नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बच्चा त सुध्रिएलान्, आमाबुबा कसले सुधार्ने ?

मेराे पुस्ता

हिजोआज छोराछोरीको इन्टरनेट लत आम अभिभावकको मुख्य चिन्ताको विषय बनिसक्यो । दैनिक जीवनको अभिन्न अंग बनिसकेको इन्टरनेटको उचित प्रयोगका फाइदा अनगिन्ती छन्, तर उचित प्रयोगको अभावमा यसले निम्त्याउने समस्या पनि उत्तिकै देखिन्छन्। आफ्नो बच्चाको इन्टरनेट लतबाट हरकोही चिन्तित भइरहेको हुन्छ तर के मेरो पुस्ताले आफ्ना आमाबुबाको इन्टरनेट लतलाई कहिल्यै चिन्ताको विषय बनाएको छ ? विशेषतः प्रौढ उमेरसमूहलाई इन्टरनेटले पुर्याएको फाइदा बेफाइदाबारे चिन्तन गरेको छ ?

“मोबाइलले छोराछोरी बिग्रिए” भन्ने वाक्यलाई त हामी सामान्य रूपमा लिने भइसकेका छौं, तर यदि कुनै दिन “मोबाइलले हाम्रा आमाबुबा बिग्रिए” भन्ने वाक्य सुन्नुपरे कस्तो लाग्ला ? यदि त्यस्तो दिन आए, “बुबाआमा बिग्रेको” जिम्मा कसले लिने ?

यहाँ बिग्रनु शब्दको अर्थ पतित हुनु या च्युत हुनु भन्ने होइन। बिकाउ थम्बनेल राखेर बनाइएका घटिया युट्युब भिडियो र अविश्वसनीय अनलाइन न्युज पोर्टलका सामाग्रीहरुको विश्वास गरेर त्यस्ता सामाग्रीबाट प्रभावित हुने लत कम डरलाग्दो छैन ।

नेपोलेयनक्याटडटकमको सर्वेक्षण अनुसार २०२० को अक्टोबर महिनासम्म नेपालका कुल फेसबुक प्रयोगकर्तामध्ये १०% अर्थात् झन्डै १२ लाख प्रयोगकर्ता ४५ वर्षभन्दा माथिल्लो उमेरसमूहका देखिन्छन् । अनलाइन संचारमाध्यममा भ्रम र अफवाहको खेती फस्टाइरहँदा, हाम्रा आमाबुबा पुस्ता फेसबुकमा के गर्दैछन् भनेर चासो राख्नु जरुरी देखिन थालेको छ।

समीक्षा खतिवडा

एकपटक, “पेटमा ग्यास भरिने र दिशा नखुल्ने समस्या दश मिनटमा पार्छ निको, कहाँ पाइन्छ यो दुर्लभ औषधी ?” शीर्षकमा एउटा समाचार फेसबुक वालमा आइपुग्यो। कहिल्यै नाम नसुनिएको अनलाइन पोर्टलबाट एक जना आफन्तले उक्त समाचार सेयर गर्नुभएको थियो । उक्त पोर्टलमा क्लिक गरेर हेर्दा भेटिएको एउटा सामाग्रीले बेसार पानीको नियमित सेवनले कलेजोलाई सधैं स्वस्थ राख्ने दाबी गर्दै थियो भने अर्को सामाग्रीले बिहानमा दूध देख्नु शुभ तथा चक्कु देख्नु अशुभ हुने भन्दै दैनिक जीवनमा प्रयोगमा आउने वस्तुहरुको प्रयोग गर्न समेत डराउनु पर्नेगरी भ्रम छर्ने प्रयास गर्दै थियो ।

यस्ता सामाग्रीहरु शतप्रतिशत झुठा हुन भन्ने तात्पर्य अवश्य होइन तर हामीले कहाँबाट कति विश्वसनीय जानकारी संकलन गरिरहेका छौं भन्नेबारे भने अवश्य सोच्नैपर्ने हुन्छ। भाषाको प्रयोग र शब्द संयोजनमा समेत निक्कै कमजोर देखिने उनीहरुको दाबी बमोजिमका अचुक औषधीहरु साँच्चै पत्ता लागेका हुन् भने त्यसले मेडिकल साइन्समा ठूलो उपलब्धी हाँसिल भइसक्नुपर्ने होइन र ? न त रोगको सही पहिचान, न त चिकित्सकको सल्लाह, सस्ता र अविश्वसनीय समाचारको भर परेर “अचुक औषधी” सेवन गर्दा स्वास्थ्यमा पुग्ने हानिको लेखाजोखा चाहिँ कसले गर्दिने?

बिहान हतारहतार चियाको चुस्कीसँगै चक्कुकै प्रयोगले काटेको तरकारीसँग खाना खाएर काममा निस्कने व्यक्तिका प्रत्येक दिनहरू अशुभ भएका छन् ? बिहानै दूध दोएर बेच्न लैजाने प्रत्येक किसानको हरेक दिन कुनै दुःखकष्टविना शुभ मात्र भएको छ ? सामान्य हिसाबले सोच्दा पनि विश्वास गर्न गाह्रो हुने यस्ता सामाग्रीहरुले अशिक्षित या मोबाइल चलाउनसम्म पुग्नेगरी साक्षर मात्र भएका हाम्रा आमाबुबा पुस्तामा कस्तो भ्रम छरिरहेको होला?

त्यस्तै, विनानियमन संचालन भइरहेका युट्युब च्यानलबाट घटिया विषयहरु बारम्बार ट्रेन्डिङमा आइरहँदा त्यसले पनि उत्तिकै नकारात्मक प्रभाव पारिरहेको देखिन्छ । घरझगडामा परिवारका सदस्यपिच्छे छुट्टाछुट्टै अन्तर्वार्ता लिएर भाइरल बनाइदिनेदेखि अनावश्यक तथा समाचार बन्नै लायक नभएका तीलजस्ता विषयहरुलाई “फलानाले गरे भण्डाफोर..” , “खुल्यो रहस्य…”, “आखिर के भएको थियो….” जस्ता उत्तेजक शीर्षक र मसालेदार थम्बनेल राखिएका खोक्रा विषयहरुले समय व्यतित गर्न सजिलो बनाउनेभन्दा दोस्रो फाइदा केही पुर्याएको देखिन्न, तर घाटाको हिसाब गर्ने हो भने त्यस्ता सामाग्रीहरुले क्षणिक उत्तेजना सृजना गर्नेदेखि दीर्घकालीन रुपमा मानिसमा नकारात्मक प्रवृत्ति विकास गर्नेसम्मको तागत राख्ने देखिन्छ ।

पढेलेखेका मानिसहरु या युवापुस्ताहरुमा कस्ता अनलाइन र युट्युब च्यानललाई फलो गर्ने, कस्ता विषय हेर्ने र कस्ता खबरहरुलाई विश्वास गर्ने भन्ने चेत केही बढी होला, तर तुलनात्मक रुपमा कम शिक्षित आमाबुबा पुस्ताले जस्तोसुकै सामाग्रीहरुलाई पनि सजिलै विश्वास गरेको पाइन्छ। अर्कोतर्फ, यस्ता सामाग्रीहरु शतप्रतिशत विश्वसनीय हुन्न है भनेर सम्झाउन खोज्दा आमाबुबा पुस्ताको वृद्धहठले मेरो पुस्तालाई “अनावश्यक रुपमा जान्ने भएको” आरोप लगाइदिन्छ। “सम्चारमा भनेको छ, तैँले भनेर हुन्छ?” भनेर आफ्ना सन्तानको कुराभन्दा बढी अनलाइनका अविश्वसनीय सामाग्रीलाई विश्वास गरिदिने आमाबुबालाई सही मार्गमा ल्याउनु कम चुनौतीपूर्ण देखिँदैन ।

यस्तो अवस्थामा, समाजमा अनावश्यक भ्रम छर्न नदिन नियमनकारी निकायहरुले प्रभावकारी रुपमा आफ्नो भूमिका निभाउन जरुरी देखिन्छ ।

अनलाइन संचारमाध्यम निर्देशिका २०७३ ले दर्ता गरेर मात्र अनलाइन संचारमाध्यम संचालन गर्नपाइने, पत्रकार आचारसंहिता विपरीतका सामाग्री प्रसारण गर्न नपाइने लगायतका व्यवस्था गरेको छ। साथै उक्त निर्देशिका र प्रचलित नियम पालना गरे नगरेको बारेमा सूचना तथा संचार विभागले र पत्रकार आचारसंहिता पालना गरे नगरेको बारेमा प्रेस काउन्सिलले अनुगमन तथा निरीक्षण गर्न सक्ने व्यवस्था पनि उक्त निर्देशिकामा रहेको छ। यस्ता निर्देशिका तथा प्रचलित अन्य नियम कानुनहरूलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने हो भने मात्र पनि अफवाह तथा भ्रम फैलाउने अनलाइन संचारमाध्यमहरुलाई नियन्त्रणमा राख्न सकिन्छ। साथै अनलाइनकै माध्यमबाट सच्चा पत्रकारिता गर्नेहरुको शिर उचोँ गर्नमा समेत थप मद्धत मिल्नेछ।

यसरी नै युट्युब च्यानलहरुको लागि पनि नियमनको उचित व्यवस्था गरिनु जरुरी देखिन्छ, जसबाट आम जनमानसबीच सजिलै भ्रमको खेती फैलाएर आफ्नो जीविकोपार्जन गर्नेहरु हतोत्साहित बन्नेछन्।

नियमनकारी निकायलाई आफ्नो जिम्मेवारीबोध गराएसँगै मेरो पुस्ताले पनि विशेषतः आमाबुबा पुस्तामा फैलँदै गरेको भ्रम र अफवाह चिर्ने कोसिस भने गरिरहनुपर्छ। वृद्धहठको विरुद्धमा वचनको ठाडो प्रस्तुतिबाट वहाँहरुको मन दुखाउनेतर्फ नलागी विश्वसनीय माध्यमहरुलाई मात्र फलो गर्न सिकाउनु पर्दछ। छोराछोरीले सिकाएकै भरमा फेसबुक चलाउन जान्ने बनेको हाम्रो आमाबुबा पुस्ताले भ्रमको खेतीबाट बच्नका लागि छोराछोरीको एउटा सानो मार्गनिर्देर्शनलाई पक्कै पनि अन्यथा लिनेछैन ।

प्रतिक्रिया
Loading...