नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अ ब्रिफ रिभ्यु अफ नगरकोटी

फ्रम मोक्षान्त: काठमान्डु फिभर टु दोचा

प्रिय ! फिक्सन डिजाइनर, 

तिम्रो क्याजुयल लिखोटमा कुन गुरुत्वाकर्षणले तानिन्थेँ ? भेउ पाउन केही काल नष्ट भए ।

सायद तिम्रो चित्ताकर्षक अफबिटले, मस्तिष्क छोई बग्ने शब्दहरूले ।

त्यही कालको रनिङ्तिर दिमागमा हुन्डरी आउँथ्यो, “कहिले पुस्तक नै पढेर समयको हत्या गर्न पाइने हो?” तर त्यतिञ्जेल तिम्रो भेट प्रिय कवि मोमिलासँग भएकै रहेनछ ! भेट भएकै रहेनछ सावित्री कार्कीसँग । बाँकी नै रहेछ सावित्री कार्कीले “जोगी(कुमार नगरकोटी)को अस्तव्यस्त जीवन सम्हाल्न” म आइपुगेँ भन्न ।(पेज नं.~७~दोचा) सावित्री कार्कीले त्यति भनिसके पछिको करामत के भयो भनेँ ‘मोक्षान्त काठमान्डू : फिभर’ आयो । काठमान्डूको मोक्षान्त डोज सक्किन नपाउँदै अक्षरगन्ज ( डायरी, ड्रिम एण्ड डेथ ), मिस्टिका, घाटमान्डु, दोचा, कोमा: अ पोलिटिकल सेक्स, फोसिल, ज्ञ  बजारमा जोडतोडले घुम्न थालेँ । यीमध्ये मोक्षान्त काठमान्डू : फिभर, अक्षरगन्ज, मिस्टिका, घाटमान्डु, दोचा पुस्तकलाई मैले राजीखुशी आफ्नो समय चढाए ।

मैले भन्नै पर्ने हुन्छ -‘बिमार नगरकोटी ओहो ! माफ गर्नुस् कुमार नगरकोटी आफ्नै जादुगरी भाषाशैलीका ब्रान्डेड फिक्सन डिजाइनर हुन । भलै उनी शब्दको ब्रह्माण्ड क्रिएट गर्न चाहून् तर  हु नोज ब्राण्ड पनि त ब्रह्माण्डकै अंश  हो ….न ब्रह्माण्ड नै पो क्रिएट भई जान्छ कि..?!

प्रिय ! राइटर

तिम्रो राइटिङमा टाइम एण्ड स्पेसको कोल्याप्स, कल्पनाशीलता र कला टाढा जानै सक्दैनन् ।

बोले तो ट्रिपल “क”को एक्सप्रेसन टाढा जानै सक्दैन ।

मनोज बिश्वकर्मा

भलै “कोरागाउँको किरियापुत्री”का पात्रको नाम “क”बाट हुनुसगँ यसको कुनै लिनु~दिनु केही नहोला । तर  त्रि’क’-फ्युजन यसैले दिमागका छिद्रमा जबर्जस्त टाँस्सिन्छन्। तिम्रो लेखनको यादगार स्वाद भनेको अफबिट हो । जो मोक्षान्त काठमान्डु : फिभर, अक्षरगंज, घाटमान्डु, मिस्टिकाभरि फैलिएको छ । “दोचा”मा चैँ अन्त्यतिर भेट्न सकिन्छ । जे होस्,  तिम्रा शब्दगिरी सुनिरहँदा~पढिरहँदा मेरो शब्द-भोक पवित्र हुन्छन् ।

अब यो पत्रको बारेमा भन्नु जायज हुन्छ । कुरा के भने नि तिम्ले तिम्रो डायरीकालमा आफ्ना प्रिय लेखकलाई लेख्ने पत्र कस्ता हुन्थेँ “मलाई थाहा छैन ?” । थाहा छैन नारायण ढकाललाई लेख्ने पत्र र माधुरी दीक्षितलाई लेख्ने पत्र कस्ता थिए ? यसैले जान्दिनँ त्यो पत्रमा प्रयोग भएको मसीको रङ, पान्नाको साइज, पट्टाएको तरिका, खामको ढाँचा । यसैले बजारमा उधुमसँग दगुरिरहेका तिम्रो पुस्तकमध्ये पाँच पुस्तक उठाएँ । अनि त्यही पुस्तक-शीर्षकमा शाब्दिक बकबास गरेर पत्र भनी पठाइलिएछु । पाटनका तान्त्रिक गल्लीमा भड्किँदै गर्दा पोस्टबक्स नम्बर ९९९ मा शब्दश: यो पत्र फेला पर्न सक्छ । धुवाँलाई नृत्य गराउँदै पढ या पत्रलाई धुँवा पारेर पढ बालै भएन ।  हु केयर्स ! आई wrote अक्षर ,  अक्षर can’t be क्षय…

१. हजारौँ काठमाडौँ हजारौँ फिभर

‘मोक्षान्त : काठमान्डु फिभर’मा संवेग, सौन्दर्य र दर्शनहरु कोल्याप्स भएका छन्/ डिजल्भ भएका छन् । काठमाडौँको मोक्षान्त फिभरले स्टोरीको काठमाडौँभरि/ प्लटभरि दगुराउँथ्यो तर कथ्यहरुको डि-सेन्ट्रिलाईजेशनले central idea भेटिन्नथ्यो । यस्तो बारम्बार लागिरह्यो यी कथाहरू ‘रङको भद्रगोल संयोजन’ हुन् । थाहै छ, जब रङहरू बेपर्वाह हिँड्न थाल्छ दिल र दिमागमा एउटा एब्स्ट्राक्ट संवेग प्यारापल भएर दौडिन्छ । “काठमाण्डौ फिभरका रङ” यस्ता थिए कि सात पटक पढ्दा सातै पटक सानदार लाग्ने । स्टोरी टेलिङको यस्तो दुर्लभ नमूना पहिले भेटेकै थिइन । भेटेको हुन्थेँ भने यो पाठक-पत्र तिम्रो लागि लेखिने थिएन । अझैसम्म नभेटिए भए चैँ मजस्ता पाठकको दिमाग भड्किएर कुनै मानसिक अस्पतालमा ओहोरदोहोर गरिरहेका हुन्थ्यो होला ।

“उसको मृत्युको खबर” दिल~थाम~के पढ्नु पर्ने लम्बेतान तथा लोभलाग्दो डिजाइन हो । “मेटाफिजिक्स” आफ्नै आँखाअगाडि क्यान्सरले मर्दै गइरहेको पितासँगै फेजआउट भएको कथा हो । प्रिय ! फिक्सन डिजाइनर मोक्षान्त काठमान्डू : फिभरका कथाहरूमा काठमान्डु नै काठमान्डु थिए अनि फिभरै फिभर । मोक्षान्त: काठमान्डु फिभर, सिल्भिया, मेटाफिजिक्स, माउसुली मैले आफ्नो “खप्पर”को स्थिति छाम्दै पढेर सकेको थिएँ / डबल~भिजिट गरेर सकेको थिएँ ।

प्रिय ! म जस्तै पाठकज्यू , मध्यरातमा “खप्पर” पढ्दै हुनुहुन्छ भने एक हातले खप्पर र एक हातले किताप समात्दै पढ्नुस.. नत्र कुमार नगरकोटी तपाईंको टाउको बोकेर तिब्बतको पठार पुग्न सक्छ । मैले यही कालमा प्रथम ‘पोर्ट्रेट पोइट्री’ कुमार नगरकोटीको नाममा लेखेको थिएँ ।

प्रिय ! पाठक, आउनुस् त्यो पोइट्री पठन गरौँः

शीर्षक- Kumar Nagarkoti

-Prologue~~

( चिहानमा एकरात )

-रात पनि भत्किसक्यो

खसिसक्यो एक थोपा आकाश धरतीमा

तँ मूला चैँ के गरिराछस् ?

~चिहान खन्दैछु डियर !

आफैँलाई दफ्नाउँ भनेको !

-यति चाँडै गाडिन चा’ने’ तँ को होस् हँ ?

~म को हुँ ?

यै त था’छैन !

तर

यो आदिवासी प्रश्न

आज पनि डुलिहिँड्छ मेरो खप्परभित्र !

यै प्रश्न उम्रिएर टाउकोभित्र

उख्लिएरै सक्किए कपाल टाउकोबाहिर !

यै प्रश्नको इल्युजनले

म हिँड्यो-

फिक्सन डिजाइन गर्न

जस्लाई तिमेरु आजभोलि कुमार नगरकोटी भन्छौ !

-Supportive Scene

( पाटनको तान्त्रिक गल्लीमा )

-चिण्डो टाउकोमा ‘अज्ञात बालक’ले औँला दगुराएजस्तो

नाङ्गै अक्षरगंजमा सल्बलाएजस्तो

डेङ्गु जुत्ताले बाटो ढकढकाउँदै

कता पो हिँडिस् होला कुमार ?

~कुमार नभन मूला !

बिमार छु आजभ‍ोलि !

-बिमार?!

लु एक डल्लो चियर्स !!

~अँ त बिमार छु !

कर्पोरेट जोगीहरुको

मोहजालमा फँसेर हो

या तिनेर्को तन्त्रमन्त्रले

गुडुम्म पड्किसक्यो जस्तो लाग्छ टाउको !

-बर्बाद !

लु यो बर्बादीलाई पनि चियर्स !!

~कुरा अर्कै छ मिस्टर बर्बाद !

-के अर्कै कुरा?! (श्रीमान्! गम्भीर नेपाली हुनुभो)

~पैला भन…सिल्भियालाई देखिस् ?

-को सिल्भिया ?

~सिल्भिया उर्फ कुमारी !

कुमारी उर्फ Living Goddess Of Nepal .

-मूला नगरकोटी

तैँले चुरोटको लत पार्दिहालिस्

ऊ चैँ क्यान्सरसँग पोइला गई !

~हाहाहा ! एउटा क्यान्सर (कर्कट राशि) त मैँ हुँ ?

खै यो दुई दिनको जीन्दगीमा

एकदिन वीर्य चढाउन पा’को छुइन

LIVING GODDESS लाई !

-Epilogue~~

(पाटनकै अर्को गल्लीमा)

-कता हिँडिस् भन्दैनस् !

~खासमा म सिल्भिया(प्ल्याथ)कै पेस्तोल खोजिराथेँ

पाटनको यो तान्त्रिक गल्लीमा !

-कस्को टाउको उडाउनु मन छ मिस्टर नगरकोटी ?

~उडाउनु त आफ्नै टाउको उडाम्न पर्नि हो

तर गुरु रिम्पोचेले झिँगा मार्न

अचाक्ली डिमाण्ड गर्यो !

त्यसउसले हो !

-ल कुमार…..(बीचमै)

~माफ गर !

मेरो कुमार उहिल्यै सहिद भइसक्यो !

लु बाँकी भन्

-हिजै र राती 🎵 के देखेँ सपना 🎵

तई मरि गएको🎵🎵🎵….( एकछिन रोकियो)

आत्माको खिल्लीलाई ध्यान दियस् !

म लागेँ !

~डन्ट वरी मिस्टर ध्यान दिएस् !!

(क्लोज अफ)

डियर रिडर,

माथिको Something Like A Poetry मा कुमार नगरकोटीलाई दफ्नाउने मनसाय बोकेका कुमार नगरकोटीले “घाटमान्डु”को अदर एडिक्सनमा ६ जना कुमार नगरकोटीको पेस्तोलले निर्मम कत्ल गरेका छन् । मेरो पोयट्री र उनको एडिक्सन्सको हत्या कनेक्सन गज्जब छैन त ..?

 

२. अक्षरगंज: अ नगरकोटी एक्सप्रेस

प्रिय ! डिजाइनर,

अक्षरगन्जको सडक उबडखाबड छ । म जस्तै पाठकज्यू , दुर्घटना बेहोर्न तयार हुनुस् तर फर्किनु हुनेछ सकुशल । किनकि त्यो  सडकमा बस कुदाउने चालक ( कुमार नगरकोटी ) चैँ बस कुदाउन माहिर छ ।

अक्षरगन्जको फराकिलो सडकभरि स्मृतिमा चिप्किने थुप्रै हरफहरू आउँदै~आउँदै जान्छन् । ‘नगरकोटी एक्सप्रेस’को जादुगरी शिल्पी र अक्षरसँग खेल्ने कलाले तपाईंलाई लाग्दैन यात्रा गर्दागर्दै ‘ हाई$$$’आउँछ, लाग्छ बीचबाटो बाटै ओर्लिदिऊँ । सानातिना दुर्घटना दिमागभित्र घट्छन र लाग्छ तपाईंले आफ्नै उद्दार गर्नु भयो । र, लाग्छ कुमार नगरकोटी लेख्नकै लागि जन्मिएका हुन्, नगरकोटी एक्सप्रेसमा गियर अफ~डाउन गर्न जन्मिएका हुन् ।

डियर डिजाइनर,

खलिल जिब्रान,  चिनुवा अचुवे, शंकर लामिछाने, भूपि शेरचन प्लस रोशन शेरचन बेलाबेला तिम्रो ड्राइभमा ओभरटेक गर्न आइपुग्छन् । यो ओभरटेकले ड्राइभ झन् दामी बनाएको छ । ड्राइभ गर्दागर्दै नगरकोटी एक्सप्रेस अक्षरलाई प्रेम गर्ने नामुद प्रेमीहरूको लोक “अक्षरगन्ज” मात्र पुग्दैन । पाठकको दिमागी दुनियाँमा पनि कहिले स्लो मोसनमा कहिले इन्जिन भाइब्रेट हुने गरी कुद्छ । खासमा ‘अक्षरगंज’ अक्षरगंजको भूमिका/ट्रेलरमा यज्ञशले लेख्छन्- ‘अक्षरगंज नगरेकोटीको आफ्नै जीवन यात्राको पनि कथा हो । तपाईं यसमा कुमार नगरकोटी कसरी “शोकल्ड” लेखक बन्न पुगे भन्ने विवरण पाउनु हुनेछ ।'( पृष्ठ नं. ५ ) पनि हो।

प्रिय ! राइटर

मलाई तिम्रो अक्षरगंज~प्रोलोगले तान्यो । बढी तान्यो-‘पिता स्मरण’,  ‘माधुरी दीक्षितको चिठ्ठी’, ‘रिलिज नभएको एउटा फिल्म’ , ‘ अक्षरगंज ‘, ‘ जिन्दगी: एक मिस्टिक जर्नी’ , ‘ओछ्यान , पुस्तक र संभोग ‘, ‘मृत्युको  अन्तरिम इच्छा ‘ , ‘ वाचम्यान उर्फ गिद्धराम चौधरी ‘, ‘ घटा गणेशको मार्कसिट ‘ , ‘जीवनको खित्का ‘, लोप र फुट नोट्सले ।

३. मिस्टिका : फ्यान्टासी भर्सेज ब्ल्याक फ्यान्टासी

‘म

पत्थरको स्तम्भमाथि टँसाइएको

सिद्धिनरसिंह मल्लले

रोक्न सकिनँ

फगत

नमस्कार गरी पठाए।’

( “सिद्धिनरसिंह मल्ल र कविता लामा” कबितांश)

प्रिय ! नगरकोटी

स्वप्निल स्मृतिको माथिको कवितांशमा रातदिन~दिनरात प्रस्तरको स्तम्भमाथि नमस्कार गरी बस्ने सिद्धिनरसिंह मल्ल तिम्रो  “मिस्टिका”भित्र नमस्कारत हात हल्लाएर बिरालासामु प्रवचन दिन पुगेका छन् । भूकम्पले धरहरा कोल्याप्स पार्नुअघि नै तिम्ले गर्ल्याम्म गुर्लुम्म पारिसकेका रहेछौ । मैले स्वरै काल्पनिकको गजबको प्रयोग डाक्टर ध्रुवचन्द्र गौतमको “अलिखित” मा भेटेको थिए ! “मिस्टिका”मा त यसको उग्र प्रयोग छ । टाइम एण्ड स्पेसको लोप, रियलमा सररियलले यथार्थको जमिन छुनै दिएको छैन उपन्यासमा । अजिबअजिब पात्र र तिनको प्रवृत्ति कसरी उदाउँछ “नगरेकोटी खप्पर”मा ? खप्पर नै रिङ्गाउँछ ।

उपन्यास कुहिरोले अस्तव्यस्त “उवाच”बाट शुरु हुन्छ । ब्ल्याक फ्यान्टासीले गति प्रदान गर्छ र उपन्यासको समाधि ब्ल्याक फ्यान्टासीमै गएर हुन्छ । यस बीचमा ‘तुम सो रही थी’ कविता जस्तै थुप्रै सुन्दर वाक्य “इग्जिस्ट” हुन्छन ।

केही वाक्य :

१. उहिल्यै उहिल्यै मसित एउटा अर्गानिक मुटु थियो ।

२.म पनि जिन्दगीझैँ , प्रकृतिझैँ , मृत्युझैँ अजीव छु ।

३. नारीको समर्पण एवं त्यागले नै पुरुषको सो-कल्ड सभ्यता माथि उठेको छ ।

४. हरेक मोर्टल मनुष्यको जीवनमा एउटा कालजयी इमोर्टल डिस्टर्वेन्सको खाँचो छ ।

५. त्यो दिन मौसम देवदारको वृक्षमा निदाएको थियो ।

………………………………….

प्रिय ! फिक्सन डिजाइनर

यति हुँदाहुँदै पनि केही बेवास्ता भएका छन् । बेवास्ता शब्द  सुन्दै कुरूप लाग्छ-कुनै राजनीतिक पार्टीको नाजायज नाराजस्तो । अब किताबमै आउनु त अझ कुरूप हुने नै भयो । झन् नाराग्रस्त भइजाने नै भयो ।

बेवास्ताहरू :

बेवास्ता १ः पुस्तकको कभर डिजाइन कर्णाली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरको भनिए पनि ‘माई क्याट नेम्ड लुकास’को छविप्रति हो ।

बेवास्ता २ः पानाको राजनीति हावि भएको छ । त्यसैले पुस्तक राजनैतिक दलका नेताजस्तै “आर्टिफिसियल ग्रोथ” ग्रस्त छ ।

कुरा एक महिना अघिनको मात्र हो; एकजना मित्रले मिस्टिका लगे र फिर्ता ल्याउँदा नगरकोटीको “गर”लाई “रक” बनाएर फिर्ता गरिदिए । प्रिय फिक्सन डिजाइनर म उसको हरकत झुरसँग बेवास्ता गर्न अभिशप्त भएँ । सायद ऊ माथिको ‘बेवास्ताहरू’को सिकार पो भई गएको पो थियो कि ? हु नोज !

 

४. घाटमाण्डु : एज अ घाट

डियर रिडर

यो पाठक~पत्र प्रिय फिक्सन डिजाईनरको हात पर्ला भनेर मैले उहिल्यै पठाई सकेको थिए । अफसोच के भयो भने पोष्ट बक्स नं. ट्रिपल नाईन नामको ठेगाना नै पोष्ट अफिसबाट गायब भईसकेछ । “घाटमान्डू”को नन-फिक्सन खण्डबाट ‘पोष्ट बकस नं. ९९९’ पढ्दा थाहा पाए । पत्र मेरो यो अनाथ भई गयो । यो अनाथ पत्र त्यो बखत यति खाईलाग्दो साईजमा थिएन । तीन पुस्तकलाई समेटि त लेखी पठाथे ।

पत्रलाई त्यहि हालतमा छाडेर म मस्त निदाई रहें ।  मस्त निद्रामै छदा खाटबाट धकेलेर भुईमा खसाई दिदै विजय विश्वकर्मा( जो चितवनको “कायाकैरन” दैनिकसगँ सम्बन्धित छन्) बोले  – “गुरु ! कुमार नगरकोटीलाई यो साईजमा ?  भएन हौ किङ्गसाईज बनाउनुस् ।” म बिउझिएँ । एउटा क्रियटिभ वेकअपको साथ ।

Yes! अफकोर्स म बिउँझिएँ..

प्रिय नगरकोटी

म बिउँझिएँ तिम्रो फिक्सन , नन-फिक्सन र अदर एडिक्सन्सको घाटमा ; घाटमान्डुमा ।

घाटमान्डू नाम झै सुनसान छ कभरमा । न लेखकको नाम न नगरकोटी थर मात्र । न छ कुनै पेन्टिङ्ग कभरमा । छ त केवल कालो रङ्गको बिचमा जण्डिस कलरमा लेखिएको घाटमान्डू ।  घाटमान्डुमा तीन घाट छन् (खण्ड छन्)-फिक्सन , नन~फिक्सन र अदर एडिक्सन्स । प्रत्येक घाटमा जलिरहेका छन् पाचँ पाचँ रिलेटिभ्स शवहरू । यी शवहरूमा नगरकोटी छ , नगरकोटीको मस्तिष्कको उडान छ । उडान काईदाको छ किनभने यो उडान नगरकोटीको दिमागको पत्र-पत्र जलेर पुत्पुताईरहेको धुवाँको उडान हो ।

जब मानिस शवको रूपमा घाट पुग्ने दिन आउँछ । उ गायब हुन्छ-तमाम सम्बन्धबाट/सोचबाट । कसैको पिता/पति बस् एक लास हुन्छ । लास भएरै सहि उसको भौतिक अस्तित्व धुवाँको रूपमा बायुमण्डल उडिपुग्छ , अस्तुको रूपमा रहिजान्छ धरतीमा र बग्दै बग्दै पुग्छ समुद्रको तरल छातीमा । मानिसले मरेपछि  पनि छुटकारा पाउदैन अस्तित्वको नेक्ससबाट । “घाटमान्डू”मा नगरकोटीको दिमाग जलेर पुत्पुताईरहेका ‘बन्च अफ धुँवाज’ सुन्दर छन् । सब्से सुन्दर छ- फिक्सन घाट । फिक्सन घाटमा जलिरहेका छन्-आयुचोर , लेखकहरू जेलमा छन् , घाटमान्डु , निद्रा र जादुगर ।

“आयुचोर” आयु चोर्ने एउटा अजिबोगरिब पात्रको फिक्सन डिजाईन हो । डिजाईन प्रयोगशिल छ । शुरूदेखि अन्त्यतिर पढ्नुस या अन्त्य देखि शुरूतिर केहि फरक पर्दैन । डिजाईन एउटा मेयरको हत्या प्रशंङ्गबाट शुरूवात हुन्छ । मृत्युपूर्व मेयर आफ्नो दाजुको हत्याराको कत्ल गर्न चाहान्छ । तर भईदिन्छ के भने दाइ र भाईको हत्या एउटै अाचोमाले गरिदिन्छ ।

आचोमा अर्थात आयु चोर्ने मानिस ; जो सिटी अफ हाइबर्नेसनको पर्पल-पार्क हुँदै मनुस्क्रिप्ट माउन्टेन , पाण्डुलिपी पठार , पठारको सरदार , मास्त्रिना-मिलन हुँदै अन्तत: मेयरको भूमिगत गोदाममा बन्दी हुन पुग्छ । यो यात्राभरि उसले आयु चोर्छ । चोरीको यात्रा विवरण पढिरहदा तपाईको दिमाग जलेर पुत्पुताउन सक्छ । टाउको छाम्नु भयो..? डन्ट वरी ! शब्दको माचिसले जल्नुको सुगग्ध छामेर सुँघिदैन ।

डियर डिजाइनर

लेखकहरू जेलमा छन् ; जेलरत/बन्दीरत लेखकको स्वकथन हो । अक्षरगंज र  “घाटमान्डू”को सडक बनेको छ एउटै कालोपत्रेले “निद्रा”मा संविधानसभा निर्वाचनको समयबाट विगततिर फर्किदै फर्किदै आमाको काखमा नवजात बन्न पुगेको पात्रको रोचक वर्णन गरेका छौ । निद्रा वर्तमान राजनीतिक परिवर्तनप्रति बितृष्णा र पुरानो व्यवश्थाप्रतिको मृगतृष्णाको रूपमा पनि चित्रित छ । त्यसैले रोचक मात्र नभई घोचक पनि छ निद्रा । ‘जादुगर’मा प्रयोग गरिएको थ्रिल भङ्कर सुन्दर छ । कन्क्लुजनमा , फिक्सन-घाट फ्यान्टासी र थ्रिलको सुन्दर योग ।

नन-फिक्सन-घाट किताब र किताबका क्रिम्सन यादहरू , स्मृतिहरू , स्पृतिदंशहरूले भरिएको छ । पोष्ट बक्स नम्बर ९९९ अर्थात ट्रिपल नौमा उनी लेख्छन्-“सरिता तिवारीको अस्तित्वको घोषणापत्र पढिरहँदा गाँउकी आमाको याद आयो । आमाको नाम पनि सरिता । सरिता गुरूङ्ग । आमाको घोषणापत्र अब कसले लेख्ने होला..? सरिता तिवारी , कुड यु प्लिज टेल मि..” यति पढिरहदा याद आयो हरिमाया विश्वकर्माको ; हरिमाया भेटवालको । अर्थात “कल्ली” उपन्यासकार हरिमाया भेटवाल । जसलाई फेसबुकमा मैले मदर रिक्वेस्ट पठाउनु पर्थ्यो तर पठाथे फ्रेन्ड रिक्वेस्ट ।

घाटमान्डूप्रति यतिधेरै शब्द ! हाय अल्लाह यो त सरासर अरू किताबप्रतिको भेदभाव हो । सरि !  है माफ गर्नुस । अब म ढिला नगरि अर्को पुस्तकको पानातिर सल्बलाउन चाहान्छु ।

५. दोचा: नेक्सस अफ नोस्टाल्जिया

डियर रिडर

दोचा संस्मरण हो । संस्मरण नगरकोटीको लिङ्गबाट लेखिएको छ । ओ ! माई गड यो मैले के भने ? लिङ्गबाट लेख्ने ? माफ गर्नुस कुमार नगरकोटीको कलमबाट लेखिएको छ । नगरकोटीयन फ्लेवर लिन दोचा संस्मण काईदाको छ । संस्मरण हिजो र आजको हुन सक्छ तर भोलि..? भोलीको पढ्नु छ भने दोचामा छिर्नुस ।

दोचा अर्थात एक प्रकारको जुत्ता , जुन एउटा जिद्दि बच्चोले देख्छ हिमाली डाँकुको खुट्टामा । जो डाँकुहरू गिरफ्तारीत भएका हुन्छन् जिद्दि बच्चोकै वुवा रत्न बहादुर नगरकोटीद्वारा । दोचा शब्द पहिलो पटक आउँछ किताबको पेज नं. १०५ मा । यो नै दोचाको आरम्भ विन्दु । तर संस्मरण शुरू हुन्छ एक जोडी परेवाको गुडँमा गुडुल्किएको यादबाट/नोस्टाल्जियाबाट । जति जति पाना पल्टिदै जान्छ परेवा जोडीको प्रेमिल दैनिकी , संभोग , फुलको हेरचाह , सुरक्षा गर्ने , कोरल्ने घटना आउदै~आउदै जान्छन् । अनेक पात्र आउदै~आउदै जान्छन् ।तर परेवा जोडी आई मात्र रहन्छ । यसैले यो संस्मरण त्यो ‘जिद्दि बच्चो’ जो कालान्तरमा शो-कल्ड कुमार नगरकोटी बन्यो र कबुतरको संयुक्त संस्मरण हो । साझेदारी गर्दै गर्दा कुमार नगरकोटी कथा , कबिता , संस्मरण , फिक्सन , कलाकारितालाई पछ्याउदै हिड्छ भने परेवा चै कुमार नगरकोटीको दिल~ओ~दिमागलाई पछ्याई रहन्छ । त्यो जिद्दि बच्चोले  बचपनमै भैरहवामा ‘हवा भएको’ दोचा कहिले पाउन सक्दैन । यता परेवा जोडीले आफ्नो बचेरो कागद्वारा निर्ममसगँ क्षतबिछत भएको हेर्नू पर्छ ।

एक ठाउँमा उनी भन्छन्-“मेरो निम्ति बुवासगँ जोडिइने मसिनो धर्सा नै यो ‘नगरकोटी’ हो । रगत र वीर्य त हरेक पिताले दानमा पुत्रलाई दिन्छ । तर , सम्झना र स्मृतीहरू दानमा कदापी पाइँदैनन् ।” ……दोचा “नगरकोटी” यात्राको उकाली/ओरालीको मिठो नोस्टाल्जिया हो  । जयपुर लिटरेचर फेस्टिवल , फिक्सनल साँझ , सरिता गुरूङ्ग र उनको मितीनी , जस्ता अनेक नोस्टाल्जियाको साङ्गोपाङ्गो ‘क्लिक’ छ दोचामा ।

दोचा अफबिट शैलीमा शुरू हुदैन । टाईम ट्राभल/पेज नं.२३७ बाट सर्ट ह्याण्ड शैलीमा उनी प्रिय पिताको फेजआउट , कलिलो उमेरको प्रेम निमर्ला चौलागाई गुमाएपछिको मनस्थिति , सावित्री कार्कीको आवागमन लेख्छन् । दोचा नोस्टाल्जियाहरूको सुन्दर प्याकेज हो । कुमार नगरकोटीको जीवन यात्रा र त्यसमा जोडिएका नोस्टाल्जिया पढ्न दोचा पढ्नै पर्छ ।

प्रिय ! राईटर

यो पत्रको कुनै ‘ग्रान्ट डिजाइन’ थिएन । लेख्दै जादाँ यस्तै बन्यो ।  सायद डिजाईन नहुनु पनि  स्वसिद्ध डिजाईन नै हो । भबिष्यमा फेरि कुनै किताबभित्र फेला पार्न सकुँ । अहिले अलप हुन्छु…

शब्दम् शरणम् गच्छामी….

उहि तिम्रो रिडर !

                   मनोज बिश्वकर्मा

                   एड्रेस-kaushila5555@gmail.com

(दुई वर्षअघि चितवनपाेस्टमा प्रकाशित यो लेख हाल नेटमा अप्राप्य भएपछि लेखकले सम्पादनसहित साहित्यपाेस्टमा प्रकाशानार्थ पठाएका हुन् ।   कुमार नगरकोटीको प्रकाशोन्मुख कथाकृति ‘कल्प-ग्रन्थ’ फरक शैलीमा प्रकाशन  हुने भएपछि यसकाे सान्दर्भिकता देखिएकाे हाे । यसकाे दाेस्राे भाग  नगरकोटीको प्रकाशोन्मुख कथाकृति ‘कल्प-ग्रन्थ’  प्रकाशन भएपश्चात् आउनेछ ।)

प्रतिक्रिया
Loading...