नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मृत्युपछि छापिने कविताहरू

केही दिनदेखि म बर्माको नाउछोमा छु । आज १३ अक्टोबर २०१९ (वि.सं. २०७६ असोज २६ गते) यहाँ एउटा कार्यक्रम हुँदैछ । त्यो कार्यक्रममा म पनि सामेल छु । “अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक संघले” आयोजना गरेको कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मानस्वरूप नगद र उपहार वितरण गरिँदैछ । कार्यक्रममा जेष्ठ नागरिक त आउने नै भए भने उहाँको साथमा उहाँका परिवार पनि आएका छन् । कार्यक्रम निकै घुइँचो छ । दुर्गा मन्दिरको त्यो हल निकै साँघुरो महसुस हुन थालेको छ । त्यो हुलमा म रमाइलो मानिरहेको छु ।

थरीथरीका मान्छे, थरीथरीको भेषभूषा तर त्यो समूहमा म नयाँ छु । कसैले मलाई चिन्दैनन्; तर सकभर सबैसँग नजिकिने प्रयास गर्दैछु । गफ गर्दैछु । त्यहाँ नगद वितरण कार्यक्रम मात्र नभएर कवितावाचन पनि भएको छ भने मुक्तक पनि थपिएका छन् । कसैले वक्तव्य पनि सुनाएका छन् । त्यही बेला मेचबाट मेरो नाम आउँछ । उद्घोषकले मञ्चबाट मलाई उठिदिन अनुरोध गर्नुहुन्छ र मेरो परिचय गराउनुहुन्छ, “उहाँ नेपालबाट आउनुभएको, कृपया उठी दिनुहोला ।” म बसिरहेको प्लाष्टिकको कुर्चीबाट जुरुक्क उठ्छु र चारैतिर फर्केर नमस्कार गर्छु । सबैको नजर मैतिर पर्छ ।

कार्यक्रमका उद्घोषक हुनुहुन्छ– इन्द्रबहादुर पाण्डेजी । उहाँसँग नाउछो पुगेको बेलादेखि नै परिचय भएको हो

नगेन्द्र न्यौपाने

तर आजको कार्यक्रम उहाँले नै सञ्चालन गर्नुहुन्छ भन्ने मलाई थाहा थिएन ।

बसिरहेको कुर्चीबाट उठिदिन खासै गौरव होइन । सबैको नजर पर्नु पनि खासै महत्त्व हुँदैन । गौरव त्यतिबेला हुन्छ जतिबेला मान्छेहरू झुम्मिन्छन् । परिचित हुन खोज्छन्, अनि उनीहरूले आफ्नो ठान्छन् ।

हात मिलाइसकेपछि एकजना व्यक्तिले मलाई हँसिलो हुँदै सोध्छन्, “तपाईं नेपालबाट आउनुभएको रहेछ, कहिले आउनुभयो ।”

“त्यस्तै २०–२५ दिन भयो होला,” म उत्तर दिन्छु ।

“कहाँ–कहाँ घुम्नुभयो ? धेरै दिन नै भएछ बर्मा आउनुभएको ! अब कता जानुहुन्छ ?”

उनका प्रश्नहरू एकपछि अर्को आइरहेका हुन्छन् । उनलाई मप्रति निकै चासो छ । निकै महत्त्व दिएर बोल्छन् तर म उनको आसय बुझ्न सक्दिनँ । भीडभाड भएर पनि होला उनको नजिक पर्न सक्दिनँ । यो मेरो कमजोरी छ । शुरुमा त उनको पोशाकले नै मलाई अप्ठयारो पारेको छ । टाउकोमा नेपाली टोपी, अनि कमेज र लुङ्गी । त्यस्तो समारोहमा लुङ्गी लगाउनु नै उनीप्रति मेरो हेराइ फितलो भइसकेको छ । राष्ट्रिय पोशाक नै भए पनि मैले त्यसलाई सहज रूपमा लिनसकेको छैन । तर त्यति बेलै उद्घोषकले उनको नाम बोलाउँछन् र कवितावाचनको लागि अनुरोध गर्दछन्, “तपाईं मञ्चमा आएर आफ्नो कवितावाचन गरिदिनु होला ।”

आफ्नो नाम सुन्नासाथ आफ्नो हातमा पहिलादेखि रहेको मोटो डायरी पल्टाउँदै ती व्यक्ति मन्चतिर गइहाल्छन् र कवितावाचन गर्दछन् । म मनमनै सोच्छु, “यिनी त बर्माका नेपाली कवि पो रहेछन् हगि !”

उनले आफूले कविता वाचन मात्र गरेनन्, बरु भावुक पनि बने । श्रोताहरूलाई पनि भावुक बनाए । सबैको आँखाबाट आँसु खसालिदिए । सभाहल सुनसान भयो । लाग्थ्यो, यो संसार भावुकको भीडले भरिएको छ ।

“तपाईं त कस्तो भावुक कवि हुनुहुँदोरहेछ । कस्तो घतलाग्दो कविता सुनाउनुभयो,” उनी मेरो नजिक आएपछि मैले उनलाई सुनाउँछु ।

“घत लाग्यो ?” उनी हँसिला हुँदै मलाई प्रश्न गर्छन् । उनको अनुहार फूर्तिलो बन्छ तर म पुनः भावुक बन्छु । मलाई नरमाइलो लाग्छ । “मलाई मात्र हो र ? हेर्नुहोस् त ! श्रोताको आँखामा आँसु ! सभाहल नै भावुक बनेको छ । सबैको निधार अँध्यारो छ ।”

हाम्रो वार्ता गहिरिँदै जान्छ । वास्तवमा उनी मसँग नजिक हुँदै जानुको आशय रहेछ, उनले मेरो नाम पहिल्यै सुनेका रहेछन् । मेरो उपन्यास “दरबार बाहिरकी महारानी” बारे उनलाई थाहा रहेछ ।

“तपाईं पनि उपन्यास राम्रो लेख्नुहुँदो रहेछ । तपाईंको लेखाइ राम्रो लाग्यो ।”

तर मलाई मेरो उपन्यासभन्दा पनि उनैको कवितातिर चाख बढ्न थाल्छ र सोध्छु, “तपाईंका कविता सबै यस्तै प्रकारका भावुक छन् ।”

“होइन ! मसँग भावुकभन्दा पनि कडा खालका छन् । डरलाग्दा छन् ।”

“कस्तो हो डरलाग्दो भनेको ? हेर्न मिल्छ ?” म उनको डायरीतिर संकेत गर्दै अनुरोध गर्छु ।

“किन नमिल्ने ? पढ्न मिल्छ ! यो डायरी पूरै कविताको नै हो । हेर्नुहोस् न !”

उहाँको हातको डायरी मेरो हातमा आउँछ । म निकै गहिरिएर पढ्छु । सबै कविताहरू एक–एक गरेर अध्ययन गर्छु । कुनै–कुनै कविता उनी आफैंले पनि अर्थ लगाउँदै सुनाउनुहुन्छ तर मलाई खासै डरलाग्दो लाग्दैन । कडा अनुभव हुँदैन ।

“खासै डरलाग्दो लागेन त !” फेरि यसैमा थप्छु । “किताब छपाउने विचार गर्नुभएको छ ? कति छन् कविता ?”

“यी कविताहरू यस्तै समारोहमा वाचन गर्दै जाने हो । हिँड्ने हो । सुनाउने हो । किताब छपाउन मिल्दैन । बर्मेलीलाई देखाउन हुँदैन ।”

उनको कुरा सुनेपछि मलाई अनौठो लाग्छ । कता–कता उनको आत्माका पीडा जम्मा भएको महसुस हुन्छ । वास्तवमा एउटा स्रष्टाको दिमाग त्यसरी बहकिनु उचित होइन । निराश हुनु राम्रो होइन । म केही संयम भएर बोल्छु–
“नेपालमा कस्ता कस्ता डरलाग्दा कविता लेखिन्छन् । राजा महाराजालाई मुक्तक र कविताले गालीगलौज गरिन्छ । राष्ट्रपति–प्रधानमन्त्रीलाई व्यङ्ग्य प्रहार हुन्छ । दिनहुँ उनीहरूको बेइज्जत गरिन्छ ।” म फेरि यसैमा थप्छु– “मेरै कस्ता भयानक कविता छन् ।”

“एउटा नेपालीले अर्को नेपालीलाई गाली गर्नु र हामीले बर्मामा बसेर बर्मेलीलाई गाली गर्नुमा फरक पर्छ । नेपालीले नेपाली शासन, प्रशासन र मन्त्रीलाई थर्काउनु कुन ठूलो काम हो र ? म नेपालमा भएको भए म पनि थर्काउँथे । मलाई डर थिएन ।”

“मतलब ?” म सोध्छु ।

“नेपालीले नेपाली सरकारलाई धम्क्याउनु र हामीले बर्मेली सरकारलाई धम्क्याउनुमा फरक पर्छ ।”

“किन ? तपाईं बर्मेली होइन र ? बर्मेलीले बर्मेली सरकारलाई घचघच्याउँदा के डर ?”

“म मात्र होइन ! मेरो पिताजी नै बर्मेली हो । यहीँ जन्मनु भएको । हामी सबै बर्मेली । हामी यहीँका नागरिक ।”

“अनि केको डर त ?” म अनौठो मान्दै सोध्छु ।

तर उनी अनौठो मान्दैनन् । बरु भावुक बन्छन् र लामो सास फेरेर बोल्छन्, “शरीर जन्मनु र आत्मा जन्मनुमा फरक पर्छ । मेरो पिताजी यहीँ जन्मनुभयो तर आत्मा नेपालकै थियो । म जन्मेँ । मेरो पनि मेरो पिताजीको जस्तै आत्मा उतै टाँसियो । मैले यता ल्याउन सकिनँ । हामीहरू भौतिक रूपमा बर्मामा जन्मियौं तर आत्मा जन्माउन सकेनौं । नेपालबाट आत्मा तान्न सकेनौं । हामीलाई बर्मेली समाजले पनि आफ्नो मान्न तयार भएन ।”

उनको कुराले मेरो भित्री आत्मा छुन्छ । नियास्रो लाग्छ । उनीप्रति मेरो गहिराइ बढ्दै जान्छ । मैले ठानेँ कि उनी बर्माको सैनिक शासनको बेला हुर्केको, बढेको हुनाले पनि यस्तो हुनसक्छ । उनलाई बर्माका सैनिक शासनसँग वितृष्णा छ ।

“त्यसो भए तपाईंलाई सैनिक शासनसँग डर थियो ?”

उनी टाउको यताउति पार्छन् अनि तिखो स्वरमा बोल्छन्, “हामीहरू सैनिक सरकारसँग मात्र होइन, हरेकसँग सतर्क हुनुपर्छ ।” उनी बोल्दै जान्छन्– “अहिले बर्मामा सैनिक सरकार छैन तर गोरखाली समाजलाई रोहिन्गा समाजसँग तुलना गर्न म चाहन्नँ ।”

“कडा कविता लेखिएर नै रोहिन्गा समाज खलबलिएको हो त !”

“समाज खलबल्याउन कडा कविता मात्र लेखिनुपर्छ भन्ने छैन । त बहुसंख्यकले लेखेको कविताभन्दा उल्टो तरिकाबाट कविता लेखिन थाल्यो भने अवस्य समाजमा खलबल शुरु हुन्छ, अशान्ति मच्चिन्छ ।”

“कविताबाट नै आफ्नो आवाज सरकारकहाँ पुर्याउनु राम्रो हो नि ! सरकारलाई घचघच्याई रहनुपर्छ । आफ्नो आवाज सुनाइरहनु पर्छ । आफ्नो उपस्थिति जनाई रहनुपर्छ । उसलाई होसियार बनाउनुपर्छ ।”

उनी केही विरक्त हुँदै बोल्न शुरु गर्छन्, “सायद सरकारमा त्यो आवाज नपुगेको भए आज भुटानीहरू भुटानबाट हिँड्न पर्दैन थियो होला । टेकनाथ रिजालले भाषण नगरेको भए उनीहरूको घर–टहरा भत्काइँदैन थियो । उनले आफ्नो कवितावाचन नगरेको भए उनी जेल पर्दैन थिए । त्यसकारण सरकारलाई आवाज नदिनु नै आफू सुरक्षित हुनु हो । सरकारले हाम्रो सुरक्षा गर्न सक्दैन । अल्पसंख्यकको आवाज सुनेर ऊ आफ्नो सत्ता छोट्याउन चाहँदैन ।”

उनले आफ्नो कुरालाई एक्कासि मोड्छन् र भुटानतिर लैजान्छन् । मलाई अनौठो लाग्छ । उनको कुरो सुनेपछि मेरो मस्तिष्कमा अनेकौँ विरोधाभाष र उत्तेजना सलबलाउन थाल्छन् । म सोच्छु– “पीडाहरू आफ्ना–आफ्ना, तर मूलधार एउटै । कुराकानी गरेपछि मात्र मानिसलाई सही ढंगबाट चिन्न सकिन्छ । उहाँसँग गफ गरेपछि यो थाहा भयो– मानिसहरू आफू भित्रका पीडा कसरी मिलाएर राखेका हुँदा रहेछन् । कसरी सन्तुलन गर्छन् । दोस्रो देशको उकुसमुकुसलाई कसरी आफूमा समायोजन गरेका छन् । जब मान्छेले तुलना गर्छ भने आफू जस्तैलाई हेरेर तुलना गर्छ । आफू जस्तैमा आफ्नो प्रतिविम्ब पाउँछ । ती व्यक्ति सकभर आफ्नो वेदनालाई अर्को देशसँग तुलना गरिरहेका हुन्छन् तर मेरो जिज्ञासा भने तिनै व्यक्तिसँग हुन्छ र सोध्छु, “त्यसो भए कविता नै नलेख्ने त ! आफ्नो अभिव्यक्ति–स्वतन्त्रता उपभोग गर्न पर्यो नि !”

“अवश्य लेख्ने !” उनी बोल्दै जान्छन्– “हाम्रो समाजमा कलम लिएर हिँड्नेको जमात बढिरहेको छ तर म भने डराइरहेको छु । यदि उनीहरूको कलम चिप्लिन गयो भने… ! मसी कडा बन्यो भने… ! किनकि कविता लेखेर मात्र हुँदैन । अभिव्यक्ति स्वतन्त्रता भएर पनि हुँदैन । अभिव्यक्तिपछि देखिने परिणामलाई ध्यान दिनुपर्छ । किनकि म आफ्नो समाज भागाभागा गरेको देख्न चाहन्नँ ।”

“आत्मा कमजोर हुँदाहुँदै पनि कविता लेख्न थाल्नुभा’छ त !” म सोध्छु

“औडाहा कम गर्न ।” उनी निर्धक्कसँग बोल्छन्– “आफ्नो असन्तोष अरूलाई सुनायो भने आत्मामा शान्ति हुन्छ । त्यही आत्मा शान्तिको लागि मैले कविता लेख्न शुरु गरेँ । नत्र त म कहाँ कवि हुँ र ? औडाहा कम गर्दागर्दै म कवि बनेको हुँ । मेरो कविताले मजस्तै अरूको पनि औडाहा कम हुन थालेपछि उनीहरूले पनि शितल अनुभव गर्न थाले । मलाई हौसला मिल्दै गयो । अनि मेरा कविता थुप्रिन थाले,” उनी मतिर हेरेर खिस्स हाँस्छन् अनि फेरि थप्छन्– “म त त्यसरी पो कवि बनेको हुँ ।”

“त्यसो भए कविता नछाप्ने त ? त्यत्तिकै थन्क्याएर राख्ने ?”

उनले छोटो उत्तर दिन्छन्– “किन नछाप्ने ? छाप्ने नि !”

“कहिले छाप्ने त ?”

“मृत्युपछि !”

मृत्युपछि ! उनले सामान्य स्वरमा उत्तर दिन्छन् तर मैले त्यसलाई असामान्य ठान्छु । उनको अप्ठयारो मलाई महसुस हुन्छ । उनलाई अप्ठयारो नै परेको छ । एकातिर आफ्नो झिनो समाज, अर्कोतिर मनभित्रको अट्टहास । सकभर उनी आफ्नो अट्टहास दबाएर राख्न चाहन्छन् । वेदना छोपछाप पार्न चाहन्छन् । तर बाहिर आइहाल्छ । उनको भित्री ज्वालाले उनी आफैँलाई पोलिरहेको हुन्छ । त्यसकारण उनको चाहना छ– आफू मरिसकेपछि पनि आफ्नो कविताले त्यो ज्वालालाई शान्त पार्न सकोस् । आफ्नो आत्माले सहज महसुस गरोस् ।

आजको नगद बाँड्ने कार्यक्रम सकिन्छ । सबैजसो सहभागीहरू आफ्नो–आफ्नो घरतिर लाग्छन् । तर हामीहरू नजिकैको गेष्टहाउसमा जान्छौ, जहाँ म केही दिनदेखि बस्दै आएको छु ।

“तपाईं त सडकतिरको कोठामा बस्नुभएको रहेछ हगि ! यहाँबाट पूरै नाउछो शहर देखिन्छ,” उनी मलाई सुनाउँछन् तर म प्रसंग बदल्दै बोल्छु– “शहर हेरी यो गेष्ट हाउस ठूलो रहेछ । यत्ति सानो शहरको लागि यत्रो गेष्ट हाउस बनाउन नपर्ने । आवश्यकभन्दा ठूलो भयो ।”

“होडबाजीले यो ठूलो हुन गएको हो ।”

“मतलब ।”

“धर्म कमाउनेभन्दा नाम कमाउने होडबाजीको परिणाम हो यो गेष्ट हाउस । गोर्खाली समाजमा यो रोग पसेको छ । हाम्रै दान दक्षिणा र चन्दाबाट बनेको हो तर चन्दाभन्दा नाममा नै सबैको आँखा लाग्न थालेपछि ठूलो बन्ने नै भयो ।”

म बुझ्छु– त्यो गेष्ट हाउससँग उनको चित्त बुझेको छैन । आफ्नो समाजमा देखिएको हानथानले उनलाई चस्का हानेको रहेछ । वास्तवमा म पनि उनको चस्कामा सहमत छु किनकि म बसुन्जेल त्यो गेष्ट हाउसमा खासै चहल–पहल छैन । एक रातको १ हजार च्याट तिरेर बस्न पाउने सुविधा भए पनि सबै कोठाहरू खाली नै छन् । बाथरुम, भान्साकोठा सुनसानै छ ।

हामीहरू बिदा–बारी हुने शुरु गर्दैछौं । उनी कोठा बाहिर निस्किछन् र मोटरसाइकल स्टार्ट गर्छन् । म पनि सडकसम्म आउँछु । र सोध्छु– “तपाईंको घर यहाँबाट नजिकै छ ?”

“नजिकै छ । ‘औमति’ भन्ने ठाउँमा हो । जाने मेरो घर हेर्न ?” ढल्किसकेको दिन, बिरानो ठाउँ अनि अपरिचित जनजीवन । म उनीसँग जाने इच्छा गर्दिनँ । धेरैबेर मबाट उत्तर आउँदैन । मेरो मानसिकता डरतिर जान्छ । तर म मेरो डरलाई अर्कोतिर जोड्दै सोध्छु– “तपाईं त्यति राम्रो बर्मेली भाषा बोल्नुहुन्छ । लवज पनि उस्तै छ । तपाईंको रोकन पनि छुट्याउन गाह्रो पर्दैन तर के तपाईंलाई बर्मेलीहरूले गोर्खाली भनेर चिन्छन् ? बाटोमा एक्लै हिँड्दा त्यस्तो तीतो अनुभव भएको छैन ?”

उनी निर्धक्कसँग बोल्छन्– “त्यही त हाम्रो गल्ती ! तपाईंको नजरमा म बर्मेली जस्तै देखिन्छु । म बर्मेली जस्तो देखिए पनि बर्मेलीको नजरमा म कहिल्यै पनि बर्मेली हुनसकेको छैन । उनीहरूले सजिलैसँग चिन्छन् । उनीहरूलाई कागजी बर्मेलीसँग कुनै सरोकार छैन । तर मलाई गुण्डा र दादागिरीसँग डर छैन । म प्रतिकार गर्न सक्छु । मलाई डर त मेरो आफ्नो भाँचिएको अधिकारसँग छ, अनि आफ्नो कडा अभिव्यक्तिको हो । गुण्डाले मेरो कवितालाई बुझ्न नसकेपछि उनीहरूसँग मेरो डर छैन ।”

उनको मोटरसाइकल धेरै अगाडि बढिसकेको छ । म गेष्ट हाउसको भर्‍याङ चढेर कोठामा पुग्छु तर मानसिकता भने उनले बोलेका शब्दहरू नाचिरहेको हुन्छ । केहीबेर अगाडि उनले मलाई सोधेका थिए– “सक्नुहुन्छ भने नेपालमा लगेर छापिदिनुहोस् न मेरो कविताहरू ! सक्नुहुन्छ ?”

मलाई थाहा छ– म जस्ताको तस्तै उनका कविताहरू छाप्न सक्छु । नेपालमा उनका कविता छापिन कुनै अप्ठयारो छैन, अवरोध छैन । अप्ठयारो यो छ कि कविता पढ्नेले पढिदिन्छन् कि दिँदैनन् ! कविताको मर्म बर्मेली सरकारको कानमा पुग्छ कि पुग्दैन । बर्मेली सरकारले गोर्खाली समाजको घाउमा औषधि उपचार गर्छ कि गर्दैन । आजलाई यति !

प्रतिक्रिया
Loading...