन् । चिडियाखाना र सर्कसमा हात्ती देखाउने चलन यहीँबाट शुरु भएको मानिन्छ । हात्तीको दानामा खराबी, चिसो र यातनापूर्ण तालिमले हात्तीहरु मर्न थालेपछि कृत्रिम वासस्थानमा हुर्काएर हात्ती जन्माउने चलन यसपछि शुरु भएको हो ।

हात्तीहरुले कहिल्यै भुल्दैनन्

प्रष्ट कुरो के हो भने जनावरले कसैको अनुहार भुल्दैनन् । हात्तीहरुले झनै भुल्दैनन् । नेपालको बर्दिया, चितवन, कोशीटापू, शुकिलाफन्टासम्म भारतको आसामदेखि खासगरी वर्षायममा नेपाल भित्रिने हात्तीहरु यसको गतिलो उदाहरण हुन् । जब भारतको ब्रह्मपुत्र नदीमा बाढी आएर त्यहाँको जमिन पानीले ढाक्छ, त्यो बेला चरनको अभाव हुन्छ । त्यसपछि ती हात्ती नेपालको मेची हुँदै बिस्तारै नेपाल छिर्छन् । असमबाट नेपालसम्म करिब ३० दिन देखि ४५ दिन लगाएर नेपाल छिर्ने हात्तीले कहिल्यै बाटो भुल्दैनन् । एक पटक आफ्नी आमासित आएको बच्चो हुर्किएपछि एक्लै पनि त्यो बाटो पत्तो लगाउने ज्ञान उसमा विकास भएको हुन्छ । पुर्खाले पानी पिएकै तालमा पानी पिउँंछन् । त्यही नदीमा नुहाउँछन् । उही रुखको सिँयालमा बस्छन् । आफ्ना पूर्खाले पूर्खौंपूर्खादेखि हिँडेको, चरेको जमिन, वन मासेर बस्ती बसालेकैले हात्ती र मानवबीच द्वन्द्व भएको हो । किनकि ती सधैँ पुर्खाले चर्चेकै बाटो ओहोरदोहोर गर्छन् ।

चितवन, पर्सा र बर्दिया राष्ट्रिय निकुन्जमा पालिएका पोथी हात्तीहरुसित समागम गर्न हरेक वर्ष लगभग उही समयमा अघिल्ला वर्षकै भाले आइपुग्छन् । यसले हात्तीहरुको दिमाखमा ज्ञान र अनुभवलाई भण्डार गर्ने क्षमता हुन्छ भन्ने प्रमाण हो । यसको अर्को पनि ज्वलन्त उदाहरण छ । २०५२ सालको विशाल बाढीका बेला चितवनको सौराहाबाट एक पोथी हात्ती एकाएक हराई । तीन हप्तासम्म भेटिएन । त्यसपछि अन्य हात्ती चराउन जंगल लगेका बेला जंगलमै त्यो पोथी एक्लै विचरण गरिरहेको बेला फेला पारे माहुतेहरुले । त्यसपछि उसलाई अन्य पाल्तु हात्तीको सहयोगमा खेदेर सौराहाको हात्ती केन्द्रमा फर्काइयो । अहिले कुनै पनि पाल्तु हात्तीलाई जंगलमा लगेर छोडिदिने हो भने ती आफैँ हात्ती केन्द्रमा फर्केर आउने सम्भावना अत्यन्त झिनो छ । ती जंगलमै रमाउँछन् । यसको अर्थ हात्तीलाई पूर्णरुपमा घरेलु बनाउनै सकिन्न भन्ने प्रमाण हो ।

हात्तीमा उल्लेखनीय सम्झना शक्ति हुन्छ भन्ने अनुसन्धानकर्ताहरु विश्वास गर्छन् । केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्जमा हात्तीहरुमा गरिएको अनुसन्धानले देखाएअनुसार हात्तीमा मातृसत्ता चल्छ । ठूलो बथानको नेतृत्वकर्ता पोथी हुन्छे । हात्तीहरु खास गरी सामाजिक ज्ञानको भण्डार राख्छन् जुन ज्ञानबिना उनीहरूको परिवार चल्नै सक्दैन ।

तान्जानियाको ताराङिरे राष्ट्रिय निकुन्जमा सन् १९९३ मा गरिएको अर्को अनुसन्धानका अनुसार तिनले एक अर्कोको अनुहार त चिन्दछन् नै, जब खाना र पानीको अभाव हुन्छ त्यो बेला अर्को विकल्प कहाँ छ भन्ने पनि पत्ता लगाउँछन् । यो तिनका पुर्खाले रचेकै अक्किल हात्तीको स्मरणमा भाण्डार भएर बसेको हुन्छ ।

सन् २००७ मा स्कटल्याण्डको सेन्ट आण्ड्रियु विश्व विद्यालयका रिचार्ड ब्रायनले अफ्रिकाको आम्बोसेली राष्ट्रिय निकुन्जमा गरेको अध्ययनअनुसार  एउटा हात्तीले आफ्ना ३० साथीहरु हिँडेको बाटो ट्र्याक गर्न सक्छन् ।

अब सोच्नुस्, दशैं मेलामा तपाई ३० जना मिलेर ठूलो मैदानमा सपिङ गर्न जानुभएको छ । ती छअरिएका ३० जना कहाँ छन् भनेर पत्ता लगाउन सक्नुहोला ? हात्तीहरुले ३० जना नै कहाँ कहाँ छन्, कुन पसलमा छन् भनेर पत्ता लगाउँछन् ।

हात्तीलाई पासोमा पारिँदै । तस्बिरः सुहासिनी रामास्वामी पर्यटकहरूसँग भिख माग्दै चितवन राष्ट्रिय निकुञ्जस्थित एक हात्ती र माउते । तस्बिरः ददि सापकोटा

चितवन राष्ट्रिय निकुञ्ज साैराहामा काठ बोक्दै एक हात्ती । तस्बिरः ददि सापकोटा

भारतमा हात्तीलाई तालिम दिइँदै । तस्बिरः सुहासिनी रामास्वामीहात्तीको छावा/छाविलाई तालिम दिइँदै । तस्बिरः ऋषि सापकोटा

प्रतिक्रिया
Loading...