नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘कविता/सोच’को एउटा अनाैठो प्रयोग शृंखला ३

कविता/सोच

२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो । हामीले विगत तीन सातायता सोही कार्यलाई स्मरण गरेका छौँ ।

(कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस पुस्तकले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।)

राजेन्द्र पराजुली

२०५० असोज

कविता आदेशमा हिँड्दैन

अशेष मल्ल

अशेष मल्ल

अनुभूतिको भाषा हुँदैन । कविता भाषासम्म आइपुग्दा धेरै कुराहरू हराइसक्छन् । जब जब कविता लेखिसक्छु अनि लाग्छ, लेख्नुपर्ने अझ धेरै कुराहरू छन् । धेरै कुराहरू नअटेर कविता सधैँ अधुरत्र भएजस्तो लाग्छ, अनि लाग्छ- कविता लेखिसकेर जब लेख्न पर्ने बाँकी भावहरू जो कवितामा अट्न सक्दैन शायद त्योभन्दा उत्कृष्ट कविता अर्को हुनै सक्दैन । त्यो मीठो कविता कहिल्यै लेख्न सकिनँ । शब्दहरूमा यस्ता धेरै कविताहरू अट्नै सकेका छैनन् । भाँचिएर अलग अलग टुक्रामा बाँचेजस्तो भएका छन् मेरा कविताहरू । सिंगो हुन नसकेझैँ । सधैँको अधुरो सधैँको अपुरो । सधैँ केही लेख्न बाँकी भएझैँ ।

लेख्छु भनेर कहिलेकाहीँ कविता लेख्दा कविताको मृत्यु देखेको छु । मनमा बारम्बार चिमोट्न थालेपछि, हिर्काउन थालेपछि अनि लेखिदोरहेछ कविता । लेख्छु भनेर कहाँ लेखिन्छ र कविता । कवितालाई फुक्का छोडिदिनु पर्दोरहेछ बहुला हात्तीजस्तो । जब जब लगाम तानेर शब्दहरूलाई कविता लेख्छु भन्छु तब तब कविताको मृत्यु मात्रै देख्छु । आदेशमा म कवितालाई हिँडाउँदिन । जतिबेर आउन मन लाग्छ आउन सक्छ कविता । बन्धन र सीमामा बाँध्दिन कविता । जब जब सीमामा बाँधिन्छ कविता, कविता हुनुबाट टाढिन्छ कविता ।

 

अब त भाले बासे हुन्थ्यो

अशेष मल्ल

 

सूर्यास्तपछि पनि
फेरि शंख फुकेर
को गर्दैछ युद्धको घोषणा
थाकेर चुरचुर भएको छु
अब त युद्ध सकिए हुन्थ्यो
अनिदा आँखाहरू
सन्त्रासले मृत्यु रात भोग्दैछन्
क्षेप्यास्त्र ओढेर बहुलाएको छ आकाश
सब थाकेका छन्
पहाडहरू थाकेका छन्
तराईहरू थाकेका छन्
अब सुत्न देऊ
बारूदका आवाजले
ग्रस्त
नदीहरूलाई पनि केही क्षण विश्राम देऊ
युद्धको काँडा टेकेर
क्षतविक्षत समय
कुरूक्षेत्र निर्माण गर्दैछ हर क्षण
तात्तिएका छन् धुनहरू
चिस्सिन देऊ
मलाई थाहा छ
एउटै युद्धले केही हार्दैन
हार्न बाँकी अझ धेरै कुरूक्षेत्रहरू छन्
तर एकछिन त विश्राम देऊ
निरन्तरको प्रहारबाट थकित छु
निदाउन देऊ
आगो लप्का भएर झुप्राहरू
डढेलो उठिरहेछ
हाहाकार बस्ती
मानौँ युद्ध लप्का उठिरहेछ
अशान्त अशान्त छ रात
बारूदको पहाडमा उभिएर
मृत्यु पर्खेको छ रात
कहिलेसम्म अड्किने हो समय
समय हिँडे हुन्थ्यो
केही क्षण युद्ध विराम शंख फुक
थाकेर चुरचुर छु
अब त भाले बासे हुन्थ्यो
अब त युद्ध सकिए हुन्थ्यो ।

प्रतिक्रिया
Loading...